कोरोना रोकथाम र केही धार्मिक सम्प्रदायहरुको पाखण्डी चरीत्र

धर्म स्वभावजन्य छ । जीवनलाई धर्मले सहज बनाऊँ छ । जीवन सहज भए समाज सहज हुन्छ । जीवनको शैलिमा परिवर्तन छ । यही परिवर्तनको गतीमा धर्मलाई बुझ्न नसक्नु आजको समस्या हो । कोरोना महामारीमा पनि केही धार्मिक सम्प्रदायका केही मानिसहरुले पाखण्ड प्रदर्शन गरिरहेका छन् ।

        
कोविद—१९ भाइरसले यतिबेल विश्वमा मृत्युको नाच नाचिरहेको छ । यसबाट बच्न मानिस आफै संयमित हुन बाहेक अर्को कुनै उपाय अहिलेसम्म छैन । अरुको कुरै छोडौं चीन अमेरिका जस्ता महाशक्तिहरु
संक्रमणका सामु निरिह सावित हुँदै गएका छन् । मानिसको सामुहिक गतिविधिहरुले झन् जोखिम बढाउने भएको हुँदा यस्ता गतिविधिहरुलाई रोक्न लकडाउन गरेर घर मै सिमित गर्ने बाटो धेरै देशहरुले अपनाऊदै आएका छन् ।

यस्तो समयमा धर्मको आड लिएर जानेर वा नजानेर जोखिमलाई बढाउने वा बढाउन मद्दत गर्ने आश्चर्यजनक घटनाहरु घटेका छन् । सचेत आस्थाले मानवलाई सबल र अनुशासित बनाऊँछ भने अन्धो आस्थाले सर्वनाश गर्दछ भन्ने कुरा चरितार्थ भएको छ यतिबेला ।

 नेपालमा कोरोनाबाट पशुपतिनाथले रक्षा गर्ने विश्वास राख्नेहरु प्रसस्तै छन् । कोरोना भगाउन झाँक्री लगाएको पनि सुनियो । एकजना इसाई धर्म पास्टरले यीसुका नाममा कोरोनालाई भगाउन चिच्याउँदै गाली गरेको पनि देखियो । दिल्लीको निजामुद्दीन क्षेत्रको मर्काज निजामुद्दीन मरकजमा तबलीक सम्प्रदायका देश विदेशबाट २००० मानिसहरु जम्मा पारेर सप्ताहव्यापि धार्मिक कार्यक्रमको आयोजन गरियो । दुःखको कुरो ती मध्ये ३०० मानिसहरु कोरोना संक्रमित भएर अस्पताल पुगेका छन् भने अरुलाई क्वारेन्टाईनमा लगिएको छ । कोरोनाको डरलाग्दो प्रकोप फरवरीदेखि नै देखिएको हो । यस्तो अवस्थाप्रति आयोजकहरुले किन लापरवाही गरे ? लकडाउनले उनिहरु त्यहीं रोकिन वाध्य भए तर लकडाउन गर्न पर्ने अवस्था एकदिनका कारण भएको होईन । उता उत्तर भारततिरबाट अमरनाथको तीर्थयात्रा गर्न गएकाहरुको समुह पनि बीचबाटोमा अलपत्र परेको समाचार छ । कोरोना नलागोेस भनेर कामना गर्नु स्वभाविक हो तर यो कामना कै भरमा निको हुन्छ भनेर दावा गर्नु गलत हो । यस्तो कामना यस्ता धार्मिक सम्प्रदायले मात्र होईन विश्वका हरेक मानवले गरिरहेको छ यतिबेला । कोरोनाका कारण मरेका हजारौ मनिसहरुले पनि यो कामना गरेकै थिए । तर, बाँचेनन् । कामनाले मात्र जोगिन्छ भन्ने हल्ला इश्वर अल्लाह र यीसुका नाममा गरिएका दुस्साहसहरु मात्र हुन् । तीर्थ यात्रामा गएकाहरु बस पल्टिएर मरेका र हज गर्न गएकाहरु भीडले कुल्चिएर मरेका घटनाहरु वर्षेनी भएका छन् । ती इश्वरिय कार्यमा हिंडेकाहरुमाथि त यस्तो नहुनु पर्ने हो तर भयो किन ?

इश्वरका नाममा अन्धभक्तहरु मर्ने मार्ने कुरालाई समेत असल र पुण्यसंग जोड्ने गर्दछन् । अरुलाई दुःख दिएर पुण्य हुने शिक्षा दिने ईश्वर कस्ता होलान् ? ती ईश्वर आजको बलिउडतिरको कुनै “भाई” जस्तो होला भन्ने लाग्दछ । अर्काथरि हे भगवान भन्दै आजका सांसारिक आवश्यकताहरुलाई पुरा गरिदेउ म तीमीलाई राँगो बोको पैसा दिऊँला भन्दै मन्दिरतिर दौडिन्छन् । कल्पना गरौं ती इश्वर कस्ता होलान ।  ती इश्वर पक्का आजका दलाल र मिटरब्याजे साहुकार शामन्ति होलान् झै लाग्दछ । इश्वरलाई धरौटी राखिएको जगमा उभिएको आस्था कति भयानक होला ? आस्थाको यो भन्दा ठुलो दुरुपयोग अरु हुनै सक्दैन । यस्ता धार्मिक जमातहरुका मुखियाहरु यसकालागि दोषि छन् । अरुहरुलाई दोषको अघिल्लो घानमा राख्न नसकिएला किनभने भक्तहरु नभै कुनै धार्मिक सम्प्रदाय चल्दैन । संभवत यहि कुरा बुझेर जे कृष्णमुर्तिले सम्प्रदायको विरोध गरेका थिए । प्रायः भक्त कारण खोज्दैन् विश्वास मात्र गर्दछन् । कारणको ज्ञानविनाको विश्वास नै अन्धविश्वास हो । यस्तै अन्धभक्तहरुले अनैतिक बाबाहरु अथवा साम्प्रदायिक गुरुहरुको उत्पादन गर्दछन् । वास्तवमा ती धर्मगुरुहरु नै होईनन् । तिनले मानिसहरुलाई वास्तविकताबाट भाग्न सिकाउँछन् र अरुलाई सांसारिक मोहजालमा फसेका किरा सम्झन् छन् । तिनिहरुको तेजोबध गर्न कस्सिन्छन् ।
  
यस्तै प्रवृतिलाई देखेर होला कार्लमाक्सले धर्मलाई अफिमको नशा जस्तो मानिसहरुलाई लट्ठयाउने भनेको । अहिले धर्मका नाममा गरिने गतिविधि सँस्कृति हो । अझ पछिल्लो समयमा यसलाई राजनीतिसंग घोलेर पहिचानका नाममा संस्थागत गर्ने प्रयास भैरहेको छ । सँस्कृतिका नाममा सान्दर्भिक कुराहरुको संम्रक्षण असान्दर्भिक प्रचलनलाई छोड्ने सामाजिक प्रयास हुनु पर्ने हो तर यस्तो निक्कै कम छ । समकालिन जनजीवनले विस्तारै ल्याएका नयाँ प्रचलन र मुल्य मान्यताहरुले भने सँस्कृतिमा हस्तक्षेप गर्दै लगिरहेको छन् साथै बाहिरबाट आउने साँस्कृतिक हस्तक्षेप अझ रैथाने सँस्कृतिलाई निमिट्यान्न पार्ने स्थितिमा पुर्याउला कि भन्ने त्रास बढेको छ ।

 धर्म भनेको स्वभाविकता हो । स्वाभावले जीवनलाई असहज बनाउँदैन । त्यसैले आफ्नो कर्म, दायित्व सामाजिक अनुशासन र आत्मिक आनन्दलाई बुझ्नु आजको आवश्यकता हो । कोरोनाको प्रकोपलाई पनि यसबाटै जित्न सकिएला ।            
              



टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष