नेपालमाथि भारतीय अतिक्रमणले जन्माउँदै आएको आशंका
नेपाली भूमिमाथिको भारतीय अतिक्रमणले दिल्लीको मनशाय सफा नभएको संकेत गरिरहेको छ।
भारतले नयाँ नक्शामा काली नदी पूर्वको नेपालको भूमि आफ्नोतिर देखाएपछि नेपालमा विरोधसंगै भारतप्रति आशंका र आक्रोश दुवै एकएक बढेको छ । त्यस क्षेत्रको कालापानीमा भारतीय सेनाले कब्जा जमाएको छ दशक भै सकेको छ । जम्मुकस्मिरको आन्तरिक विभाजनको अवसर पारेर पाकिस्तान नियन्त्रित कास्मिरलाई पनि उसले आफ्नो नक्शामा पारेको छ नै नेपाली भूभागलाई पनि यसै मेसोमा आफुतिर पारेको छ । एकजना चिनियाँ कुटनीतिज्ञका अनुशार सो नक्शामा चीनको भूमिलाई पनि भारततिर पारेर देखाईएको छ । भारतले भने नयाँ नक्शामा नेपाल तर्फ फेरबदल नगरिएको बताएको छ । नेपालमा भारतको बयानलाई विश्वास गरिएको छैन । अहिले नक्शा फेरबदल नगरिएको भन्ने मान्ने हो भने पनि नेपालको भूमिमा भारतिय सेनाले अतिक्रमण गरेको ६ दशक नाघिसकेको छ ।
भारत र चीनबीच विगत केही वर्षहरुदेखि उच्चस्तरको भेटघाट बाक्लिंदै गएको र नेपालसंग पनि नाकाबन्दीपछि केही सुध्रिंदै गएको ठानिएको सम्बन्धमाथि कालाबादलहरु अझै नहटिसकेको आशंका बढ्दै गएको छ ।
नेपालको सिमानामा नचाहिंदो किचलो झिक्ने प्रयास गर्दै आएको भारतको अब धेरैजसो उत्तरी सिमाना विवादित बन्न पुगेको छ । पछिल्लो प्रकरणले भारतले नेपाललाई पनि पाकिस्तान, चीनको समकक्षमा राखेको छ । नेपालप्रति भारतले यतिसारो नकारात्मक सोच राख्न आवश्यक देखिंदैन । यो सोच बदल्ने हो भने नेपालसंगको भारतको भिन्नता स्वतः साँघुरिएर जान्छ । भारत नेपालकालागि जति सुरक्षा, भौगोलिकता, साँस्कृतिक र विकासका रुपले आवश्यक त्यति अरु कुनै देश हुन सक्दैन । त्यो महत्वबोध भारतले कहिल्यै गर्न नसकेको हुनाले नै समस्या उत्पन्न भएको छ । भारतले देखाउने गरेको हेपाहा प्रवृतीबाट नेपाल सदैव पिडित रहँदै आएको छ ।
शुरुदेखि नै नेपालमा आफ्नो एकलौटी प्रभावमा रहेको देख्न चाहने भारतले नेपाललाई अझै प्रतिकुल बन्न वाध्य पारिरहेको छ । यसले नेपाललाई मात्र होईन भारतलाई पनि हित हुने देखिंदैन । नेपालमा अन्य धेरै क्षेत्रमा योगदान दिएर पनि उसको क्षुद्र र हेपाहा प्रवृतीका कारण अलोकप्रिय बन्दै गैरहेको हो । सिमानामा भएका समस्याहरुलाई निराकरण गर्ने समझदारी निष्कर्शमा पुग्न अगावै विवादित भूमिलाई आफ्नो नक्शामा देखाउनु वा नेपालीभूमिमा आफ्ना सैनिकहरु तैनात गर्ने उसको कुटनीतिक बेईमानी हो ।
नेपाललाई हेर्ने भारतकै आँखा भएको अमेरीकाले नेपालतिरबाट पाकिस्तान पोषित आतंकवादीहरु भारत पस्ने खतराको हल्ला फैलाएको छ । यस सन्दर्भबाट हेर्ने हो भने, खुलासिमाना नेपालको लागि पनि प्रतिकुल बन्दै गएको छ । सिमानामा आपराधिक गतिविधि र सिमा अतिक्रमणको मुलकारण खुला सिमाना नै हो । नेपालमा सत्रहजार नेपालीहरुको ज्यानमार्ने गृहयुद्ध, गौरमा ७० जना नेपालीलाई मार्ने योजनाहरु खुलासिमानाबाट नै नेपाल भित्रिएका हु्न् । भारतीय नेपालीहरु पनि आफुलाई विदेशी बनाउने खेलमा खुलासिमाना भारतमा आफनो अस्तित्वमाथि तरवार भएको बताउने गरेका छन् । नेपाललाई आफ्नो विरुद्ध पाकिस्तानसंग नजिक देखाउने प्रपंचले भारतलाई प्रकारान्तमा फाईदा गर्न सक्दैन । नेपालतिरबाट संभावित खतराकालागि अन्तरराष्ट्रि हल्ला चलाउनको साटो नेपालसंग त्यसबारे छलफल गर्ने उपयुक्त बाटो हो । भारतले नेपालसंग सौदेबाजी गर्न अमेरीका गुहार्नु लज्जास्पद हो । अमेरीकाकालागि नेपालमा भारत भन्दा भिन्न स्वार्थहरु पनि छन् भन्ने कुरालाई वेवास्ता गर्नु भारतकालागि हितप्रद हुन सक्दैन ।
खुला सिमानाका नाममा भारतले नेपालको भूभाग तीनतिरबाट निरन्तर लुछिरहेको छ । दक्षिणतिरको सिमानामा हेर्नेहो भने त्यहाँ भारतीय सिमा सुरक्षा बल एसएसबीले चलाएको ताण्डव डरलाग्दो छ । सिमानामा खटिएको सशस्त्र प्रहरीले २०६७ सालमा दिएको एउटा प्रतिवेदन अनुशार मोरङमा ३२ ठाऊँमा, झापामा १७, सुनसरीमा १३, बाँकेमा १२, बारामा १०, रौतहटमा ९, सिराहामा ७, महोत्तरीमा ६, इलाममा ५, सप्तरीमा ४, धनुषामा ४, कन्चनपुरमा ४, बर्दियामा ३, पर्सामा ३, कैलालीमा २, सर्लाही र चितवनमा १÷१ ठाऊँमा सिमा विवाद र अतिक्रमणमा परेका छन् । यसले भयावह स्थितिको दृश्य देखाऊँछ । नेपालीहरुलाई आफ्नै सिमाभित्र कुटपीट लुटखसोट गरिएको छ, गोली हानेर मारिएको छ । रातरात सिमा संकेतहरु उखेलेर गायब पारिएको छ । नेपालतिर सारिएको छ । लाग्छ, एसएसबीलाई भारतले सिमानाकोे सुरक्षा गर्न होईन, नेपालतिर भारतको भूभाग फैलाउने कामकालागि खटाएको छ । मित्रताको नाममा नेपालले आफ्नो तर्फ सुरक्षाको उचित व्यवस्था नै नगरेकाले स्थिति झन् नाजुक भयो । दशगजा क्षेत्रमा हेर्ने हो भने उदेक लाग्दो स्थिति छ । त्यहाँ सिमाना सम्बन्धी अन्तरराष्ट्रिय मान्यताहरुको धज्जी उडाईएको छ । दशगजामा नेपालको जमीन डुवानमा पर्ने गरी संरचना निमार्ण गरेर नेपालीहरुलाई उठिवास लगाईएको छ । भारतको सिमानामा उसका शत्रुहरु विरुद्ध वीरतापूर्वक लडेर मृत्युवरण गर्ने गोरखालीहरुको देशमाथि भारतीय पक्षबाट हुँदै आएको यो दुव्र्यवहारमा कहीं पनि मित्रताको संकेतसम्म भेटिंदैन । त्यसैको परिणाम नेपालमा भारतप्रति शंका र त्रास दुवै छ । शंका र त्रासमा मित्रताको फुल कदापि फुल्न सक्दैन ।
चीनतिर पनि केही ठाँऊँहरुमा सिमा समस्या देखा परेको छ । नेपालको एउटा सर्वेक्षणले ३६ हेक्टर नेपाली जमिन चिनिया पक्षबाट मिचिएको देखाएको छ । तर, नेपाली भूमि कालापानीमा मात्रै भारतले झैं ३७४ वर्ग किलोमिटर अतिक्रमण गरेर साठी वर्षदेखि बसे र्झै चिनिया सेना नेपालमा कहीं पनि र कहिल्यै पनि बसेको छैन । कुनै नेपाली भूभागलाई आफ्नो नक्शामा पारेको छैन । शुरुका दिनमा चीनसंग नेपालको ठुलै सिमा विवाद थियो । त्यो एउटै उच्चस्तरको दुई पक्षीय वार्तामा सहजता साथ समाधान गरियो । भारतले र्झै दशकौंसम्म समस्यालाई थाति राखेर नेपाललाई त्यसमा खेलाउने र गलाउने कुकृत्य चीनबाट भएन । भारतले सिमानामा दशकौंदेखिको अतिक्रमण विरुद्ध नेपालमा जतिबेला आक्रोश देखिन्छ तब चीनले पनि त मिचेको छ भन्ने तर्क भारतीय शिविरबाट उठाईने गरिएको छ । यस मामिलामा भारतको चीनसंग तुलना गर्न सकिने स्थिति अहिलेसम्म छैन । नेपालको सार्वभौमतालाई सम्मान गर्न भारतलाई संस्कारगत समस्या जती छ चीनलाई त्यो भन्दा धेरै सहज भएको अहिलेसम्म व्यवहारले देखाएको छ । भारतको चीन र पाकिस्तानसंग समस्याहरु छन् भन्दैमा नेपालले ती देशहरुसंग शत्रुता मोल्नै पर्छ भन्ने दुराग्रह निन्दनिय छ ।
भारतीय कर्मचारीतन्त्र र मिडियाहरु नेपालमा चीन पसेको हौवा फैलाउन मैं व्यस्त देखिन्छन् । नेपाललाई अर्को छिमेकीसंग नजिक भएको उनिहरुलाई मन पर्दैन । उनिहरु नेपालको सार्वभौमता व्यवहारमा स्वीकार्य छैन । उनिहरु नेपालको दर्जा उनिहरुकै प्रान्तहरु सरह भएको ठान्दछन् । जुन कुरा नेपालीहरुलाई मान्य छैन । पंचायती व्यवस्थाको पतन पश्चात नेपालले आफुलाई पुरै भारत आश्रित बनायो । त्यसको बदलामा नेपालले भारतबाट सिमाको निरन्तर अतिक्रमण, आन्तरिक हस्तक्षेप, आन्तरिक अस्थिरता र भ्रत्सनायोग्य नाकाबन्दी जस्ता घाऊ पायो । सन् १९५०को सन्धी यथावत रहँदै आसाम मेघालयबाट १९७८ देखि १९९०सम्म गैरकानुनी विदेशीका नाममा हज्जारौं नेपालीहरुलाई धपाईयो । भुटानी नेपालीहरु आन्तरिक कारणले देश छोड्न वाध्य भएर भारत आऊँदा उनिहरुलाई नेपालतिर धपाईयो । यति हुँदा पनि नेपालीहरुले भारतको जयजयकार गरुन् भन्ने अहंकारी मानसिकता राख्नु उचित होईन । नेपाल चीनतिर गयो भनेर हल्ला मचाउनेहरुले नेपालप्रति भारतले आजसम्म गर्दै आएको व्यवहारतिर फर्केर हेर्दा उचित हुनेछ । चीनसंग वा अन्य कुनै देशसंग सम्बन्ध राख्न नेपाल स्वतन्त्र छ । चीनसंगको त्रासको घानमा नेपाललाई पार्ने कुरा नेपाललाई कदापि स्वीकार्य छैन । चीनसंगको समस्या निराकरणको खोजी नेपाललाई अगाडि सारेर कदापि भारतले गर्न सक्दैन । त्यसकोलागि उ आफैले चीनसंग प्रस्तुत हुनै पर्दछ । भारत र चीनको सीमाना नेपाल भन्दा बाहिर छ र उसले त्यहिंको चिन्ता गरे पुग्दछ । नेपाललाई निलेर चीनबाट सुरक्षित हुने दिवास्वप्न भारतकालागि घातक हुनेछ ।
देश भनेको यथार्थ भन्दा धेरै बढी भावनात्मक कुरा हो । यदि अवेगमा मानिसहरु सिमानामा प्रतिकार गर्न तम्सिए भने ठुलो दुर्घटना हुन सक्दछ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.