ग्रामिण अर्थतन्त्र : नयाँ जीवन कसरी संभव होला !
नेपालको ग्रामिण अर्थतन्त्रको विकास न भै समग्र विकास संभव छैन । रित्तिएको गाऊँमा जब युवाहरुको सुन्दर सपना फुल्न थाल्ने छ तब खेतबारीमा अन्न, तरकारी फलफूल खेती भरिभराउ हुनेछ । पाखापखेराहरुमा पशुपालन गरिने छ र शहरहरुमा तिनिहरुको पहुँच हुनेछ । उत्पादनहरुको पहुँच नेपाल बाहिरसम्म पुग्ने छ । तब मात्र देशको मुहार फेर्न सकिने छ ।
केही महिना पहिला पर्वत जिल्लाको फलेवासमा एउटा सामान्य चियापसलमा चिया पिउँदै गरेका ६० वसन्त नाघेका नन्दलालले यो पंक्तिकारसंग गरेको कुराकानीले नेपालको ग्रामिण क्षेत्रमा चल्दैआएको पारम्परिक आत्मनिर्भर अर्थतन्त्र कसरी छिन्नभिन्न भएछ भन्ने तस्विर देखाउँछ ।
काम गर्न नपर्ने र बसीबसी खानपुग्ने अवस्थालाई विकास भन्ने हो भने अहिले विकास भएको छ, भन्न पर्ला तर यो विकास हो जस्तो मलाई लाग्दैन— चियाको सुर्को पिउँदै उनले भने । त्यतिबेलै जिल्ला सदरमुकामबाट आएको बसले चिया पसल नजिक रोकिएर तीनबटा ग्यासका सिलिण्डरहरु र चामलका तीनवटा बोराहरु झार्यो । समान झारेर त्यो बस लुंखु देउरालीतिर अगाडी बढ्यो । देख्नुभयो डेढ दशक पहिलेसम्म हामीले वर्षभरी खाना पकाउन गाई भैंसीकालागि कुँडो पकाउने दाउराको टेको बनाएर राख्थ्यौं, अहिले बजारकै चलन भैसक्यो — उनले आफ्नो टाउको खुज्मुजिएको पुरानो ढाका टोपी सजाउँदै भने । पहिला मानिसहरुसंग मनग्गे खर्च गर्ने नगद पैसा थिएन न्युनतम आवश्यकताको जोहो ऐंचोपैचो सरसापट गरेर टार्ने चलन थियो । गाऊँमा कहीले कतै अन्न, घिऊ र वस्तुभाऊको खरीद बिक्री हुने गरेपनि अन्य उत्पादन गाऊंघरमा बाँडचुँड गरेर खाने चलन थियो — नन्दलालले अलिकती भावुक हुँदै कुरा थपे ।
कुरा सुनिरहेकी चिया पसलकी साहुनीले भनिन्— पहिला भन्दा त अहिले धेरै सुःख छ केरे नी । गाऊँका तन्नेरीहरु बाहिर गएर कमाएर ल्याउने गरेका छन्, मोटरबाटो आउनाले अलिकती जाँगर चलाउने हो भने दुईचार पैसा कमाउन गाह्रो छैन । उनको मुहारमा संतोष नै देखिन्थ्यो । अधबैंसे साहुनीको कुरा सुनेपछि नन्दलाल नजिकैको खाँबो समाऊँदै उठे र भने— पहिले पहिलेका अब्बल उब्जाऊ जग्गाहरु बाँझै छन् । गर्ने मानिसहरु गाऊँघरमा कोही छैनन् । भएकाहरु पनि गर्दैनन् । गाऊतिर नुनतेल र कपडा बाहेक केही ल्याउने आवश्यता नै थिएन । अचेल भने सबै थोक नगद पैसाले किनेर गुजारा गर्ने चलन चल्यो । यती भन्दै उनि आफ्नो बाटो लागे ।
त्यहाँबाट हिंडेर मोटर गुड्ने कच्ची बाटो कुर्घातिर हिंड्दै गर्दा पहिलेका कृषियोग्य जमिनहरु झारजंगलले भरिएका देखिए । कति ठाँऊहरुमा जेनतेन खेती गरिएको पनि थियो । बाटोमा भेटिएका एकजना स्थानियले बाँदरले केही पनि रहनै नदिएको गुनासो गर्दै थिए । बीसवर्ष पहिला मानिसहरु हिंड्ने बाटाहरु हिंड्ने बाटाहरु जंगलले छोपिई सकेका थिए । बटुवाहरुले विश्राम गर्ने चौताराहरु झाडीहरु बीच विराना भएका थिए । यसरी गाऊँको पारम्परिक उत्पादन प्रणाली पुरै ध्वंस भएको थियो । पुरानो प्रणाली नयाँमा फेरिनु आवश्यक र स्वभाविक थियो तर त्यहाँ केही फेरिएको नभएर समाप्त भएको झैं देखिन्थ्यो । केही ठाँऊहरुमा भैरहेको खेतीले ग्रामिण अर्थप्रणाली साम्रथ्य राख्ने खालको देखिंदैनथ्यो । देश नयाँ व्यवस्थामा गएपछि स्थानिय सरकारहरुले विकासको बहस भने चलाउन थालेका छन् तर त्यसले ठोसरुप लिने पूर्वाधारहरु बनेका छैनन् । मानिसहरुको प्रवृत्ती नै पुरै शहरमुखी भैसकेको । उहिले उपजाऊ जमिन, उब्जनी र गाईवस्तुलाई सम्पन्नताको मानक मानिन्थ्यो तर अहिले परिवारका सदस्यहरु जापान वा पश्चिमा देशहरुतिर भएको कुरालाई उच्च प्रतिष्ठाको विषय मानिन थालेको छ । त्यसपछि खाडीका मुलुकहरु अनि बल्ल नेपालका शहरहरुको कुरा आउने गर्दछ । फलेवास देशका गाऊँहरुको एउटा दृष्टान्त मात्रै हो ।
नेपालाई कृषिप्रधान देश भनिंदै आएको भएपनि कुल गाह्र्यस्थ उत्पादनमा कृषिको योगदान निरन्तर घट्दै गएको देखिन्छ । अस्सीको दशकको अन्तसम्म नेपालको जनसंख्याको ९० प्रतिशत जनसंख्या कृषिमा आधारित थियो । सन् २०१७ मा कुल गाह्र्यस्थ उत्पादनमा कृषिको योगदान २६.२४ प्रतिशत मात्रै छ । सन् २०११मा नेपालको कुलगाह्र्यस्थ उत्पादनमा कृषिक्षेत्रको योगदान ३४.८९ प्रतिशत रहेकोमा लगातार घट्दै गएको हो । लगभग ६५ प्रतिशत मानिसले प्रत्यक्ष्य संलग्न रहेको कृषिको कुलगाह्र्यस्थ उत्पादनमा कमजोर स्थितीले नकारात्मक संकेत नै गर्दछ । गाऊँको वर्तामान स्थितीले पनि त्यसको तस्विर देखाऊँ छ । सडक संजालले नभेटेका अति दुर्गम गाऊँहरु बाहेक सबै गाऊँहरु शहरमा आयातित सामानहरुबाट झण्डै ७० प्रतिशत आवश्यकता पुर्ति गरिरहेको अनुमान हुन्छ ।
नेपालबाट दैनिक १५०० युवाहरु कामको खोजीमा मलेशिया,कोरिया, भारत र खाडीका देशहरुमा गैरहेका छन् । यसले नेपालमा आवश्यक नेपाली श्रमको आपूर्ति भएको देखिंदैन । यो अवस्थाको तस्विर पनि गाऊमा देख्न पाईन्छ । यो अवस्थालाई सम्बोधन गर्ने इच्छाशक्ति नेपालको सरकार र राजनीतिक क्षेत्रमा देखिंदैन । भाषणहरुमा विदेशिएका युवाहरुको चर्चा खुब सुनिने गर्छ । ठूलो संख्यामा विदेशिएकाहरुलाई एकदुई वर्षमा नै स्वदेश फिर्ता गराउने ढंगका गफ पनि सुनिन्छ । उचित पूर्वाधार नभैकन यो असंभव नै छ । पूर्वाधारको निमार्णको गतिमा अहिले सम्म खासै प्रगति देखिंदै । केही कमाएर ल्याउनेलाई कृषि क्षेत्रमा लगानी गर्ने प्रोत्साहन तथा विश्वास दिलाउने काम चुनातीपूर्ण छ । राजनीतिक इच्छाशक्तिको कमि, अनियमितता, भ्रष्ट कर्मचारी शंयन्त्र यस दिशामा ठुला अवरोधहरु हुन् । कृषिमा नेपाल मैत्री प्रविधिको प्रयोग गर्ने सोचले अझै र्मूतरुप लिनसकेको देखिंदैन ।
कृषिकालागि अनुदान र ऋणमा राजनीतिक दलका कार्यकर्ताहरुको हालिमुहाली रहेको बताईंदै छ । अनुदानमा आधारित कृषिप्रणालीले अर्थतन्त्रलाई फाईदा पु¥याउँदैन । भरपुर सहजीकरण बजारव्यवस्थापन र बिचौलिया पद्यतीको निषेध सरकारका महत्वपूर्ण कामहरु हुनसक्छन् । बल्ल गाऊँले देशको अर्थतन्त्रमा कृषिका माध्यमबाट सकारात्मक योगदान दिन सक्छ । अन्यथा सडकले गाऊँलाई परावलम्वी नै बनाईराख्ने छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.