संस्मरण: ढाई आखर प्रेमका

            
यो एक प्रेम अनुभूत भएको एक पटकको स्मरण ब्यक्त गर्दै छू। गर्मी यामको एक सांझ ब्रम्हपुत्र नदीको देब्रे किनारमा बसेर पानीको बहाव हेर्दै झोक्राएर बसिरहेको थिएं । संभवत यसो गर्दै म आफ्नै जीवनको गति खोजिरहेको थिएं । सांझपखको शीतलता खोज्दै वा दिनभरको व्यस्तताबाट उम्केर मन बहलाउन गुवाहाटीको पानबजार, फेन्सीबजार तिरबाट मानिसहरुको नदी किनारमा आउने क्रम बढ्दै थियो । हरेक मानिसको टा
उकोमा लाङखुट्रटेको झुण्ड उडिरहेको देखिन्थ्यो । मसंग आज मंगलदोईतिरबाट यहां आएर काम गर्दै पढ्दै गरेको मुकुल कलिता थियो । उसंग मेरो हिजो मात्रै यही किनारमा चिनजान भएको थियो ।


आज मुकुल अलिबढी चिन्तित थियो । उ नदीको पानीमा आफ्ना दुवै खुट्टाका पाईतालाहरु डुबाएर नदीको उत्तर गुवहाटीतिर बल्न थालेका बत्तीहरु नियाली रहेको थियो । मैले उसलाई नजिकै गएर हेरें । उ रोईरहेको थियो । मैले कारण सोधेपछि उ उठ्यो र भन्यो, मसंग प्रेम गरेकी केटीले अर्कै केटासंग बिहे गरी । उसले दुवै आंखा हातले पुछ्दै भन्यो, अब म गुवाहाटी बस्दिन । यति भनेर उ हिंड्यो । यो नव परिचित साथीप्रति म दुखित भएं । कसैको कसैसंग प्रेम भएको कुरा त पहिले पनि सुन्दै देख्दै आएको थिएं तर प्रेम भनेको बलियो आकर्षण रहेछ भन्ने मलाई अनुभव यसपटक भयो । म पनि उसलाई सम्झंदै विस्तारै किनारबाट हिंडें । उर्वशी सिनेमानेरको राजहंस होटेलमा राखेको साईकलमा रित्तिएका दुधका क्यानहरु लिएर भांगागडतिर लागें ।


त्यसपछि कलिता कहिल्यै ब्रम्हपुत्रको किनारमा मात्र होईन गुवाहाटी शहरमा कहीं पनि भेटिएन । मेरो ब्रम्हपुत्रको किनारमा पुग्ने क्रम नियामित नभए पनि वर्षैसम्म टुटेन । म दुधवालाबाट शिक्षक, पत्रकार, सामाजिक र राजनीतिक कार्यकर्ता हुंदासम्म यो क्रम जारी रहयो । तर, हरेक पटक किनारमा पुग्दा म कलितालाई सम्झन्थे । लाग्थ्यो, उ यही कतै बसिरहेको छ । मनमा तनाव र चिन्ता परेकोबेला वा बिरामी परेकाबेला म ब्रम्हपुत्रको किनारमा पुग्थें । त्यहां पुगेपछि मलाई एकखालको शान्ती मिले जस्तो हुन्थ्यो । यसरी यो किनार मेरो एकखालको आत्मिय साथी जस्तै बनेको थियो ।

सन् १९८६ को जाडोमा मेघालयको जयन्तिया पहाडको कोईला खानी क्षेत्रमा काम गर्दै आईरहेका नेपाली मजदुरहरु माथी गैरकानुनी विदेशीको आरोप लगाउंदै केन्द्र सरकारको निर्देशनमा राज्यसरकारले व्यापक धरपकड ग¥यो । गिरफ्तार गरिएकाहरुलाई आसाम राज्यको गुवाहाटी शहर नजिकै ल्याएर चेतावनी दिएर छोड्ने काम भयो । नेपालीहरुसंग वितरण नै नगरिएको प्रतिबन्धित क्षेत्र अनुमतिपत्र मागेर अमानविय ढंगको धरपकड गरिएको थियो । दार्जिलीङ्ग सिक्कीमतिरका नेपालीहरु समेत यो धरपकडमा परे । यो घटनाले मेरो मस्तिष्कमा ठूलो चोट प¥यो । यतिवेला म दूध बेच्ने दूधवाला थिइन । म कलेजको विद्यार्थी, सामाजिक कार्यकर्ता पनि थिएं । पत्रपत्रिकाहरुमा लेख्ने र पुस्तकहरु पढ्ने अनौठो शौक ममा शुरुभएको थियो ।

लगतै, अर्को वर्ष फेरी मेघालयका नेपालीहरु माथि झन् ठूलो विपत्ती खनिएको थियो । विदेशीहरुलाई राज्यबाट निकाल्ने आन्दोलन नै चल्यो । सडक यताउती, बस र रेल्वे स्टेशनहरुमा मुख र मुठी लिएर हिंडेका नेपालीहरुको विजोग देखिन्थ्यो । नेपाली हुनु नै अपराधी हुनु ठहरियो । यो नेपालीहरु माथिको अर्को झन् ठूलो बज्रपात थियो । दिनहरु पनि सूर्य नउदाएका अंध्यरा जस्तै भए ।


ती दिनहरुमा ब्रम्हपूत्रको किनार र दिघली पोखरीको जिल्ला पुस्तकालय मेरा आश्रय स्थल जस्तै भएका थिए । समय पाउने बित्तिकै म खानापाडाबाट नदी किनारतिर जाने गर्दर्थे । पहिला म सांझतिर ब्रम्हपूत्रतिर पुग्थें भने अब त्यस्तो समयको पाबन्दी थिएन । त्यहां केही बेर टहलिएपछि पुस्तकालय पुग्थे त कहिले पुस्तकालयबाट निस्किएर किनारतिर पनि जान्थें । जेहोस ती दिनहरु मेरालागि दुर्दिन थिए ।


ब्रम्हपूत्रको किनारसंगै जोडिएर आउने स्मृती भनेको मुकुल कलिताकै थियो । जसले मलाई प्रेमको आकर्षण वारे सोच्न वाध्य पारिरहन्थ्यो । निराशाका ती दिनहरुमा मुकुलको सम्झनाले मलाई अर्कै संसारमा पु¥याउंथ्यो ।


पुस्तकालयमा अध्यायनकालागि आउनेहरुसंग कुनै वार्तालाप हुंदैनथ्यो । अनुहारमा हेर्दै मुसुक्क हांसेर पुस्तकालयमा पस्ने र निस्कने हुन्थ्यो । ती मध्ये कसैसंग अन्यत्रै भेटियो भने कुराकानी हुन्थ्यो र तीनीहरुसंग बढी घनिष्टता पनि हुन्थ्यो । तर पनि पुस्तकालयमा गफ गरेर समय बिताउने चलन थिएन । पुस्तकालय बाहिर छेलपारेर जोडी ढुकुर जस्तै बस्नेहरु पनि हुन्थे तर तिनीहरुलाई अरुले आफुलाई चिन्लान कि भन्ने त्रास भएको अनुमान गर्न सकिन्थ्यो । तीनीहरुलाई देखेर म उहि मुकुल र उसलाई धोका दिने उसकी प्रेमीको कल्पना गर्दथे । सोच्थें, के यही हो प्रेम ?

जुन महिनाको तापिलो एक दिऊंसो म असिना पसिना हुदै जिल्ला पुस्तकालय पुगें । निस्कदै गरेका हुसैन, धिरेन क्रमसः देखिए सधै झैं मुस्कान अभिवादन मात्रै भयो, अरु कुरा केही भएन । ढोकाबाट भित्र छिरें । अगाडिपट्टीको डेस्कमा सबैले खुरा भनेर बोलाऊने पुस्तकालयका परिचर मलाई देखेर मुसुुक्क हांसे । तपाई त केही दिन देखिनु भएन नि ? उनले सानो स्वरमा सोधे । तर, मैले हांसेरै कुरा टालिदिएं । तपाईसंग एउटा काम छ , अहिले निस्कने बेलामा भेटौं, भने । अघिल्लो हप्ता मैले लगेका पुस्तकबारे केही भन्न हो कि जस्तो लाग्यो र किताब छान्न दराजतिर लागें ।


