बाढीको प्रकोप : प्रकृतिमाथिको ज्यादतीको प्रतिफल

काठमाण्डौमा जमिनकालागि वैधअवैध सवै हत्कंण्डा अपनाउन पछि नपर्ने प्रवृती  र मधेशतिर चुरेको अत्यधिक दोहन र नदी व्यवस्थापनमा देखिदै आएको लापरवाही भारतसंग यस मामिलामा समन्वय हुन नसक्नु  नै बाढीबाट हुने अधिक क्षतीका कारण हुन् । त्यसलाई न्यूनिकरण र उद्धार गर्ने तर्फ तदारुकता देखाउन अब ढीलो भैसकेको छ ।
   
गत विहीवारदेखि औसत भन्दा केही ढीलो गरी सक्रिय भएको मनसुनका कारण आएको वर्षाका कारण आएको बाढीले साठी भन्दा बढी नेपालीहरुको ज्यान गएको र तीस भन्दा बढी मानिसहरु हराईरहेका छन् । अरबौंको धनमाल क्षती भएको छ । खासगरी राजधानी काठमाण्डौ र पूर्वी तराई बढी प्रभावित भएका छन् । देशका पहाडी भागहरुमा पनि पैह्रोका कारण सडक संजाल क्षतविक्षत हुन पुगेको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानियहरु उद्दारमा खटिए पनि यो पर्याप्त भएको देखिएन ।



बाढी र पैह्रोको प्रकोप नेपालकालागि नौलो होईन । वातावरणिय विनाश र पृथ्वीमा बढी रहेको तापक्रमको प्रभावको दृष्टिले पनि उच्च जोखिममा रहेको नेपालमा यस्ता प्राकृतिक विपतीहरु वर्षेनी बढ्दै जाने संभावना छ । यो प्रकोप थोरै धेरै मात्रामा प्रत्येक वर्ष नेपालले बेहार्ने गर्दै आएको छ । त्यसकालागि आवश्यक पूर्व सतर्कताको भारी कमि यसपटक पनि देखियो । हमेशा राजनीतिक अस्थिरता र अराजकताको शिकार बन्दै आएको नेपाल डरलाग्दो भूकम्पको पीडा सहेर पनि अझै प्राकृतिक प्रकोपहरुको सामना गर्ने शिक्षा लिन सकेको रहेनछ भन्ने देखिएको हो । यतिखेरको बढीमा उसको उद्दार सक्रियतामा देखिएको कमीबाट यो स्पष्ट भएको हो । प्राकृतिक विपदाहरुलाई टार्न नसकिए पनि त्यसको क्षतीलाई न्युनिकरण गर्न अवश्य पनि सकिन्छ । त्यतातिर ध्यान पुग्न सकेको देखिएन ।

राजधानी काठमाण्डौमा देखिएको बाढीको प्रकोपमा ठूलो कारण मानविय लापरवाही नै देखिएको छ । झण्डै पाँच दशक अगाडिदेखि बढेको आप्रवासन उपत्यकाले थेग्नै नसक्ने अवस्थामा पुग्यो । त्यसलाई व्यवस्थापन गर्ने तर्फ ध्यान दिनु पर्नेमा सम्बन्धित निकायहरु समेतको कुनै न कुनै रुपमा सहभागिताले अव्यवस्थालाई झन् बढाएको छ ।

बाग्मती सभ्यतालाई प्राचिनकालमा नै हुर्काउन सफल यो उपत्यका घोर अव्यवस्थाको शिकार बन्दै गएको छ । उपत्यका भएर बग्ने बाग्मती विष्णुमती मनहरा हनुमन्ते र अरु ससाना नदीनालाहरुलाई अस्तित्व विहिन बनाउने वा फोहोर बगाउने ढलमा परिणत गर्ने दुष्कार्यहरु भए । नदीनालाका छेउछाऊमा अतिक्रमण गरेर अग्ला घरहरु बनाउने गैरकानुनी कामहरु भए । बचेखुचेका ठाँऊहरुमा समेत राजनीतिक लाभकालागि सुकुम्बासीका नाममा जोखिमपूर्ण बसोबास गराईयो । राजनीतिक शक्तिहरुबाट नै क्रान्ति र परिवर्तनका नाममा वा तुच्छ लाभकालागि यो सुन्दर शहरको हुर्मत लिएर कुरुप बनाउने निन्दनीय कामहरु भए । यहि दुष्कार्यको सजाय पछिल्ला वर्षहरुमा काठमाण्डौले भोग्दै आएको छ । नदीनालाको प्राकृतिक वहावलाई अवरुद्ध गर्दा नै उपत्यकामा बाढीको समस्या उत्पन्न हुन गएको हो ।

यतिबेला होहल्ला गर्नु भन्दा सम्बन्धित सबैले त्रासदिमा आफ्नो भूमिका कति छ भनेर पनि सोच्न आवश्यक छ । यो अपदाका विरुद्ध कुनै जुलुस, धर्ना, नेपालबन्द जस्ता नेपाली समस्या निदानका बाटाहरु काम लाग्ने छैनन् । त्यसकालागि सबैको सकारात्मक सक्रियता आवश्यकता छ ।

तराईमा देखिएको बाढीको समस्या भारत र नेपालबीचको सम्बन्धमा देखिएका केही विकृतिहरु बढी कारक देखिएका छन् । भारतले आफ्नो भूभाग बाढीबाट जोगाउन दशगजा क्षेत्र वरपर निमार्णहरु गरेको छ त्यसमा यातायात र साना र मध्यम खालका बाँधहरु प्नि छन् । त्यसले गर्दा वर्षा याममा नदीको प्राकृतिक वहाव अवरुद्ध भएर नेपालतिरै फर्किने गरेकोे छ । यसले नेपालतिरको जमिन डुबानमा परी त्यहाँका हजारौं जनताले सास्ती खेप्नु परेको छ । नेपाल तर्फ बनेका नदीका तटबन्धहरुलाई उचित संभार नगर्ने र आवश्यक स्थानहरुमा नेपाली पक्षबाट तटबन्ध बनाउन उदासिनता देखाऊँदै आउका कारण पनि ठूलो क्षती हुने गरेको छ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष