पूर्वोत्तरभारतका नेपालीहरु —९

बाबुराम पौड्याल


सन् १९०१ को असम गजेटियर्समा लुशाईहिल्स खण्डमा मणिपुर,चिटागाऊंका पहाडहरु नाघेर धेरै मानिसहरु लुशाईपहाड -अहिलेको मिजोरम_ तिर पसेको र तिनीहरुमा सबैभन्दा धेरै नेपालबाट आएका मानिसहरु थिए भनेर लेखिएको छ । त्यस्तै दरं जिल्लामा प्रसस्तै पशुपालक,काठ चिर्ने आरावाल र खोटो संकलन गर्ने नेपालीहरु थिए । गोहपुर र विहालीतिर भने खेती गर्ने नेपालीहरुको बसोबास रहेको थियो ।

 बितेको शताब्दिको शुरुआतसम्म पूर्वाेत्तर भारतका धेरैजसो ठांऊहरुमा गैरसैनिक नेपालीहरुको बसोबास थियो । यहां उनिहरुको उपस्थिती शान्ति सुरक्षा र विकासका पूर्वाधार निर्माण दुवैका दृष्टिले अपरिहार्य हुन गयो । नेपालीहरुमा विस्तारै बढ्दै गएको राजनीतिक चेतना र भारतमा उपनिवेशवादी अंग्रजी शासनबाट मुक्त हुने चाहनाको प्रभावसंगै त्यहांका नेपालीहरुमा जागरण आएको देखिन्छ । यसरी अंग्रेजहरुको पक्षमा यतिबेलासम्म सेनाका रुपमा काम गर्दै आएका नेपालीहरुको मूलधार अब भने भारतीय स्वतन्त्रता आन्दोलनको समर्थन गर्ने वैकल्पिक धारको रुपमा भारतभरि विभिन्न ढंगले विकसित भैरहेको थियो ।  वीरता र पराक्रमको प्रारम्भिक समय अब फौजको दायराबाट नागरीकस्तरमा पनि फैलिन थालेको थियो । तर पछिल्ला दशकहरुमा यस भूमिमा नेपालीहरु विभिन्न बहानामा अपमानित हुने धेरै घटनाहरु भए ।

       नेपालीहरुको त्यस क्षेत्रमा रहेको बसोवासको सरकारी आंकडाहरुले समेत पुष्टि गर्दछन् । सन् १९०१को सरकारी तथ्यांकमा दरं जिल्लामा ४३३०, कामरुपमा १५५९, नौगाऊंमा १११८, ग्वालपाडामा ११६९, शिवसागरमा १६५६, खासी जयन्तियापहाडमा १६९४, गारोपहाडमा ७५३, लखिमपुरमा ९०७०, लुशाईपहाडमा १४३८ नेपालीहरुको बसोबास रहेको देखाईएको छ । तर यो तथ्यांक पूर्ण भने देखिंदैन किनभने त्यसबेलाको मिकिरपहाड, नागापहाड र सिलहाटतिरका नेपालीहरुको संख्या यहां समावेश छैन । अर्कोतिर नेपालीहरु खेतीपाती र पशुपालन गर्दै जंगलका भित्री भागहरुसम्म बस्ने गरेकोले यसको बास्तविक तथ्यांक टिपिएकोमा शंका गर्ने प्रसस्तै ठांऊ देखिन्छ ।

जेसुकै भएपनि, यसबाट पूर्वोत्तर भारतमा नेपालीहरुको लामो समयदेखि बसोबास रहेको र सन् १९०० सम्म उनिहरुको संख्या पनि उल्लेखनिय रहेको पूष्टि गर्छ । अनुमान गर्न सकिन्छ, आसामतिर रेल र सडकमार्गको विकास हुन भन्दा पहिले गएका धेरैजसो नेपालीहरु आवतजावतको समस्याका कारणले उतै स्थाईरुपले बसे र कालक्रममा भारतीय नेपाली बन्ने स्थिती पनि आयो । यातायातको सुविधापछि भने नेपाल आउनेजाने प्रवासी नेपालीहरुको संख्यामा बढोत्तरी भएको हो ।
      हालको राजनैतिक विभाजनमा नेपालीहरुको बाहुल्य रहेको थलो दार्जीलिङ भारतको पूर्वोत्तरक्षेत्रमा नपर्ने भएपनि पूर्वोत्तरका नेपालीहरुबारे चर्चा गर्दा इतिहासका कतिपय मोडहरुमा यसलाई छुटाउन वांछनीय हुंदैन । सन् १९१७ तिर दार्जीलिङमा हिलमेन एसोसिएसन नामक संस्था गठन भै कल्याणकारी कार्यमा संलग्न रहेको देखिन्छ । सन् १९१९मा जलियावालाबागमा शान्तिपूर्ण आन्दोलन गरिरहेका प्रदर्शनकारीहरुमाथि एकातिर गोर्खा फौजले दमन गरेको थियो भने अर्कोतिर अंग्रेज विरोधी स्वतन्त्रता आन्दोलनमा पनि नेपालीहरुको सहभागिता उत्साहजनक हुंदै गैरहेको थियो । महात्मा गान्धीको आपिलमा सन् १९२० देखि चलेको असहयोग आन्दोलन देहरादून, भाक्सु, दार्जिलिङ र आसामसम्मका नेपालीहरु बीच व्यापक बन्दै गएको थियो । दार्जीलिङमा दलबहादुर लामाको नेतृत्वमा असहयोग आन्दोलन चलिरहेको थियो भने यसमा नेपालीहरुको सहभागिता पनि उल्लेख्यरुपमा बढ्दै गैरहेको थियो । 

आसाममा विशेष गरी अरु क्षेत्रका भन्दा नेपालीहरुको स्थाई बसोवास भएका तेजपुर तथा उपल्लो आसमतिरका नेपालीहरुमा यो आन्दोलनको प्रभाव बढी रहेको थियो । चन्द्रनाथ शर्मा, छविलाल उपाध्यायहरुको नेतृत्वमा नेपालीहरु स्थानिय असमिया नेताहरुसंगै स्वतन्त्रता आन्दोलनमा होमिएका थिए । यो अंग्रेजी सम्राज्यबाट मुक्ति चाहाने आम भारतीय मानसिकतासंग नेपाली मानसिकताको एकाकार थियो । सन् १९३५को स्वयत्त शासन ऐन अनुशार १९३७मा काउन्सिलको चुनाव हुने भयो । त्यसबेला वयस्क मताधिकारको प्रचलन थिएन भूमिकर ७ रुपियां ५० पैसा भन्दा बढी बझाउने, शिक्षामा छैटौं श्रेणी भन्दा माथि पढेको हुनु पर्ने र म्युनिसिपल कर बुझाउनेहरु मात्र मतदाता हुन पाउने नियम थियो । तदनुशार तेजपुरको विहाली मौजा भित्र जम्मा २८ जना नेपालीहरुमात्र मतदाता हुन योग्य थिए (विष्णुलाल उपाध्याय, आसामे नेपालीहरु पृष्ट ११) ।

 चुनाव हुुनु अगावै २७ अप्रैल १९३६मा दरुं जिल्लका डेपुटी कमिश्नर एम. मित्राले विहाली मौजाका मौजदारलाई नेपालीहरु बारे एउटा निर्देशन जारी गरेका थिए । जसमा नेपालीहरुले रैथाने भएको प्रमाण पेश गरेमात्र मतदाता सूचिमा समावेस गर्न सकिने जनाउ दिईएको थियो । यस किसिमको सुचना केवल नेपालीहरुका सम्बन्धमा मात्र गरिएको थियो । जसले गर्दा नेपालीहरुमा संत्रासको स्थिती देखियो । धेरै नेपालीहरु तोकिएको दिन आफ्ना प्रमाणहरु लिएर अधिकारी समक्ष हाजिर हुन सकेनन् । कति लाई त नेपालीहरु नेपालका रैति भएको तथा बृटिस प्रजा नभएको भन्दै फिर्ता पठाईए । नेपालीहरुले आसामका तत्कालिन गवर्नरलाई नेपालीहरुवारे आफै हस्तक्षेप गर्न आग्रह गरे तर उनका मुख्यसचिव जे.ए. डाउसन्ले संबन्धित डेपुटी कमिश्नरको निर्णय नै अन्तिम भएको निर्णय दिए ।

   असेम्बली मेम्बरको चुनावमा बिहालीतिरका तीनसय जनाजति मात्र नेपााली मतदाता सुचिमा सुचिकृत हुन सके । अन्यत्र आसामका नेपालीहरुले मताधिकारको उपयोग गर्न पाएनन् । यो उनिहरुको भारतीय राष्ट्रिय धारामा सम्मिलित हुने चाहनामा ठूलो कुुुुठाराघात थियो ।  यता राष्ट्रियस्तरमा सन् १९४२ देखि भारत छोड आन्दोलन तीव्र हुदै थियो । मानिसहरुमा राजनीतिक परिवर्तनको आकाक्षा ज्वलन्त हुँदैगैरहेको थियो । जसको फलस्वरुप भारतमा रहेका नेपालीहरुको नेतृत्व गर्ने एउटा बलियो संस्थाको आवश्यकता आम नेपालीहरुले महशुश गरिरहेका थिए । यसै परिप्रेक्षमा देहरादुनमा सन् १९२१मा ठाकुर चन्दनसिहले गोर्खा लिगको गठन गरे । तर यो पछि निष्कृय भयो ।
  यसरी त्यसबेला पूर्वोत्तर भारतमा स्थानीय हिन्दुहरु र आप्रवासी बंगलाभाषी मुश्लिम समुदाय बीच अन्तरविरोध उत्पन्न भएको थियो । स्थानिय हिन्दुहरु विशेष गरि असमिया भाषिहरु मुश्लिमहरुको संख्या जनगणनामा बढी देखिएर बंगाला भाषा लादिने हो कि भन्ने त्रासमा थिए । नेपालीहरु हिन्दु भएको हुदा स्थानिय असमियाहरुका निम्ति स्वीकार्य जस्तै देखिन्थे । सन् १९४१मा भएको जनगणनाका लागी आसाममा बस्ने सबैले आफ्नो मातृभाषा असमिया लेखाएर असम र असमिया भाषालाई सबैको साझा र वृहत्तर बनाउन असमिया नेताहरुबाट अनुनय विनय शुरु भयो । आसामका गन्यमान्य नेताहरुले सबै भाषिक समुदायका नाममा अपिल जारी गरे । पूर्वोत्तरभारतका नेपालीहरु-आसामे नेपालीहरु, विष्णुलाल उपाध्याय_ ।

  जसले गर्दा नेपाली भाषाले आधिकारिक रुपमा आफ्नो अस्तित्व देखाउनबाट बंचित हुनु प¥यो । यसबेला नेपालीहरुले आफ्नो मातृभाषा नेपाली नै लेखाएको भए पछिल्ला दशकहरुमा अवैध विदेशीका नाममा जुन प्रताडना सहनु प¥यो त्यसो हुने थिएन भन्नेहरु पनि छन् । नेपालीहरु भन्दा धेरै पछि चिया बगानतिर काम गर्न अंग्रेजहरुद्वारा ल्याइएका संथाल झारखण्डीहरुलाई भने आसमकै एउटा स्थानिय समूदायका  रुपमा बदलिन कुनै गाह्रो परेको देखिंदैन ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष