अराजकता, दायित्वविहिनता र संसदीय लोकतन्त्र


अराजकतादायित्वविहिनता अधोगतिका राजमार्ग हुन् । संसदीय लोकतन्त्रलाई यी राजमार्गमा अब पनि हुँईकिन दिने हो भने आउने पुस्तालाई सुन्दर विकसित देश सुम्पन सकिने छैन ।
 प्रधानमंत्री केपी ओली सारा संसार कोविद—१९ को संन्त्रासबाट आक्रान्त भैरहेको र नेपाल पनि लकडाउनमा रहेको बेला, संवैधानिक परिषदको बैठकको कोरम र दलविभाजनलाई सहज बनाउने सम्बन्धि आफ्नो सरकारबाट एक्कासी ल्याईएका दुई विवादास्पद अध्यादेश चार दिन पनि बित्न नपाऊदै फिर्ता लिन विवश भएका छन् । नेपाली राजनीतिमा लामो समय एउटै अडानमा रहने नेताको छवि बनाएका प्रम ओली, यसपटक भने नराम्रोसंग चिप्लिएका छन् । संभवतः यसले उनको पुरानो छविमा गम्भिर क्षति पुगेको छ । यी अद्यादेशहरु यो बेला कुनै पनि अर्थमा ल्याईन योग्य थिएनन् । आफ्नै दलभित्र चर्को दबावमा परेका उनले अद्यादेश फिर्ता लिएर आफ्नो भुल स्वीकार गरेका छन् । उनले यो भुल सुधार गरे पनि यसले भने उनको पछिसम्म पनि आलोचना भै रहने छ ।
  
संसदीय लोकतन्त्रमा कुनै दल फुट्नु र जुट्नुलाई अस्वभाविक नमानिए पनि त्यसले ल्याउने राजनीतिक अस्थिरताको नराम्रो मार खेप्ने विश्वका देशमा नेपाल पनि एक हो । त्यसै अस्थिरताको क्षिद्रलाई टाल्ने उद्देश्यले संविधानमा विद्यमान व्यवस्था गरिएको थियो । यसको अर्थ नेपालका राजनीतिक दलहरु र तिनका निर्वाचित प्रतिनिधिहरु व तिनलाई चयन गर्ने पद्धति प्रतिबद्धताका हिसाबले निक्कै कमजोर रहँदै आएको भन्ने नै हो ।

 कुनै दलले आफ्ना सदस्यहरुप्रति विश्वास गर्न नसक्ने वा कुनै सदस्यले आफ्नो दलप्रति विश्वास गर्न नसक्ने स्थितिले दलको अस्तित्वमाथि नै प्रश्न उठ्न सक्दछ भन्ने कुरा दलका नेतृत्व र त्यसका सदस्यहरुले बुझ्न आवश्यक छ । त्यसकानिम्ति दलको स्वच्छता पारदर्शिता र दलका नेतृत्वको चरीत्र र तिनको निष्पक्षता आवश्यक हुन्छ । यस्तो राजनितक परिसिमाभित्र नेपालका दलहरु कमजोर सावित हुँदै आएका छन् । यसर्थ नेपालका दलहरुले आफुमा राजनीतिक संस्कृतिको विकास गर्न आवश्यक छ ।
     
राजनीतिक अनुशासन कमजोर रहेका संसदीय लोकतन्त्रको अभ्यास गरिरहेका तेश्रो विश्वका देशहरुमा अराजकता, भ्रष्टाचार जस्ता रोगहरुको डरलाग्दो समस्या छ । भर्खरै विश्वको उदीयमान शक्तिशाली संसदीय लोकतन्त्रको अभ्यास गरिरहेको छिमेकी राष्ट्र भारतका केही राज्यहरुमा भएको सत्तापलटले पनि नेपालमा जस्तै खोट रहेको प्रमाणित हुन्छ । यस्तो चरीत्र यतिबेला मात्र होईन निरन्तर चल्दै आएको छ । नेपालमा हालै आएर खारेज पनि भएको अद्यादेश यसैको द्योतक हो ।

अराजकता संसदीय लोकतन्त्रको अर्को ठुलो समस्या हो । नयाँ प्रविधि आएपछि अभिव्यक्ति स्वतन्त्रताका नाममा देखिएको अस्वस्थ्य अभिव्यक्तिहरुले लोकतन्त्रलाई नै खतरामा पार्ने र समाजमा निरन्तर अस्थिरता प्रकट हुने समस्याले हुर्कने अवस्था देखिएको छ । राजनीतिक दलहरुका अस्वस्थ्य कृयाकलापले आममानिसमा अविश्वास उत्पन्न गरिरहेको अवस्थामा अराजकताले पनि डरलाग्दो ढंगबाट टाउको उठाऊँदै आएको छ । पछिल्लो पटक यहि १६ अप्रैलमा भारतको पालघरमा घटेको दुृई साधुहरु र एकजना डाईवरको निर्मम हत्याले अराजकताको कुरुप अनुहार देखाएको छ । यसबाट नेपालले पनि शिक्षा लिन सक्नु पर्दछ ।

राजनीतिक संस्कार नभएका देशहरुमा  भ्रष्टाचारको सत्तासंग घाँटी नछुट्टीने गरी गाँसिएको हुने रहेछ भन्ने कुरा अहिले अनुमान हुन थालेको छ । मलाई लाग्दैन नेपालको सत्तामा पुगेका सबै नेताहरु नै नियतले भ्रष्टाचारी थिए । शायद उनिहरु पर्दा पछाडिको यो बलियो भ्रष्ट संजालका विरुद्ध पराक्रमी होईन निरीह भए । निरिह भएर सत्तामा बस्ने नेतालाई नियत सफा भएको भनेर राम्रो भन्न सकिंदैन । नेपाललाई पराक्रमी, जनउत्तरदायि तथा सफा नियत भएको नेतृत्वको आवश्यक छ । यतिबेलासम्म नेपालमा भ्रष्टाचारी खोज्दै हिंड्ने धेरै भए तर त्यो संजाल भत्काउने आवश्यक उपायतिर दबाव दिन कहिल्यै अगाडि सरेनन्  अथवा त्यतातिर कहिल्यैे सोच्दै सोचेन् ।

सत्ताका विरुद्ध सत्तोसराप उत्तेजक आरोप लगाऊँदा त्यसले देशलाई नै कति नाफा घाटा हुन्छ भन्ने कहिल्यै कसैले सोचेनन् । गम्भिरतापूर्वक सोच्न नसक्ने जनताहरुको भीड जम्मा पारेर उमाल्ने काम भै नै रह्यो । जनता आफैले शासन गर्ने नभएर जनताप्रति उत्तरदायि दुरद्राष्टा नेताहरुले गर्ने शासन गर्ने हो । आममानिस र नेतामा हुने भिन्नता यहिं आएर हुने गर्दछ ।  तिनीहरुले नै विश्वास पाउन नसक्नाको कारण पनि अराजकताले मौलाउने अवसर पायो । अहिलेका दलहरुका नेताहरु पनि सडकबाट उत्तेजक आरोप तत्कालिन सत्तालाई लगाएर सडकमा भिड जम्मा पारेर सत्तामा आए । मलाई लाग्दैन सबै जनता सत्ताका परिसिमाहरुको विष्लेशण गर्न सक्दछ । उसलाई आफ्नो तात्कालिक समस्या बाहेक अरु सोच्न समय र ल्याकत छैन । अहिले पनि सडकमा उत्तेजना फैलाएर नेता बन्ने प्रवृती कायमै छ । मानिसहरुलाई तथ्य भन्दा उत्तेजक भाषा, शैलि र भावभंगिमाका साथ सनसनी फैलाएर भावि नेता बन्ने उहि पत्रु तरिका अहिले पनि चलिरहेको देखिन्छ । सत्तामा रहेकाहरुको हर्कतका कारण मानिसमा बढ्दो आक्रोशलाई भर्याङ बनाएर सत्तामा चढ्न खोज्नेहरु पनि भविष्यमा नेता नै भए छन् तीे भन्दा फरक खालका हुने देखिंदैन । किनभने सत्तामा जान उत्तेजनाले काम गर्ने भए पनि सत्ता उत्तेजनाले कदापि चल्दैन ।

सत्तामा सिमा र दायित्वको बलियो पर्खाल खडा हुने गर्दछ । सडकको भीडको भड्काइएको महत्वकाँक्षा ती पर्खालभित्र अटाउने कुरै भएन । नेपालको सडक जनताका नाममा यति धेरै दुरुपयोग भयो कि सत्ता र जनताबीच विचारलाई निर्मलीकरण गर्ने दायित्व भएका बुद्धिजीवीहरु समेत उत्तेजनामा लहसिएर सडकमा चर्का कुरा गर्न पट्टी वा सत्ताको तावेदारी गर्ने दुई धारमा चलिरहेको छ । क्रान्तिका चर्का कुराका पछाडि लागेर सँधैभरि सडके क्रान्ति कहिलेसम्म गरिरहने भन्ने प्रश्नले अहिले गाँज्न थालेको छ ।

 जसले जेजति गफ गरे पनि जनता भनेको सँधै मुर्त हुँदोरहेनछ भन्ने कुरा देखिएको छ । सडकमा उत्रेको बेला र चुनावका बेला मात्र जनताको आकार देखिने रहेछ । एउटा कुरा सत्य के हो भने अमुर्त जनतालाई उत्तेजित बनाउन भने सकिंदो रहेछ । त्यसलाई रचनात्मक दिशामा प्रयोग गर्ने भन्दा सँधै नेता बन्ने भर्याङका रुपमा दुरुपयोग गरिंदै आएको देखिन्छ ।
                
सामाजिक संजालका अभिमत हेर्दा नेता कुटीमा बस्ने, हवाई चप्पल लगाउने, मैलाधैला जस्तोसुकै पोशाक लगाउने, सम्पती केही नभएको, पैदल हिंडेर पार्टी अफिस वा सिंहदरवार धाउने हुनपर्छ भन्ने देखिन्छ । किनभने आम मानिसले आफुले भोगेको आधारबाट नेताको कल्पना गरेको हुन्छ तर त्यो परिकल्पना आजको सन्दर्भमा बिल्कुलै गलत छ । स्वच्छता सदाचारिताकालागि धनी र गरिब मापदण्ड कदापि बन्न सक्दैन । नेताको आय धेरै नै होस् आपति छैन तर त्यो वैधानिक श्रोतबाट आएको हुनु पर्दछ । हेर्ने कुरा यहि नै हो । उचित बाटोबाट गरीबहरुलाई धनी भएको देख्न सक्नु पर्दछ तर सबैलाई गरीब भएको देख्न मनपराउने मनोवृत्ती दरिद्रताको द्योतक हो । यस्तो चिन्तनबाट मुक्त हुन आवश्यक छ ।

के भोलिका दिनहरुमा पनि नेपालीले रचनात्मकता, सदाचारित, शिष्टता र अग्रगमनको बाटो छोडेर अराजकताको फोहोरी आहालमा कहिलेसम्म पौडिखेलिरहने हो ?                

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष