नेपाली पारिवारिक सत्ताको पतन हुँदैछ


नेपाली कृषिप्रणालीले  आफ्नो वर्चस्व गुमाईरहँदा नेपाली पारम्परिक पारिवारिक संरचनाले पनि अवसानको बाटो समात्न वाध्य हुनु परिरहेको छ।
 
आजभोलि नेपाली पारम्परिक परिवारको संरचना दु्रत गतीमा बदलिंदै गैरहेको देखिंदै छ ।  पारम्परिक कृषिमा आधारित हजुरबा हजुरआमा, बाबु आमा र नाति नातिनाहरु सहितको परिवारको संख्या अचेल कम हुँदै गएको छ । सन् २०१८को तथ्यांक अनुशार कुल जनसंख्याको ८०.२६ प्रतिशत नेपालको जनसंख्या ग्रामिण क्षेत्रमा बसोवास रहेको देखाईएको छ । जबकि, सन् १९६०मा यो प्रतिशत ९६.५२ रहेको थियो । ग्रामिण अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषिमा आधारित जनसंख्याको प्रतिशत सन् २०११को सरकारी तथ्यांक अनुशार ८३ रहेको छ । पारम्परिक नेपाली समाजको जग कृषिप्रणाली मै टिक्दै आएको थियो ।  कृषिबाट पलायन भैरहेको स्थितिले पनि पारम्परिक परिवारको स्वरुप छिन्नभिन्न हँुदै गएको देखिन्छ ।

नेपाली पारम्परिक कृषि पद्धती समय अनुशार रुपान्तरित हुन नसक्नुले यसमा आश्रित परीवारका आवश्यकताहरु पुरा गर्न असफल हँुदै गएको देखिन्छ । यसैले कृषि कर्मप्रति मानिसहरुको विकर्षण बढ्दो छ । सरकारका तथ्यांकहरुमा देखिने कृषिमाथिको लगानीको प्रतिफल लक्ष्यित वर्गसम्म पुगेको देखिंदैन । कृषिक्षेत्रमा रहिरहन भन्दा शहरतिर आश्रित हुनेहरुको संख्या विगत केही दशकदेखि ह्वात्तै बढेको छ । शहरी क्षेत्रमा अप्रत्याशित ढंगले बढिरहेको आवादीले यो कुरा प्रमाणित गर्दछ । अवसान हँदै गएको कृषिमा आश्रित ग्रामिण अर्थतन्त्रले पारम्परिक नेपाली परिवारको जग हल्लिंदै गएको देखिएको छ ।

  सहोदर परिवारका तीन पुस्ताका सदस्यहरु एउटै धुरी तल बस्ने परिस्थिति अहिले भाँडिदै गएको छ । परिवारका सदस्यहरु कोही कामको खोजीमा त कोही सुविधाजनक बसाईको खोजीमा छिरोलिंदै गएका छन् । अघिल्लो पुस्ताका बा आमाको जोडीले मात्र घर कुरेर बसेको र पछिल्लो पुस्ता अन्यत्रै शहर वा विदेशतिर गएका परिवारहरुको संख्या अचेल बढ्दो देखिएको छ ।
  
नेपाली परिवारको संरचना एउटै वंशभित्रका विभिन्न पुस्ताहरु संयुक्त रुपमा पाको उमेरका पुरुष सदस्यको नेतृत्वमा चल्ने गर्दछ । पारस्परिकता, निर्भरता, आदर सम्मान र सामूहिकता यसका चरित्रहरु हुन् । हैकमका दृष्टिले यस्तो परिवार पुरुषवादी भएपनि यसमा  सामूहिकताको विशेष महत्व देखिन्छ । यस्तो परिवार पारम्परिक कृषिका कर्मकालागि सहयोगी रहेकोले यसको प्रचलन यस क्षेत्रमा हज्जारौं वर्षदेखि चल्दै आएको हो । संभवतः फिरन्ते पशुपालनमा आधारित प्रथाको अन्त्यपछि स्थाईरुपमा एउटै स्थानमा खेतीपाती गरेर जीवन चलाउने अवस्था अनुकुल हज्जारौं वर्ष पहिलादेखि चल्दै आएको पारीवार केही फेरबदल साथ चल्दै आएको थियो ।

कृषि क्षेत्रबाट मानिसहरुको पलायनले पारम्परिक परिवारको संरचना पतनको संघारतिर गैरहेको छ नै साथसाथै कृषिमा आधारित भएर चल्दै आएका सँस्कृती र संस्कारहरु पनि अवसानको बाटोतिर गैरहेको देखिंदै छ । नयाँ पुस्तामा विश्वसंग नजिकिने चाहना तीव्र भन्दै गएकोले पारम्परिक रैथाने संस्कृतीमा डरलाग्दो संक्रमण भैरहेको छ । यसले सामुहिकता भन्दा व्याक्तिवादी प्रवृतीहरु समाजमा हावी हुँदै गएको छ ।
             
कृषिले भविष्य सुरक्षित गर्न नसकिने देखिएपछि काम गर्न सक्ने उमेरका मानिसहरु गाऊँबाट मात्रै होईन देशैबाट विश्व बजारमा श्रम बेच्न जाने परम्पराको थालनि भैसकेको छ । साँघुरो कृषिको घेराभित्रबाट उम्किएर विदेशमा श्रम बेच्न जानु नै श्रेयस्कर देखिएपछि क्रमसः यसले स्थाई स्वरुप लिंदै गएको छ । यसले त्यही साँघुरो कृषि कर्मलाई जिवित राख्न पनि ती क्षेत्रमा श्रमको डरलाग्दो अभाव छ । पुरानो पुस्ता उमेरका कारण कृषिकर्मलाई निरन्तरता दिन असक्त हुँदै गैरहेको छ । यसको सोझो असर पारिवारिक सत्तामाथि परिरहेको छ ।

   पुरुषवादी हैकमका भरमा चल्ने पारम्परिक नेपाली परिवार कृषिबाट विमुख हुँदै जाँदा पनि प्रतिकुल असर बढ्दै गएको हो । पुरुष सरह नेपाली महिलाहरु पनि उपार्जनकालागि घर बाहिर निस्किने प्रवृत्ती बढेको छ । कृषिको उत्पादनले भरथेग हुन नसक्ने देखिएपछि नयाँ पीढीका महिलाहरु पनि काम गर्न घरबाहिर जानु पर्ने वाध्यता भएको हो ।

  नेपाली अर्थतन्त्रले जनतालाई विश्वस्त पार्न नसक्दासम्म यो अवस्था कायमै रहने देखिन्छ । नेपाली अर्थतन्त्रमा अहिलेसम्म त्यस्तो संकेतसम्म दिन सकेको छैन । त्यसैले आउने दिनमा नेपाली परिवारको स्वरुप ओरालो लागिनै रहने निश्चित छ ।     

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष