नेकपामा पार्टी भन्दा गुटहरुको चिन्ता


प्रधानमंत्री केपी ओली नेकपाका कमिटिहरुमा अल्पमतमा परेपछि सकसमा परेका छन् । पार्टी अनुशासन कमजोर देखिएको छ । पार्टी पंंतीमा भने ओली बलिया छन् । यसले नेपालको राजनीतिक अवस्थालाई नै दुषित गर्ने संभावना बढेको छ ।




देश COVID-19 का विरुद्ध लकडाउनमा रहेको बेला सरकारद्वारा ल्याईएका विवादास्पद अद्यादेशहरु र त्यसका विरुद्ध भएको सर्वत्र विरोधपछि त्यसको खारेजीपछि सबै धुवाँ यतिबेला नेकपाभित्र थिग्रिन पुगेको छ । अध्यादेशका दुई निशाना संघीय समाजवादी पार्टी भित्रका नेतृत्वप्रति असंतुष्ट सांसदहरुलाई विभाजित गरी नेकपामा मिसाउने र नेकपाभित्रका प्रम केपी ओलीको कार्यशैलिप्रति असन्तुष्ट खेमालाई झस्काउने थिए । सरकारले अद्यादेश ल्याउने कुरा असंवैधानिक नभए पनि लकडाउनको समय पारेर ल्याईनुलाई सफा नियत मान्न सकिने कुरा थिएन ।


अद्यादेशको वरपर सांसद अपहरणको आरोप प्रत्यारोपदेखि लिएर सामाजिक संजालमा कुरा बुझ्ने नबुझ्नेहरुका सभ्य असभ्य जस्ता लाग्ने टिप्पणीहरुको आँधी नै चल्यो । त्यो आँधीमा आममानिसहरुले सत्य कुरो केलाएर बुझ्न सक्ने कुरा कम जोखिम थिएन । विभिन्न सुत्रहरु भिडाएर हेदार्, समाजवादीका आठजना नेतृत्वप्रति असंतुष्ट सांसद केही समयदेखि नेकपाको सम्पर्कमा नै थिए । नेकपाले आफ्ना मानिसहरुलगाएर एकजना सांसदलाई अपहरण गरी काठमाण्डौ ल्याईएको कुरा जतासुकै सनसनी भै रहेको थियो । अपहरित हुने र गर्नेहरुको संख्या, अपहर्ता र अपहरितहरुले घरदेखि आऊँदा बाटोको कृयाकलापलाई हेर्ने हो भने अपहरण भए जस्तो लाग्दैन । यता आफ्ना सदस्यहरु अद्यादेशले दिएको सहजतालाई उपयोग गर्दै नेकपामा जान पार्टी विभाजन गर्ने तयारीमा रहेको  सुईको पाएको पार्टी नेतृत्वले अर्को दलसंग एकता भएको भनेर मध्यरातमा कुनै औपचारिकता बिनै निर्वाचन आयोगमा सुचना दिएको थियो । औपचारिक न्वारन हुन अघि नै सो दलका नेताहरु सरकारमाथि आरोप लगाउनेदेखि अपहरणको मुद्दा दर्ता गराउन दौडेको देखिएको छ । यता नेकपाका केही युवाहरु फेरि अपहरणको मुद्दा दर्ता गर्न हिंडेका विरुद्ध नै अर्को मुद्दा दर्ता गर्न हिडेको पनि देखिएको छ । यी घटनाहरुलाई जायज नाजायजको तौलोमा जोखेर दिमाग खराब बनाउने कुराको अर्थ देखिंदैन । किनभने हत्या हिंसा अरुलाई दुःख दिएर भाँडभैलो मच्चाएर सत्तामा पुग्ने संस्कृतिको अबलम्वन गरिरहेका र सत्तामा पुगेर व्यापार गर्ने र देशमा लुट मच्चाउनेहरुबाट धेरै आशा गर्ने ठाँउँ छैन । दलहरुले अफ्ना असन्तुष्टहरुलाई सम्झाई बुझाई गरेर पार्टीप्रति समर्पित बनाउन समय खर्चिन बेश हुनेछ । यस्तो खेल त दशकौं देखि चलिरहेको छ । ठुलो धनराशी लिएर वा हरियो घास देखेपछि लहसिने आसेपासेहरुलाई चुनावमा टिकट दिने नेतृत्वले पार्टीप्रति सदस्यहरुको प्रतिबद्धता खोज्नु आकासमा थुक्नु बराबर हो । यो रोगबाट कुनै दल अछुता छैनन् ।


सिमानामा नेपालीले दुःख पाएको, विदेशमा नेपालीहरुले नेपाल आउन हारगुहार गरेको, मानिसहरु आफ्ना घर जान पचासौं किलोमिटर हिंड्न बाध्य हुन परेको, राहतमा केही ठाँऊँमा अनियमितता भएको, सडेको चामल दिईएको जस्ता समाचारले सरकारलाई दबावमा पारेको नै थियो । नेपालमा मात्र होईन यस्तो हालत कोरोना पिडित संसारमा सबै जसो देशमा थियो । यसो भनेर यो सबै ठिक थियो भन्नु भन्दा पनि त्यो समस्याको निदान गर्ने दायित्व सरकारको नै हो यसको यश वा अपयशको भागी सरकार नै बन्नु पर्दछ ।   त्यस लगतै मेडिकल सामाग्रीहरुको खरिदमा अनियमितता भएको खबरले पनि सरकार दबावमा नै पर्यो र पछि खरिदको सम्झौता रद्द गरेको पनि भनियो । बेमौसममा आएका अद्यादेशहरुले त सरकारलाई झन् भित्तैमा पुर्यायो ।


पार्टीसंग नसोधीकनै काम गरेको आरोप प्रधानमंत्रीलाई पार्टिभित्रका विरोधीहरुले लगाऊँदै आएका थिए । अहिलेको परिवेशमा यो आरोपमा पार्टी हीतमा भन्दा गुटहरुलाई सत्ताका मनोनयनहरुमा स्थान नदिएको कुरा थियो । प्रधानमंत्री सबैतिरबाट दबावमा परेकोबेला अद्यादेशलाई संसदीय दलमा रहेको आफ्नो बहुमतका आधारमा पार्टी विभाजन गरेर भएपनि आफु सत्तामा रहने संदेश पार्टीभित्रका आफ्ना विरोधीहरुलाई प्रमले दिन खोजेको जस्तो देखिन्छ । सजिलो बहुमतमा रहेका प्रमले ल्याएको अद्यादेशले विभिन्न शंका गर्ने ठाँऊँ दिएको थियो । यो सुवर्ण मौका पारेर ओलीलाई पार्टीमा कमजोर पार्न प्रचण्ड, नेपाल, खनाल एकाकार भए । नेकपाको यतिबेलाको विवाद कुनै सैद्धान्तिक विवाद होईन । यो केवल पदमा हिस्सेदारी खोजिएको मात्र हो । प्रधानमंत्री ओलीसंग लामो संगत गरेका प्रदीप नेपालले एउटा अन्रवार्तामा भनेका छन्— ओली तिकडम गर्न खप्पिस हुन् त्यसैले उनि सजिलै हार्दैनन् । यसको मतलब हारे भने अरुलाई सजिलै गर्न पनि दिंदैनन् ।


ओलीको कमजोर स्वास्थ्यले पनि धरैलाई त्राण दिएकै हो तर अब उनि बलिया भएका छन् । नेकपाभित्रको विवाद हिजोसम्म बेलाबखत प्रचण्ड भर्सेस ओलीका रुपमा देखिंदै आएको थियो । नेकपाका एकजना नेताले भने — ओलीलाई तह लगाउन प्रचण्डले पूर्व एमालेका गुटहरुलाई भिडाएर आफु निर्णयक शक्तिका रुपमा हावी हुने रणनीति अपनाएका छन् । यो रणनीतिलाई बुझेका केपीले यतिबेला सँधै प्रधानमंत्री बन्न बालहठ गर्दै आएका बामदेवलाई प्रधानमंत्री बनाउने प्रस्ताव ल्याएका छन् । सरासर हेर्ने हो भने ओलीपछि प्रचण्ड नै प्रधानमंत्रीका दावेदारका रुपमा मानिन पर्ने हो तर कुरा वामदेवतिर गएको छ । यस्तो भयो भने यसले प्रचण्डलाई घाटा पनि हुन सक्दछ । किनभने एमाले र माओवादीबीचको स्कुलिङमा ठुलो फरक छ त्यसले गर्दा एमाले गुट एउटै कित्तामा उभिन संभावनालाई नर्कान सकिंदैन । ओलीप्रतिको असंतोषमा देश राजनीति जनताको चर्चा भने छैन । पार्टीका बैठकहरुमा भने ओली अल्पमतमा परेको देखिदै आएको छ । ओलीले पार्टीलाई वेवास्ता गरेको हो भने त्यो गलत नै हो त्यसलाई सुधार्ने दवाबका रुपमा यो आएको देखिंदैन बरु उनलाई सबैतिरबाट निस्तेज पार्ने प्रयास भै रहेको देखिंन्छ । गुटहरुका हिसावले हेर्ने हो भने पार्टीका निकायहरुमा उनि कमजोर देखिए पनि पार्टी पंक्तीमा उनि अरु भन्दा धेरै बलिया देखिन्छन् । यो हिसावले नेकपा अहिले नै फुटिहाल्ने अवस्था देखिंदैन यो किचलो भने चलिरहने देखिन्छ । नेकपाको ठुलो आवश्यकता भनेको साँस्कृतिक वा संस्कारगत समस्या हो तर यतातिर कसैले नजर दिएका छैनन् । देशले भोगेको राजनीतिक अस्थिरताबाट उन्मुक्तिका नाममा विगतमा गरिएका भाषणबाजी मानिसले भुलेका छैनन् । यस्तोमा सरकार फेरबदलको प्रयासले पार्टीलाई कुनै अर्थमा फाईदा पुर्याउने देखिंदैन । त्यसैले नेकपाका गुटनायकहरुले कमि कमजोरीलाई पैल्याएर ठण्डा दिमागले निराकरण गर्न आवश्यक छ ।                
   


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

Home: The First School of Baby

क्या भारत अब भी अमरीका की राह देख रहा है ?ं