नवनियूक्त भारतीय राजदूत क्वात्रालाई सफलताको शुभकामना
दिल्लीलाई खुशी राख्न पर्ने दायित्व र विदेशी शक्तिसंग झुक्दै आएको भन्दै सिंहदरवारलाई समेत शंकाको घेरामा राख्दै आएका बहुसंख्यक नेपालीहरुको मतको दोधारमा नयाँ राजदूत विनयमोहन क्वात्राले काम गर्नु पर्ने देखिन्छ ।
विनयमोहन क्वात्रा नेपालकालागि भारतीय राजदूतका रुपमा नियुक्त भएर दिल्लीबाट काठमाण्डौ आएका छन् । महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेर लैनचौरको बागडोर उनले सम्हाली पनि सकेका छन् । आफ्नो कार्यकाल पुरा गरेर पूर्वराजदूत मंजिव सिंह पुरी फर्किए पछि सोही स्थानमा क्वात्राको आगमन भएको हो । नेपाललाई विषेश महत्व साथ हेर्दै आएको भारतले आफ्नो दृष्टिमा कुशल कुटनीतिज्ञलाई नेपालमा राजदूतका रुपमा नियुक्त गर्दै आएको छ । यस परम्परालाई हेर्दा पनि तीस वर्ष भारतको कुटनीतिक क्षेत्रको अनुभव संगालेका राजदूत क्वात्रा नेपालका सन्दर्भ पनि कुशल कुटनीतिज्ञ ठहरिएलान भन्ने आशा गर्न सकिन्छ ।
नेपालमा चीन अमेरीका र अन्य विदेशी राष्ट्रहरुको बढ्दो स्वार्थका कारण र भारतले आफ्नो निम्ति पनि अति संवेदनशील मान्दै आएको नेपालमा सक्रिय उपस्थितिको चाहना राख्दै आएको छ । एशियाका दुई उदियमान देश चीन र भारतमाथि निगरानी गर्न मिल्ने भूराजनीतिक अवस्थितिका कारण नेपालप्रति विश्वका केही शक्तिहरुको चासो रहँदै आएको छ ।
सन् १९८८मा भारतीय वैदेशिक सेवामा प्रवेश गरेका क्वात्रा सन् १९९३ सम्म संयुक्त राष्ट्रसंघमा भारतको स्थाई मिशनको क्रमशः तेश्रो र दोस्रो सचिवका रुपमा जेनेभामा काम गरेका थिए । सन् १९९३ देखि २००३ सम्म उनले संयुक्त राष्ट्रसंघ स्थित भारतीय डेस्कमा कार्यरत रहे । त्यहाँ रहँदा उनले दक्षिण अफ्रिका र उज्बेकिस्तानको कुटनीतिक मिशनमा रहेर समेत कुशलतापूर्वक कार्य सम्पादन समेत गरे । सन् २००३ देखि २००६ सम्म उनि युएनमा भारतीय मिशनको काउन्सिलर भए । त्यसपछि बेइजिङमा भारतीय कुटनीतिक उपप्रमुख भए । सन् २००६ देखि २०१० सम्म सार्कमा भारतको तर्फबाट व्यापार, अर्थ र वृत्तको ब्यूरो प्रमुख भए । सन् २०१० देखि २०१३ सम्म वाशिङटन स्थित भारतीय दूतावासमा वाणिज्य मंत्रीका रुपमा काम गरे । २०१५ देखि २०१७सम्म क्वात्रा प्रधानमंत्रीको कार्यलयमा ज्वाईन्ट सेक्रेटरी भए ।
चीन अमेरीका बारे जानकार मानिएका र नेपालबारे सार्कमा काम गर्दादेखि नै अनुभव संगालेकाले पनि क्वात्रालाई नेपालको राजदूतमा भारतले नियुक्त गरेको अनुमान गर्न सकिन्छ । नेपालमा आउने भारतीय राजदूतहरु कुटनीतिक भन्दा राजनीतिक नेताका रुपमा बेलाबखत प्रकट हुने गरेको विगतले देखाउँछ । सार्वभौम देशको राजदूत भन्दा भारतको कुनै प्रान्तको गर्वनर बन्न चाहने महत्वकांक्षा राख्ने भन्दा मर्यादा व प्रटोकलभित्र रहेर काम गर्ने राजदूका रुपमा क्वत्रा अब्बल ठहरिएलान् भन्न सकिन्छ ।
नेपाल लामो समय देखि संक्रमण नै छ । राजनीतिक रुपले केही स्थिर जस्तो देखिए पनि यो अझै स्थिर हुन सकेको छैन । नेपालको अस्थिरतामा विदेशी शक्तिहरुको स्वार्थ प्रमुख कारक रहँदै आएको छ । नेपालमा चीनको बढ्दो प्रभाव, अमेरीका र युरोपियन युनियनको चलखेल कायमै छ । भारत र अमेरीकाका स्वार्थहरु तत्कालिक समयका कतिपय सवालमा साझा भएपनि नेपालमा अमरीका आफ्नो प्रभाव कायम राख्ने मामिलामा सँधै भारतसंग साझेदार रहँने देखिन्न । यो परिस्थितिमा क्वात्राको पहिलो ध्येय नेपालमा चिनिया प्रभाव भन्दा भारतको प्रभावलाई स्थापित गर्ने हुुनेछ । नाकाबन्दी ताका तनावको उत्कर्षमा पुगेको नेपाल भारत सम्बन्ध यतिबेला केही सुधारिएको जस्तो देखिए पनि यो पर्ख र हेर कै घेराभित्र सिमित छ । दुई छिमेकीहरुबीच सम्बन्धमा रहेका समस्याहरु पहिचान गर्न र सुझाव दिन उच्चस्तरको निर्णय अनुशार गठित इपीजीको प्रतिवेदनलाई भारतले बुझ्न समेत चाहेको छैन । थप कालापानी र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो नक्शामा समावेश गरेर भारतले नकारात्मक संकेत दिन खोजेको छ । यस्ता समस्याहरु माझ नवनियुक्त राजदूतलाई असम्भव नभए पनि सहज भने हुने छैन । लामो कुटनीतिक अनुभव सँगालेका उनले नेपाल भारत संम्बन्धलाई सही दिशामा अगाडि बढाउन कति सफल हुने हुन् भन्ने प्रश्नको जवाफ समयले नै दिने छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.