अब स्मृतीमा सिमित मित्र प्रकाश

                                                                                                                                                                                                                                                                                                                                                                      बाबुराम पौड्याल





यहि २०८२ साल कार्तिक २७ गते बिहान ७ बजेतिर अकस्मात् मेरो मोवाईलको घण्टी बज्यो । हेर्दा फोन प्रकाशजीको नम्बर देखें । गतवर्ष बिमारी परेपछि उहाँले पटकपटक फोन गर्नुहुन्थ्यो तर उहाँको आवाज स्पष्ट नहुनाले कुरा गर्न सहज हुँदैनथ्यो । यसपटक पनि त्यस्तै होला भनेर फोन उठाँए । उताबाट दाई प्रकाशजी रहनुभएन, खबर साथीहरुलाई सुनाइदिनु होला है भनेको सुनें । त्यो आवाज उहाँकी श्रीमतिको थियो । खबर सुनेर पत्याउन गाह्रो भयो । विश्वास नलागेर केही क्षणपछि मैले फेरि फोन गरें र के भएर त्यस्तो भयो भनेर सोधें ।  हिजो खाना खाँदै गर्दा उहाँलाई अचानक खोकी लागेपछि अप्ठ्यारो भयो र तुरुन्त अस्पताल लगियो त्यही नै राती ७ बजेतिर उहाँको निधन भयो भन्नुभयो । आखिरमा मनले नमाने पनि सत्य सत्य नै थियो । खुट्टा थर्र कामे र थच्च भुईमा बसें ।ं प्रकाशजीसंग बिताएका उत्साहले भरिएका संघर्षशील दिनहरु मस्तिष्कमा चलचित्र र्झै घुमिरहे । 

 गतवर्ष मङसिर महिनातिर उहाँलाई मष्तिष्कघात भएको थियो । त्यो घटनाको एकदिन पहिला भरतपुरको विशालचोक स्थित उहाँको घरमा हाम्रो रमाइलो भेटघाट भएको थियो । भेटमा साँधै झैं राजनीति , दर्शन र इतिहासका बारेमा धेरै कुराकानी भए । उहाँको चिन्तन र शैलि दुरुस्त नै थियो । कुराकानीले म आफु पनि उहाँसंग रहँदाको उही  पुरानो समयमा छु जस्तो अनुभव भएको थियो । यसबाहेक भारतको आसाम र मेघालय राज्यमा रहँदा हामीले गरेका कृयाकलाप र त्यहाँका साथीहरुको बारेमा रमाईला कुराकानी पनि भए । उहाँले आफै पकाएको चिया पिएर म विदा भएको थिएँ । त्यसको भोलिपल्ट काम विषेशले म लुम्बिनीको मणीग्राम पुगेको थिएँ । त्यहीं दिउसो चारबजेतिर प्रकाशजीको नम्बरबाट उहाँकी श्रीमतिले फोन गर्नुभयो । प्रकाशजी अचानक बेहोश भएर अस्पताल लगिएको थाहा पाएँ । त्यसै दिन मणीग्रामबाट फर्के पनि सडकको अवरोधका कारण अबेर राती मात्र भरतपुर पुग्न सम्भव भयो । भोलिपल्ट अस्पतालमा गएर हेर्दा उहाँ अचेत अवस्थामा हुनुहुन्थ्यो ।ं मेरो मनले अब प्रकाशजीलाई देख्न पाईदैन भन्ने सोच्यो । मसंग भरतपुरका भाई रमानिधि पनि थिए । केही समयपछि प्रवासमा सामाजिक र राजनीतिक काममा संलग्न भएको इतिहास बोकेका र हाल भरतपुरमा बसोवास भएका म भन्दा धेरै पुराना साथी सीबीजी पनि आईपुग्नु भयो । प्रकाशजीका श्रीमती, बैनी लीला र दुई छोरीहरु अस्पतालमा शोकाकुल अवस्थामा थिए , छोरा नमन मलेशियामा रहेको हुनाले आउन सकेको थिएनन्  । अस्पतालले अपरेशन गर्नु पर्ने र त्यसकालागि तुरुन्त तीनलाख रुपैयाँ जम्मा गर्नु पर्ने नभए बिमारीलाई छिटै लैजान दबाव दिईरहेको थियो । तर, प्रकाशजीका अन्य केही साथीहरुको पहलमा काठमाण्डौ लैजाने पहल भैरहेको थियो । मैले त्यहाँ आफ्नो तर्फबाट गर्नसक्ने खासै केही थिएन । त्यहाँ आर्थिक अभाव पनि टडकारो देखिन्थ्यो । चाँडै घर गएर जेजति हुन्छ सहयोग गर्न सके उचित हुन्छ भन्ने लाग्यो र म त्यसै दिन पोखरा फर्के । घर आएर मेघालयको खेलेरियाटमा लामो समय प्रकाशजीसंगै रहनुभएका र हाल पोखरा बस्ने साथी खड्गजीलाई फोन गरें र सबै कुरा भनें । यथाशक्ति सहयोगका लागि सँधै तत्पर रहने उहाँ पनि निकै भावुक हुनुहुन्थ्यो ।

