पुर्वोत्तरभारतका नेपालीहरु १०
लिगको घोषणा सभामा डम्बरसिं गुरुङले आसामको प्रसंग
उठाउदै भनेका थिए, आसममा तीनलाख नेपालीहरु छन् तर त्यहां हाम्रो एउटा
प्रतिनिधि पनि छैन । त्यहां पच्चिस प्रतिशत सरकारलाई कर तीर्ने नेपालीहरु
नै छन् भन्ने सुनेको छु
पूर्वोत्तर भारत को जंगल |
दार्जीलिङका नेताहरुले पहाडवासीहरुका मागका वारेमा तत्कालिन अखिल भारतीय कांग्रेस कमिटीका सभापति सुभाषचन्द्र बोसले समस्या समाधानकानिम्ति आश्वासन दिंदै नेता डम्बरसिं गुरुङलाई ८ अगस्ट १९३८मा पत्र लेखे । नेपालीहरुले भारतमा आफ्नो अस्तित्व रक्षा गर्न प्रयास गरिहिेको समयमा दिनांक ७ मार्च १९४३का दिन सिलिगुडीमा अखिल भारतीय नेपाली, भोटे र लाप्चे एशोसिएसन को गठन भयो । यो नाम धेरै लामो भएकोले ४ अप्रैल १९४३मा त्यसैलाई अखिल भारतीय गोर्खा लिगको नामाकरण गरिएको थियो । उक्त स्थापना सम्मेलनमा पूर्वोत्तर भारतबाट आसामका पूर्व एम.एल. सी. सरदारबहादुर जंगवीर लामा, शिलङबाट गोर्खा सेवक पत्रिकाका सम्पादक मणिसिंह गुरुङका शुुभकामनाका मन्तव्यहरु पढेर सुनाइएका थिए ।
ठाकुर चन्दन सिंहले सन् १९२१मा देहरादुनमा गठन गरेको र दार्जीलिङमा डम्बरसिंग गुरुङको नेतृत्वमा गठन भएको गोर्खालिगको नाम मिल्नुमा कुनै निरन्तरता भन्दा संयोग भन्नु उचित हुने छ । जागरणको यो तापबाट पूर्वोत्तरभारतका नेपालीहरु पनि प्रभावित थिए । लिगको नियमावलीमा गोर्खा भनेको गोर्खा साम्राज्यका प्रजा मानिएका र भारतमा आई रैथाने हिसाबले बसेका जम्मै जात र थरका व्यक्तिहरुलाई मानिएको छ । गोर्खा लिगमा आठवटा उद्देश्य मध्ये सातौंमा गोर्खा मातृभूमि स्वतन्त्र राष्ट्र नेपालसंग श्रद्धा र भक्ति साथ सम्बन्ध राख्ने उल्लेख गरिएको छ । लिगको घोषणा सभामा डम्बरसिं गुरुङले आसामको प्रसंग उठाउदै भनेका थिए, आसममा तीनलाख नेपालीहरु छन् तर त्यहां हाम्रो एउटा प्रतिनिधि पनि छैन । त्यहां पच्चिस प्रतिशत सरकारलाई कर तीर्ने नेपालीहरु नै छन् भन्ने सुनेको छु (बास सल्किरहेछ, पृष्ट १७२,१७३,७५) । यसबाट गोर्खा लिगको गठन हुने बेलासम्म पनि सचेत मानिएका डम्बरसिं गुरुङ अरिबहादुर गुरुङ जस्ता व्यक्तिहरुमा भारतीय राष्टी«यताप्रतिको झुकावका साथै मातृभूमि नेपालप्रति बलियो लगाव रहेको देखिन्छ ।
गोर्खा लिगको स्थापनापछि त्यसका नेताहरुले आफ्नो संगठनलाई धेरै नेपालीहरुको बसोबास रहेको आसाममा विस्तार गर्ने सोचे । त्यस अनूशार लिगका नेताहरु अरिबहादूर गूरुङ र शिबकुमार राई तेजपुर आएर आसाममा लिगको पहिलो शाखा खोले । लगतै, मंगलदोईमा पनि दोस्रो शाखा खोलियो । आसाममा यसरी नेपालीहरुको अखिल भारतीय संस्था गोर्खा लिगको स्थापना हुनु ऐतिहासिक घटना थियो । यसले नेपालीहरुको बढ्दो राजनीतिक सचेतनतालाई प्रष्ट पारेको देखिन्छ । भारतमा चलिरहेको स्वतन्त्रता आन्दोलन, महाशक्तिहरु बीच चलिरहेको विश्व विश्वयूद्ध र त्यसमा नेपालीहरुको अंग्रेजी सेनाको रुपमा होस् वा नेपाल सरकारबाट अंग्रेजहरुलाई सहयोग गर्न पठाईएका नेपाली सेनाका रुपमा होस् सबै मोरचाहरुमा नेपालीहरुको प्रत्यक्ष संलग्नता थियो । त्यसैले भारतीय नेपालीहरु र प्रवासी नेपालीहरु बीच त्यसको प्रभाव देखिनु स्वभाविक थियो ।
मई १३, १९४४का दिन दार्जीलिङमा लिगको पहिलो अधिवेशन सम्पन्न भयो । डम्बरसिं गुरुङको सभापतित्वमा गठित कार्यसमितिमा दार्जीलिङबाट रतनलाल ब्राम्हण (माईलाबाजेका नामले चिनिने रतनलाल वि.सं २००६ सालमा भारतको कलकत्तामा पुष्पलालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिष्ट पार्टी स्थापनामा महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ) , र पूर्वाेत्तर भारत (आसाम)बाट तेजपुरका रामजी शर्मा उपसभापति भए भने डुवर्सबाट रंगलाल लामा गरी तीनजना उपसभापतिहरु छानिएका थिए । अगस्त ट, १९४४का दिन लिगका नेताहरु डम्बरसिं,शिवकुमार राई र ब्यारिष्टर अरिबहादुर गुरुङ आसामको शिलाङ आएर चारुदत्त राई,लोकनाथ जोशी, सेते राणा,बबरबहादुर राणाको सहयोग र सहभागितामा उत्साहका साथ लिगको शिलाङ शाखाको गठन गरे । जनवरी १, १९४५ बाट गोर्खालिगको मुखपत्र “गोरखा”को पनि आरम्भ भयो । यसले भारतमा रहेका नेपालीहरु बीच संचार सम्बन्धको शुरुआत गर्यो ।
जनवरी ५, १९४५मा डम्बरसिं गुरुङले कलकत्ताबाट आएर तेजपुरमा विशाल सभालाई सम्बोधन गरे । १२ जनवरी १९४५मा सिंग्रीमा, १५ जनवरीमा बिहालीमा पनि लिगको शाखा गठन भयो । जनवरी १८मा डम्बरसिं गुरुङ गुवाहाटी पुगेर पूर्वोत्तर भारतमा बसोबास गरिरहेका नेपालीहरु विशेष गरी ग्रेजियर्सहरुका वारेमा असमका पूर्व प्रधानमंत्री गोपीनाथ बरदलैसंग भटेर कुराकानी गरे । गुरुङले तल्कालिन प्रधानमंत्री सादुल्लासंग पनि भेट्न खोजेका थिए तर उनि मंगलदोई गएको थाहा भएपछि १९ जनवरीमा मंगलदाई पुगे र उनलाई भटी नेपाली पशुपालकहरुमा देखिएको चरनको समस्याको वारेमा विचार विमर्श गरे । जनवरी २७, १९४५का दिन तेजपुरमा पशुपालकहरुको संगठन ग्रेजियर्स एसोसिएसनको छैटौं अधिवेशनमा डम्बरसिंले भाग लिए । त्यहां गण्यमान्य व्यक्तिहरुको उपस्थिती रहेको थियो । त्यहां जम्मै नेपालीहरु भएर पनि सभाको संचालन र मन्तव्य सबै काम आसमिया भाषामा भएको देखेर आफुलाई हृदयमा चोट लागेको कुरा डम्बरसिं गुरुङले कालेबुङ फर्किएपछि लेखेको डायरीमा उल्लेख गरेका छन् (बास सल्किरहेछ, भगीरथ रावत पृष्ट २०७ र २०८)।
यस क्षेत्रका विभिन्न संघ संगठन र लिगको दवाबपछि सरकारले १९३८सालदेखि बसोवास रहेका चरन आरक्षहरुमा पछि आएका मैमनसिंगेहरुलाई निकाल्ने निर्णय गरयो यो । यसरी नेपाली जनजीवनमा लिगले नयां चेतनाको संचार गरायो । तत्कालिन असमका सबैजसो नेपालीबहुल स्थानहरुमा गोरखा लिगका शाखाहरु खोलिए । नेपाल बाहिरका नेपालीहरुमा यत्रो जागरण आएको यो संभवतः पहिलो घटना थियो । सोझा, सरल, इमानदार तर बहादुरका नामले अंग्रेजहरुले चिनाइएका नेपालीहरुमा अब सामाजिक राजनीतिक चेतनाको पनि उत्थान हुंदै थियो । क्रमश..................
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.