करिब दुईघंटापछि निस्कने बेलामा मैले उनलाई डेस्कमा भटें । उनले प्लाष्टिकका चारवटा सुन्दर फूलहरुको पोलिथिन प्याक मलाई दिंदै भने, अस्ति एकजना केटीले तपाई  भनेर दिएको । म खुशी र अचम्भित दुवै भएं । हातमा ती फूलहरु लिएर सोचें । यसरी मलाई फूल दिने खालको सम्बध भएको खासै कोही थिएन । मैले उनलाई भुल्नु भयो कि खुरादेऊ भनेर दोहो¥यएरै सोधें । “तपाईको नाम र तपाई यहां आएर प्रायजसो बस्ने त्यो कुर्सी समेत् उसले देखाएर भनेकी हो, यसमा शंकै नगर्नोस्” उनले अश्वस्त पार्दै भने । खुराका अनुशार उ अनियमित रुपले पुस्तकालय आउने केटी हो र देखे भने उसलाई चिन्नमा समस्या थिएन । संभवतः उ कार्ड भएकी सदस्य थिईन । त्यसैले उसको नाम पनि रेकर्ड हेरेर थाहा पाउन सक्ने स्थिती भएन । म त्यो अज्ञात पात्रले दिएको माया लाग्दो चिनो लिएर बाहिर निस्किएं । बाहिर निस्केर फेरि फूलहरु झिकेर हेरें । एउटा रातो कागजको टुक्रामा ”सिम्बल अफ लभ’ मात्र लेखिएको थियो । कुनै नाम थिएन । म सरासर ब्रम्हपूत्रतिर हान्निएं ।


अब मसंग मुकुलको स्मृति र मेघालयबाट नेपालीहरु लखेटिएको पीडाबोध मात्र होईन प्लास्टिकका फूलहरुले ल्याईदिएको सुवास पनि थपिएको थियो । त्यो सुवासले मेरो तरुण मानसिकतामा आंधीबेहरी नै ल्याई दिएको थियों । अर्कोतिर मेरो चनाखो मनले ममाथि कसैले ठट्टा गरेको हो कि भन्ने जनाउ दिईरहेको थियो । अर्को तरुण मन यो मान्न तयारै थिएन । ब्रम्हपूत्रको किनारमा गएर मैले पुस्तकालयमा चिन्ने केटीहरुका अनुहार आफ्नै स्मृतिमा खोज्ने प्रयास गरें तर अड्कल लगाउन सकिएन । घर पुगेर पनि यो कुरा कसैलाई भन्न सकिन । भन्यो भने पनि हांसोको पात्र नै बन्नु पर्ला कि भन्ने डर थियो ।


भोलिपल्ट अपरान्हतिर रोमाचित हुंदै पुुस्तकालय पुगें र बहिर पट्टीको बरण्डामा बसें । आउनेहरु आउदै भित्र पस्दै थिए । फेरि भित्र पस्न मन लाग्यो । ¥याकमा किताब मिलाई रहेका खुरालाई त्यस केटीका बारेमा जान्न खोजें तर केही जवाफ पाईएन । एउटा किताब लिएर संधै बस्ने कुर्सीमा गएर बसें र किताब पढ्ने प्रयास गरे तर पटक्कै मन बसेन । ढोकाबाट भित्र पस्दै गरेकी मितालीलाई देखें । उससंग मेरो सामान्य कुराकानी हुने गर्छ । उसले मलाई देखी र संधै झैं हात हल्लाई । यसबाहेक अरु केही थप संकेत उसमा पाईन । उ गएर पल्लोतिरको कुर्सीमा बसी र पढ्न थाली । यसपछि आउने सबै स्त्री अनुहारमा आंखा लगाएं तर कुनै खोज सफल भएन । समय धेरै बितिसकेछ । खुरा पुस्तकहरु समेल्दै राख्न थाले । केटीलाई खै देखेको छैन, भेट्नु भयो र ? — उनले मेरो मनको व्यघ्रता बुझेर सोधे । म कुनै अमूल्य हिरा हराए झैं खोजी रहेको थिएं । के यो नै प्रमको आभाष थियो ? म स्पष्ट थिईन ।


कैयौं दिन यहि रितले बिते । केही दिन पछि त्यहीं कृतिलाई भेटें । तेजपुरतिर की । नेपाली भएको हुनाले भेट्दा उसंग कुरा हुन्थ्यो । अघिल्लो पटकको भेटमा उसले मेरो नेपाली र हिन्दी बोल्ने शैलीको तारीफ गरेकी थिई । त्यो दिन पनि उसंगै बाहिर निस्किएं । मेघालयमा भएको घटनावारे कुरा गर्दै दुःख मनायौं । मेरो मनले उप्रति शका गर्न मानेन, किनभने उसको विवाह भै सकेको मलाई थाहा थियो । यसरी दुई महिना भन्दा बढी ती फूलहरु झोलामा लिएर हिंडिरहें । पुस्तकालय आउने जाने सबै स्त्रीअनुहारमा मप्रतिको आकर्षण खोंजे तर पाउन सकिन । अन्तमा एक सांझ ती पूmलहरु उर्लिरहेको ब्रम्हपुत्रमा अर्पण गर्दै अज्ञात मन र मुकुललाई सम्झिएं । लाग्यो, प्रेम भनेको यस्तै रहेछ ।
 
       

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष