महराको क्रान्तिकारी आचरणको अवसान ?
महराको क्रान्तिकारी राजनीतिक दर्शनमा महिलालाई सम्मान गर्ने समता प्रदान गर्ने भनिए पनि रोशनी शाहीको आरोपले उनलाई कठघरामा पुरयाएको छ । ऐयाशीको रमझममा साँच्चै महराको क्रान्तिकारी आचरणले आत्मसमर्पण गरेकै हो ?
आफ्नै सचिवालयकी कर्मचारी रोशनी शाहीले यहि असौज १८ गते पूर्वसभामुख कृष्णबहादुर महराले आफुमाथि बलात्कार गरेको कीटानी जाहेरी प्रहरीमा दिएपछि भोलिपल्ट अर्थात् असौज १९ गते महरालाई पदबाट राजिनामा दिएपछिको अवस्थामा सभामुखको सरकारी निवासबाट अन्यत्र सर्न नपाऊँदै प्रहरीले पक्राउ गरेको छ ।
![]() |
पिडिता रोशनी शाही |
यसअघि नै एउटा अनलाईन मिडियामा पीडिताको महराले आफ्नो निवासमा एक्लै भएको समयमा आएर यौनदुराचार गरेको भन्ने भनाई सार्वजनिक भएको थियो । त्यसपछि चौतर्फी दबाव परेपछि उनले सभामुख पदबाट राजिनामा दिएका थिए । संभवतः प्रहरी हिरासतमा परेपछि उनको सांसद पद समेत खारेजीमा परेको छ । पार्टीको सदस्यता के हुने हो भन्ने प्रश्न यी पंतीहरु लेख्दासम्म अझै अनुत्तरित नै छ ।
महरा दोषी ठहरिए भने यो काण्ड नेपालको हाईप्रोफाईल यौनकाण्ड मानिने छ । यसअघि पनि यस किसिमका यौन प्रकरणहरु चर्चामा आऊँथे तर त्यो त्यसै सेलाएर जाने गर्दथ्यो वा त्यतिकै दबाएर राख्ने गरिन्थ्यो । धेरै वर्षअघि एकजना वहालवाला मंत्री लोग्ने अन्यत्र भएकी महिलालाई भेट्न घरको पर्खाल नाघेर गएको भन्ने समाचार चर्चामा आएको थियो भने अर्का एकमंत्रीले रोपाई भैरहेको खेतमा एउटी महिलामाथि अभद्र व्यवहार गरेका थिए । यहि आरोपमा उनले मंत्रीको पदबाट हात धोएर उम्केका थियो । यस्ता धेरै चर्चाहरु हुने गरे पनि ती चर्चा मैं सिमित रहँदै आएका थिए ।
महरा प्रकरणलाई लिएर सामाजिक संजालमा यतिबेला आँधीबेहरी नै चलिरहेको छ । संजालहरुमा चलेका विभिन्न तर्कवितर्कहरुलाई एकातिर छोडेर हेर्दा लाग्छ, रोशनी र महराबीच विगत लामो समयदेखि सम्बन्ध रहँदै आएको थियो । त्यो सम्बन्ध कुनस्तरको थियो र त्यसको परिणती यहाँसम्म किन र कसरी पुग्यो भन्ने स्पष्ट हुन अझै धेरै बाँकी नै छ ।
समाचारमा आए अनुसार घटना भएको दिन रोशनीले सभामुख महराले मेरो निवासमा आएर ममाथि यौन दुव्र्यवहार गरेको भन्दै नेकपा, नेपाली काँग्रेस, महराका छोरा र घरघनी र प्रहरीलाई समेत फोनमा बताएकी थिईन् । त्यसपछि सक्रिय रहेको काँग्रेसको एउटा खेमाले महराको भण्डाफोर गर्न पीडिताको निवासमा पत्रकारलाई खटाएको थियो । उनै पत्रकारले रोशनीसंगको पहिलो अन्तरवार्ता लिएर यो घटना सार्वजनिक गरेका थिए । प्रहरी पनि सुचना पाएपछि सोही दिन रोशनीको निवास पुगेर घटनास्थलका केही प्रमाणहरु लिएर फर्केको थियो । उच्चपदस्थ व्यक्तिको संलग्नतालाई कसरी लिने भन्नेमा प्रहरीभित्र पनि दुविधा हुनु स्वभाविक थियो । रोशनीले पहिलो बयानलाई इन्कार गर्दै दोस्रो बयान दिएपछि भने प्रहरी झनै अन्योलमा परेको थियो । यसबीच प्रहरीले आफ्नो उपल्लो च्यानलसंग परामर्श गर्यो ।
आम मानिसको बुझाईमा सत्तारुढ दलले महरालाई चोख्याउन हरसंभव कोशिस गर्ने भन्ने थियो । तर उपल्लो तहले प्रहरीलाई सक्रिय रहने संकेत दिएपछि भने प्रहरीले आफुलाई सक्रिय पारेको भन्ने समाचारहरु बाहिर आएका छन् । हरेक क्षेत्रमा बद्नाम हुँदै गएको नेपालको राजनीतिको उपल्लो तहले महरा विरुद्ध षड्यन्त्र गरे कि भन्ने आशंका गर्ने ठाँऊँ रहेको अनुमान गर्नेहरु पनि देखिन्छन् । तर अनुमानको पछि लाग्नु भने उचित हुने छैन । त्यसको लागि अनुसन्धानको निचोडलाई पर्खनु बाहेका अर्को विकल्प हाललाई छैन ।
