चिनिया राष्ट्रपतिको नेपाल भ्रमणपछिको स्थिति
चिनिया राष्ट्रपति सीको नेपाल भ्रमणले नेपाललाई कुटनीतिका हिसाबले नयाँ मोड दिएको छ । त्यो मोडमा नेपालले विभिन्न दबाव र आफ्नै असक्षमताका कारण देशको हितमा काम गर्न नसक्ने हो कि भन्ने ठुलै आशंकाको सामना गर्नु पर्ने जोखिम पनि आईपरेको छ । नेपालको कुटनीतिमा अहिलेसम्म सतर्कता भन्दा त्रास स्वाभिमान भन्दा मगन्तेपन र लाचारी हावी रहँदै आएको छ । यसैका कारण सतहमा राजनीतिक रुपमा ठुलो फड्को मारेको देखिए पनि आर्थिक रुपले देशको दुरावस्था भयो भन्ने कुरामा दुईमत छैन ।
नेपालको राजनीतिलाई बाहिरी तत्वहरुले २ दिसम्बर १८१५को सुगौली संन्धिपछि आफ्नो स्वार्थकालागि प्रयोग गर्ने प्रयास गर्दै आएका हुन् । त्यही प्रयासको उत्कर्ष सन् १९९० पछि नेपालले चर्को रुपमा भोग्दै आएकोे छ । यसले गर्दा पनि नेपालका राजनीतिक परिवर्तनहरुमा नेपाल र नेपाली जनताको स्वार्थ प्रतिबिम्बित हुनै पाएन । सरकारमा जान पनि नेपाली राजनीतिक दलहरुले विदेशीको आशिर्वाद लिनुपर्ने अवस्थासम्म आयो । यो लज्जास्पद स्थिती नेपालले भोगेको छ । नेपालका नेताहरुले केसम्म भनेनन् र । नेपाललाई २१बटा राज्यमा विभाजन गर्नु पर्दछ, पहाडलाई टुक्रा टुक्रा पार्नु पर्दछ, मधेशलाई नेपाललाई अलग पार्नु पर्दछ, सबै समथर भागलाई एउठै प्रदेश बनाउनु पर्दछ भन्ने जस्ता कुराहरु उनिहरु स्वयंले भन्दा पनि विदेशीहरुले बोल्न लगाएका थिए भन्ने कुराहरु प्रमाणित भैसकेका छन् । तर, पछिल्ला दिनहरुमा यो अवस्थामा केही सुधार भएको जस्तो देखिए पनि ढुक्कको अवस्था भने छैन ।
नेपालमा केही मानिसहरु भारत, चीन, अमेरिकालाई उनिहरुका स्वार्थविपरीत केही भन्नै हुँदैन उनिहरुले भनेको हरेक कुरा मानेर मात्रै नेपालमा टिक्न सकिन्छ भन्ने त्रास प्रकट गर्ने गर्दछन् । अर्काथरी नेपालको हित गर्न भारतको सत्तोसराप गर्नै पर्दछ भन्ने कुरा गर्दछन् । एउटा समुह भारतलाई अन्नदाता मान्दछ भने अर्कोलाई चीन मुक्तिदाता लाग्दछ । यस्ता सबै धारणाहरु नै प्रकारान्तमा देश विरोधी छन् । नेपालको दुरावस्था हुनुमा यस्तो चिन्तनको पनि ठुलो हात छ । पंचायत विरोधी क्रान्तिपछि त नेपालको कुटनीति दिल्लीसम्म मात्रै खुम्चियो । यो नेपाल र नेपालीहरुको निम्ति अर्को अभिशाप सिद्ध भयो । हाम्रो कुटनीति नेपाल र एशियाकै हितमा परिचालित हुनु पर्ने थियो तर त्यो परको कुरा भयो ।
दिल्लीले धेरै अर्थमा आफ्नो सामिप्यतामा रहेको सानो मुलुकमाथि जस्तो रवैया अपनायो त्यसले भारतको तुलनामा धेरै केही नगरिकनै चीनले नेपालमा लोकप्रियता हासिल गर्न सफल भयो । पटक पटकका नाकाबन्दीहरु र नेपालको ससाना आन्तरिक मामिलामा समेत हस्तक्षेप र काश्मीर, मध्यभारतको माओवादी समस्या, नागा, मणिपुरी र आल्फा समस्या जस्ता घाउहरु बोकेको दिल्लीले नेपालको एउटा समुदायको काँधमाथि बन्दुक राखेर काठमाण्डौमाथि निशाना लगाउने काम गरेर अर्को कुटनीतिक भुल गर्यो । त्यति मात्र होईन, उसले नेपालमाथि दबाव दिन अन्तरराष्ट्रिय लबीङ जस्तो कहिल्यै नगरेको काम गर्ने प्रयास समेत यसबीच गर्यो । त्यसले नेपाल भारत सम्बन्धमा शदियौंदेखि चल्दै आएको राजनीति बाहेकको जुन एकिकृत पक्ष थियो त्यसमा आघात पर्न गयो ।
नेपालमा यो स्थितीमा केही फरक देखिएको छ यतिबेला । यो नयाँ स्थिती पनि खतरामुक्त भने छैन । चीनसंगको बढ्दो समिप्यताले कतै यस भन्दाअघि दिल्ली हावी भए झै अब बेईजिङ पो काठमाण्डौमाथि हावी हुने हो कि, कतै चीनसंगको सामिप्यताले बिच्किएका दिल्ली र वाशिङटनले प्रतिशोधमा नेपाललमा कुनै अर्को विताण्डा मच्चाउने पो हुन् कि अथवा भारत र चीनबीच बढ्दो उठबसले नेपालको लीपुलेक नाकालाई लिएर केही वर्षअघि भारत र चीनले दुईपक्षिय समझदारी गरे जस्तै पो गर्ने हुन् कि भन्ने संशय बढेको छ ।
चीन नेपाल संबन्धमा अहिलेसम्म खासै अप्ठ्यारो केही देखिंदैन । नेपालमा चीनप्रतिको विश्वास यसै जगमा उभिएको हो । तर, अब चीन पहिलेको जस्तो आफैमा मात्र सिमित छैन । उ विश्वमा फैलिने महत्वकांक्षा लिएर हिंडेको विश्वको दोस्रो ठुलो आर्थिक शक्ति पनि हो । चीनको चरित्र अहिले पुरै फेरिएको छ । उसको महत्वकांक्षामा हाम्रो हिस्सेदारी हुन सक्ने ल्याकत नेपालमा हुने कुरै भएन बरु उसकालागि नेपाल एउटा रणनीतिक गोटी मात्र पो बन्ने हो कि भन्ने आशंका छ ।
चीन यतिबेला संसारका १६४ देशहरुसंग बीआरआई अन्तरगत विभिन्न ढंगले सहकार्य गरिरहेको छ । चीन आन्तरिक रुपमा बन्द राजनीति र खुल्ला अर्थनीतिको नौलो प्रयोग गरिरहेको छ । यसलाई कम्युनिज्मकै एउटा विकसित प्रयोग हो भनेर उसले स्थापित गर्न प्रयास गरेको कुरा चिनिया कम्युनिष्ट पार्टी र नेपालको कम्युनिष्ट पार्टीबीच सी विचाधाराका नाममा आयोजित अन्तरक्रियाहरुले पनि देखाऊँछ । चीनले नेपालमा भारतको झै जनस्तरको सम्बन्ध विकास गर्न चाहेको छ । यस अन्तरगत नेपालमा चीनी भाषाको प्रसार गर्ने काम गरिरहेको पनि छ । त्यसैले अमेरीका भारत जापान कोरिया लगायतका देशहरु चीनको बढ्दो प्रभावबाट सशंकित रहँदै आएका छन् । यसले नेपालको समग्र कुटनीतिलाई पनि सकसमा पारेको छ । भारत जापान अमेरीका जस्ता चीनलाई शंकाको नजरले हेर्ने देशहरु नेपालका धेरै अर्थमा पारम्परिक सहयोगी पनि रहँदै आएका छन् । चीनको यतिबेलाको मुख्य चासो आन्तरिक सुरक्षामा पनि छ । तिब्बत, उईगुर, ताईवान र हङकङ जस्ता आन्तिरिक समस्यासंग चीन आक्रन्त छ । त्यसैले आफ्ना वरीपरीका देशहरुबाट उसले सुरक्षाको प्रतिबद्धता खोज्ने गरेको छ । त्यसैले चीनकालागि नेपाल चासोको विषय छ । सीले काठमाण्डौमा चीनको विखण्डनमा सहयोग पुर्याउनेलाई कुल्चिने कठोर अभिव्यक्ति दिएका छन् । यस्तो कठोर शब्द उनले काठमाण्डौमा नै किन बोले भन्ने खुल्दुली नेपालमा छ । यसको सोझो संकेत तिब्बतीहरुको आप्रवासी सरकार संचालन र त्यसका नेता दलाई लामाको बासस्थान रहेको भारत, हङकङ र उईगुर समस्यामा चासो राख्ने अमेरीका लगायत सबै पश्चिमाहरुतिर हो भनेर अड्कल लगाउन गाह्रो छैन । यो भनाईले नेपाललाई पनि तिब्बती विद्रोहीहरुलाई चीन विरोधी गतिविधि गर्न चनाखो बन्न सतर्क गरेको हो भन्ने बुझिन्छ ।
चीनका विरोधीहरुले नेपाललाई चीनसंगको घनिष्टताले चिनिया ऋणको पाशोमा पर्न सक्ने चेतावनी दिंदै आएका छन् । श्रीलंका र मालदीवलाई उनिहरुले नजिकको उदाहरणको रुपमा देखाउने गरेका छन् । यति हुँदाहुँदै पनि नेपालले भारतकोमाथि मात्र निभर्रतामा नरहनकालागि चीनसंग पनि जोडिने हिम्मत गरेको छ । दुई विशाल देशबीचको सानो देश नेपालले दुवै देशहरुसंग सम्बन्ध राख्ने प्रयास गर्नु उसको आवश्यकता हो । नेपालकालागि जति आवश्यक भारत छ त्यति नै चीन पनि छ । भारतका मिडियाहरुमा नेपाल र चीनबीच बढ्दो सम्बन्धलाई लिएर उत्ताउला टिप्पणीहरु भैरहेको देखिन्छ । भारतको दौलोमा रहेको नेपाल चीनको पोल्टामा गयो र अब भारतलाई चीनबाट खतरा बढयो भन्ने उनिहरुको निष्कर्ष छ । उनिहरु नेपाललाई ढोकाको दर्बान भन्दा बढी सोच्ने गर्दैनन् । यस्तो विचारले पनि नेपाललाई चीनतिर ढल्किन वाध्य पारिरहेको छ । नेपाल र नेपालीहरुकालागि भारत भौगोलिक र साँस्कृतिक रुपले जती सुगम छ त्यती चीन छैन । यो बुझेर नै नेपाल लामो समयसम्म भारताश्रित मात्र भएर बस्यो तर भारतले भने बेलाबखत नेपालमाथि अवंछित दबाव दिएर नेपाललाई आफ्नो काबुमा राख्ने प्रयास छोडेन । अबका दिनहरुमा नेपालले दुवै देशहरुलाई आफुबाट आश्वस्त पार्न आवश्यक छ । यो नै नेपालकालागि एकमात्र बाटो हो ।
पछिल्ला वर्षहरुमा भने नेपालप्रति भारतको व्यवहारमा फेरिएको जस्तो देखिंदै छ । पारम्परिक रुपमा तनावपूर्ण सम्बन्धमा रहेका नेपालका दुई बलिष्ट छिमेकी भारत र चीनका शिर्षनेताहरु बीच पछिल्लो वर्षहरुमा बाक्लो भेटघाट भैरहेको छ । भनिन्छ, पछिल्लो समयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटीन, चिनियाँ राष्ट्रपति सी जिम्पिङ र भारतीय प्रधानमंत्री नरेन्द्र मोदी औपचारिक अनौपचारिक रुपले सर्वाधिक सम्पर्कमा रहने नेताहरु हुन । यस बाहेक पनि सांकेतिक खालका कुटनीतिक सक्रियता पनि यी नेताहरुको बढ्दो छ । ११ अक्टोबरमा भारतका प्रधानमंत्री नरेन्द्रमोदीलाई भेट्न भारत आउन दुई दिनअघि चीनका राष्ट्रपति सी बेईजिङमा भारतसंग तनावपूर्ण संबन्ध रहेको पाकिस्तानका प्रधानमंत्री इमरानखानलाई कश्मीरको विषयमा आफ्नो साथ रहेको आश्वासन दिईरहेका थिए भने यता केही दिन पहिला नरेन्द्रमोदीसंग बांगलादेशकी प्रधानमंत्री शेख हसीना दिल्लीमा थिईन् । नेपालको राजकीय भ्रमणमा आउनभन्दा केही घण्टा अगाडि मोदीसंग सीको भेट पनि अर्थपूर्ण छ । त्यहाँ मोदीसंग नेपालवारे कुरा भएको सीले नीचोड नखुलाए पनि आफुले कुरा राखेको काठमाण्डौको एउटा कुराकानीमा बताएका छन् । संभवत उनले त्यहाँ नेपालमा दुवै पक्षले मिलेर काम गरौं भनेका छन् ।
चीनको चासो नेपालमा मात्र नभएर नेपाल हुँदै भारतको विशाल बजार र समुद्रबाट अन्यत्र विस्तारित हुने चाहना हो । यसकालागि चीनलाई भारतको साथ चाहिन्छ । यो संभव भएमा नेपालमा कनेक्टिीविटीका नाममा संचालन हुने खर्चिला परियोजनाहरु घाटामा जाने संभावना रहँदैन ।
नेपाललाई भुपरिवेष्टित देशबाट भुजडित देश बनाउने कुरा सीले काठमाण्डौमा बताईसकेका छन् । नेपालमा चिनियाँ लगानी पनि बढ्दो छ । योजनाहरु ओगटेर काम नगर्ने भारतीय प्रवृत्तीले प्रभावित रहँदै आएको नेपालमा सीले भनेको काम समयमै गर्ने प्रतिबद्धता समेत गरेका छन् । यदि साँच्चै भने जस्तै हुने हो भने नेपालमा खेलिरहेका अन्य विदेशी स्वार्थहरुले आफ्नो नेपाल नीतिलाई समीक्षा गर्नु पर्ने स्थिती आउने देखिन्छ । यसले नेपालको कुटनीतिमा अर्को संक्रमणको स्थिती उत्पन्न हुन संभव छ । यो स्थितीलाई नेपालका राजनीतिक शक्तिहरुले देशका पक्षमा व्यवस्थापन गर्न सक्ने हु्न् वा हैनन् हेर्न बाँकी छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.