जनयुद्ध, प्रचण्ड र गिरिजाको प्रसंग वरीपरी

जनयुद्धको महत्व गणतन्त्र संघीयताप्रति जनताको विश्वास जगाउन सके मात्र सावित हुनेछ।

   
यस पटक पनि फागुनको पहिलो दिन सरोकारवालाहरुले जनयुद्ध दिवस मनाए । जनयुद्ध भनिने रक्तपातपूर्ण संघर्ष गरेको नेकपा माओवादी र त्यसको कट्टर आलोचक रहँदै आएको नेकपा एमाले मिलेर बनेको अहिलेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले पनि जनयुद्ध दिवसको संझनामा यसपटक पनि  समारोह आयोजन गरेको थियो । सो समारोहमा तत्कालिन एमालेपक्षका उपल्लो तहका नेताहरुको अनुपस्थिति भए । खासगरी प्रधानमंत्री केपी ओली समारोह आउने प्रचार गरिए पनि आएनन् । उनि अस्वस्थ भएकोले समारोहमा आउन नसकेको बताईएको थियो ।

 एकता भएपछि पनि नेकपाभित्र जनयुद्धलाई हेर्ने दृष्टिमा मतैक्यता नरहेको रुपमा उनको अनुपस्थितिलाई अथ्र्याईएको छ । यो शंका त्यति अस्वभाविक पनि देखिंदैन किनभने एकताको समयमा यस्ता विवादलाई भन्दा चुनावको नतिजालाई आफ्नो पक्षमा पार्ने कुरालाई प्राथमिकतामा राखिएको थियो । यस्ता नीतिगत विवादहरु नेकपाको आगामी महाधिवेशनले मात्र किनारा लगाउने छ । त्यस अगावै पार्टीभित्र दुईधारे तुषहरु देखिई रहने छन् । त्यसबेला के होला भन्न सकिने अवस्था अहिले छैन । भन्न त नेताहरु जनताको बहुदलिय जनवाद र एक्काईसौं शताब्दिको जनवाद लगायतका भिन्न विचारहरु पार्टीका सम्पत्ती भएको बताउने गरेका छन् । जनयुद्धवारे महाधिवेशनमा साझा दृष्टिकोण भएन भने नेकपा फेरी फुट्ने संभावना कायमै छ । तत्कालिन माओवादीहरुकोलागि दशवर्षे गृहयुद्ध उनिहरुको चिनारीसंग गाँसिएको सवाल हो भने धेरैजसो एमालेहरु त्यसले देशलाई तहसनहस पारेको मान्दै आएका छन् ।
  
 यो वर्ष आयोजित समारोहमा नेकपा अध्यक्ष प्रचण्डले युद्धकालमा काँग्रेसका नेता गिरिजाप्रसाद कोईरालाले आफुलाई ठुला आक्रमणहरु गर्न आग्रह गरेको रहस्य उद्घाटन गरेर तरंग उत्पन्न गरेका छन् । प्रचण्डको भनाईमा टिप्पणी गर्दै त्यसबेलाका उनका सहकर्मी डा बाबुराम भट्टराईले दलहरुबीच दिल्लीमा भएको बाह्र बुँदे सम्झौतापछि राजा ज्ञानेन्द्रले गराउन लागेकोे चुनाव भाड्न कोईरालाले त्यसो भन्दा आफु साक्षी रहेको बताएका छन् । कोईराला यतिबेला जिवित छैनन् । उनि जिवित भएको भए यसको यथार्थ उनैले प्रष्ट पार्ने थिए । प्रचण्डले विगतमा पनि कोईरालाको प्रसंसा गर्दै आएका छन् । कोईरालालाई राष्ट्रपति बनाउन आफुले दिएको वचन पुरा नगरेर आफुले पुरा नगरेर ठुलो भूल गरेको भन्दै प्रचण्डले पश्चाताप गर्दै आएका छन् । कोईरालाले एमालेको स्तर खसाल्न पनि माओवादीलाई एमाले बराबरको हैसियत आन्तरिम संसदमा दिएका थिए । एमालेलाई पतन गराउन काईराला र प्रचण्डको साझा उद्देश्य थियो त्यतिबेला । प्रचण्डको आशय कोईराला महान नेता रहेको र त्यसपछिको देशको नेता म नै हुँ भन्ने रहँदै आएको छ ।

 प्रचण्डको कोईरालाई लिएर जनयुद्ध दिवसमा दिएको अभिव्यक्तिलाई भने काँग्रेसका नेताहरु मान्न तयार देखिंदैनन् । नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीका नेताबाट हिंसालाई प्रोत्साहन गर्ने आग्रह गरिएको भन्ने भनाई कपोलकल्पित भएको काँग्रेसका नेताहरुले बताएका छन् । राणा र पंचायती व्यवस्था विरुद्ध हिंसात्मक आन्दोलन गरेको काँग्रेस यस्तो आन्दोलन गर्न कम्युनिष्टहरु भन्दा पनि जेठो छ भनेर नेपालीहरुले विर्सेका छैनन् । माओवादीले नेपालमा हिंसात्मक आन्दोलन गर्न भारतको आड लिएझैं त्यस भन्दा पहिल्यै काँग्रेसले पनि गरेको हो । यस्ता संघर्षहरुमा भारतको स्वार्थ पनि प्रत्यक्ष जोडिएको देखिएको हो । काठमाण्डौको सत्तामा जान दिल्लीको आर्शिवाद लिन पर्ने चलन त्यसको प्रत्यक्ष्य प्रमाण हो । प्रचण्डले गिरिजा प्रसाद कोइराला उदृत गरेको सन्दर्भ बाबुरामले अथ्र्याए झैं होइन भने प्रचण्ड र गिरिजाबीच जनयुद्धको डिजाईनमा नै पो सहकार्य थियो कि अझ भारतको पनि त्यसमा पछि प्रकट भए झैं त्यसअघि नै संयोजनकारी भूमिका नै पो थियो कि भन्ने शंदेह भएको छ । माओवादी र भारतीय खुफिया संजालसंग सम्पर्क रहेको भन्ने धेरैको भनाई छ भने कोईराला पनि जोखिममा होमिन सक्ने व्यक्ति भएकोले पनि शंदेहलाई जिवित बनाऊँछ । यस्ता शंदेहले इतिहासलाई प्रदूषित गर्ने हुनाले नेता प्रचण्डले यसबारे समयमा नै स्पष्ट पार्न आबश्यक हुन्छ । त्यसबेलाका यस्ता धेरै पाटाहरु अझै सतहमा आउन बाँकी नै छन् ।

प्रचण्डले नेतृत्व गरेको हिंसात्मक आन्दोलनले गरेको सबैभन्दा राम्रो उपलब्धि भनेको उपेक्षित जनतालाई ढाढस दिनु र जागरुक बनाउनु नै हो । त्यसले व्यवहारिक रुप भने अझै पाएको छैन । गणतन्त्र, संविधानसभाबाट संविधान, संधीयता जस्ता देखाउने कुराहरु निश्चय नै आवरणमा आएका छन् तर तिनबाट जनताले संतोष लिएको अवस्था छैन । जनताले सारमा आशा गरेको सहज जीवन यापन सार्थक हुने दिशामा गती कमजोर नै छ । व्यवस्था आफैमा खराब नहुने बरु त्यसको संचालनले नै धेरै फरक पार्दो रहेछ भन्ने नेपाली जनताले बुझेको हुनु पर्दछ । यदि अहिलेको व्यवस्थामा पनि जनतालाई संतुष्ट पार्न नसकिए प्रचण्डको जनयुद्धको सार्थकता माथि प्रश्नचिन्ह लाग्ने छ ।             

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष