नेपालमा सरकार ढाल्न र जोगाउन भारत र चीनको चलखेल तीव्र !


चिनिया राजदूत हो याङकीको सत्तारुढ नेकपाभित्रको विवाद मिलाउन पटकपटक चलेको दौडधूपले नेपाली राजनीतिक दलहरुको क्षमताप्रति निराशा उत्पन्न भएको छ । एउटा भारतीय पत्रिकाका अनुशार नेपालमा भारतीय खुफिया चलखेल बढेपछि त्यसको काउण्टर गर्न चीनले सक्रियता बढाएको भन्ने देखिन्छ ।

India and Nepal, and China, forever | Knappily
      
               
कोरोना संक्रमण र देशमा देखिएको आर्थिक संकट जस्ता गम्भिर विषयलाई वेवास्ता गर्दै नेकपामा हालै चलिरहेको आन्तरिक गुट संघर्षमा प्रधानमंत्री केपी ओलीलाई राजिनामा दिन दबाव बढिरहेको बेला नेपालस्थित चिनिया राजदूत हो याङकीले त्यस पार्टीका नेताहरुलाई भेट्ने क्रम तीव्र बनाएपछि चारैतिर आशंका फैलिएको छ । गत बैशाखमा पनि नेकपामा चलेको विवादको बेला राजदूत याङकीले यस्तै सक्रियता बढाएपछि विवाद साम्य भए झैं देखिएको थियो ।


बाहिर देखिएको परिदृश्य यस्तो भएपनि पर्दाभित्र आफ्नो चरीत्र अनुशारको गतिविधि भारतले काठमाण्डौको राजनीतिक वृत्तमा सिमा विवादवारे राजनीतिक स्तरमा वार्तालाई प्राथमिकता दिनु भन्दा यहाँका नेताहरुका कान फुक्न आफ्ना एजेन्सीहरुका माध्यमबाट सकृय रहेको खुल्न आएको छ । भारतीय राष्टिय सुरक्षा सल्लाहकार अजित डोभालको निर्देशनमा भारतीय गुप्तचर संस्था र का प्रमुख शामन्त कुमार गोयल र काठमाण्डौ ब्युरो प्रमुख अरविन्द कुमारको टिम, नेपालले लिम्पियाधुरा‍ लिपुलेक समेटेर नयाँ नक्शालाई संसदबाट पारित गरेपछि नै काठमाडौमा सक्रिय रहेको केही नेपाली मिडियाहरुमा आईसकेको थियो । उनिहरु काँग्रेस निकटस्थ एक उद्योगपतिको आश्रयमा रहेको रहेको चर्चा पनि चलेको छ ।

 

नेपालमाथि भारतले प्रोपाेगाण्डा यूद्ध चलाईरहेको बेला बोल्दा पदीय मर्यादालाई ख्याल नगर्ने स्वभावका प्रम ओलीले एउटा सभामा आफ्ना विरुद्ध भारतमात्र होईन आफ्नै पार्टीभित्रैबाट पनि भारतलाई साथ मिलेको संकेत गर्दै अभिव्यक्ति दिएपछि नेकपाभित्र चलिरहेको गुटसंघर्ष चर्किएर ओलीलाई प्रधानमंत्री र पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा दिन दबाव दिईएको छ । पार्टीका माथिल्ला निकायमा उनि अल्पमतमा देखिएका छन् ।

भारतीय समाचारपत्र द पायोनियरका अनुशार नेपालले प्रकाशित नयाँ नक्शालाई संविधान संशोधन मार्फत वैधानिकता दिएपछि नयाँ परिस्थितीलाई सम्हाल्ने नाममा नेपाल आएको उक्त टोलीले नेकपाका प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, केशव बडाल, वर्षामान पुन, शंकर पोखरेल र प्रमका सल्लाहकार राजन भट्टराईसंग भेटघाट गरिसकेको बताईएको छ । त्यसै गरी काँग्रेसका सभापती शेरबहादुर देउवा, डा. मीनेन्द्र रिजाल, कृष्ण सिटौला र राष्ट्रिय समाजवादी पार्टीका महन्त ठाकुर, उपेन्द्र यादव र बाबुराम भट्टराईलाई समेत् र चिनियाँ राजदूत याङकीलाई पनि भेटेको समाचारपत्रले श्रोतको हवाला दिंदै लेखेको छ ।


 यो प्रयासको अन्तर्य प्रम ओलीको विस्थापन नै रहेको पनि धेरैले अनुमान गरेका छन् । यसको स्पष्टिकरण जासुसहरुसंग भेटेका नेपाली नेताहरुले नै दिने छन् । भारतीय खुफिया एजेन्सीले नेपालमा विकसित भएको परिस्थितिको समयमा नै आँकलन गर्न नसकेको भन्ने बुझाई भारतको रहेको बताईएको छ । भारतको यस्तो चलखेललाई देखिने गरी टक्कर दिन पनि चिनियाँ सक्रियता बढेको भन्ने घटना क्रमहरुले देखाएका छन् ।

 

सत्तारुढ दलभित्रका गुटहरु बीचको सत्ता संघर्षले पार्टी विभाजन र उक्त दलका एकजना अध्यक्ष केपी ओलीको नेतृत्वको वर्तमान सरकार समेत् विघटन हुन पनि सक्ने अवस्था देखिएको छ । यसबीच अरु धेरै तीकडमबाजी चल्ने अड्कल काट्न थालिएको  छ । कुनै सैद्धान्तक मतभेदविना गुटहरुबीच सत्तामा एकलौटी वा भागबण्डाकालागि चर्किएको नेकपाभित्रको संघर्ष उत्कर्षमा पुगेको छ । यो अवस्थालाई पार्टीभित्रको गुटगत समस्याका रुपमा मात्र नभएर भारतले नेपालले हालै प्रकाशित गरेको नयाँ नक्शाले पारेको अप्ठयारोलाई आफ्नो पक्षमा किनारा लगाउन वर्तमान सरकारको अवसान हुनु पर्ने लक्ष्यबाट पनि प्रेरित जस्तो देखिएको छ ।

  

 पार्टीलाई विभाजित गर्न नहुने भन्ने नेकपाका कार्यकर्ताहरुको दबाव ठूलै देखिएको परिप्रेक्ष्यमा हालको समस्या तत्कालकालागि टरे पनि यो रोगबाट तत्कालिन अवस्थामा एकअर्काका कटुआलोचक रहेका एमाले र माओवादीे, चुनावका बेलादेखि अचानक एकता गरेर बनेकोे नेकपाभित्र सँधै नै गुटगत झगडा रहिरहने देखिन्छ । यसको यो कमजोर स्वरुपलाई अहिले उत्तर र दक्षिणका शक्तिहरुले उपयोग गर्न खोजेको  स्थिति देखिएको छ । विदेशी स्वार्थको इशारामा पार्टीभित्र हुरी बतासनै आउने भएपछि यसको हविगत दयनीय रहेको देखिएको छ । पार्टी एकताले समयमा नै पुर्णता पाउने अवस्था न देखिदा नेकपामा विग्रहको सिलसिला भने भविष्यमा पनि रोकिने देखिंदैन ।

 विगतमा लामो समय भारतीय हस्तक्षेपबाट पिडित रहँदै आएको देशमा चिनियाहरुको पनि सोही स्तरको सक्रियताले शंदेह उत्पन्न गराउनु स्वभाविक छ । नेपालका राजनीतिक दलहरु अझै विदेशीको गोटी बन्ने गलत परम्पराबाट मुक्त हुन नसक्नु दुखद हो । यसलाई लिएर चीन र नेकपाका नेताहरुको विरोध र आलोचनाका स्वरहरु पनि सुनिन थालेका छन् ।   विरोध र चिन्ता गर्नेहरुका पंक्तिमा विदेशी हस्तक्षेप नचाहने असल देशभक्तहरु मात्र छैनन् , विगतमा भारतले गर्दै आएको ठाडो हस्तक्षेपलाई शिर निहुरो पारेर सहयोग र समर्थन गर्नेहरु र चीनको सक्रियतालाई देखाएर भारतीय हस्तक्षेपलाई उचित सिद्ध गर्न प्रयासरत जमात पनि सक्रिय देखिएको छ । यतिखेर पर्दा पछाडि चलेको भारतीय सरगर्मी यथार्थ थाहा पाएपछि उनिहरुको लाचारी देखिने नै छ ।


यसअघि नेपालको पश्चिमोत्तर सिमा क्षेत्रमा दुवै देशले विवादित मानिआएको भूभागलाई भारतले गत नोभेम्बरमा आफ्नो नक्शामा देखाएपछि भारतसंग नेपालको तपसीलमा रहँदै आएको विवाद नयाँ ढंगबाट एकाएक चर्किएको भएको थियो । भारतले त्यसबेला आफुले नेपालतिरको नक्शामा कुनै परिवर्तन नगरेको बताएर झुटो प्रचार गरेको थियो । त्यसको केही महिना नबित्दै लिपुलेकसम्म पुग्ने सडक भारतिय रक्षामंत्री राजनाथ सिंहले उद्घाटन समेत एकपक्षिय ढंगले गरेपछि विवाद छताछुल्ल भएको थियो । यस्तो पेलाहा प्रवृत्ती देखिएपछि आफ्नो दावी कायम राख्न केही थप गर्नेै पर्ने दवावमा नेपाल परेको थियो ।

 

  भारतीय रवैयाको प्रतिवाद गर्न नेपालले पनि विवादित भनिदै आएको क्षेत्रलाई आफ्नो नक्शामा समेटेर प्रकाशित गरी संसदबाट समेत् पारित गरिसकेपछि भने भारत झस्किएको छ । भारतले नेपालसंग वार्ता गरेर समस्या निराकरणको बाटो खोज्नु भन्दा नेपालमाथि चीनको उक्साहटमा लागेर प्रधानमंत्री ओलीले नक्शा प्रकाशित गरेको प्रचारबाजी गरिरहेको छ ।


 भारतले नाकाबन्दी ताकाको ओलीको सरकारलाई ढाल्न गरेको सफल प्रयास पनि नेपालीहरुले देखिसकेका छन् । सन् २०१५ देखि नेपालाई अर्को छिमेकी चीनतिर नजिक हुन वाध्य पारेको भारतले आत्मसमीक्षा गर्न खोजेको देखिंदैन । यसबीच नेकपाको विवादमा चिनिया सक्रियता बढ्नुले नेपाललाई चीनले उचालेको भन्दैअाएकाे भारतीय प्रचारतन्त्रले उचाल्दै अाएकाे छ ।


  नेपाललाई स्थिर र आत्मनिर्भर बन्न नदिने विदेशी स्वार्थहरु यतिबेला काठमाण्डौमा सल्बलाई रहेका छन् । बहुमतले मात्र देशलाई स्थिरता दिन सक्छ भन्ने कुरा गलत हो भन्ने कुरा अहिले देखिंदै छ । नेपालको राजनीतिक वर्ग अझै विदेशीको चाकडी गर्दै आइरहेको भन्ने कुरा अहिले पनि देखियो ।

भारतको हस्तक्षेप विरुद्ध चीनलाई वा चीनको हस्तक्षेपका विरुद्ध भारतलाई खडा गर्ने कुराले नेपाल झन् दोहोरो हस्तक्षेपमा पर्ने खतरा उत्पन्न हुनेछ ।



टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष