नेकपामा चिनिया विचारधारावारे बहसको मतलव

                     
     सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी, चिनिया राष्ट्रपति सी जिम्पिङले चीनलाई नयाँ दिशामा लैजान गरिरहेको प्रयासलाई सी विचारधाराका रुपमा अथ्र्याउने धुनमा लागेको भन्ने चर्चाले चारैतिर स्थान पाएको देखिन्छ । हालसालै नेकपाले आफ्ना नेता र कार्यकर्तालाई विश्वको आर्थिक महाशक्तिका रुपमा उदाउँदो चीनका वर्तमान नेता तथा राष्ट्रपति सीले आफ्नो कार्यकालमा चालेका कदमहरुलाई सैद्धांतिक रुपमा बुझ्न बुझाउन आयोजित गोष्टिमा सहभागिता जनाउन चिनिया विज्ञहरु पनि नेपाल आए । सीको बहुप्रतीक्षित नेपाल भ्रमणको संभावना बढ्दै गएको समय पारेर आयोजित यस्तो गोष्टिले तरंग ल्याउनु अस्वभाविक छैन । यो प्रयासले एकपटक फेरि नेपालमा आन्तरिक वहसको प्रारम्भ भएको मात्र नभई नेपालसंग आफ्नो स्वार्थ गाँसिएका बाहिरी शक्तिहरु समेत थप सशंकित हुने देखिएको छ ।

नेकपाको चीनप्रतिको झुकाउलाई कम्यूनिष्ट तानाशाही प्रवृतीका रुपमा बुझ्दै आएको  प्रतिपक्षी नेपाली काँग्रेसले पनि गोष्टिप्रति आफ्नो आशंका जाहेर गरिसकेको छ । यस बाहेक भारत अमेरिकासंग नजिक रहेका नेपालका शक्तिहरुले पनि नेकपाको यो कदमलाई आफ्नै ढंगले बुझ्ने प्रयास नगर्ने कुरै भएन । उसो त आफ्नो छिमेकमा भएका गतिविधिहरुलाई औपचारिक रुपमा बुझ्ने प्रयास गर्ने कुरामा शंका गर्नु पर्ने नभए पनि नेपालको रणनीति महत्वले गर्दा त्यसले चर्चा पाउनुलाई अस्वभाविक नमान्ने सहजता भने नेपाललाई छैन । नेपाली कुटनीतिको जटिलता नै यही हो । अमेरिकाले नेपाललाई ठुलो धनराशीको आश देखाउनु र भारतले पनि आफ्नो पुरानो नेपाल नीतिमा केही सकारात्मकताको आभाष दिनु पनि नेपालमाथि चीनतिर नलहसिनकालागि दिईएका दबाव नै हुन् ।

नेपालका राजनीतिक दलहरुको सैद्धान्तिक जामाले ०४६ पछि लाज ढाकिन छाडेको छ । नेपाली काँग्रेस प्रजातान्त्रिक समाजवादको सैदांतिक चौतारी छोडेर टण्टालपुरे घाममा पसिना काढ्दै हिंडिरहेको पनि धेरै भैसक्यो । नेपाली कम्युनिष्टहरुको दशा त्यो भन्दा धेरै कहाली लाग्दो छ । उनिहरुको तल्लो वर्गप्रतिको सैद्धांतिक माया व्यवहारमा आऊँदा घोर दक्षिणपंथी जातिवाद र दलाल पूँजीवादमा अनुवाद भैसकेको छ । निक्कै तामझाम साथ नेपाली राजनीतिमा पछि उदाएका मधेशतिरका दलहरु पनि उत्तेजनाको राजनीति गरेर राजनीतिक उच्चको दुनो सोझ्याउने कार्यमा लीप्त छन् । मधेशवाद नामको उनिहरुको सिद्धांत पनि व्यवहारमा कुरुप सावित भएको छ । सैद्धांतिक सुत्रहरुले नेपालमा प्रभाव गुमाएको धेरै समय भैसकेको छ । यो अवस्था नेपालको मात्र होईन दुनियाँमा नै यस्तो ट्रेन्ड शुरु भएको छ । अचेल पपुलिज्म वा हठबाट राजनीतिलाई डोर्याउने प्रयास हुन थालेको छ । नेपाली कम्युनिष्ट आन्दोलनमा विचारधाराका जडौरी फरियाहरु अदलबदलको रोग पुरानो हो । डर छ, कतै नेकपा नामका पछाडि अब सी विचारको पुच्छर पनि जोडिने हो कि ?

 अब नेपालमा मात्र होईन दुनियाँमा नै सैद्धान्तिक सूत्रका आधारमा राजनीति गर्ने परम्परा हट्दै गएको छ । सिद्धान्तका पर्खालभित्र सिमित रहेको भए चीनमा न देङ आऊथे न सी नै । उनिहरु पारम्परिक सिद्धांतका पर्खालहरु भत्काएर वा त्यसलाई फराकिलो पारेर मात्रै चीनलाई अगाडि बढाउने हिम्मत गर्न सफल भएका हुन् । भारतमा पनि महात्मा गाँधी र नेहरुका सैद्धांतिक आधारहरुलाई भत्काउने प्रयास हुँदै आएको छ । मोदी त्यसै प्रयासका उत्पादन हुन । ट्रमको उदयपछि अमेरिका पनि यसै अवस्थामा पुगेको छ । विस्तृत र विविध हुँदै गएको दुनियाँमा सिद्धांतको पुच्छर समातेर वैतरणी तर्न भन्दा अवस्था अनुरुप देशको हीतमा तुरुन्त निर्णय र कार्यावयन गर्ने नेतृत्वको आवश्यकता बोध हुन थालेको छ ।                     
           
संसदीय व्यवस्थामा क्रियाशील नेपालका कम्युनिष्टहरु सैद्धांतिक दुविधामा नराम्रोसंग फसेका छन् । सोवियतसंघको पतनपछि दुनियाकै कम्युनिष्टहरुको यस्तै हविगत भएको छ । पुरानो परम्परामा रमाउने चहानाले न त बदलिंदो अवस्था अनुरुपका मान्य सिद्धांतको परिभाषा दिन सकेका छन् न छोड्न नै सकेका छन् । नेपाल जस्तो गरीब देशमा रहेको बहुसंख्यक जनमतको लोभले पनि उनिहरुलाई थप समस्यामा पारेको छ । संसदीय अभ्यासमा उनिहरुले देखाउँदै आएको विरोधाभाषी आचरणहरुले उनिहरुलाई नै समस्यामा पार्दै आएको छ । त्यसबाट उम्किन विभिन्न नयाँ वाद र विचारका साईनबोर्डहरु झुण्ड्याउँने र त्यसैमा विवाद गरी समय खेर फाल्ने  खेल नेपालका कम्युनिष्ट खेल्दै आएका छन् । नेकपाको सी गोष्टि पनि त्यसैको पछिल्लो कडी हुन सक्छ । चीनको तीव्र विकासको अध्ययन गर्ने र त्यसबाट कसरी नेपालले कसरी फाईदा लिने भन्ने चासो नलिएर केवल सीको नेपालको आगमनको समय पारेर चाकडी गर्ने हैसियत बनाउन सी विचारधाराको पाठ लेख्न र घोक्न थालिएको हो भने त्यसले आत्मघाती दिशातिर डोर्याउने निश्चित छ ।
         
 सबै पक्षका राम्रा पक्षहरुको अनुशरण र नराम्रा पक्षको परित्याग उचित समयमा गर्न सक्नु नै नेपालको आवश्यकता हो । दुनियाँ यतिखेर सामरिक शक्तिका आधारमा संचालित छैन । सामरिकतालाई अर्थिक प्रभावले धेरै पछाडि पारेको छ । त्यसले राष्ट्रिय अन्तरराष्ट्रिय जगतमा नयाँ स्वार्थहरुको प्रभाव बढ्दो छ । संभवतः त्यस्ता विविधताहरुसंग आफ्नो देशको हीतमा सौदेबाजी गर्न एउटा कुनै बाहिरको विचारधारालाई आधार मानेर नेपाल जस्तो देशलाई प्रगतितिर लैजान सहज हुने छैन ।






















































































































































































































































































































































































                           
        






































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































                           
   





























































































































































































































































































































































































































































































































































































































































































टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष