तपाईको भान्छामा कर्पोरेट पस्यो, ढोका लगाउनु भएन ?
बजारका जंक फुडहरुले उपभोक्ताहरुको स्वास्थ्य माथि खतरा मात्र निम्त्याएका छैनन् आर्थिक मारमा पनि परेका छन्। कर्पोरेटहरुले मानसिक हिसाबले मानिसहरुमा एतिसम्म भ्रम छर्न सफल भएका छन् कि घरमा बनेका खाजाका परिकारहरुको प्रयोग गर्नु पाखे हुनु हो भनेर सोच्न थालिएको छ।
![]() |
बालबालिकामा बढ्दो जंकफूडको प्रयोग |
नेपाल जस्ता पारम्परिक कृषिमा जेनतेन गुजारा गरिरहेका दुनियाँका कमजोर देशहरुमा कर्पोरेटहरुले बेरोकटोक रजाई गरिरहेका छन् भन्दा पनि लुट मच्चाइ रहेका छन् । कर्पोरेटहरुमा बहुराष्ट्रिय चरित्रले त दुनियाँमा नै सम्राज्य फैलाईरहेका छन् भने राष्ट्रिय चरित्रकाहरुले समेत विषेश गरेर त्यहाँका पारम्परिक अर्थतन्त्रका आधारमा चलिरहेका भान्छा र त्यसमा निर्भर न्युन आय भएका मानिसहरुको उठीवास नै लगाऊँदै छन् । कृषि क्षेत्रमा केही उन्नती गरिरहेका देशमा सस्तो मुल्यमा कृषकहरुबाट अनाज खरिद गरेर केही प्रशोधन र स्वादिष्टबनाउने मसलाहरु मिसाई आकर्षक खोलहरुमा राखेर उत्पादन मूल्य भन्दा धेरै महँगोमा बेच्दै मुनाफा कमाऊँदै आएका छन् । स्थानिय कृषि उत्पादन नभएका देशमा भने उनिहरुले अन्य देशहरुबाट ल्याएर आफ्नो बजार फैलाई रहेका छन् । नवउदारवादको आड लिएर कमजोर अर्थतन्त्र भएका देशहरुमा उनिहरुले आर्थिक माध्यमबाट शोषण मात्र होईन त्यहाँका जनताको स्वास्थ्य माथि नै खेलबाड समेत गरिरहेका छन् ।
नेपाल जस्तो गरिब देशका सबै खाले संचार माध्यमहरुलाई उत्पादनको विज्ञापनका नाममा कर्पोरेटहरुले उपभोक्ताहरु तयार गर्न करोडौं खर्च गरिरहेका छन् । त्यस वापत उनिहरुका उत्पादनको आकर्षक बखान गरेर मानिसलाई सम्मोहित गर्ने काम गरिरहेका छन् । खाद्दमा कर्पोरेटहरुको खाइहाल्न मिल्ने तयारी खाजाका परिकारहरुमा ठुलो व्यापार चलाईरहेका छन् । उनिहरुको पहिलो निशानामा कलिलो उमेरका बालबालिकाहरु हुन्छन् । दोस्रोमा युवाहरु पर्दछन् । किनभने यो उमेर समूहका मानिसहरुलाई प्रभावमा पार्न सकियो भने उनिहरुलाई लामो समयसम्म उत्पादनको उपभोक्ता बनाउन सकिन्छ ।
शहरतिर भने कर्पोरेटहरुको संजाल यति बलियो भैसकेको छ कि त्यसलाई नकार्न नेपाली जनजीवनले झण्डै नसक्ने भैसकेको छ । रेडियो टीभी मोवाईल कम्प्युटर, प्रेसरकुकर, जस्ता सामानहरु त वाध्यात्मक भैसकेका छन् । जसको उपयोगविना जीउन नै असंभव भैसकेको छ । पुरानो पारम्परिक कृषिमा आधारित नेपालको ग्रामिण अर्थतन्त्र लगभग चौपट भैसकेको छ । खेतीपाती छोडेर युवाहरुले वैदेशिक श्रमबजारमा श्रम बेचेर पठाएको पैसाले बसेर खाने प्रवृति डरलाग्दोसंग मौलाई रहेको छ । यसरी नेपालका गाऊँहरुमा पनि कर्पोरेट उत्पादित खाद्द सामानहरुको छेलाखेलो बढ्दो छ ।
नेपाली समाजमा ज्वाईं घरमा आउनुलाई नियमित हुने उच्च सत्कारका रुपमा लिने चलन छ । अचेल घरमा ज्वाई आएका घरको दुध दही मोही छोडेर कोक र फेन्टा लिन पसलतिर दौडिन थालिएको छ । गोरस टक्रयाउनु भन्दा कर्पोरेट पेयले सत्कार गर्नुलाई सभ्य भएको मान्न थालिएको छ । अतिथी र आतिथ्य गर्नेहरु दुवै यस्तोमा नै रमाउने चलन बढ्दो छ । खाजाका रुपमा गाऊँतिर भुटेका मकै, गेडागुडी, पुवा र रोटी तथा दुध मोही दही तथा घिऊमा बनाईएका परिकारहरु भान्छाबाट बहिष्कृत भएका छन् । धान रोपाईमा पनि अचेल खेतालाहरुलाई खाजाका रुपमा चाउचाऊ उमालेर पस्किने चलन चलेको छ । असारे गीतकासंगै पारम्परिक खाजाका परिकारहरु हराऊँदै गएका छन् । घरमा पारम्परिक खाजा नभएर वाध्यताले बनाउनु पर्नेहरुको कथा अलग भएपनि हुनेहरु र खानेहरु पनि घरेलु खानेकुरा खानुलाई पाखे मान्न थालेका छन् । केटाकेटीहरुलाई पनि पसलमा पाईने आकर्षक खोलबन्द चीप्स, मकैको पीठो वा मौदामा जीब्रोलाई स्वाद दिन मसला लागाइएका र महिनौ टिकाई राख्न रसायन राखिएका विस्कुट आदि गुलिया नुनिला पीरा परिकारहरु दिने चलन चलेको छ ।
यस्ता खानेकुराहरु दिने र खानेहरुले तिनको गुणस्तर र स्वस्थ्यमा त्यसले पार्ने असर बारे पुरै वेवास्ता गर्ने गरेका छन् । स्वास्थ्यका दृष्टिले कोक फेन्टा फ्रुटी जस्ता पेयको गोरससंग तुलना नै हुन सक्दैन न त घरमा उत्पादित खाद्दान्नबाट बनाईएका खाजाका परिकार र पसलबाट खरिद गरिने खोलबन्द परिकारबीच नै तुलना हुन सक्दछ । जङ्क फुडका नामले दुनियाँमा कुख्याती कमाएका यस्ता खानेकुराले दीर्धकालमा स्वास्थ्यमा पर्ने नकारात्मक असर बारे दुनियामा धेरै अनुसन्धान भैसकेका छन् । यसतर्फ कसैले सावधानीपूर्वक सोचिरहेको छ होला त ?
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.