बाढीको पीडा, सप्तकोशी उच्चबाँध र गुप्तचरको भ्रमण
मुआवजा लगायत संरचनाको संभारण जस्ता विषयमा भारतले दशकौं बितीसक्दा पनि वेवास्ता गरिरहेको छ । यस्तो अविश्वास चलिरहँदा फेरी सप्तकाशी उच्चबाँध र सुनकाशी कमला डाईभर्सनको कुरा आउनु नेपालकालागि सोचनीय छ ।
नेपाल र भारतमा सँधै झै यो वर्ष पनि बाढीले ठुलै धनजनको क्षती गरायो । नेपालको पहाडी क्षेत्रबाट बग्दै आएर समथर तराई हुँदै भारतको बिहार राज्यमा प्रवेश गर्ने नदीहरुमा बाढी आऊँदा नेपालको पूर्वी तराई र भारतको बिहार नराम्रोसंग प्रभावित भए । वर्षेनी आउने यो विपद बारे विश्वकालागि उदाहरणिय मित्रता भएका भनिदै आएका नेपाल र भारत गम्भिर छैनन् । लाखौं जनताहरु प्रभावित हुने विपत्तीप्रति उनिहरुको उदासीनताले पनि महान मित्रताको पोल वर्षेनी खोल्ने गरेको छ ।
गत वर्षको वर्षायाम तिर नै यो समस्याको कारण पत्ता लगाउन दुई देशका प्राविधिकहरुको संयुक्त टोलीले अध्ययन थालेको थियो । यो टोलीले सिमानाका १३ स्थानहरुमा गम्भिर समस्याका कारणहरुको लेखाजोखा गरेको थियो । त्यस अध्ययनले भारतले दशगजा क्षेत्रमा बनाएका विभिन्न संरचनाहरुका कारण नेपाल तर्फ डुबान हुने प्रमुख समस्या रहेको देखाएको थियो । यस बारेमा नेपालले वर्षौदेखि भारत समक्ष समाधानको पहल गर्न आग्रह गर्दै आईरहेको थियो । नेपाल भारतबीच हुने यस्ता सर्वे लगायत अन्य धेरै अध्ययनहरुमाथि समयमै कार्यान्वयन हुने परम्परा छैन । यस्तो ढिलाईलाई “कुटनीतिक ढिलाई” भनेर बेलाबखत टिप्पणी गर्ने गरिएको छ । यस्तो परम्परामा जनताको बलि चढाउने घटनाले दुवै देशलाई फाईदा गर्दैन । भारतको डुवानको समस्या नेपालले गर्दा भएको हो भन्ने भ्रमित सुचनाहरु त्यहाँको राजनीतिक वृतबाट प्रवाहित भएका छन् । नेपालमा मधेशको राजनीति गर्ने केही नेताहरुले बाढीको समस्या नेपालकै कारण भएको एकोहोरो अभिव्यक्ति दिएको सुनिएको छ । जे होस्, संयुक्त अध्ययन टोलीको प्रतिवेदनले यस्ता भ्रमहरुको छिनोफानो गरिदिएको छ ।
नेपालमा घरवार विहिन बन्न पुगेका जनताले बाढीका बेला कतिपय स्थानहरुमा भारतले बनाएका पानीको बहाव अवरोधक संरचनाहरु वाध्य भएर भत्काउने गरेका घटनाहरु पनि भएका छन् । भत्काएका संम्रचनाहरु भारतीय सुरक्षाकर्मीहरुले तत्काल आएर बनाउने गरेको पनि देखिएको छ । कुटनीतिक तवरले समाधान गरिनु पर्ने यस्ता समस्याहरुमा जनता आफै अगाडि सर्नु पर्ने वाध्यात्मक स्थिती उत्पन्न गरिनु अत्यन्तै जोखिमपूर्ण र लज्जाजनक छ । नेपालका जुनसुकै नेता दिल्ली धाए पनि वा भारतको जुनसुकै नेता जतिसुकै पटक नेपाल आएपनि यस्ता समस्याहरुप्रति प्रभावकारी चासो नदेखाईदासम्म ती भ्रमणहरुको औचित्य छैन । सत्ताहरुबीचको सार्थक चासोको प्रतिविम्ब जनतामा सकारात्मक रुपमा न देखिंदासम्म यस्ता राजनीतिक आवरणका पर्यटनहरुको औचित्य सावित हुने छैन ।
भारत सप्तकाशीमा २ सय ६९ मीटर अग्लो उच्चबाँध र त्यससंग जोडेर सुनकोशी कमला डाईभर्सन जस्ता परियोजना बनाएर भारत र नेपाललाई फाईदा पुग्ने बताऊँदै आएको छ । यसमा नेपालको ठुलो भूभाग संचितमा पानीमा डुब्ने छ । सन् १९९१मा प्रधानमंत्री गिरिजाप्रसाद कोईरालाले दिल्लीमा यस सम्बन्धी सहमती गरेका थिए । पछि शेरबहादुर देउवाले अध्ययनकालागि विज्ञहरुको समिती बनाउने समझदारी समेत गरे । त्यसकालागि बिराटनगरमा संयुक्त कार्यालय स्थापना भै डिपिआरको काम थाल्न फिल्डमा जाँदा जनताहरुले विरोध गरेका थिए । नदीको साझा उपयोग गर्ने सोच नराम्रो नभए पनि विगतमा भारतसंग भएका नदी संझौताहरुबाट नेपाललाई घाटा नै भएको छ । मुआवजा लगायत संरचनाको संभारण जस्ता विषयमा भारतले दशकौं बितीसक्दा पनि वेवास्ता गरिरहेको छ । यस्तो अविश्वास चलिरहँदा फेरी उच्चबाँधको कुरा आउनु नेपालकालागि सोचनीय छ । नेपाल अहिले आएर उक्त परियोजनाबाट पछि हट्नु पर्ने घरेलु दबावमा छ । दुई देशका प्राविधिकहरुको पछिल्लो बैठक पनि विना निष्कर्ष सकिएको छ । यस्ता परियोजनाले कसलाई कति नाफाघाटा भन्ने कुरा भन्दा पनि त्यसबाट उत्पन्न हुने प्राकृतिक जोखिम दुवैकालागि झन् जोखिमपूर्ण हुनेतिर भने अझै गंभिरता पूर्वक सोचिएको देखिंदैन ।
यसपटक बाढीको प्रकोप भैरहेको समयमा भारतका नवनियुक्त खुफिया प्रमुख एस. गोयल नेपाल छिरे । उनि आऊँदा नेपालमा बाढी भन्दा ठुलो सन्देहको सुनामी नै आएको देखियो । एउटा भारतीय कर्मचारी आउँदा यत्रो संत्रास किन ? रौतहटका एकजना किसान बिन्देसर भन्दै थिए— बाढीको समस्यामा नेपालसंग सरसल्लाह गर्न गुप्तचर प्रमुख आएका हुन् कि ! यता काठमाण्डौमा वीपी, पुष्पलाल र माओका का्रन्तिकारी चेलाहरु मर्यादाको सिमा नाध्दै उनिसंग भेट गर्न मुकाममा नै पुगे भन्ने सुनियो र केहीले भेटर पनि नभेटेको भन्दै ढाँटे रे भन्ने पनि सुनियो । समाजिक संजालहरु सनसनी खबर बनाईयो । कतिले प्रम ओलीको कुर्सी खोसिने लख काटे कतिले प्रचण्डलाई शेरबहादुरले प्रम बनाउने र नेकपा फुट्ने हल्ला समेत गरे । यता पानीको बाढी उता शंकाहरुको बाढी । पीडित जनताको दःख कहीं प्रतिविम्वित देखिंदैन । गोयलले काठमाण्डौमा देखाएको सक्रियताले उनि कुनै मिशनमा रहेको देखाऊँछ भने राजनीतिकवृतमा देखिएको संत्रासले यसलाई पुष्टि पनि गर्दछ । भारत अब नेपालमा केही प्रक्षेपण गर्न चाहेको संकेत हुन्छ । जे भएपनि नेपाललाई अहित हुने प्रस्ताव नेताहरुले स्वीकार नगरे के भो ? जनताले पीडा भोगिरहेको समयमा यस्तो गुप्तचर प्रकरण असान्दर्भिक । फिक्का प्रहसन जस्तै भयो ।
Hello to every , since I am genuinely keen of reading this blog's post to be updated
जवाब देंहटाएंregularly. It includes good information.