प्रकाशजीलाई अचेत अवस्थामा नै काठमाण्डौ लगेर टिचिङ अस्पतालमा भर्ना गरिएछ । दुईतीन दिनपछि उहाँको स्वास्थ्यमा क्रमश सुधार हुँदै गएको खबर आयो । तर, उहाँको शरीरको एउटा हिस्सामा नचल्ने भएको थियो र बोली बुझ्न सक्ने थिएन । केही दिनपछि उहाँलाई भरतपुर ल्याईएछ र डक्टरको सल्लाह बमोजिम देवघाटको बागेश्वरीस्थित योगी नरहरीनाथ योग तथा नेचरकेयर अस्पतालमा भर्ना गरिएको थाहा पाएपछि म त्यहाँ पुगेंर फोन गरें । केही समयपछि परबाट ह्वीलचियरमा श्रीमतिले उहाँलाई लिएर आउँदै गरेको देखें । अस्पताल अगाडिको सडकछेऊमा  बसेर ईशारा र अपुष्ट वाक्यहरुमा केही कुराकानी भयो । उहाँसंग यो भेटमा सँधै जस्तै भन्ने कुरा धेरै थियो तर मलाई बुझाउने स्पष्ट शब्दसहितको आवाज थिएन । जे भएपनि आशा मारेको साथी यसरी जिवित भएर फर्केकोमा मन प्रफुल्ल  भयो । थोरै भएपनि क्रमिक सुधार भएको सुनेर खुशी लाग्यो । त्यसपछि पनि बेलाबेलामा उहाँ फोन गर्नु हुन्थ्यो तर बोलीमा केही सुधार भएपनि बुझ्न सकिने थिएन । मेरो कुरा बुझ्न भने उहाँलाई कुनै समस्या थिएन । यो भेटको झण्डै एघार महिनापछि अचानक उहाँको निधन भएको सुन्दा स्तब्ध भएँ । 

               

लामो समयको अन्तरालपछि प्रकाशजीसंगका बिताएका विगतका घटनाहरु स्मरण गर्दै श्रद्धांजली स्वरुप यो आलेख तयार गर्न बस्दा त्यस बखतका तिथि मितीको क्रमिकता सम्झन गाह्रो भैरहेको छ । म नेपाल फर्केेको पनि झण्डै साढे तीन दशक व्यतित भैसकेको छ । अहिले मेरो सम्पर्कमा रहनुभएका त्यसबेलाका साथीहरुसंग पनि यकिन रुपले त्यो अध्यावधिक गर्न पनि संभव भएन । अड्कलको साहारा लिन बाहेक अरु विकल्प हाललाई मसंग रहेन । समय क्रममा कतैबाट थाहा हुन आएमा दुरुस्त गर्ने वाचा गर्दछु ।   

 पूर्वोत्तर भारतको असम राज्यमा सन् १९७९ देखि विदेशी नागरीकहरु निष्काशनको माग गर्दै शुरु भएको विद्यार्थी आन्दोलनका कारण नेपालीहरुलाई बस र रेल स्टेशनमा पुलिसले धरपकड गर्न थालेको थियो । वर्षहरु बित्दै जाँदा त्यसको प्रभाव मेघालयमा पनि पर्न थालेको थियो । शुरुमा यो आन्दोलन बंगलादेशी विरुद्ध जस्तो देखिए पनि अन्तत यो नेपाली समुदाय विरुद्ध पनि सोझिन थालेको थियो । सन् १९८६मा मेघालयको जयन्तिया हिलका कोइला खानीमा काम गर्ने नेपाली भाषी मजदूरहरुलाई पुलिसले राज्यबाट निष्काशन गर्न शुरु गर्यो । यसमा नेपाली नागरीक मात्र नभएर भारतीय नेपाली पनि थिए । यसले गर्दा नेपाली जनमानसलाई आतंकित थियो । सन् १९५०मा भारत र नेपालबीच भएको सन्धिले वैधतालाई उपयोग गर्दै नेपालका नागरीक पनि भारतमा रहन पाउने कुराको पुरै वेवास्ता भएको थियो । 

 त्यसैताका खानापाडामा अखिल भारत प्रवासी नेपाली संघको दोस्रो क्षेत्रिय सम्मेलनको आयोजन भएको थियो । असम मेघालय नागालैण्डका प्रतिनिधि साथीहरु र अन्य समर्थकहरुको राम्रै उपस्थिति  थियो  । उक्त कार्यक्रममा केन्द्रिय समितिका सचिव टी कार्की र सदस्य बाबुराम खनालको पनि उपस्थिति थियो । कार्यक्रम चलिरहँदा हल्का कालो वर्णको, खाईलाग्दो फुर्तिलो शरीरको नचिनेको एकजना युवकलाई पनि देखिरहेको थिएँ ।  केही समयपछि बाबुराम खनालजीले पर साथीहरुसंग कुराकानी गरिरहेका ती युवकलाई देखाउँदै ती युवकको नाम प्रकाश शर्मा, उनको घर दुलियाजान, यहाँ पढ्न आएको , अहिले उलुबारी बसोबास छ , कुरा बुझ्ने र मेहनती छन् । उमेर पनि मेरो र उनको लगभग एउटै छ । उनिसंग परिचय गरेर हाम्रो संघको बारेमा राम्रोसंग बुझाउन भन्नुभयो । त्यही उहाँले प्रकाशजीलाई बोलाएर हाम्रो परिचय पनि गराउनु भयो । यसरी प्रकाशजीसंग मेरो पहिलो भेट भएको थियो । त्यसपछि हाम्रो भेटघाट घनिष्टतामा पुग्न धेरै समय लागेन । अखिल भारत प्रवासी नेपालीसंघ र अखिल भारत नेपाली स्वतन्त्र युनियनको प्रचार प्रसार गर्न कैयौं प्रवासीहरु र  विद्यार्थीहरुका घरमा पुग्यौं । यी दुवै संगठनहरु नेपालमा भूमिगत नेपाल कम्युनिष्ट पार्टी मालेका भारत प्रवासमा प्रवासी नेपालीहरु माझ काम गर्ने  भातृ संगठनहरु थिए ।  यो प्रयासमा हामी कहिले सफल भयौं त कहिले असफल तर प्रयास छोडेनौ । सन् १९८५—८६ तिर हो जस्तो लाग्छ अभानेस्ववियुको केन्द्रिय सचिव भएर प्रकाशजी भारतका कैयौं शहरहरुमा पुग्नुभयो । पछि म संधको र प्रकाशन सम्बन्धि काम लिएर धेरैपटक बनारस पुगेको थिएँ । त्यहाँका धेरै साथीहरुबाट प्रकाशजीका बारेमा रमाइला प्रसंगहरु सुनेको थिएँ । मानिसहरु बीच चाँडै घुलमिल गर्न सक्ने अनौठो गुण थियो । 

मेधालयको कोईला खानीबाट निष्काशित नेपाली मजदूरहरु गुवाहाटीको पल्टन बजारस्थित नेपाली मन्दिरमा शरण लिन आईपुगेका थिए । केही दिनपछि उनिहरुलाई आसाम पुलिसले त्यहाँबाट बंगाल राज्यको सिमानामा लगेर छोड्ने काम गर्यो । यसले सबैलाई झन् चिन्तित बनायो । असम र मेघालयका केही प्रमुख भारतीय र प्रवासी संगठन मिलेर नेपालीहरुको एउटा साझा मंचको रुपमा जेकेनो नामको संस्था बनाईएको थियो । त्यसको प्रारुप तयारीको छलफल चल्दै गर्दा प्रवासी र घरवासीको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । त्यसै सन्दर्भमा एकजना असम राज्यको विधायक समेत् रहेका नेपाली नेताले नेपाललाई लिएर असभ्य अभिव्यक्ति दिएपछि यो विवाद भएको थियो । प्रवासी संघका नेता बाबुराम खनालले तत्काल त्यसको कडा प्रतिवाद गर्नुभयो । प्रकाशजी लगायत अरु साथीहरुले पनि प्रतिवाद गर्नुभयो । त्यहाँ भएका धेरैजसो मानिसहरु हाम्रो पक्षमा देखिए । बैठकबाट निस्केपछि पनि हामीलाई त्यो असभ्य टीप्पणीले शरीर आगोले पोले जस्तै भएको थियो । यसको प्रतिवाद यो यतिले मात्र पुग्दैन भन्ने हामीलाई लागेको थियो । हामीले  तत्काल त्यो नेपाल विरोधी मन्तव्यको भण्डाफोर गर्दै पर्चा छापेर वितरण गर्ने निधो गर्यौं । घर पुगेर बाबुराम खनालजीले आफैले त्यो पर्चा लेख्नुभयो । पर्चा प्रेसमा जान अगावै एकदिन टी कार्की पनि कतैबाट गुवाहाटी आईपुुग्नुभयो । उहाँको सल्लाहमा केही संशोधनसाथ त्यो पर्चा छापियो । प्रकाशजी र म गएर नेपालीहरुको जमघट हुने स्थान र नेपाली मन्ंिदर र अन्यत्र पनि बाँड्यौ । निकै चर्काचर्की होला भन्ने लागेको थियो तर त्यस्तो केही भएन । धेरैले हामीलाई स्याबासी नै दिए । नेपालप्रति अपशब्द प्रयोग गरेको धेरैलाई चित्त बुझेको रहेनछ । बाहिर निस्केपछि प्रकाशजीले भन्नुभयो सानै भएपनि एउटा तात्कालिक लडाई जितियो ।

भोलिपल्ट खाना खाईसकेपछि हाँस्दै भन्नुभयो बाबुरामजी आज मेरो मुख निकै चिलायो तपाईको चिलाएको छैन ? मैले कुरा बुझ्न सकिन । मुख चिलायो भने हिजो पर्चा बाँडेको ठाऊँ जानु पर्छ भनेपछि बल्ल कुरा बुझें । दुवैजना हाँस्यौं । त्यहाँ गएपछि नेपालको विरोधमा बोल्नेहरुको प्रतिवाद गर्न पाईने थियो । संभवतः त्यो दिन रविवार पनि थियो । एघार बजेबाट पाँच बजेसम्म नेपाली मन्दिरमा नै बस्यौं । धेरै मानिसहरु आए गए । तिनमा धेरै जनाले हामीलाई स्याबासी नै दिए । आखिर नेपालीले नेपालप्रति माया नगर्ने कसरी पो हुनसक्थ्यो र । त्यसपछि पनि केही दिन बेलुकीपख मानिसहरुको मनस्थिति बुझ्न हामी निरन्तर गयौं तर सबैको माया पायौं । बिदेशी लखेट्ने डरलाग्दो परिस्थितिका बावजूद पनि हामीप्रति देखिएको सद्भावले हामीलाई मख्ख पार्यो । नेपाली भाषीबीच प्रवासी र घरवासीमा विभाजनको रेखा गलत ढंगले पो कोरिने हो कि भन्ने चिन्ता पनि थियो । तर, अर्को वर्ष १९८७मा मेघालयमा नेपालीभाषीहरु माथि नै अत्याचार भएपछि यो विभाजनको खतरा पनि गौण भएर गयो । सन् १९८६ मा नै हो जस्तो लाग्छ , नेपालीहरु माथि भएका घटनाहरु सबै नेपालीहरु माझ पुर्याउने लक्ष्य लिएर संघको क्षेत्रिय समितिले पूर्वी चेतना नामक पत्रिकाको प्रकाशन गर्ने निर्णय गर्यो र मलाई त्यसको सम्पादनको जिम्मेदारी दियो । त्यो केही अंकहरुको प्रकाशनपछि सन् १९८९ तिर बन्द भयो ।                     

         

केही समय प्रकाशजीले हामीसंगै खानापाडाको नेपाली सहायोगी एम.ई. स्कुलमा अध्यापन पनि गर्नुभयो । त्यहाँका समाज सेवी धनबहादुर मास्टरले दिनुभएको सानो जमिनमा स्थानीय साथीहरुको सहयोग र मेहनतले काठपातको घर बनाईएको थियोंं ।  त्यहीबाट हाम्रा साँस्कृतिक साहित्यिक र संघ संस्थाका काम हुने गर्दथे । खानापाडाका नेपाली युवाहरु मनोरंजन गर्न र नयाँ कुरा सिक्न फुर्सदको समयमा भेला हुन्थे । हामीले देउसी भैलो खेलेर बाध्यवादनका साधनहरु पनि जोडेका थियौं ।  त्यही हाम्रो बसोवास पनि थियो । केही समयपछि प्रकाशजी खानापाडा छोडेर जयन्तिया हिलतिर लाग्नुभएको थियो । पेशाका साथै संघको काम पनि गर्नुभएकोले उहाँको त्यहाँ राम्रो प्रतिष्ठा थियो । खानापाडा छोडेपनि चिट्ठी मार्फत हाम्रो संवाद कहिल्यै रोकिएन । त्यसबेला शिलाङ बस्ने अभानेस्ववियु तथा अभाप्रनेसंघका कर्मठ कार्यकर्ता र साहित्यका पारखी वीरेन्द्र तुम्बापो ( उहाँको पनि केही वर्ष पहिला नेपालको पाँचथरमा निधन भैसकेको छ ) पनि हाम्रो घनिष्टतामा बाँधिन आइपुग्नु भएको थियो यद्यपि उहाँसंग पहिलेदेखि नै मेरो चिनजान थियो  । वीरेन्द्रको आगमनले हामीलाई नेपाली साहित्यको क्षेत्रमा पनि केही गर्नु पर्छ भन्ने उत्साह पलाएको थियो ।  संघका पाको उमेरका साथीहरु हामीलाई देखेर त्रिभूजका तीन कोण भनेर टीप्पणी गर्नुहुन्थ्यो । यो टीप्पणीले हामीलाई फुरुङग पाथ्र्यो । हामी तीनजना भेट हुँदा उत्सव जस्तै हुन्थ्यो ।

प्रकाशजी पनि राम्रै कविता लेख्ने गर्नुहुथ्यो । बीरेन्द्र मेघालयका नेपाली कविका रुपमा चिनिन थाल्नुभएको थियो । म सिमानापारी, चासो जस्ता पत्रिकामा विषयपरक लेख र रिपोर्ट लेख्न थालेको थिएँ । हाम्रा रचनाहरु आसाम मेघालय र सिक्कीमका केही पत्रिकामा छापिन थालेका थिए । शिलाङमा नेपाली साहित्यकालागि मरिमेट्ने हेम जोशीसंग पनि हाम्रो राम्रो साहित्यिक सम्बन्ध थियो । साहित्यप्रतिको हाम्रो उत्साहको श्रोत वामपंथी विचारका श्रद्धेय दिल साहानी, टी कार्की, रण बहादुर जस्ता साथीहरु नै हुनुहुन्थ्यो ।

एकपटक प्रकाशजी वीरेन्द्रजी र मेरो खानापाडामा भेट हुँदा साथीहरुले दिनुभएको त्रिकोणलाई लिएर केही सार्थक काम गर्ने हुटहुटी चल्यो । तर, के गर्ने भन्ने बारेमा हामीमा स्पष्टता भने थिएन । दिनभरीे दिमागी कसरत चल्यो । चाँडै केही गर्नपाए हुन्थ्यो भन्ने थियो । साहित्यक  पत्रिका निकाल्ने कि पूर्वोत्तर भारतको नेपाली साहित्यको बारेमा यहाँको प्रगतिशील धारको  यथाचित उल्लेख नभएकोले त्यसलाई समेट्दै इतिहास लेखौ भन्ने दुविधा थियो । पत्रिका निकाल्ने र त्यसलाई निरन्तरता दिन हाम्रालागि आर्थिक रुपले सहज थिएन । अन्यत्र पनि लामो समयदेखि यस्ता धेरै प्रयास भएका तर दिगो हुनसकेका धेरै प्रमाणहरु थिए । इतिहास लेख्ने भन्ने कुरा पनि विभिन्न ठाँऊको भ्रमण गर्ने कुरा हाम्रो आर्थिक सिमितताको कारणले तत्कालकालागि संभव थिएन । सारमा, सांगठनिक र साहित्यिक साँस्कृतिक क्षेत्रमा भएका कामहरुको पनि अभिलेख रहोस् भन्ने उद्देश्य थियो । प्रकाशजीले अहिलेलाई अआफ्नो ठाऊँमा बसेर गर्न सकिने काम गरौ त्यसको अरु कामकोलागि संघका साथीहरुसंग कुरा गरौला प्रस्ताव राख्नुभयो । यसरी त्यो दिन हामी त्यो दिन विदा भयौं । 

 सन् १९८८को कुनै दिन हो जस्तो लाग्छ , हाम्रो खानापाडामा भेट भएको थियों । अघिल्लो वर्ष सन् १९८७ मा मेघालयमा नेपालीहरु माथि भएको अत्याचारको घाउ आलै थियो । छिटफुट घटनाहरु अझै पनि घट्दै थिए । हजारौं मानिसहरु राज्य छोड्न वाध्य भएका थिए । हजारौं नेपालीहरु विभिन्न शिविरमा आश्रय लिन वाध्य भएका थिए । विभिन्न नेपाली संगठनहरुका अआफ्नै ढंगले बैठक चलिरहेका थिए । प्रतिनिधिहरुले गएर विभिन्न सम्बन्धित निकायहरुलाई भेट्ने र  मेमोरेण्डम दिने काम गरिरहेका थिए । प्रवासी नेपाली संघले कलकत्ता दिल्ली जस्ता शहरमा विरोध प्रदर्शन गरेको थियो । नेपालमा पनि विद्यार्थी संगठनहरुले यो घटनाको विरोधमा प्रदर्शन गरेका थिए । यही विषयमा हामी कोठामा बसेर धेरैबेर कुरा गर्यौं । संभवत त्यसै दिन हामी तीनजनाले जनकवि गोकुल जोशीको सम्झनामा गोकुल प्रकाशन नामक संस्थाको स्थापना गर्ने र विभिन्न साहित्यिक र अन्य दस्तावेजहरुको प्रकाशन गर्ने निर्णय गर्यौं । यसको केही वर्ष अगाडि नै अभाप्रनेसंघको पूर्वोत्तर क्षेत्रिय समितिको बैठकले पूर्वोत्तर प्रकाशनको स्थापना गर्ने निर्णय गरेको थियो तर त्यसको कार्यान्वयन भएको थिएन । त्यो ढिलाई देखेर चाँडै नै केही गरिहालौं भन्ने मनस्थितिका हामीले कतै सम्पर्क नगरिकन यो निर्णय गरेका थियौं । पछि गोकुल प्रकाशनको स्थापनालाई पूर्वोत्तर प्रकाशनको समानान्तर किन त्यसैलाई सक्रिय नगर्ने भन्ने सामान्य मतान्तर पनि भयो तर ठुलो असहमति भएन । यो प्रकाशनबाट रणबहादुर क्षेत्रीका नौलागीत नयाँ कविता ( यो कृति वनारसमा लगेर छापिएको थियो )  र पछि नौ माईल शिविरमा रहेका शरणर्थीहरुलाई सरकारले बर्नीहाट नजिकैको नरबुंङमा सारेपछि त्यहाँको हृदयविदारक अवस्थालाई चित्रण गर्दै उहाँले लेख्नुभएको नरबुङको सवाई (१९८९) र आमाको पुकार छोराको हुँकार (१९८९) प्रकाशित भयो । टी कार्कीज्यूले लेख्नुभएको नाटक विजयका हातहरु ( १९९०) र प्रेम सिंह सुवेदीको गुवाहाटीको नेपाली मन्दिरका बारेको पुस्तिका पनि प्रकाशित भएको थियो । गुवाहाटीका छापाखानाका कारण  ती कृतिको प्रविधिकपक्षमा भएका केही कमजोरीले हामीलाई संतोष दिन नसकेको भएपनि समग्रतामा हामी मख्ख थियौ । 

सन् १९८६ मा जयन्तिया पहाड र १९८७ मा पूर्वी खासी पहाडमा ठुला घटनाहरु भएर पनि नेपालीहरु माथि आतंकको माहौल कायम नै थियो । सन् १९९०मा पनि जयन्तिया पहाडका नेपाली मजदूरमाथि धरपकड जारी थियो । प्रकाशजीको सकृयता र खड्ग हमाल लगायतका अन्य साथीहरुको प्रयासमा त्यहाँ कोलियारी वर्कर एशोसिएसन गठन भयो । त्यसको अध्यक्षमा प्रिती सिंह राई र सचिवमा प्रकाशजी हुनुहुन्थ्यो । त्यहाँ नेपाली कोईला मजदूरहरुको ठुलो आन्दोलन भयो । निराशामा डुबेको नेपाली जनमानसमा केही आशाको संचार भयो । स्थानिय प्रसाशनदेखि लिएर मेघालयको राज्य सरकारसंग वार्ताहरु भए । मेघालयका तत्कालिन मुख्यमंत्री बी बी लिङडोले अन्ततः नेपालका नेपालीहरु सन् १९५०को भारत नेपाल मैत्री सन्धि अनुशार भारतमा आउनजान र काम गर्न पाउने तथ्य स्वीकार गर्न वाध्य भए । एशोसिएसनले नै मजदूरहरुको निषेधित क्षेत्र प्रवेश अनुमति पत्रको फारम भरेर प्रशासनलाई बुझाउने पहल लिएको थियो भएको थियो ।

म त्यहाँ पुगेको बेला त्रासमा डुबेका नेपालीहरुमा आशाको संचार भएको देखेको थिएँ । एशोसिएशनको कार्यालयमा गुनासहरु लिएर आएका मानिसहरु भीड लागिरहेको हुन्थ्यो । प्रकाशजी उनिहरुका कुरा सुन्न व्यस्त हुनुहुन्थ्यो । त्यतिबेला गुवाहाटीबाट प्रकाशित हुने पूर्वांन्चल प्रहरी दैनिक समाचारपत्रमा मैले नेपालीहरुको विषयलाई लिएर लेख्न थालेको थिएँ । मैले त्यहाँको विषयलाई लिएर समाचार लेख्दै पनि आएको थिएँ ।          

सन् १९९१ मा म स्वदेश फर्केंपछि भने प्रकाशजी र वीरेन्द्रसंगको सम्पर्क विच्छेद हुन पुग्यो । हाम्रा गन्थन मन्थन सबै ठप्प भए । त्रिकोणीय आधार छिन्नभिन्न जस्तै भयो । सन् १९९१मा फेरि प्रकाशजीलाई भेट्न नेपालबाट लाड्रुम्बाई पुगें । यतै फेरि केही गरेर बस्ने परिस्थितिको खोजी पनि थियो मेरो । वीरेन्द्र पनि त्यही हुनुहुँदो रहेछ । यसरी तीनै जना फेरि भेट हुन पाएकोमा हामी निकै खुशी भयौं । प्रकाशजीले स्कुल खोलेर मेरो यतै बस्ने चाँजोपाँजो मिलाउने कोशिस पनि गर्नुभयो । तर, मलाई संभव जस्तो लागेन । त्यहाँ म लगभग तीन महिना बसें । यसबिच कुराकानी हुँदै जाँदा हामीलाई साहित्यमा परिष्कार खाँचो भएको महसुस भयो र परिष्कार अभियान चलाउने ईच्छा भयो । त्यसको अवधारण पत्र हामीले तयार पनि पार्यौं । त्यसको घोषणा वीरेन्द्र र मैले शिलाङमा भएको एउटा साहित्यिक समारोह ( संभवत देवकोटा जयन्ति हुनुपर्छ ) मा राम्रो उपस्थितिबीच गरेका थियौं तर त्यो लहड पनि म फर्केपछि अधुरो नै रह्यो । समग्रमा हाम्रा धेरै सपनाहरु यथार्थमा परिणत हुन सकेनन् । त्यसपछि वीरेन्द्रजीसंग मेरो कहिल्यै भेट भएन । सन् १९९२मा प्रकाशजीको सम्पादन र खड्ग मल्लको सहसम्पादनमा पौरख नामको साहित्यक पत्रिका पनि प्रकाशन भएको थियो । उहाँका मेरा यस्ता अनगिन्ती स्मरणहरु छन जसलाई एकैपटक बयान गर्न सम्भव छैन ।    

प्रकाशजीले उतै विवाह गरेको, बालबच्चा समेत् भएको र उहाँकी जीवनसाथीको असामयिक निधन भएको खबर एकैपटक सुन्दा धेरै दुःख लाग्यो । पछि उहाँ नेपाल दुईतीन पटक आउँदा भेट भयो । पारिवारीक जीवनमा प्रवेश गरेपछिका उतार चढावले हामी दुवैलाई भिन्न परिवेशमा पुर्याएको थियो । पुरानो उत्साह धेरै हदसम्म पछाडि छुटे जस्तै भएको थियो र पनि भेट हुँदा उनै बितेका दिनहरु सम्झनामा रमाउने गर्दथ्यौं । पछि प्रकाशजी परिवार सहित नेपालको झापातिर आएर बस्न थाल्नुभयो । बुवाको मृत्यु भएपछि त्यहाँबाट चितवन आउनुभयो । उहाँको परिस्थिति निकै साँघुरो थियो । फोनमा बेलाबेलामा सम्पर्क हुने गर्दथ्यो । आउनेजाने पनि भैरहेको थियो । तर, अकस्मात् उहाँसंग सदाकोलागि बिछोड हुने परिस्थितिको सामना गर्नुपर्यो । अब मसंग उहाँसंगका स्मृतिका क्षणहरु बाहेक अरु केही बचेका छैनन् । शोकको यो घडीमा मसंग पनि उहाँप्रति हार्दीक श्रद्धान्जली ।                     

                       

               


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

भारत पाकिस्तान तनाव ः युद्ध विराम मात्र होईन, संवादको विकल्प छैन

भारत—पाक तनाव ः भारतीय मुख्य धारा की मिडिया का छिछोरापन