बाल्यकालदेखि नै मोवाईल प्रेमले कस्तो असर पार्ला ?
अचेल कुनैै व्यक्तिसंग मोवाईलको नभए उ अधुरो मानिन सक्छ । समाजमा पूर्ण मानिस भनेर चिनाउन पनि आजभोलि मोवाईल हुनु आवश्यक छ । अझ मोवाईलको मुल्यस्तर हेरेर त्यसलाई किन्ने मानिसको संभ्रान्तता र आधुनिकता पहिचान गर्न थालिएको छ । यसलाई किनेर ल्याउने मात्र होईन नियमित नगद नारायण ख्वाई रहनु पर्ने वाध्यता थपिन्छ । त्यसमाथि स्याहार संभार गर्नमा थप खर्च गर्नु पर्ने हुन्छ ।
यो कामकाजीहरुको लागि नितान्त आवश्यक भएको छ । यसका फाइदाहरुलाई लिने हो भने धेरै छन् । तन्नेरी पुस्ताकालागि यो झन् आवश्यक वा आकर्षक बन्न पुगेको छ । कारोवार गर्न, माया प्रिति गाँस्न, फोटो खिच्न, देश विदेश जान्न, पढाईमा अब्बल हुन मात्र होइन चोरी, हत्या हिंसा अपहरण र धुस खानेहरुले सेटिङ मिलाउन पनि मोवााईल फोनकै प्रयोग गर्न थालेपछि नेपाली जनजीवनमा मोवाईल परिवार कै एउटा थप सदस्यको स्थान बनाएकोे छ । यो सस्तोदेखि महँगोसम्मको दरमा बजारमा पाईने हुनाले सबै स्तरका मानिसहरुको साथमा देखिन्छ । नेपाली जनजीवनमा यसले ठुलो परिवर्तन ल्याईदिएको छ ।
अहिले भर्खर जन्मेर आँखा खोल्न भ्याएका शिशुहरु समेत मोवाईल खेलाउन नपाए चिच्च्याउँदै रुने गरेको अनौठो दृश्य समेत देख्न थालिएको छ । बालकाम् रोदनम् बलम् भने झैं शिशुहरु मोवाईलकालागि रुन थालेपछि आमाहरु अत्मसमर्पण गर्न वाध्य र्झै देखिन्छन् । उनिहरु काखमा रहेको शिशुलाई शान्त बनाउन आफ्नो मोवाईल दिन वाध्य भएका देखिन्छन् । यसरी शिशुहरु मोवाईलसंगै हुर्कदै छन् । मोवाईल फोन शिशुहरुको अभिन्न मित्र भएको छ ।
दुई तीन वर्ष पुग्दा नपुग्दै मोवाईलमा घण्टौं बिताऊँदै गरेका बालबालिकाहरुलाई आमाबाबुहरुले बनाईदिएको परिवेशले कस्ता असर पारिरहेको छ भन्ने शायद धेरै आमाबाबुहरुलाई नै थाहा छैन । बालबालिकाहरुलाई सानैदेखि खेलौनाका रुपमा बन्दुक दिएर कलिला मस्तिष्कमा हिंसाको बिजारोपण गराएर के होला भन्ने थाहा नपाएका आमाबाबु जस्तै मोवाईल साथी मान्ने प्रवृतीको बालमनोविज्ञानमा कस्तो ज्ञानको बिजारोपण गर्ला र त्यसको प्रतिफल के हुनेछ भनेर अनुमान गर्न नभ्याएका अविभावकहरु पनि धेरै नै होलान् ।
मोवाईलले आफ्नो वरीपरी विकिरणको प्रदुषण फैलाउने गर्दछ । यसको घातक असर बालबालिकाहरुमा पर्ने विश्वास गरिंदै आएको छ । मोवाईलबाट आउने विकिरणबाट बच्न विज्ञहरुले मोवाईललाई आफुबाट केही टाढा राख्ने र आवश्यक नपर्ने बेलामा यसका सबै कनेक्शनहरु बन्द गरेर राख्ने हो भने मानव स्वास्थमा नकारात्मक असर पर्ने संभावना कम हुने बताउँदै आएका छन् ।
बालकले घर र समाजबाट दश वर्षसम्म सिक्दछ त्यति बाँकी उमेरमा पनि सिक्दैन भन्ने गरिन्छ । बोलीचाली चिजबिजहरुको र व्यक्ति विषेशको पहिचान त्यस अनुरुपको सम्बन्ध र व्यवहार पनि उसले यसै समयमा सिक्ने हो । यो मोवाईलले उसलाई सिकाउँदैन । यसबाट बालबालिकामा एकाकीपनको विकास हुने गर्दछ । जसले उसको जीवनमा नकारात्मक असर पार्ने संभावनालाई बढाऊँ छ ।
आमाको काखबाट हुर्केपछि उसले साथी संगतीहरुको खोजी गर्नु पर्ने हो । साथीहरुसंग समूहमा खेल्नाले मानसिक ताजगी, शारीरिक विकास र सुगठनमा ठुलो महत्व राख्दछ । मोवाईलमा रमाउने बालबालिकाहरु खेलेर रमाउने समयलाई मोवाईलमा घोत्लिनमा नै खर्च गर्ने गर्दछन् । यसले गर्दा मोवाईलमा रमाउने बालबालिकाहरुको शारीरिक विकासमा प्रतिकुल प्रभाव पर्ने संभावना धेरै हुनु स्वभाविक छ ।
मोवाईलमा बालबालिकाले हेर्ने विषय पनि यस सन्दर्भमा अर्को महत्वपूर्ण कुरा हुन सक्दछ । जिज्ञासा बालबालिका प्रमुख चरीत्र हो । उनिहरुमा देखिने चकचके प्रवृती जिज्ञासकै प्रस्फुटन हो । जान्ने चाहना नै जिज्ञास हो । जीवनमा धेरै कुरा जान्न प्रकृतीले मानवलाई दिएको मुल गुण मध्येको एक हो जीज्ञासा । त्यसैले आमाबाबुले उनिहरुले मोवाईलमा हेर्ने विषयलाई ध्यान दिन आवश्यक छ । हिंस्रक वृतीलाई प्रेरित गर्ने, अश्लिल र सामाजिक रुपले अनैतिक मानिने विषय भन्दा रोमांचक विज्ञान, खेलकुद र अन्य विषयतिर आकर्षित गर्न सक्ने हो भने त्यसबाट आर्जन भएको ज्ञान उनिहरुको भविष्यमा सहायक हुन सक्छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.