बाबुराम र उपेन्द्रको सहयात्रा : राष्ट्रिय कि मधेशको राजनीति ?
नेपाली राजनीति र बेलाबखत विदेशी स्वार्थहरुको नेपाललाई जाँच गर्ने प्रयोगशाला हुँदै आएको मधेशका नेपालीहरूको भागमा पीडा मात्रै पर्ने सिलसिला चलिआएको छ । मधेशका उद्दारकर्ता हूँ भन्नेहरु धेरै आए गए । उपेन्द्र बाबुरामको सहयात्राले उहि इतिहास नै पो दोहोर्याउने हो कि ?
नेपालमा दलहरुबीच केही अनौठा र अप्रत्यशित समिकरणहरु बन्दै गैरहेको देखिन्छ । त्यस्तै मध्येको पछिल्लो बाबुराम भट्टराई र उपेन्द्र यादवबीचको एकिकरणको घटना हो । भनिन्छ राजनीतिमा असंभव भन्ने कुरा केही हुँदैन । त्यहि कुरा चरितार्थ भएको देखिन्छ । उसो त यी दुईबीच पहिले पनि एकिकरणको चर्चा बेलाबखत चल्दै आएको थियो तर वरियताक्रमको कुरा नमिलेपछि त्यो स्थगित भएको थियो । जे होस्, उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम र बाबुरामले नेतृत्व गरेको नयाँ शक्ति पार्टी एकिकरण भएर समाजवादी पार्टी, नेपाल बनेको घोषणा भैसकेको छ । बने लगतै सामाजिक संजालहरुमा बाबुरामले संविधान संशोधन गरेर नेपालमा सात होईन एघार प्रदेश बनाउन पर्छ त्यसो भएन भने सरकार छोड्ने चेतावनी दिएका छन् भने अर्का नेता राजेन्द्र श्रेष्ठले कम्युनिष्टहरुको सरकार दुई वर्षमा ढाल्ने घोषणा गरेको कुरा सामाजिक संजालमा देखिएको छ । बन्न नपाऊँदै सिंहदरवारको सत्तालाई लक्ष्यित गरेर अतिउत्साहित अभिव्यतिहरु नेताहरुले सार्वजनिक गरेका छन् ।
इतिहासले पनि कहिले कहीं ठट्टा गर्दो रहेछ । संविधान जारी गर्न चाँजोपाँजो मिलाएका बाबुरामले संविधान जारी हुँदा आफु पहिलो पटक धेरै खुशी भएको बताएका थिए । त्यही संविधानलाई उपेन्द्रले मधेश विरोधी र विभेदकारी भनेर जलाएका थिए । माओवादी शान्ति प्रकृयामा आएलगतै मधेशमा उपेन्द्रको समुहले माओवादीहरुको नृशंस हत्या गरेको थियो । तिनै दुई नेताहरुलाई इतिहासले रुखको छायाँमा अँगालो मार्ने अवसर जुटाएर व्यंग्य गरेको छ । मधेशका नेपालीहरुले सबभन्दा नजिकबाट यस्ता प्रहसनहरु विगतमा धेरैपटक देख्दै आएका छन् ।
मधेशको नाममा नेपाली राजनीतिमा सिक्का जमाएका उपेन्द्र यादवदेखि लिएर सिके राउतसम्मका सबैलाई अब मधेश सानो लाग्न थालेको छ । उपेन्द्रले अशोक राई, राजेन्द्रहरुसंग पार्टी एकता गरेर पहाडतिर उक्लिने पहिचानको राजनीति गर्ने प्रयास पहिल्यैदेखि गरेका हुन् तर राई र श्रेठहरुको पातलो जनाधारका कारण सफल हुन सकेका थिएनन् । अब बाबुराम नामको ठुलो व्यानरका माध्यमबाट उनिले उक्त लक्ष्यलाई हासिल गर्ने अर्को जमर्को गरेका छन् । महन्थ ठाकुर र राजेन्द्र महतोहरुले पनि राष्ट्रिय पार्टी बन्ने बहानामा पार्टीको नामबाट मधेश शब्द नै हटाएका छन् । केही समय अगाडिदेखि नै राजपा र संघीय समाजवादी फोरमबीच एकताको प्रयास भैरहेको थियो तर उपेन्द्रले बाबुरामसंग एकता गरेर तत्कालकोलागि राजपालाई जिल्लपारेका छन् । जे भए पनि पहिचानका नाममा राजपा पनि ढीलोचाँडो उपेन्द्र र बाबुरामसंग एकतामा आउने संभावना खुलै छ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम दशवर्षे रक्तपातपूर्ण जनयुद्धको नेतृत्व गर्ने पार्टीका दोस्रो वरियताका नेता थिए । शान्ति प्रकृयामा प्रवेश गरेपछि क्रान्तिकारी भनिएको नेकपा माओवादीले परिवर्तनको संवाहक भनिए पनि उसभित्र आएको डरलाग्दो नैतिक विचलनका कारण त्यो पार्टी लोकप्रियताको सींढीबाट दु्रत गतिमा ओरालो लाग्दै छिन्नभिन्न भयो । त्यसैको चिसिएको एउटा सानो झिल्का हुन् — बाबुराम । उनले हसिया हथौडा भएको झण्डा बोकेर दलाल पुंजीवादको चाकडी र छलकपट गरेनन् बरु प्रष्टै आफुले साम्यवाद छोडेको घोषणा गरे । यस अर्थमा उनलाई अरु भन्दा बढी इमानदार पनि मान्न सकिएला ।
एमाओवादी पार्टीलाई रातो स्टिकर टाँसेको जीर्ण घरको संज्ञा दिंदै छोडेपछि देशभक्त र विकासप्रेमीहरुको साझा मंचको नयाँ सुत्रिकरणका साथ नयाँ शक्ति पार्टी गठन गरे । तर कुनै प्रभाव छोड्न सकेनन् । उनलाई साथ दिनेहरुले पनि साथ छोडे । नयाँ शक्ति अब कमजोर शक्ति बन्न पुग्यो । चुनाव ताका उनि केपी ओली र प्रचण्डको गठबन्धनको मंचमा पनि देखा परे । त्यहाँ नपत्याईएपछि उनि चुनावमा काँग्रेसको वरीपरी देखिए । यहाँ पनि उनको राजनीतिक पसल चलेन । एमाओवादी छोडे पनि उनको राजनीति ओरालो लागेको थियो । यसरी उपेन्द्रसंगको सहयात्रा उनको सहजता भन्दा पनि बढी वाध्यता थियो ।
हाललाई केन्द्रमा नेकपाको बलियो सरकार भएको हुँदा आठ नौ महिनामा सरकार बदलिने संभावना निकै कमजोर भएको हुँदा पनि छरिएका मोलतोल गर्ने शक्तिहरुलाई एकिकृत भएर शक्तिबढाउने वाध्यात्मक अबस्था आईलागेको छ । त्यसकालागि जातिय र क्षेत्रिय पहिचान एउटा आकर्षण हुने ठम्याइमा उनिहरु पुगेका छन् । त्यसले राजनीतिक समिकरणमा फरक पार्न सक्ने संभावना छ । बाबुराम र उपेन्द्रको सहयात्राले यस दिशामा सफलता पाउने हो हेर्न बाँकी नै छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.