के प्रम ओली कमजोर भएकै हुन् ?

लिपुलेक लिम्पियाधुरामाथि भारतको विवाद, चीन र भारतको सिमा विवाद र त्यसमा अमेरीकाको उपस्थिति रहन सक्ने संकेत नेपालमा अमेरिकी अनुदान एमसीसीको विवादले यो क्षेत्र नै अशान्त हुन सक्ने परिस्थिति देखिएकोले नेपाली शासकहरु चनाखो देखिंदैनन् ।
 

प्रधानमंत्री खड्ग प्रसाद ओलीले सार्वजनिक रुपमा नै भारतले उनलाई सत्ताच्यूत गर्ने प्रयास गरिरहेको बताएर पछिल्लोपटक  चर्चामा आएका छन् । उनको यस्तो भनाईले दृढ र अडिग नेताका रुपमा उनले विगतमा बनाएको छविका विपरीत उनि यतिबेला त्रसित र सशंकित रहेको संदेश दिएको छ । भारतले हडपेको नेपालको जमिनलाई लिएर उसंग विवाद चर्कीरहेको बेला प्रम ओलीको भनाईले  कुटनीतिक सुझबुझ देखाऊँदैन ।


नेपालको स्थिति बाहिरबाट हेर्दा जति सरल र सहज जस्तो देखिन्छ वास्तवमा त्यो भन्दा धेरै जटिल र असहज छ । यहाँ विभिन्न भित्री र बाहिरी स्वार्थहरुको बलियो संजाल कृयाशील रहँदै आएको छ । भारत नेपाल भूमि बिवादलाई लिएर नेपालभित्रैबाट नेपालको पक्षलाई कमजोर पार्ने गरी प्रचारबाजी गर्ने, सडकमा विभिन्न किसिमका नारा लिएर विना नेतृत्वका आक्रोशित मानिसहरुको अचानक उपस्थिति देखिनु र हराउनु, एमसीसी प्रकरणमा अनावश्यक ढंगले जनमत बाँडिनु, नागरिकता विधेयकमाथि आश्चर्य लाग्ने तर्क वितर्क देखिनुले  र सत्तारुढ दलभित्रैका कृयाकलापले नै नजुक अवस्थाको चित्रण गर्दछ । के यो परिस्थितिले प्रधानमंत्रीलाई विचलित बनाएकै हो वा आफ्नो शासनलाई निष्कण्टक बनाउने उद्दश्यले उनलाई प्रेरित गरेको हो, बुझ्न गाह्रो छ ।

  
नेपाली जनताले दिएको मतको आधारमा बनेका प्रधानमंत्रीले झण्डै सत्ता छोड्नै पर्ने अवस्थाको झल्को दिने गरी दिएको मन्तव्यले उनले जनतालाई यथार्थबारे थप स्पष्ट पार्नु पर्ने अवस्था देखिएको छ ।

 
चीन र भारतबीचको सिमा तनाव झण्डै युद्ध हुने अवस्थामा पुगेको छ । ती दई देशसंगको त्रिपक्षिय सिमा विन्दुमा भारतसंग नेपालको विवाद छ । युद्ध नै भयो भने त्यो विवादित भूमि नै प्रभावित हुन सक्दछ । उता अमेरीकी सचिव माईक पम्पियोले जर्मनीमा रहेका आफ्ना यूद्ध पोतहरुलाई हिन्दमहासागरतिर सार्ने बताएका छन् । उनको संकेत चीनका विरुद्ध भारतलाई सघाउने जस्तो देखिंदै छ । नेपालमा एमसीसीलाई पनि अमेरीकी सैनिक रणनीति अनुशार भएको भनेर शंका गरिंदै छ । यस्तो अवस्थामा सोच विचार गरेर मात्र बोल्न आवश्यक छ । प्रधानमंत्री ओलीले अफवाह मात्र फैलाउन खप्पिस भारतीय टेलिभिजन च्यानलहरुको उत्तर दिदै जाने हो भने प्रधानमंत्री पदको मर्यादा नै स्खलित हुन्छ भनेर बुझ्न आवश्यक छ ।


अर्को दृष्टिबाट हेर्दा, प्रधानमंत्री पार्टीभित्रैबाट सबै भन्दा बढी अप्ठ्यारोमा परेको देखिन्छ । उनको पार्टीभित्र बेलाबखत भारतले गुन लगाएका अनुहारहरु पनि छन् । तिनिहरुको उनि विरुद्धको चलखेललाई भारतको चलखेलका रुपमा बुझिएको हो भने त्यो अतिशयोक्ति हुन पनि सक्दछ । प्रम आफुले नै पार्टीप्रतिको पदीय दायित्व निर्वाह नगरेका कारणले उत्पन्न असंतोषलाई तह लगाउन यस्ता कुरा गर्नु भएको हो भने त्यसलाई दुर्भाग्य नै भन्नु पर्दछ । कोरोना संक्रमणको प्रकरणमा यतिबेला संसारकै सत्तासिनहरु आलोचित छन् । तर त्यसमा उपलब्ध साधनको उपयोग कसरी भै रहेको छ भन्ने कुरा भने विषेश महत्वको देखिन्छ । यसमा पनि सरकार आलोचना रहित देखिएको छैन ।


यसको अर्थ यो होईन कि भारतले नेपालमाथि केही गर्ने प्रयास गरेकै छैन र प्रम ओली बिल्कुलै झुटो बोलिरहेका छन् । भारतले नेपालमा बहुमतको सरकार नभएको भए तीनवटा प्रधानमंत्रीहरु नेपालबाट दिल्ली रिझाउन त्यहाँ पुगिसकेका हुने थिए । त्यसमा कुन कुन अनुहार हुने थिए कल्पना गर्न त्यति गाह्रो छैन । त्यो स्थितिमा नेपालको वास्तविक नक्शा प्रकाशित गरी भारतले कब्जा गरेको आफ्नो भूमिमाथि दावी गर्ने कल्पना नै गर्न सकिने अवस्था नै आउने थिएन ।


 नेपालप्रतिको भारतीय चरित्र तथा उसको नेपालप्रति गर्दै आएको कुकृत्य बारे इतिहास नै साछी छ । उसको यो चरीत्र अन्तरगत नै पछिल्लो भारतसंगको सिमा विवादमा पनि देखिएको हो । सन् १९६२ मा भारतले भोगेको असहज स्थितिमा नेपाली भूमि कालापानीमा सैनिक राखेको भारतले पचास वर्ष बित्दा नबित्दै त्यो क्षेत्र नै भारतको भएको दावी गर्न थालेको छ ।


 भारतले विवादित भनी स्वीकार गरिआएको भूमि एकतरफा भारतको नक्शामा गाभ्नु नेपालले विरोध गरिरहँदा पनि त्यहि जमिनमा फेरी सडक बनाएर उद्घाटन गर्नू, भारतीय सेनाप्रमुखले नेपाल चीनबाट संचालित भनेर लान्छना लगाउनुले भारतको नेपालप्रतिको सोच स्पष्टै देखिएको छ । अब पनि भारतसंग नेपालले पहिले जस्तो विश्वासको कुटनीति अगााडि सार्ने हो भने नेपालको अस्तित्व नै संकटमा पर्न सक्छ । चीनसंग सम्झौता गरेर पनि कायन्वयनमा चासो नदेखाईएको अवस्थालाई बदलिन आवश्यक देखिंदै छ । चीनसंग पनि विगतमा भारतसंग गरिएको विश्वास जस्तों सम्बन्ध विकास गर्न खोजेर अर्को भूल गर्न हुँदैन । यस्तो अवस्थामा प्रमका हल्का अभिव्यक्तिले देशलाई नोक्सानी हुन सक्दछ ।

      
 सिमाना बारे वार्ता गर्ने नेपालको प्रस्तावलाई वेवास्ता गर्दै आएको भारतले नेपालसंग सहजै परिणाममुखी वार्ता गर्ला भन्ने कुरामा विश्वास नगरे हुने पक्का छ । यसकालागि लामो समय व्यातित हुने नै छ । यसका निम्ति नेपालले कैयौं कुटनीतिक मोडहरु पार गर्न बाँकी नै छ । सिमा प्रकरणमा उसंग प्रमाणिकता भन्दा हठ मात्रै भएको कुरा उसका रवैयाहरुले देखाईरहेको छ । शक्तिशालीको हठले कमजोरलाई धेरै अर्थमा अप्ठ्यारोमा पार्न सक्दछ । भारतले नेपालमा सेना नै ल्याएर राखिसकेको छ । आन्तरिक मामिलाहरुमा उसको हस्तक्षेपले गर्दा नेपालल आन्तरिक विग्रह भोगिरहेको छ । तीन पटक नाकाबन्दीको मार भोगिसकेको छ । यसभन्दा अरु दुःख भोग्न के नै पो बाँकी छ र ? यदि प्रधानमंत्रीले यहि कुरालाई आधारित भएर भारतको सत्तोसराप गर्न लागेका हुन् भने यो कुटनीतिक चतुर्याई होईन । कुटनीतिक अराजकता हो । हठवादी कुटनीतिलाई अराजक कुटनीतिले सँधै टक्कर दिन सक्दैन । यस्तो गम्भिर अवस्थामा प्रधानमंत्रीले पद जोगाउन  गुहार मागेका हुन भने राजिनामा दिनु उनको अधिकार नै हो र त्यो गर्दा नै उपयुक्त बाटो हुनेछ ।    
    

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष