संकटतिर नेपाली कांग्रेस.....
नेपाली कांग्रेसमा यतिबेला आन्तरिक सकस बढेर गएकोछ । चुनावी मोर्चामा हार ब्यहोरेको महिनौं बितीसक्दा पनि उसले पार्टी संरचनालाई दुरुस्त पार्नतिर तदारुकता नदेखाएर आन्तरिक आरोपप्रत्यारोप मैं समय खेर फालिरहेको छ । पार्टीको नेतृत्वभित्रका नेता शसांक कोईराला आफु सभापति शेरबहादुर दउवासंग आजित भैसकेको सार्वजनिक रुपमा बताउन थालेका छन् । कोइराला परिवारको भारदारी भेटघाट बाक्लिएको छ । संभवतः उनिहरु कोईराला परिवारको नेतृत्वविना पार्टीले जिवन्तता पाउन नसक्ने निष्कर्षमा पुगेको हुनुपर्छ । अबको समयमा वंशवादका आधारमा राजनीति चलाउने कुरा कति व्यवहारिक र सार्थक होला— त्यस तर्फ उनिहरुले गंभिरतापूर्वक सोच्न उपयुक्त हुनेछ । उनिहरुलाई यसो भनेर प्रचार गर्न अहिले पार्टीको कमजोर अवस्थाले पनि ठांऊंदिएको छ । अघिल्लो पटक कोईराला परिवारको आशिर्वादमा अखाडामा उभ्याईएका सफा छवीका रामचन्द्र पौडेलले सफलता पाउन नसकेपछि उनिहरुको भरोसा पौडेलमाथि पनि नरहेको देखिंदैछ ।
कांग्रेसमा गिरिजा प्रसाद कोईरालापछि उनको स्थान लिनसक्ने छवी भएको कुनै नेता भएनन । उनले आफु छउन्जेल पार्टीभित्र नेतृत्वको विकास हुने अवसर नै दिएनन् । आफ्नो छायांमा बस्न नचाहनेलाई उनले पार्टीमा टिक्नै दिएनन् । कोईरालालाई टक्कर दिन हिम्मत गरेर पनि आफ्नो अस्तित्व कायमै राख्न सकेका एक्ला नेता शेरबहादुर देउवा नै हुन् जो यतिबेला कांग्रेसको सभापति छन् । उनले पनि कोईरालाको छायाबाट उम्किएर अस्तित्व रहन सफल भए पनि आफ्नो छवीलाई सुकिलो राख्न सकेका थिएनन् ।
यही भदौमा गर्ने भनिएको पार्टीको महासमिति बैठक पनि सभापति देउवाले आयोजन गर्न नमानेपछि स्थिती अन्यौलपूर्ण बनेको छ । पौडेलले यसलाई देउवाको आफ्नो पदीय आयु लम्बाउने खेलका रुपमा परिभाषित गरेका छन् । उता देउवा भने गुटहरुले गर्दा काम गर्न नपाएको भनेर पन्छिंदै आएका छन् । आफुलाई लोकतन्त्रवादी पार्टी भनेर गर्व गर्ने पार्टीका अगुवाले पार्टीभित्रका भिन्नमतहरुलाई व्यवस्थापन गर्नुको सट्टा गुट भनेर बेवास्ता गर्न खोज्नु स्वयं असफल हुनु हो । कम्युनिष्टहरु प्रायजसो सबैखाले विवादहरुलाई सिद्धांतको रंग लगाएर प्रचार गर्ने गर्दछन् जसले गर्दा त्यहां विवाद जुनसुकै अवस्थामा पनि विभिन्न रुपमा चलिरहेको देखिन्छ । तर, कांग्रेसमा त्यो खालको विवाद चल्ने गरेको देखिंदैन । यस्तोमा उठेका विवादहरुको समाधान गर्न सजिलो हुनुपर्ने हो तर त्यस्तो देखिँदैन।
सत्तामा हुंदा पार्टीभित्रका ठाऊं नपाउनेहरुले नेतृत्वलाई अप्ठ्यारोमा पार्ने प्रयास गर्ने स्वभाविक हो तर प्रतिपक्ष मात्रै होईन कमजोर प्रतिपक्षमा पुगेको बेला समेत् यस्तो स्थिती उत्पन्न हुनु शुभ संकेत हुन सक्दैन । यो स्थितीबाट कार्यकर्ताहरु र आम समर्थकहरुलाई पर्नसक्ने असरबारे नेताहरुले ध्यान पुर्याउन सकेका छैनन् । भातृ संगठनको उचित व्यवस्थापन, पार्टीका प्रदेशिक संरचनाहरुका धेरै कामहरु समयमा नै गर्नेतिर कुनै कदम चालिएको छैन । यसले राज्यका आगामी चुनावहरुमा नकारात्मक प्रभाव पर्नेतिर नेतृत्वको ध्यान पुगेको छैन । चुनावमा गणितिय हार भए पनि समर्थकहरुको बलियो पंक्ती कांग्रेससंग नभएको होईन तर पार्टीभित्र देखिएको लथालिंग स्थितीले यो पंक्तीबाट कांग्रेस टाढिने खतरा उत्पन्न भएको छ । पार्टीभित्रका संरचनागत कुराहरु बाहेक नीति र कार्यक्रमबारे त कांग्रेसमा झनै कुनै स्पष्टता देखिंदैन ।
कम्युनिष्टहरु पपुलिष्ट कदम चाल्न खप्पिस हुन्छन् भन्ने कुरा विगतले देखाईसकेको छ । अहिलेको बजेट र कामकाजले यस्तो नदेखिए पनि आगामी वर्षहरुमा सकारात्मक नकारात्मक जे भएपनि उनिहरुले पपुलिज्मको सहारा लिन उनीहरु चुक्ने छैनन् । यो उनिहरुकोलागि अस्तित्वमा रहनकालागि पनि वाध्यात्मक हुने देखिंन्छ । यसको रणनीतिक टक्करकालागि पनि कांग्रेस समक्ष अहिल्यैदेखि गतिलो गृहकार्यको आवश्यकता छ ।
नेपाली कांग्रेसमा आन्तरिक समस्याहरुको चाङ नभएको प्राय कहिल्यै देखिंदैन । कुरा यतिमात्र हो कि त्यसतर्फ नेताहरुको तदारुकता कहिलेकहीं मात्र प्रकट हुने गर्दछ । कुरा उठेपछि त्यसलाई समाधान गर्नेतिर लागिहाल्ने प्रवृती कांग्रेसमा छैन । रोगको निदान समयमा नै गर्नुपर्छ भन्ने चेत कांग्रेसमा देखिंदैन । कांग्रेसमा लोकतंत्रको चिन्ता गदागर्दै कपाल सेतै भएका मानिसहरु नभएका होईनन् । विद्वान बुद्धिजीवीहरुको संख्या पनि ठूलै देखिन्छ तर उनिहरुको प्रभाव नेतृत्वमा नदेखिनु आश्चर्य लाग्दो छ । आगामि दिनहरुमा अगाडि बढ्न अहिल्यैदेखि जागरुक नहुने हो भने भोलिको स्थिती काग्रेसकालागी झन् अप्ठ्यारो हुन सक्छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.