बेइजिंगको काठमाडौँलाई हेर्ने नीतिमा फेरबदलको संकेत

 चिनिया दूतावासले नेपालको एक पत्रिकामा प्रकाशित फोटोलाई लिएर देखाएको आक्रोशले बेइजिंगको काठमाडौँलाई हेर्ने नीतिमा फेरबदलको संकेत गरेको आभास हुन थालेको छ।
 कान्तिपुर प्रकाशनको अंग्रेजी संस्करण द काठमाडौ पोष्टमा कोरियन हेराल्डबाट साभार गरी छापिएको इभो डाल्डरको लेखमा छापिएको मास्क लगाएको माओको फोटोप्रति नेपाल स्थित चिनिया राजदूतावासले विज्ञप्ती निकालेर आक्रोश व्यक्त गरेको छ । विज्ञप्तीमा उक्त पत्रिकालाई चीन विरोधी विचार संप्रषण गर्दै आएको बताउँदै त्यसका सम्पादकको समेत उत्ताउलो भाषामा आलोचना गरेको छ ।

पत्रिकामा आएका विचारहरुलाई आफुप्रतिकुल भएमा खण्डन गर्ने सिमा नाधेर कुटनीतिक मर्यादा विपरीतका शब्दहरु प्रयोग गरी प्रतिक्रिया जनाउनु अशोभनिय कार्य हो । चीनलाई मनपर्ने आलेखहरु मात्र पत्रिकामा छापिनु पर्छ भन्ने आग्रह उचित होईन । नेपाली जनता चीनप्रति सदाशयता राख्छन् भन्ने कुरा र पत्रकारिताको विचार स्वतन्त्रताप्रति दुतावासले हेक्का राख्न नसकेको देखिएको छ ।
      
नेपालप्रति सँधै शालिन जस्तो देखिंदै आएको चिनिया दूतावासबाट आएको पछिल्लो यो विज्ञप्तीले नेपाली जनमानसलाई झस्काएको छ । लामो मैत्रीपूर्ण सम्बन्ध रही आएको उत्तरी छिमेकी चीनसंग नेपालले विश्वास साथ अझै घनीभूत संबन्ध विकास गर्ने प्रयास गरीरहेको छ । काठमाण्डौ पोष्ट प्रकरणमा चिनिया दूतावासको प्रतिक्रियाले धेरै शंकाहरु उपजाएको छ । नेपाल र चीनबीच अहिलेसम्मको सम्बन्धलाई विवाद रहित संबन्धका रुपमा हेरिंदै आएको छ ।

यसअघि सन् २०१५मा नेपाली भूमिमा पर्ने लिपुलेक नाकालाई प्रयोग गर्न भारतसंग सम्झौता गरेर नेपाललाई सशंकित बनाई सकेको छ । दुई विशाल छिमेकीहरु बीच रहेको सानो देश नेपाललाई हेर्ने बेईजिङको नीतिमा आएको परिवर्तनको संकेतका रुपमा पनि राजदूतावासको पछिल्लो आक्रोश हेरिएको छ ।

यो दशकमा नेपालमा चीनको प्रभाव बढेको छ । चिनिया लगानी र नागरीक आवतजावतमा पनि उल्लेखनिय वृद्धि भएको छ । यो वृद्धिसंगै चीन अब नेपालमा सुनिने र दबाव दिने शक्तिका रुपमा परिवर्तित हुन खोजेको जस्तो देखिंदै छ । नेपाललाई हस्तक्षेपकारी तुजुक सहितको विदेशी विकास भन्दा स्वदेशी गरीबी नै हितकर हुनेछ । किनभने नेपाल यस्तै हस्तक्षेपकारी विदेशी सहयोगबाट पिडित रहँदै आएको छ ।            
         

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष