स्मृतीमा कवि वीरेन्द्र तुम्बापो

कवि वीरेन्द्र तुम्बापो प्रतीकप्रति  शब्द श्रद्धान्जली 
स्व: वीरेन्द्र  तुम्बापो प्रतीक
 पूर्वोत्तर भारतको नेपाली साहित्यमा कवि वीरेन्द्रका कृतिहरु कला र विचारका दृष्टिले उत्कृष्ट छन् । शिलाङमा कलेजस्तरको अध्ययन गरिरहँदा नै उहाँबाट खारिएका कविताहरु लेखिएका थिए । छोटा र अर्थपूर्ण कविता लेखन उहाँको विषेशता थियो ।


मसंग उहाँ पहिलो भेट कहाँ भयो भन्ने स्मरण मलाई छैन । जे होस,भारतमा क्रियाशील प्रवासी नेपालीहरुको संगठन अखिल भारत प्रवासी नेपाली संघका कुनै भेटघाटमा सन् १९८५ वरपर शिलाङ वा गुवाहाटीमा भएको हुनु पर्दछ । मेघालयमा सन् १९८६ देखि शुरु भएको विदेशी लखेट्ने अभियानको संत्रास चर्किंदै गएपछि नेपाली समाजमा आतंक फैलिएको थियो । त्यसको प्रभाव हाम्रा सोचहरुमा नपर्ने कुरा थिएन । भेटघाट बाक्लिंदै गएपछि चिनजान घनिष्टतामा बदलियो । घनिष्ठता हामी दुई बीच मात्र सिमित थिएन त्यसले पूर्णता पाउन अर्का घनिष्ट मित्र प्रकाश शर्मा पनि एक महत्वपूर्ण कडी हुनुहुन्थ्यो ।


मेघालयमा नेपाली साहित्यको पुरानो परम्परा थियो । आफुले बृटिश सेनाका रुपमा त्यस क्षेत्रमा लडेका विभिन्न लडाईवारे सवाईहरु तुलाचन आले र धनवीर भँडारीहरुले लेखेका छन् सन् १९०० अगाडि नै लेखेका थिए । बबुरबहादुर राणा, मणिसिङ गुरुङले सन् १९३६मा शिलाङबाट गोर्खा सेवक पत्रिकाको शुरुआत गरेका थिए । नेपालबाट गोकुलप्रसाद जोशी र धर्मराज थापा पनि शिलङ आएका थिए । सत्तरीको दशकतिर शिलाङमा नेपाली साहित्यको गतिविधि निक्कै बढेको थियो । दिल सहानी, गोपीनारायण प्रधान, कृष्णप्रसाद ज्ञावली, दिलबहादुर नेवार लगायत धेरै व्यक्तित्वहरुले नेपाली साहित्यको धारालाई प्रबल बनाइसकेका थिए । वीरेन्द्रको पुस्ता पनि यो धाराको पछिल्लो कडी थियो त्यसबेला । वीरेन्द्रले अक्सर विक्रमवीर थापा, हेम जोशीको साहित्यप्रतिको योगदानको चर्चा गरेको मलाई स्मरण छ । उहँका धेरै फुटकर कविताहरु सिक्कीम दार्जीलिङ आसामका पत्रपत्रिकामा छापिन्थे । उनको प्रतिभाको समयले कदर गर्न पाएन झैं लाग्छ ।

    
 म खानापाडा बस्ने गर्दथें । प्रकाशजी पनि शुरुमा गुवाहाटी अनि केही समय मसंगै खानापाडा बसेर जयन्तिया पहाडतिर सर्नु भयो । हामी तीन जना अक्सर संगै हुन चहान्थ्यौं । हाम्रो त्यो चाहना पछिल्ला वर्षहरुमा झन् असम्भव हँुदै गयो । चाहना अधुरै रहन गयो । हामी तीनजना भेट्नुको रमाईलो भिन्नै हुन्थ्यो । हामी साहित्य र दर्शनका विषयमा बढी विमर्श गथ्र्यौं । शिलाङमा रहँदा वीरेन्द्रले आफ्नै सम्पादनमा “चौबाटो” साहित्यिक पत्रिका प्रकाशित गर्नुभएको थियो । प्रकाशजीले पनि पछि खेलेरियाटबाट आफ्नै सम्पादनमा “पौरख” साहित्यिक पत्रिका प्रकाशित गर्नुभएको थियो । शिलाङ रहँदा नै वीरेन्द्रका कविताहरुको संग्रह ”केही सुस्केरा केही आक्रोश“ तयार भै प्रेसमा गएको थियो तर प्रकाशित भएन ।


 सन् १९८८तिर होकि र्झै लाग्छ, कुनै पद विनाको जनकावि गोकुल जोशीको स्मृतीमा “गोकुल प्रकाशन”को स्थापना हामी तीन जनाले गरेका थियौं । यहि संस्थाबाट कवि तथा गीतकार रणबहादुर क्षेत्रीका नौलो गीत नयाँ कविता, नरबुङको सवाई, आमाको पुकार छोराको हुँकार र तील कार्कीको नाटक “विजयका हातहरु” प्रकाशित गरिएको थियो । सन् १९९० तिर म नेपाल फर्के पछि म पुन मेघालय गएका बेला फेरि हाम्रो भेट भयो । वीरेन्द्र पनि जयन्तिया पहाडमा प्रकासजी कै छिमेकमा बस्न थाल्नुभएको थियो । त्यहीबेला शिलाङको रेलीबुङमा देवकोटा स्मृती समारोह गरिएको थियो । त्यहाँ हामीले सहित्यमा परिष्कार अभियानको घोषणा गरेका थियौं । यो समारोहमा कारणवश प्रकासजी उपस्थित हुन सक्नुभएन । म र वीरेन्द्र यसमा सरिक थियौ । परिष्कार अभियानका तानाबाना हामी तीनजनाले जयन्तिया पहाडको केही महिने संयुक्त बसाईमा तयार पारेका थियोंै । पछि म आफ्नै कारणले फेरि नेपाल फर्कें, वीरेन्द्र पनि नेपाल फर्किनु भएको रहेछ । प्रकासजी मेघालयतिरै रहनु भयो । यसरी हामी परिस्थितिवश छुट्टीएपछि परिष्कार अभियानले प्रसारित हुने मौका पाएन । साहित्यमा नैतीकता, शौन्दर्य र यथार्थको चौघेरा हामीले खोज्ने प्रयास गरेका थियौं । हामी कलाहीन खस्रा र कुरुप साहित्य तथा कला र स्वच्छन्दताका नाममा नैतिकता र यथार्थलाई उपेक्षा गर्ने दुवै चिन्तनबाट मुक्त हुन चाहन्थ्यौं । हाम्रो यो चाहना कसीमा घोटिन नै पाएन । वीरेन्द्र नेपाल फर्केपछि उनको कविता कर्मवारे मलाई केही थाहा भएन । त्यसपछि प्रकासजीसंग मेरो यदाकयदा भेट र सम्पर्क भयो तर वीरेन्द्रसंग कुनै सम्पर्क हुन सकेन । प्रकासजी, कुन्दनजी, घनश्याम कोईराला र अमरजीसंग वीरेन्द्रवारे खोजीनीति गरें तर पत्तो पाउन सकिएन । अन्तमा उहाँको देहावसान भएको कुरा फेसबुकमा अकस्मात देखें र मर्माहत  भएँ ।

                   
 प्रवासी संघको संजालमा अग्रपंतीका साथीहरुको जमात पूर्वोत्तर भारतका असम, मेघालय, नागालैंडमा त्यसबेला क्रियाशील थियो । शिलाङमा टी. कार्की, कुन्दन भट्टराई, प्रेम खनाल, सीबी न्यौपाने, सी.एम क्षेत्री लगायतका धेरै साथीहरु थिए । नङ्पोमा रणबहादुर क्षेत्री, मोतीलाल पराजुलीहरु थिए । जयन्तिया पहाडतिर प्रकाश शर्मा, खड्ग मल्लहरु स्मरणमा रहिरहने मित्रहरु थिए भने नागालैण्डमा लालवीन क्षेत्री र मोतीलाल शर्मा जस्ता अग्रजहरु थिए । गुवाहाटीमा बाबुराम खनाल, इश्वरी प्रसाद खनाल, गोपीलाल, रामचन्द्र अधिकारी आदि धेरै साथीहरु र खानापाडाका दुर्गा ढकाल, इन्द्र चम्लागाई, एकनारायण सुवेदी, हरिदत्त, श्रीप्रसाद लागायतका धेरै साथीहरु र शुभेच्छुकहरु थिए । यो संगतले हामीलाई सँधै हाम्रो आफ्नो दायरामा सिमित रहन सिकाऊँथ्यो । संभवतः हाम्रो युवा मष्तिस्कले मलजल यहि परिवेशबाट पाएको थियो । जीवनभरि वीरेन्द्रसंग बितेका सुखद र उत्साहि क्षणहरुलाई सम्झेर बिताउनु बाहेक मसंग अर्को विकल्प रहेनअब।                               

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष