नेपाल चीन बीच सामिप्यता बढ्दो
--बाबुराम पौड्याल
प्रधानमंत्री खड्गप्रसाद ओली र चिनिया राष्ट्रपति सि जिम्पिङबीच असार ६ गते बुधवार ग्रेटहल अफ दि पिपुलमा भेटवार्ता सम्पन्न भएको छ । यस अगडि मंगलवार नेपाली प्रधानमंत्री ओली आफ्नो दलबलसहित बेइजिङ पुग्दा चीनले आफ्नो सरकारका तल्लो वरियताका व्यक्तित्वलाई स्वागत गर्न पठाएकोले स्वागतलाई चिसो स्वागत भनेर टिप्पणी गरिएको थियो ।
चीन र भारतबीच विगत केही समयदेखि बढ्दो कुटनीतिक निकटताले गर्दा चीनको नेपाललाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आएको हो कि भन्ने शंका गरिएको भएपनि त्यसपछि भने चीनले त्यस्तो महसुस हुन नदिएको बताइएको छ ।
बुधवारको उच्चस्तरिय वार्तामा कनेक्टिभिटीले नै सबैभन्दा बढी महत्व पाएको देखिएको छ । चिनिया रेल नेपाल ल्याउने भन्ने सपनाको भरमा राजनीतिक लोकप्रियता आर्जन गर्दै आएका प्रम ओली र दक्षिण एशियासंग घनिभूत रुपले जोडिने चाहना राख्दैआएको बेईजिङबीच स्वार्थ जोडिएकोले यसले प्रभावकारी महत्व पाएको देखिन्छ ।
राष्ट्रपति सीले सिगात्सेसम्म पुगेको रेललाई अबको दुईवर्षमा केरुङसम्म ल्याइपुर्याउने संकेत गर्दै भने —“ त्यो चांडै काठमाण्डौसम्म पुग्ने छ ।” यस सम्बन्धी सहमतिपत्रमा बिहीवार हस्ताक्षर भएको छ । यति भएर पनि यसमा हुने लगानीवारे अझै धेरै कुरा स्पष्ट हुन बाकी रहेको देखिन्छ । यो निकै खर्चिलो योजना भएको हुनाले अघिल्लोपटक बेजिङ जांदा परराष्ट्रमंत्री ज्ञवालीले अनुदानमा बनाईदिन प्रस्ताव गरेका थिए । चिनियापक्ष भने यस प्रस्तावलाई पुरै मान्न तयार नभएको देखिएको छ । यो अनिश्चितताबीच पनि योजनालाई सफल बनाउन दुवैपक्ष उत्सुक देखिएका छन् । बुधवार बेजिङमा परराष्ट्रमंत्री प्रदीप ज्ञवालीले पत्रकारहरुलाई लगभग सातवर्षमा काठमाण्डौसम्मको रेलमार्ग बन्ने अनुमान सुनाएका थिए ।
नेपालमा बढ्ने आफ्नो लगानीको सुरक्षाकालागि पनि तीन सजग रहेको देखिंन्छ । ओबीओआर अन्तरगत कतिपय देशहरुमा भैरहेको लगानीमा देखिएका समस्याहरुवारे पनि चीन सजग छ । उसको यो अनुभवले पनि नेपालमा लगानी गर्दा पक्कै पनि केही सजगता अपनाउन उत्प्रेरित गर्ने छ । यसकालागि नेपालमा उत्पादनमुखी भौतिक संरचनाहरुमा चिनिया नीजिक्षेत्रको लगानी वृद्धि गर्ने सम्झौेताहरु समेत यसपटक भएका छन् ।
नेपालले चिनिया प्रस्तावको ओबीओआर अन्तरगत नै हिमालय वारपारको सम्बन्धलाई बढाउने चाहना राख्दै आएकोमा चीन सकारात्मक रहेको बताइएको छ ।
बुधवार चिनिया राष्ट्रपति सीले शान्तिपूर्ण सहअस्तित्व र पंचशीलका अधारमा अगाडि बढेको दुई देशको प्रसंसा गर्दै नेपालले आफ्नो सार्वभौमता, भौगोलिक अखण्डता र विकासकालागि गर्ने सबै प्रयासहरुमा चीनको साथ रहने बताएका थिए । नेपालमा आएको राजनीतिक स्थिरताको पनि सराहना गरिएको थियो । चीनले शुरुदेखि नै काठमाण्डौसंग नेपालीभूमिको प्रयोग चीन विरोधीहरुले गर्न नपाउन् भन्ने प्रत्याभूति खोज्दै आएको छ । नेपालले पनि चीनलाई यसमा विश्वस्त पार्ने प्रयास गर्दै आएको छ ।
चीनले नेपालको जलश्रोतको उपयोगमा पनि चासो देखाएको छ । माथिल्लो मस्र्याङदी, कालीगण्डकी, त्रिशुली र सिउरी जलविद्युत आयोजना गरि ८०० मेगावाट भन्दाबढीका आयोजनाहरुमा चिनिया लगानी आउने सम्झौता भएका छन् । नेपालसंग विद्युत व्यापारकालागि प्रसारणलाईन बनाउने सम्झौतामा पनि सहमति भएको छ । यसले नेपालले अब चीनसंग पनि पावर ट्रेड गर्न सक्ने अवस्था सृजना गरेको छ । यसअघि भारतले नेपालबाट विजुली किन्न आफ्नै लगानी भएको हुनुपर्ने शर्त राख्दै आएको थियो ।
यो भ्रमणमा भएका सम्झौताहरुको फेहरिस्त हेर्ने हो भने चीनले नेपालप्रति उदार नीति नै लिएको भन्न सकिन्छ । ती संझौताहरुको व्यवहारिकता कसरी हुने हो भन्ने कुरा सुनिश्चितताकाबीच पनि छर्लङग छैन ।
यो भ्रमणमा पछाडि परेको महत्वपूर्ण विषय पारबहन हो । प्रम ओलीको अघिल्लो कार्यकालमा चीनसंग भएका सम्झौताहरुमा सर्वाधिक चासोको विषय भएर पनि यसले प्राथमिकता पाएन । यसकालागि केही महिनापछि कार्य अगाडि बढाईने भनिए पनि नेपालकै कारण यसले पा्रथमिकता नपाएको बुझिएको छ । भारतसंग आफ्नो संतुलित सम्बन्ध राख्न पनि नेपालले तत्काल यो विषयलाई उठान नगरेको बुझिएको छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.