भारत पाकिस्तान तनाव ः युद्ध विराम मात्र होईन, संवादको विकल्प छैन
युद्ध विरामकाे सहमतिपछि पाकिस्तानमा आफ्नो जित भएको दावी गर्दै खुशीयाली मनाईएको छ । भारतमा पनि छिटफुट रुपमा युद्धविरामको खबरले मानिसहरु सडकमा आएर खुशीयाली मनाएको देखिन्छ । यसभन्दा अगाडि भएका यस्तै घटनाहरुमा भारतमा जुन उल्लास भारतमा देखिन्थ्यो त्यो यसपटक देखिएको छैन ।
बृटिस उपनिवेशबाट सन् १९४७मा मुक्त भएसंगै विभाजित भएर बनेका दुई देश भारत र पाकिस्तानबीच ७ मईबाट शुरु भएको युद्ध चारदिन चलेर अन्तत १० मईका दिन ५.०० बजेबाट दुवैपक्षको सहमतिमा पुगेर टुंगिएको छ । यो सम्झौतासम्म कसरी पुगियो भन्ने विषयमा भने भारत सरकारप्रति प्रश्न खडा भएको छ । मई १२ को राती प्रधानमंत्री नरेन्द्र मोदीबाट देशका नाममा सम्बोधन भएको छ । सम्बोधनमा पाकिस्तानलाई पाठ सिकाउन सफल भएको बाहेक उठेका प्रश्नहरु बारे उल्लेख भएको देखिएन । सम्बोधनपछि आफ्नो अभियानमा सेनाले सफलता पाईरहेको अवस्थामा कुनै निष्कर्शमा नपुग्दै किन युद्धविराम भयो भन्ने शंका निवारण भएको छैन । उता यो सम्बोधनको केही घण्टा अगाडि अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशमाथि व्यापार नगर्ने दबाव दिएर सहमतिमा आउन वाध्य पारेको बताईसकेका थिए ।
अप्रैल २२ मा भारतको कश्मिर स्थित पहलगामामा एक नेपाली नागरीक सहित २६ पर्यटकको ज्यान जाने गरी भएको आतंंकी हमलाको बदला लिने उद्देश्यले भारतले पाकिस्तान अधिकृत कस्मिरमा आतंकवादीहरुका नौ आश्रयस्थल रहेको भन्दै ती स्थलहरुमा मिसाईल आक्रमण शुरु गरेको थियो । उसले आफ्नो यो सैन्य अभियानलाई सिन्दूर नाम दिएको थियो ।
सहमतिपछि पाकिस्तानमा आफ्नो जित भएको दावी गर्दै खुशीयाली मनाईएको छ । भारतमा पनि छिटफुट रुपमा युद्धविरामको खबरले मानिसहरु सडकमा आएर खुशीयाली मनाएको देखिन्छ । यसभन्दा अगाडि भएका यस्तै घटनाहरुमा भारतमा जुन उल्लास भारतमा देखिन्थ्यो त्यो यसपटक देखिएको छैन ।
युद्ध विरामकाे सहमतिपछि पनि दुवैले एकअर्काप्रति सहमति भंग गरेको आरोप लगाएका छन् । तर, विस्तारै दुवै तर्फको जनजीवन सामान्य बन्दै गएको अन्तरराष्ट्रिय मिडियाहरुले बताएका छन् । यो सहमतिप्रति लामो समयदेखि तनावपूर्ण सम्बन्धमा रहेका दुवैपक्ष कति इमानदार रहने छन् भन्ने प्रश्न भने अझै शंकाको दायरा भन्दा बाहिर छैन । यो सहमतिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक्समा राती अबेरसम्म दुवैपक्षसंग बातचित गरेपछि दुवैले युद्धविराममा सहमति गरेको लेखेका छन् । यसबाट म प्रसन्न छु भनेर उनले पोष्ट गरेपछि यो समाचार चारैतिर फैलियो । भारतले भने अमेरिकी सक्रियतालाई महत्व नदिए झैं दुवैपक्षबाट नै यो संभव भएको संतुलित प्रतिक्रिया दिएको छ । तर, पृष्टभूमिमा अमेरिकी विदेश साचिव मार्को रुबियो र उपराष्ट्रपति जेडी वेन्स युद्धविराममा सहमति जुटाउन सक्रिय थिए । यसले अमेरिकी मध्यस्थताको पुष्टि गरेको देखिन्छ । सहमति अनुशार कुनै तटस्थ स्थानमा मई १२ सम्म दुवैपक्षले सबै समस्याहरुमा वार्ता गर्ने अमेरीकी पक्षले भनिएको थियो त्यो समय व्यतित भैसकेको छ ।
भारतले पाकिस्तान विरुद्ध युद्धको तयारी गरिरहेको सुचना पाएको इस्लामाबादले पहिले नै सार्वजनिक गरेको थियो । विश्वका सबै ठुला देशहरुले दक्षिणएशियाका परमाणु शक्ति सम्पन्न यी दुवै देशमाथि सैन्य अभियान बन्द गर्न शुरुदेखि नै दबाव दिइरहेका थिए । दुवैपक्षले आफ्ना समर्थक देशहरु युक्रेन रुस र इजरेल हमास युद्धमा जस्तो सहयोगकालागि खुलेर आउने छन् भन्ने विश्वास लिएका थिए तर तत्काल त्यसो देखिएन । टर्की र अजरबैजान पाकिस्तानको पक्षमा खुले जस्तो देखियो भने आर्थिक र रणनीतिक साझेदार रहेको चीनले पनि संतुलित प्रतिक्रिया मात्र दियो । पछि उसले आफुले पाकिस्तानको सार्वभौमिकता जोगाउन सहयोग गर्ने प्रतिक्रिया दियो ।
भारतको तुलनामा निकै कमजोर पाकिस्तानका लागि युद्ध लम्बियो भनें स्थिति घातक हुनसक्ने थियो । यस्तो अवस्थामा पाकिस्तानले विध्वंशकारी परमाणु अस्त्र प्रयोग गर्ला भन्ने चिन्ता पनि सबैतिर थियो । भारतले अमेरीकाबाट आफ्नो पक्षमा केही बढी आपेक्षा राखेको थियो तर त्यसो भएन । उसले दुवै देशलाई समान हैसियतमा राखेको आभाष दियो । यो भारतको पक्षमा थिएन । यस अगावै अमेरिकी उपराष्ट्रपति वेन्सले आफ्नो देश कुनै युद्धमा संलग्नता नरहने जनाएर भारतलाई झस्काईसकेका थिए । भारत आफ्नै बलबुतामा हरेक दुष्टिमा कमजोर पाकिस्तानमाथि ठुलै धक्का दिन सकिन्छ भन्ने कुरामा भने आश्वस्त थियो । सारमा, आतंकवादको विरोध सबै देशहरुबाट भएपनि पाकिस्तानमाथि थप दवाव दिने भन्दा दुवैपक्षले तत्काल शान्ति बहाल गरुन् भन्ने कुरालाई उनिहरुले प्र्राथमिकता दिए ।
विगत लामो समयदेखि तनावपूर्ण सम्बन्ध भएका दुवै देशले सन् १९७२को शिमला सम्झौता अनुशार आफ्ना समस्याहरुमा तेस्रोपक्षलाई प्रत्यक्ष संलग्न गराएका थिएनन् । यसपटक भने अमेरीकी सक्रियताले योे परम्परा भंग भएको जस्तो देखिएको छ । युद्ध शुरु हुनभन्दा अगावै भारतले सिन्ध नदी जल सम्झौता रद्द गर्दै पाकिस्तानलार्ई पानी नदिने घोषणा गरेको थियो भने पाकिस्तानले पनि प्रतिकारमा शिमला सम्झौताबाट अलग भएको घोषणा गरेको थियो ।
भारतका मुलधारका मिडियाले भने पाकिस्तानले नै भारत समक्ष युद्ध विरामको प्रस्ताव राखेर घुँडा टेकेको प्रचार गरेका छन् । पाकिस्तानी मिडियाले पनि आफुले भारतका शक्तिशाली मानिने तीन राफेल र अन्य दुई जेट विमानहरु खसालेको हुनाले भारत रक्षात्मक अवस्थामा पुगेको प्रचार गरेका छन् । यसप्रति भारतले आधिकारिक प्रतिक्रिया दिएको छैन । दुवै देशमा भ्रामक सुचनाहरुको बाढी नै आयो तर पाकिस्तान भन्दा भारतका मुलधारका संचारमाध्यमहरु यो कार्यमा धेरै अगाडि देखिए । पश्चिमी मिडियाले भने केही भारतीय विमानहरु पाकिस्तानले खसालेको अनुमान गरेका छन् । जे भए पनि युद्ध समाधान थिएन । यसले पुर्याउने धनजनको क्षती र जनजीवनमा पार्ने नकारात्मक असर डरलाग्दो हुने निश्चित थियो । यो बुझेर वा कुनै अन्य दबावमा भएपनि दुवैले सहमति जनाएर तत्कालकालागि भएपनि राम्रो काम गरेका छन् ।
पश्चिमी जगतमा यो युद्धमा पाकिस्तानले प्रयोग गरेको चिनिया युद्धक विमान र प्रविधि बारे ठुलो चासो देखिएको छ । भारतीय वायुसेनामा प्रयोग भएको संसारमा उन्नत मानिएको फ्राँसमा निर्मित राफेल युद्धक विमान र पाकिस्तानले प्रयोग गरेको चीनमा निर्मित जे—१०सी युद्धक विमान , पीएल— १५ मिसाईल र एचक्यु—९बी सुरक्षा प्रणालीबीच तुलना गर्न थालिएको छ । पाकिस्तानले राफेल र त्यसका जडित प्रणालीलाई चिनिया विमान र रक्षाप्रणालीको सहायताले ध्वंस पारेको भन्ने खबरले पश्चिमी जगत सशंकित बनेकोे छ । चीनको यो विमान युद्धमा प्रयोग भएको यो पहिलो घटना थियो । द टेलिग्राफले चीनले एआई , सुचना प्रणाली र टेक्नोलोजीमा गरेको अविश्वसनिय प्रगती तर्फ संकेत गर्दै यो युद्धमा त्यसको प्रभाव परेको हुनसक्ने आँकलन गरेको छ । चिनिया प्रविधिले भूउपग्रहको सहायताले प्रतिपक्षी विमानको सुचना , सुरक्षा प्रणालीलाई अवरुद्ध पार्न सक्ने र यो युद्धमा पनि राफेल त्यसैको जालमा परेको हो कि भन्ने शंका गरिएको छ । युद्धमा अफवाहको बाढी नै आउने भएकोले पनि अहिले नै किटानी साथ भन्न सकिने अवस्था छैन । फ्राँसेली खुफिया एजेन्सीको हवाला दिंदै सीएनएनले पनि पाकिस्तानले सैनिक विमान खसालेको बताएको छ । रोयटरले पनि ९ मईको संस्करणमा अमेरिकी अधिकारीहरुको हवाला दिंदै पाकिस्तानले भारतका दुई विमानहरु खसालेको समाचार दिएको छ । ती अधिकारीहरुले अमेरीकाले यो युद्धलाई गम्भिरतासाथ अवलोकन गरिरहेको पनि बताएका छन् । भारतले आफ्ना युद्धक विमानहरुको क्षतीबारे केही प्रतिक्रिया नदिएपछि स्थिति रहस्यमय बनेको छ । युद्ध विरामको घोषणा गर्दा भारतीयपक्षमा देखिएको निरसताले पनि यो शंकालाई थप बल पुर्याएको जस्तो देखिएको छ । युद्धको पछिल्लो चरणमा मिसाईल भन्दा ड्रोनको प्रयोग हुनाले पनि स्थितिलाई झन् शंकास्पद बनाउन मद्दत गरेको छ । के अमेरिकालाई पाकिस्तानी वायुसेनासंग यस्तो शक्ति भएको थाहा भएर युद्धविरामका लागि दबाव दिएको थियो र भारतले वाध्य भएर युद्धविरामको सहमति गरेको थियो वा ट्रम्पले भने जस्तै व्यापार अवरुद्ध गरिने दवावले नै काम गरेको थियो भन्ने प्रष्ट हुन बाँकी नै छ ।
यदि चीनको प्रविधिको श्रेष्टताको कुरा साँचो हो भने दुनियामा अबको हवाई युद्धले नयाँ चरणमा प्रवेश गरेको मान्न सकिन्छ । चीनको बढ्दो आर्थिक र सामरिक शक्तिले उसको प्रतिपक्षी खेमामा ठुलो दबाव पर्नेछ । युद्धसामाग्रीको बजारमा प्रभुत्व भएका उत्पादक देशहरुमाथि आगामी दिनहरुमा ठुलो चुनौती हुनेछ ।
पछिल्ला दिनहरुमा अमेरिकामाथि झन् नजिकिंदै गएको भारतका निम्ति छरछिमेकका समस्याहरुमा अमेरीका जस्ता देशहरुको संलग्नताले सुखद अवस्था नआउने संभावना बढी देखिन्छ । भारत आफैमा यो क्षेत्रको शक्तिशाली देश भएको हुनाले वरपरका समस्याहरुलाई शक्ति प्रदर्शन भन्दा शान्तिपुर्ण ढंगले समाधानतिर लाग्न आवश्यक छ । यसले भारतलाई मात्र होईन समग्र दक्षिण एशियालाई नै सुखद अनुभूति दिनेछ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.