पीडिताको अस्थिर अभिव्यक्तिले पनि शंका गर्न ठाँऊ दिएको छ । महराले व्यक्तिगत रुपमा कुनै अभिव्यक्ति दिएका छैनन् । उनको बयानपछि मात्र उनको पक्ष स्पष्ट हुने छ । तर जे भएपनि महरा दोषी प्रमाणित भए भने ओहोदा र प्रभावको आडमा भएको घृणित प्रकरणलाई न्यायको कठघरासम्म पुर्याउन सहयोगी भूमिका खेल्ने सबैलाई साधुवाद दिनै पर्दछ ।
महरा विरुद्ध पहिलो बयान दिएर चर्चामा आएकी पीडिताले अर्को दिन नै महराले आफुमाथि केही नगरेको मात्र नभई उनि त्यो दिन आफ्नो कोठामा समेत नआएका भन्दै बयान फेरेकी थिईन् । उनि आफ्नो दोस्रो बयानमा पनि कायम रहन नसकेको कुरा पछि फेरी उनले महरा विरुद्ध प्रहरीमा किटानी जाहेरी दिनुले देखाऊँछ । यसले उनिमाथि बयान फेर्न कतैबाट दबाव दिएको अनुमान गर्न सकिन्छ । यसको अर्थ यो भने पक्कै होईन कि रोशनी आफै बयान फेर्न विल्कुलै असक्षम थिईन् । यसको खुलासा पनि अनुसन्धानले नै देखाउने छ ।
उनको बयान फेराईमा उनका श्रीमान नै कारण भएको पनि अनुमान गर्न सकिन्छ । महरासंगको आपतीजनक समाचार बाहिर आएपछि श्रीमानले उनलाई पत्निका रुपमा नस्वीकार्ने बताएको अवस्थाले काम गरेको संभावना देखिन्छ । न महरासंगको पुरानो सम्बन्ध कायम रहने न श्रीमानले स्वीकार्ने अवस्थामा पुगेकी अवसादकी बिरामी भनिएकी उनले पछिल्लो महरा विरुद्ध कीटानी जाहेरी दिन वाध्य भएको अनुमान पनि गर्न सकिन्छ ।
महराको यौन प्रकरणले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र पनि असजिलो स्थिती उत्पन्न भएको छ । २०२८ सालमा झापामा चलेको हिंसात्मक आन्दोलनबाट आफै क्षती व्यहोरेपछि शान्तिपूर्ण राजनीतिमा आएको मुलधार पूर्वएमाले र दशवर्षे हिंसात्मक आन्दोलनको नेतृत्व गरेर ६२— ६३को संयुक्त आन्दोलनबाट शान्तिपूर्ण राजनीतिमा आएको माओवादी मिलेर बनेको नेकपाभित्र हरेक मुद्दामा स्वभाविक रुपको खेमाबन्दी देखिन्छ । यसपटक भने महरालाई काँध थापेर अगाडि आउनेहरु कमै देखिएका छन् । यसमा महराको यस्तो हर्कतप्रति उनको पार्टी नेतृत्व पहिल्यै जानकार रहेको पनि हुन सक्दछ । बलात्कारका आरोपीलाई काँध हाल्दा हुनसक्ने जनआक्रोशको सामना गर्न जोखिमपूर्ण हुने सबैले बुझेका छन् । किनभने दईवटा गोरु चाहिने हलोमा एउटा नैतीकतापूर्ण आर्थिक सुशासन छोडेर अर्को राजनीतिक परिवर्तनलाई मात्र अगाडि बढाईनुलाई उपलब्धि भनेर सिकाईंदै आएको नेपाली जनमानसले ठड्याएको आशाको सुन्दर सिसाको महलको जग पछिल्ला दिनहरुमा हल्लिदै गएको देखिएको छ । यसले गर्दा राजनीतिक नेतृत्वप्रति आक्रोश चुलिंदै गएको छ । यसले पनि राजनीतिक वृत्तमा महरा प्रकरणले सकस थपेको छ । त्यसैले हुनु पर्दछ, आरोपी महरालाई नेकपाले तुरुन्त राजिनामा दिन दवाब दियो । सामाजिक संजालले एक किसिमले तत्कालै तयार गरेको परिदृश्यले महरालाई बचाउन नेकपाले ठुलै जोखिम पनि उठाउने कसरत गर्ने छ भन्ने अनुमान विपरीत पहिलो कदम पछि महराले सुधारेर दोस्रो पटक दिएको राजिनामा पनि थियो । भनिन्छ, नेकपा नेतृत्वले महरा ती महिला एक्ली भएको अवसर पारेर उनको आवास पुगेको प्रमाण फेला पारेको थियो । तर, यतिले मात्रै महरा दोषी भएको प्रमाणित भई सजायको भागिदार हुनेछन् भन्ने स्थिती भने छैन । उनि अनुसन्धानमा निर्दोष सावित पनि हुनसक्लान भन्ने स्वीकार गर्न भने जनमानस तयार छैन । सरकारी शंयन्त्रहरुलाई धेरै पहिल्यैदेखि पुरै गलत राजनीतिले प्रदुषित गरेको हुनाले तिनमा आम मानिसहरुको विश्वास देखिंदैन । यो अविश्वासले नै देशमा अराजकता बढ्दो देखिन्छ ।
जेसुकै अनुमान भए पनि दोषीलाई कार्यवाही र पीडितले न्याय पाउनु नै सबै भन्दा प्रमुख कुरा हो । राजनीतिमा सफलता हात पार्दै आएका महराको राजनीतिक जीवन भने ओरालेतिर जाने संभावना धेरै छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.