माओवादी विद्रोहका नखुलेका पानाहरु
![]() |
बाबुराम पौड्याल |
विद्रोह राज्यका नियम र कानुनभित्र रहेर विद्रोह संभव हुँदैन । माओवादी विद्रोहमा द्वन्दरत दुवै पक्षहरुबाट देशले क्षति वा लाभ लिए पनि मानवियताका विरुद्ध डरलाग्दा घटनाहरु घटे । तिनलाई कसरी संझिने, विर्सने वा सम्बोधन गर्ने भन्ने दुविधामा छ यतिबेला पनि देश । त्यस विद्रोहको यथार्थबाट आऊँदा दिनहरुमा देशले शिक्षा लिने कुराहरु पनि धेरै छन् ।
नेपालको इतिहासमा नै त्यो दशक सबै भन्दा बढी त्रासदियुक्त पनि
रह्यो । राज्य र विद्रोहीहरुको भिडन्तमा १७ हजार भन्दा बढी
नेपालीहरुको ज्यान गयो । हजारौं निर्दोष र निरिहहरु समेत मारिए ।
तल्लोस्तरका शासनका संयन्त्रहरु ध्वंश भए नै जनसरोकारका
आधारभूत संरचनाहरु समेत ध्वंश पारिए ।
ठूलो विद्रोहबाट आएको नेकपा माओवादीको धार वर्तमानसम्म आईपुग्दा धेरै भंगालाहरुमा विभक्त भै छिन्नभिन्न भैसकेको छ । पुरानै काटमार र ध्वंशको धङधङी लिएर विप्लव भनिने नेत्रविक्रम चन्द एउटा समुह लिएर जंगलतिर छन् ।
![]() |
माओबादी छापमारहरू |
वरिष्ठ विद्रोही नेता मोहन वैद्य अर्को समूहको नेतृत्व गरिरहेका छन् । विद्रोहका सर्वोच्च कमाण्डर प्रचण्डको आधिकारिक धार विद्रोहको कटुआलोचक रहँदै आएको नेकपा एमालेसंग एकिकरण भएर नेकपा बनेको छ र देशमा बहुमतको सरकार चलाई रहेको छ । अर्का विद्रोही विद्वान बाबुराम भट्टराई प्रचण्डको साथ छोडेर आफु अब कम्युनिष्ट नभएको घोषणा गर्दै नयाँ शक्ति पार्टी गठन गरेका थिए तर हालसालै मधेश र जनजातिहरुको पहिचानको नाममा राजनीति गर्दै आएका उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरमसंग एकिकरण गरी समाजवादी पार्टी निर्माण गरेका छन् । यो कहाली लाग्दो विचलनले माओवादी विद्रोह केवल विद्रोहमा मात्र अस्तित्वमा रहन सक्यो विद्रोहको ताप सेलाउदा नसेलाउँदै यो छिन्नभिन्न भयो । यसले त्यस विद्रोहको नेपाली माटो अनुरुपको सैद्धान्तिकिकरण र व्यवहारमा कहीं न कहीं गम्पिभर खोट थियो भन्ने देखाउँछ । यसवारे पार्टीभित्र कस्तो अवस्था थियो, बाहिर देखिएको जस्तो थियो वा थिएन भन्ने पाटो अझै खुल्न बाँकी छ ।
अचेल संझिदा लाग्छ, नेपालमा संवैधानिक राजतन्त्र सहितको बहुदलीय व्यवस्था शुरु भएको पाँच वर्ष नबित्दै महान जनताको मुक्तिका नाममा २०५२ साल फाल्गुण १ गते रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीका प्रहरी चौकीहरुमा आक्रमण, काभ्रेपलान्चोकमा सुदखोरको अभियोगमा दौलतविक्रम दोङको घर र गोरखाको च्याङलीमा कृषिविकास बैंक कब्जा गरेर शुरु भएको माओवादी विद्रोह देशै हल्लाउँदै सिंहको बथान आए झैं आयो तर २०६३ साल मंसीर ५ गते राष्ट्रिय राजनीति अवतरणपछि क्रमश मुसो हराए झै हराऊँदै गयो । नेपालको इतिहासमा नै त्यो दशक सबै भन्दा बढी त्रासदियुक्त पनि रह्यो । राज्य र विद्रोहीहरुको भिडन्तमा १७ हजार भन्दा बढी नेपालीहरुको ज्यान गयो । हजारौं निर्दोष र निरिहहरु समेत मारिए । तल्लोस्तरका शासनका संयन्त्रहरु ध्वंश भए नै जनसरोकारका आधारभूत संरचनाहरु समेत ध्वंश पारिए । धनजनको क्षती हेर्दा लाग्छ, क्रान्तिका नाममा गरिएको संहार नेपालकालागि निक्कै महँगो पर्यो कि ?
त्यसबेला माओवादी विद्रोहलाई आमनेपाली जनमानसहरुले अतिरंजित ढंगबाट बुझेको थियो । यो अतिरंजित छवि निर्माण गर्न केही हदसम्म नेपाली मिडियाको पनि भूमिका रह्यो । माओवादी नेता प्रचण्ड भनेका ज्ञानेन्द्र नै हुन् भन्ने चर्चा कतै सुनिन्थ्यो भने कोही प्रचण्ड भन्ने मान्छे नै छैन, हल्ला मात्रै हो रे भन्ने जस्ता चर्चा पनि चलेको देखिन्थ्यो । यति भएर पनि माओवादीबाट नै राज्यका विसंगतिहरुबाट पार पाउन सकिएला भन्ने आशा तल्लोस्तरका जनताहरुमा सबैतिर देखिन्थ्यो । जसको परिणाम थियो पहिलो संविधानसभामा उनिहरुलाई जनताले दिएको मत ।
दिल्ली सरकारसंग पनि नेपालका जानकार भनिने भारतीय व्यक्तित्वहरु
मार्फत
माओवादी नेताहरु सम्पर्कमा थिए भन्ने धेरैको भनाई छ ।
अन्तिम समयतिर
राजदरवार, नेपालका मुलधारका राजनीतिक दलहरु र माओवादीबीच मध्यस्थताको काम
पनि भारतले गरेको कुरा भारतीय नेताहरुले नै सार्वजनिक गरेका छन् ।
माओवादीलाई मुलधारका राजनीतिक दलहरुको अकर्मण्यता र स्वार्थलिप्तताका कारण जनतामा आएको निराशालाई उपयोग गर्न सफलता मिल्यो । यसैलाई उपयोग गर्दै मुलधारमा आएपनि उनिहरुको अवतरणमा राज्यविरुद्ध भएका यसअघिका आन्दोलनहरुका अवतरणहरु झैं भारतको मध्यस्थतामा भएको सम्झौताबाट भएको थियो ।
विद्रोहकालमा माओवादीको भारत र यदाकदा दरवारसंग सम्बन्ध थियो भन्ने कुरामा नेताहरुले नै स्वीकार गरिसकेका छन् । त्यसमा पनि भारत उच्च प्राथमिकतामा रहेको कुरा घटनाहरुले नै देखाऊँ छन् । माओवादीले भने नेपाली जनमानसिकतालाई उपयोग गर्न भारत विरुद्ध आफुलाई देखाउने प्रचारबाजी गरिरह्यो । भारतले पनि माओवादीका केही कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो । यद्यपि नेपालमा विद्रोह चलिरहँदा वा त्यो भन्दा पनि पहिल्यैदेखि माओवादीहरुले भारतीय भूमिलाई नै उपयोग गरिरहेका थिए । दिल्ली माओवादीप्रति अनुदार रहेको देखाए पनि उसका खुफिया शंयन्त्रहरु सम्पर्कमा रहेका थिए भन्ने शंका गरिन्छ । दिल्ली सरकारसंग पनि नेपालका जानकार भनिने भारतीय व्यक्तित्वहरु मार्फत माओवादी नेताहरु सम्पर्कमा थिए भन्ने धेरैको भनाई छ । अन्तिम समयतिर राजदरवार, नेपालका मुलधारका राजनीतिक दलहरु र माओवादीबीच मध्यस्थताको काम पनि भारतले गरेको कुरा भारतीय नेताहरुले नै सार्वजनिक गरेका छन् । त्यसबेला भारत र माओवादीको बाहिर देखाउने र भित्र गरिने कार्यबीचको भिन्नतामा शंका गर्ने ठाँऊ प्रसस्तै छ । यो पक्षलाई सार्वजनिक गर्ने हो भने नेपालको सुरक्षा र छिमेक नीतिलाई चुस्त र दुरुस्त गर्न शिक्षा मिल्ने छ ।
माअोवादी सशस्त्र विद्रोहकालागि हतियारको आवश्यकता थियो । त्यसको आपूर्ति नेपालका प्रहरी र सेनाबाट कब्जा गरिएको भएपनि सबै हतियारहरुको आवश्यकता यो श्रोतबाट मात्र भएको थिएन । श्रीलंकाको तमिल विद्रोह, मध्यभारतको नक्सलाईट विद्रोह, कश्मिरका सशस्त्र गतिविधि, पूर्वोत्तर भारतमा चलेका सशस्त्र विद्रोहले दक्षिण एशियामा पुराना, नयाँ र घरमा बनाईएका अवैध हतियारको व्यापार गर्ने ठूलो संजाल क्रियाशील रहेको बुझ्न गाह्रो छैन । माओवादीहरुले कुन माध्यमहरुबाट हतियार गर्ने गरेका थिए भन्ने कुराले नेपाल जस्तो सानो मुलुकले कसरी हत्या आतंकलाई रोक्ने भन्ने सन्दर्भमा निक्कै उपयोगी हुन सक्छ । चीन र भारतका सरकारी शंयन्त्रहरुको यो सन्दर्भमा कस्तो थियो भन्ने कुरा पनि निक्कै महत्वपूर्ण छ । माओवादी विद्रोहको यो पाना पनि खोलिनु आवश्यक छ ।
सम्झौताबाट भएको अवतरण हुनाले माओवादीका सबै अभिष्टहरु पुरा नहुनु स्वभाविक थियो । विद्रोहकालागि शक्तिसंचय कालमा आफ्ना कार्यकर्ताहरुलाई देखाईएको सपना र सिहदरवार वरपर पुगेपछि नेता र कार्यकर्ताहरुले अपनाएको चरम पुंजीवादी जीवनशैलि र व्यवहारले उनिहरुप्रति धेरैको मोहभंग हुन समय लागेन । माओवादी आन्दोलनबाट विभिन्न समय क्रममा विभिन्न कारणले अलग भएर व्यक्तिगत जीवनमा फर्केकाहरुका अनुभवहरुले नै यो वृतान्त बताउने गरेका छन् ।
माओवादी विद्रोहले संभव मानिएको संघीय गणतान्त्रिक राज्य संरचना र शासन प्रणाली स्वयं पनि अझै परिक्षणमा नै रहेको र यी कुराहरुको प्राप्ती भन्दा पनि स्वच्छ र नैतिक जिम्मेवारीमा आधारित शासन प्रणाली नै पहिलो शर्त रहेछ भन्ने कुरामा बहस चल्न थालेको छ । माओवादीले सपना देख्न सिकायो, मर्न र मार्न सिकायो, अधिकारका कुरा गर्न सिकायो तर दायित्व र कर्तव्यको संदेश कहिल्यै सिकाएन । उसले केवल अराजकता मात्रै सिकायो । देशभित्रका सबै अन्तरविरोधहरुलाई एकै पटक सतहमा ल्याएर आन्तरिक विग्रह उत्पन्न गर्ने कार्य गरयो । यो विग्रहमा विदेशी स्वार्थहरुलाई खेल्ने निम्तो दिने काम गरियो । यस्तो नीति आउनुमा कसको के कति स्वार्थ र भूमिका थियो भन्ने रहस्यमयी पाना खुल्नु नै देशको हितमा हुने छ ।
Awesome! Its really awesome piece of writing, I have got much clear idea on the topic of
जवाब देंहटाएंfrom this post.