अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

अष्ट्रेलिया आएको सातवर्ष नाघिसकेको रहेछ । उद्देश्य अरुथोक भन्दा आर्थिक उपार्जन रहेको उनले बताए । उनको अनुभवमा कमाई त छ तर खर्चले ढाड मस्काउने रहेछ । नेपालमा हुँदा उनले निर्माण सामाग्रीहरुको आपूर्तिको व्यवसाय पनि गर्थे । उनको कमाई राम्रै थियो ।






Image credit- AI

हामीहरु पुगेका अष्ट्रेलियाका जनघनत्व भएका ठाँऊहरुमा संरचनागत हिसाबले धेरै सुविधाहरु उपलब्ध देखिन्छन् । निश्चित स्थानहरुमा सफा, सुविधाजनक पार्क र उद्यानहरुको व्यवस्था गरिएका छन् । पार्कमा पानी, शौचालय, बालबालिकाहरुकालागि मनोरंजन गर्ने, व्यायम गर्ने, घुमफिर गर्ने र आराम गर्ने व्यवस्था गरिएको देखिन्छ । पार्कमा कुकुर लिएर हिंड्ने आमप्रचलन भएका हुनाले कुकुरकालागि पनि उचित व्यवस्थापन गरेको देखिन्छ । मानिसहरु अक्सर घुमफिर गर्ने समुद्रका किनारहरु पनि मानिसहरुमा  अनुशासन पालना गर्ने बानीले गर्दा सबैतिर स्वच्छ वातावरण देखिन्छ । यो व्यवस्थापन देखेर यहाँ हामी नपुगेका अन्यत्रका स्थानहरुमा पनि यस्तै सुविधा होलान् भनेर अनुमान गर्न हामीलाई गाह्रो भएन । हामी न्यु साउथ वेल्स, विक्टोरिया र समुद्र तरेर जानुपर्ने  तास्मानिया राज्यका केही स्थानहरुमा घुम्यौं । नेपालबाट परिस्थितिवश त्यहाँ पुगेका हामीहरुका निम्ति जान्ने र सिक्ने कुराहरु धेरै थिए ।

 नेपालीहरुको बसोवास रहेका क्षेत्रको वरपरका त्यहाँका पार्कहरु नेपालबाट आफ्ना सन्तान भेट्न गएका आफन्तहरुका निम्ति दिनहुँजसो फुर्सदको समय बिताउने स्थलहरु बनेका छन् । त्यहाँ पुगेपछि उस्तै गफगाफ सोघनी पुछनी । पहिल्यै चिनाजान नभएपनि नमस्कार टक्रयाए कुराकानी शुरु गरिहाल्ने । घर कहाँ पर्यो नेपालमा ? यता को छन् छोरा कि छोरी ? छोराछोरीले पीआर (स्थाई बसोवासको अनुमति) पाए कि पाएका छैनन् ?  बसाइ कतिको छ ? यस्तै प्रश्न र उत्तरहरुबाट परिचय शुरु हुन्छ बातचितको सिलसिला । चैतको महीनामा नेपालका डाँडामाथि पहाडमा चल्ने हवा जस्तै कुराकानीले फन्को मार्दै जाँदा नेपालको छुरो राजनीतिले पनि प्रवेश गरिहाल्छ । राजनीति र नेताहरुलाई सत्तोसराप । यहाँ तर्क भन्दा आक्रोश नै बढी प्रकट हुन्छ नेपालमा झैं । अनि त लहडमा विदेशमा होईन नेपालमा नै पो छु कि झैं लाग्ने ।

 यस्ता आफन्तहरुमा उच्च शिक्षा हासिल गर्न विभिन्न चरणमा नेपालबाट अष्ट्रलिया पुगेका युवाहरुका आमाबाबुहरु नै धेरै देखिन्छन् । उनिहरु मध्ये धेरैजसो ससाना शिशुहरुसंगै देखिन्छन् । नवजात शिशु र सुत्केरी छोरीबुहारीको स्याहार गर्न छोटो अवधिको भीसा लिएर आउनेहरु नै पार्कमा धेरै देखिन्छन् । यस्तो आत्मियता त्यहाँ पढ्दै र काम गर्दै रहेकाहरुसंग साटासाट गर्ने समय र रुची कमै पाईन्छ । पार्कमा यदाकदा अन्तरराष्टिय स्तरको भेटघाट पनि हुने गर्दछ । हिन्दीभाषी भारतीय र बांगलादेशीहरुसंग कुराकानी गर्न अलिकति सहज हुने रहेछ । दशैं तिहार जस्ता चाडहरुमा र हिन्दु मन्दिरहरुका वरीपरी त झन् भारतीय हिन्दु र नेपालीहरुकाबीच एकखालको तादात्म्यता जस्तै देखिने । नवरात्रको एक बिहान हामीहरु सडकमा हिंडिरहेका थियौ । किनारको एउटा घरमा भारतीय परिवारको बसोवास रहेको जस्तो देखियो । हाम्रा नजरहरु स्वभावैले त्यतैतिर पर्न गए । त्यतिबेलै घरभित्रबाट साडीमा सजिएकी र सेतै कपाल भएकी महिला घरबाहिर निस्किन् । उनले हामीलाई देखिन् र हात जोड्दै भनिन् –जय माता दी । हामीले पनि उनलाई स्वास्ती गर्यौं र अगाडी बढ्यौ । यो धर्मले जुराएको सामीप्यता थियो । हन्टरभ्यालीमा पर्ने गौपालन गरिएको गोलोकधाम भनिने हिन्दु मिशनरी इस्कोनको आश्रममा पुग्दा हामीले धेरै बंगाली, गुजराती,  युपी र दिल्लीतिरका मानिसहरुलाई भेट्यौं । संयोगले त्यसदिन नेपाली भने हामी पाँचजना मात्रै थियौ ।  

    आफुहरुको व्यस्तताका कारण बालबच्चाको रेखदेख गर्न नेपालबाट आमाबाबुलाई भीसामा बोलाउने परिपाटी चलेको देखिन्छ । बालबालिकालाई हेरचाह गर्न सुसारेलाई वेतन दिन महंगो पर्ने र आफन्तहरुलाई बोलाऊँदा भेटघाट पनि हुने र बालबालिकाको स्याहार पनि हुने भएकोले आफन्तलाई नै नेपालबाट बोलाउने परिपाटी बसेको देखिन्छ ।  यस्तो भीसालाई नेपाली चल्तीचलनमा “तेलभीसा” भनिने रहेछ । नातीनातीनीहरुलाई यसरी हेरचाह गर्न पाउँदा उनिहरुमा आनन्दानुभूति भएको त्यहाँ पुगेकाहरुसंगको कुराकानी र हाउभाउबाट प्रष्ट थाहा पाउन सकिन्छ । यसबाहेक  भेटघाट र घुमफिरकालागि अष्ट्रेलिया गएकाहरु पनि हँुदा रहेछन् । शनिवार , आईतवार , अन्य विदाका दिनहरु र फुर्सदको समयमा  भने कामकाजी आमाबाबु जसलाई मम्मी ड्याडी भन्ने चलान छ, तीनीहरु पनि गाडीमा चढेर सपरिवार अलिक परतिरका पार्कहरु र समुद्री किनारतिर घुम्न गएका देखिन्छन् । साना बालबालिकाहरुलाई प्रेम भनिने ठेलामा राखेर घुमाउने प्रचलन छ ।

न्यु साउथवेल्सको गसपर्ट बजारको वाटर फ्रन्टमा एकजना दाङतिरकी प्रौढ महिलाले आफ्नी सानी नातिनीलाई मुसार्दै भन्दै थिईन् – “आफ्नै बालबालिका घरमा चर्कोगरि रोएको थाहा पाएमा पुलिसले बाबुआमालाई नै लिएर जान्छ र कारवाही गर्छ रे ? कस्तो देश होला यो !” उनी आश्चर्य प्रकट गर्दै थिईन् । अर्को दिन नियमित भेट हुँदै आएकी अर्की महिला मनको दुखेसो पोख्दै थिईन् – “यहाँ आएर त घरको सरसफाई देखि लिएर चुल्हो चौको सबै गर्नु परेको छ । न  खानपीनको टुंगो छ न समयको टुंगो । यति दुःख गर्ने हो भने त नेपालमा नै सुन फल्छ, किन आउनु यहाँ । केटाकेटीहरुलाई कस्तो लत लाग्यो कुन्नी विदेशै नआई नहुने ।” नजिकै उभिएका मोटाघाटा शिरमा नेपाली ढाका टोपी पहिरेका एकजना प्रौढ चर्को स्वरमा भन्दै थिए – ”आमाको काख, घर र देशै साँघुरो भयो । बाउबाजेको सम्पतीमा उनिहरुलाई सन्तुष्टि भएन । पढेलेखेपछि आफैले केही गर्नु पर्छ भन्ने सोच आउने नै भयो । घरमा नभए पनि देशमा नै केही गर भनेको मानेन ।” अनुहार नमीठो पार्दै उनले थपे –“ के गर्ने व्यवसाय गरौं भने पार लाग्ने अवस्था छैन, नोकरी गरौं भने पहुँचवालाको आफ्नो मान्छे हुनुपर्यो कि पैसा दिनुपर्यो । कसरी बस्ने ? भन्दै बाहिरियो घरको एक्लो छोरो , उसको कुरा पनि ठिकै हो जस्तो पनि लाग्यो ।” उनले पीडा दर्शाऊँदै आफ्नो कुरा टुंग्याए । पार्कमा परेवाहरु चारो टिप्दै थिए । पार्कमा धेरै नेपाली बाहेकका मानिसहरु पनि अआफ्नै सुरमा घुमिरहेका थिए । नेपालीहरुका कुरा सुन्दा लाग्यो नेपालको पीडा यहाँ पोखिंदै थियो ।

अर्को दिन बिहान एक्लै रेलवे स्टेशनको पुलबाट पारीपट्टी लाग्दै गर्दा पछाडिबाट ए हजुर भन्दै  दुईपटक  बोलाएको आवाज कानमा पर्यो । फर्केर हेर्दा एकजना अग्ला प्रौढ मलाई पच्छ्याउँदै आईरहेका थिए । उनि वीरगंजतिरका रहेछन् । दुईमहीना भएको रहेछ यहाँ आएको । उनले अपनत्व प्रकट गर्दै भने –“ देख्नु भयो मैले कसरी तपाईलाई नेपाली भनेर चिनिहालें । नेपालीले नेपालीलाई नचिन्ने पनि हुन्छ र ?” दुवै केही बेर उभिएरै रमाईलो गफगाफ गर्यौं । उनको पीडा पनि अन्यहरुको भन्दा बेग्लै थिएन । रेल आएको होहल्ला सुनिएपछि हामी फेरि भेट्ने वाचासहित छुट्टीयौं । तर, त्यसपछि भने उनलाई भेट्न पाईएन ।  

मेलबर्न शहर भएर शान्तसंग बगिरहेको यारा नदीको किनारमा म, गंगा, गौरव र उसकी एकजना साथी चारजना गफगाफ गर्दै हिंडिरहेको बेला हाम्रो अगाडि पछाडि गर्दै हिंडिरहेका व्यक्ति अचानक भेटिए । उनलाई चारजनामा पछाडि पछाडि हिंडिरहेको मैले पहिले नै देखेको थिएँ । उनिको हातमा एउटा सामान्य झोला थियो । यसो हेर्दा नेपाली नै हुन् कि झै लाग्यो । मनमा कौतुहल भयो तर नेपाली नै हुन् वा हैनन् भन्ने दुविधा पनि उतिकै भयो । त्यसपछि अगाडि पुगिसकेका मेरा सहयात्रीहरुले मतिर हेरेर पर्खिरहेका देखेर म अलिकति गती बढाउँदै अगाडि बढें । केही बेर हिँडिसकेपछि उनि फेरि हाम्रो अगाडि उभिएर “घुम्न आउनुभएको हो भन्दै” सोध्न आइपुगे । हुन पनि पहिला लामै समय मेलबर्न बसेको भएपनि अहिले गौरवकी साथी बाहेक हामी कोही पनि मेलबर्नवासी थिएनौं । छोरा गौरव तास्मानियाको होबार्ट बस्ने गर्दथ्यो भने हामी दुवै नेपालबाट भिजिट भीसामा छोरी भावना, ज्वाई रेजिन, छ महीनाकी नातिनी पूर्णिमा र सम्धिनी गीतालाई भेट्न शड्निी र होबार्टमा रहेको छोरा गौरवलाई पनि भेट्घाटमा समेट्ने उद्देश्य आएका थियौं । दशैंको अवसरमा गौरव पनि शिड्नी आएको थियो । यता आऊँदा छोरीको परिवारसहित हामी सबैजना क्यानबेरासम्म आईपुगेका थियौं । दुईदिन आनन्दसंग बिताएपछि छोरीको परिवार शिड्नी नै फर्कियो र हामी केही दिनकालागि मेलवर्न आएका थियौं । हामीले हिंड्दै गर्दा आफ्ना परिचयहरु साटासाट गर्यौं । उनि चितवन गैडाकोटतिरका रहेछन् । अष्ट्रेलिया आएको सातवर्ष नाघिसकेको रहेछ । उद्देश्य अरुथोक भन्दा आर्थिक उपार्जन रहेको उनले बताए । उनको अनुभवमा कमाई त छ तर खर्चले ढाड मस्काउने रहेछ । नेपालमा हुँदा उनले निर्माण सामाग्रीहरुको आपूर्तिको व्यवसाय पनि गर्थे । उनको कमाई राम्रै थियो । उनले यहाँ हुने कमाई र नेपालमा घरपरिवारमा बसेर गर्ने कमाई तुलना गर्दा नेपालमै बसेर काम गर्दा उचित हुने बताए । अझ यहाँ झैं कडाइसाथ का मगर्ने हो भने नेपालमा झण्डै दोब्बर बढी कमाई हुने हिसाब हामीलाई देखाए । उनको भनाईलाई हेर्ने हो भने हो झैं पनि लाग्यो । केहीबेरको बातचीतपछि उनि गौरवसंग होबार्टमा भेटिन सक्ने बताउँदै विदा भए । उनको अनुभवको कथाले धेरैबेरसम्म दिमागमा तरंगहरु उत्पन्न गरिरह्यो ।                          

यस्तै घुमफिरको बेला मैले धेरै नेपालीहरु , केही भारतीयहरु र केही बांगलादेशी प्रौढ र युवाहरुलाई अनौपचारिक रुपमा भेट्ने र गफ गर्ने मौका पाएको थिएँ । यसरी विभिन्न मानिसहरुसंग  भेटेर कुराकानी गर्दा विदेशमा रहँदाका उनिहरुका अनुभव बारे परिचित हुने मौका मिल्ने हुन्थ्यो जो मेरालागि चाखलाग्दो विषय थियो । समग्रमा भन्नुपर्दा सबै आप्रवासीहरुका कथा र व्यथा उस्तै नै थिए । मेरो बसाईमा मैले त्यहाँ पुगेर व्यवस्थित बसाई बसिरहेका नेपाली वा अन्य समुदायका मानिसहरुसंग भेटघाट र उनिहरुले पाएको सफलताकालागि गरेका संघर्षका वारेमा जान्ने अवसर पाउन सकिन । यसले गर्दा यो लेख अपुरो भयो कि भन्ने लागेको छ तर पनि भुईमान्छेका जीवन कथाको अथाह सागरमा मेरो साँघुरो घेराभित्रको अनुभव लेख्ने प्रयास मात्र गरेको छु ।          


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष