पूर्वोत्तरभारतका नेपालीहरु—६


                                                                बाबुराम पौड्याल

 सन् १८२४ तिर गठन भएको १६औं सिलहाट लोकल बटालियन र सन् १८३५मा गठन भएको द आसाम सिबुण्डी कप्र्स् पूर्वोत्तर क्ष्ोत्रमा त्यसबेलासम्मका अंग्रजी सेना हुन् जसलाई पछि आएर ८औं गोर्खा राईफलस्का नामले चिनियो । यस क्षेत्रलाई जित्न भन्दा पनि शासन गर्न गाह्रो थियो । समग्र पूर्वोत्तरक्षेत्र त्यतिबेला घना जंगलले भरिएको र पछौटे अवस्थामा रहेका जंगलमा आश्रित विभिन्न जनजाती तथा आदिवासीहरुको बाहुल्यता रहेको हुंदा अंगे्रजहरुलाई प्रशासनिक रुपले आफ्नो पकड कायम राख्न पनि बाटाघाटो पुलपुलेसाहरुको निर्माण गर्न निकै ठूलो चुनौति थियो । यो समस्या समाधान केवल नेपालीहरुबाट मात्रै हुने निष्कर्श अंग्रेजहरुको थियो र उनिहरुलाई यसकार्यमा खटाए ।


 धेरैजसो भारतीय इतिहासकारहरु अंग्रेजहरुले यसो गर्नका पछाडि यस क्षेत्रका जनताको विकास भन्दा पनि यहां रहेको प्रकृतिक सम्पदाको दोहन गर्ने स्वार्थबाट प्रेरित भएको मान्दछन् । यो त्यसबेला अंग्रेजी उपनिवेशवादी साम्राज्यको चरित्र नै थियो । जेहोस्, यस दौरान  दर्जन भन्दा बढी पटक स्थानिय जातिहरुसंग भएका लडाईहरुमा नेपालीहरुको वीरता देखेको अंग्रेज सरकारले सन् १८७१मा त्यस क्षेत्रका आफ्ना फौजबाट पूर्वतिरका मानिसहरुलाई हटाएर गोरखाली नेपाली र गढवालीहरुलाई मात्र भर्ती गर्ने आदेश दिएका थिए ( Huxford H. J, History of 8th Gorkha Rifles ) ।


       सन् १८२४मा गठन भएको डेविड स्कटको नेतृत्वमा रहेको १६औं सिलेट लोकल लाइट इन्फेन्ट्री चिटागाऊतिरबाट आएर चेरापुंजीमा छाउनी हालेर बस्यो । जयन्तिया राजा तीरोथ सिंहलाई हराएर जयन्तिया पहाड आफ्नो कब्जामा लियो । अचेल पूर्वोत्तर भारतका लगभग सबैजसो जनजातिहरु क्रिश्चियन धार्मिक समुदायमा परिवर्तित भैसकेको देखिन्छ तर त्यसबेला क्रिश्चियन धर्म त्यहां आईपुगेको थिएन । फौजी गोरखालीहरुले भने आफ्नो कर्मथलो वरपर हिन्दु देवी देवताहरुका मन्दिरहरु बनाएका प्रसस्तै उदाहरणहरु यहां भेट्न सकिन्छ । हक्सफोर्ड संकेतिक रुपमा लेख्छन्, सन् १८६७ तिर एघारौं सिलेट लाईट इन्फेन्ट्रीका क्याप्टन कालु थापाको नेतृत्वमा फौज आएर शिलाङमा (हालको पुलिसबजार ) छाउनी बनाउंदा त्यहां मुसाहरु पनि थिएनन् । उनले उनन्चालिस वर्ष सेवा गरेर छ फरवरी १८९७मा सेनाबाट अवकाश लिए । अवकाशपछि उनि शिलांगमा नै बसे । त्यहीं १४ मई १९३४मा उनको चौरान्नब्बे वर्षको उमेरमा देहान्त भयो ( History Of 8th Gurkha Rifles, 1st Bttn., Major Alban Wilson)। शिलाङको झालुपाडा क्यान्टोन्मेन्टको मूलबाटोको छेऊमा अंग्रेजहरुले थापाको सालिक बनाएर छोडेका छन्  । यसरी गोर्खा फौजले पूर्वोत्तर भारतमा अंग्रेजी शासन सुदृढ गर्न ठूलो मेहनत गरे । हतियारका भरमा लडाई गर्ने मात्र नभई बाटो खन्ने, जंगल फडानी गरी जमिन आबाद गर्नेदेखि लिएर जमिनको सर्भे गर्ने र प्रशासकीय जिम्मेवारी निभाउने समेत काम गरेको प्रमाणहरु पाईन्छ । 

     उत्तरपूर्वी मोरचामा गोरखाली सैनिकहरुले नागाहरु विरुद्ध सन् १८३९, १८५०, १८७५ र १९१२ मा गरी चार पटक युद्ध गर्नु परेको थियो । जयन्तिया विरुद्ध १८६१मा, लुशाईहरु विरुद्ध १८६९, १८५१ र १८९० गरी तीन पटक युद्ध भएको थियो । डाफला विरुद्ध १८७३मा, अक्ससंग १८८३मा, चिनस विरुद्ध १८८८मा, मणिपुरी विरुद्ध १८९१मा युद्धहरु भएका थिए । मिसमी विरुद्ध १८८१ र १८९९मा गरी दुई पटक, अब्बर विरुद्ध १८९३ र १९११ गोरखालीहरु लडेका थिए । खासीहरु विरुद्ध १८२७, १८३५, १८४७ र १८६१ गरी चारपटक, गारो विरुद्ध १८७३मा लडाई भएको थियो । यो रेकर्डमा भूटान, बर्मा,तिब्बत विरुद्धको लडाई समावेश छैन । यसरी २१ पटक ठूला युद्धहरु स्थानियहरु विरुद्ध उत्तरपूर्वी मोरचामा भएको देखिन्छ । पहिलो बटालियनले सन् १९२४को फरवरी १८ तारिखका दिन शिलङमा आफ्नो शतवार्षिकी भव्यरुपमा मनाएको थियो ।
क्रमश.............


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष