बिमेष्टिक फलदायी होला ?

                                                                                                   
बाबुराम पौड्याल

 यही भदौ महिनाको १४ र १५ गते काठमाण्डौमा आयोजना हुनगैरहेको बहुक्षेत्रिय प्राविधक तथा आर्थिक सहयोगकालागि बंगालको खाडीको प्रयास (बिमेष्टिक) को चौथो शिखर सम्मेलनकोलागि तयारी भैरहेको छ । त्यसकालागि १२ गतेबाट सचिवस्तरिय बैठकहरु हुंदैछन् । सदस्य राष्ट्रहरुबीच आर्थिक गतिविधि बढाउन कनेक्टिविटीको अभाव रहेकोले यातायातकालागि जल स्थल र हवाई मार्गबाट जोड्ने पहिलो उद्देश्य यस संगठनको रहेको देखिन्छ । त्यसको प्रतिबिम्ब यस सम्मेलनमा देखिने छ । मध्यवर्षाको समयमा सम्मेलनमा सहभागी हुनआउने विदेशी उच्चस्तरिय पाहुनाहरुलाई दुईदिन देखाउनकैलागि भएपनि काठमाण्डौका केही मुख्य सडकहरु अस्थाई भएपनि  मरमत गर्ने काम दु्रतगतिमा भैरहेको छ । वर्षाकालमा विकासका कामगर्ने र कुल विकास क्षेत्रको बजेट मध्ये झण्डै आधा आर्थिक वर्षको अन्तका दुई महिनामा मात्रै खर्च भैराखेको देख्दै आएका नेपालीहरुकालागि नौलो भएन । विशिष्ट पाहुनाहरुको सरक्षित र सुविधाजनक आवतजावतकालागि भारतबाट बुलेटप्रुफ गाडीहरु काम सकिएपछि फिर्ता गर्ने गरी झिकाईसकिएको छ ।
  
नेपाल संलग्न रहेको एउटा क्षेत्रिय मंच, दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन (सार्क) निष्क्रिय रहेको अवस्थामा अहिले अर्को क्षेत्रिय संगठन, बिमेष्टिकलाई भारतको प्रयासमा यतिबेला सक्रिय बनाउन खोजिएको हो । भारत र पाकिस्तानबिचको विवादले गर्दा सार्क छायांमा पर्दैआईरहेको छ । सार्कमा रहेका मालदीप, पाकिस्तान र अफगानिस्तान बिमेष्टिकमा छैनन् । बिमेष्टिकमा नेपाल, भूटान, बंगलादेश, श्रीलंका,म्यानमार र थाईल्याण्ड सदस्य छन् । यतिबेला नेपाल दुवै संगठनको अध्यक्ष रहेकोछ । कुनै एउटा सदस्यको चहानामा एउटा मंचलाई काखा र अर्कोलाई पाखागर्ने काममा अरु सदस्यको प्रयोग हुनुहुदैन । यसको अर्थ यो होईन कि बिमेष्टिकको सक्रियता अनावश्यक हो । दुवैले महत्व पाउनुपर्छ र सदस्यहरुले सकारात्मक प्रतिफल लिन पाउनुपर्छ ।

विमेष्टिकको काठमाण्डौ सम्मेलनको साईडलाईनमा भारतसंग नेपालले केही दुईपक्षिय सहमतिहरु गर्ने तयारी गरेको छ । रेल र कार्गो सम्बन्धी सम्झौतामा दुई देशका सम्बन्धित अधिकारीहरुले हस्ताक्षर गर्ने जनाईएको छ । नेपालले पनि छिमेकीहरुसंग यातायात सम्पर्क बढाउने प्रयास गर्दैआईरहेको छ । संभवतः यो सम्मेलनमा यो अनुभव गर्न सकिएला भन्ने आशा गरिएको छ । बंगलादेशबाट समुद्रसम्मको पहुंचको आशा नेपालले राख्दै आएको धेरै भएको छ । सम्झौता भएर पनि यो व्यवहारिक भएन । यस्तै अड्चन अब गरिने सहमतिहरुमा आउने छैनन् भनेर ढुक्क हुने स्थिती भने बनिसकेको छैन । आगामि केही वर्षमा नेपालमा बिजुली धेरै हुने प्रक्षेपण गरिएको छ । यदि यो सांचो हो भने नेपालले प्रयास गर्न मनासिब देखिन्छ । म्यानमार र थाईल्याण्ड र अन्य दक्षिणपूर्वी एशियाई देशहरुमा बौद्धधर्माबलम्बीहरुको ठूलो आबादी रहेको हुनाले लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन प्रवद्र्धन गर्ने प्रस्ताव गर्न हितकर देखिन्छ ।   
बिमेष्टिकले आशियान जस्तो आर्थिकरुपले प्रभावशाली क्ष्ोत्रिय संगठनको परिसिमासंग जोडिने हुनाले त्यसबाट फाईदा लिन सकिने देखिन्छ । आर्थिक शक्तिकारुपमा उदाउंदै गरेको भारतसंग आर्थिक सहकार्य गर्ने आशियानको पनि प्रयास रहंदै आएको थियो । संभवतः यसले अब सहजता पाउने छ ।

भारतकालागि थाईलैण्डसम्म सहकार्य हुनु रणनीतिकरुपले पनि फाईदाजनक हुने देखिन्छ । पूर्वोत्तर भारत—म्यानमार सिमा क्षेत्रमा हुदैआएका भारत र म्यानमार विरोधी गतिविधिहरुमाथि निगरानी र नियन्त्रण हुने पारस्परिक रणनीतिक आधार बन्ने देखिन्छ । पाकिस्तानविनाको यो क्षेत्रिय मंचमा सदस्य देशहरुबीचको वैमनस्यताको छायां पर्ने तत्कालकालागि  देखिँदैन । त्यसैले सार्कमा भन्दा यसमा काम गर्न केही सहज परिस्थिती होला भन्न आशा गर्न सकिने देखिन्छ ।       
  

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष