संवृद्धिविनाको राजनीति अपराध हो
नेपालमा परिवर्तनका नाममा सात सालमा निरंकुश, पुरातनपंथी र परिवारवादी भनिएको राणातन्त्र फालियो बहुदलीय प्रजातन्त्र ल्याईयो । रैतीको नामोन्नती भएर प्रजा भए तर त्यो प्रजातन्त्रले आफुलाई बचाउन सकेन । संवैधानिक भनिएका राजाले त्यसलाई नेपाल र नेपाली सुहाउंदो नभएको भन्दै खारेज गरेर मोटो सुहाउँदो भन्दै निर्दलिय व्यवस्थाको शुरुआत गरे । प्रजा प्रजानै भैरहे ।
तीस वर्षसम्म पंचायतले राज गरयो । छयालिस सालमा प्रजाले अलिकती खुकुलो हुने चाहना राखे । राजा संवैधानिक दायराभित्र बस्न वाध्य भए । बैसट्ठी सालमा त प्रजाले राजालाई फालेर गणतन्त्र ल्याए र आफु जनता भए । क्रान्ति र परवर्तनको यो लामो सिलसिलाले नेपाल र नेपालीलाई जिस्क्यायो मात्रै । शान्ति र संवृद्धिको सपना भने जहांको त्यहीं नै रह्यो ।
भन्न त सकिएला शिक्षा स्वास्थ्य संचारमा देखिएको प्रगति सात साल अघि थियो र ? निश्चय पनि थिएन । तर छ दशक लामो राजनीतिक यात्रा गरिसकेको देशको प्रगति यतिमात्रै हुनुपर्ने हो र ? नेपाल भन्दा धेरै पछाडि रहेका दक्षिणपूर्वी एशियाका देशहरु र खाडीका देशहरु कहां पुगे भनेर एकपटक विचार गर्ने हो भने हाम्रो पछौटेपनको स्वरुपलाई बुझ्न सकिने छ ।
जनजीवनमा आएको फरकलाई पनि कतिपयले प्रगतिको प्रमाणका रुपमा देखाउन खोज्लान् तर त्यो नेपाली युवाहरुले विदेशमा गएर गरेको कठिन श्रमको प्रतिफल हो । युवाहरु विदेश रोजगारी खोज्न जानु नराम्रो तर यसले देशको आन्तरिक विकासको दुर्दशाको कथा भन्दछ । यी युवाहरु जब रोजीरोटीकालागि बिदेश जाने छैनन् त्यतिबेला वास्तवमा नै देशको विकास भएको बुझिने छ । त्यतिबेला कुनै नेताले आफुले गरेको कामको यश लिन अचेल जस्तो तछाड मछाड गर्नु पर्ने छैन ।
यतिबेला संवृद्धि विनाको रुखो राजनीतिको चरम शिकार भैरहेको छ नेपाल । विकास विनाको राजनीति कताबाट हेर्दा गँजेडीको गफ र अर्कोतिरबाट हेर्दा लुटेरा, हत्यारा र बलात्कारीको अपराध कर्म जस्तो हुदोरहेछ भन्ने कुरा अब नेपालीले बुझ्न बाँकी रहेन । परिवर्तनबाट निम्तिने संक्रमण यस्तो दुष्प्रवृत्तीकानिम्ति स्वर्ग हुदोरहेछ भन्ने स्पष्ट भैसकेको छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.