नेकपाको सम्भावित वियोगान्त कथा !

सत्तारुढ नेकपामा सरकारले भारत विरुद्ध नयाँ नक्शा जारी गरे लगतै उचाईमा पुगेको विवादले निक्कै उतार चढाव पार गर्दै आएको छ । आजसम्म आईपुग्दा यो झण्डै वारपारको अवस्थामा पुगेको अड्कल काट्न थालिएको छ ।




बाहिरबाट हेर्दा, यतिबेला नेकपाको टुप्पोमा मेलो न मेसो जस्तो देखिने विवाद चलेको छ । एकजना मुली नेताले अर्को मुली नेतासंग पार्टी अध्यक्ष र प्रधानमंत्रीको पद दुवैबाट राजिनामा मागे पछि यो झगडा सतहमा आएको छ । भनिन्छ प्रधानमंत्रीले एकलौटी सत्तालाई प्रयोग गरेकोले यो अवस्था उत्पन्न भएको भन्ने तर्कहरु सुनिएका छन् भने पद बाँडफाँड नमिलेर विवाद झिकिएको भन्ने तर्क पनि चर्कोसंग उठेको छ ।


ल पार्टी फुट्यो फुट्यो ... जुट्यो जुट्यो..भनेर निराश हुने रमाउनेहरुको धेरै विजोग छ, अचेल । निराश हुँदा निस्किएको आँसु पुछ्न नपाऊदै किंचित खुशी हुने खबर आएर हाँस्नु पर्ने जस्ता घंण्टैपछि आउने स्थितिको मारमा परेका छन् बिचराहरु । नहुन पनि कसरी, त्यो पार्टीका एउटा अध्यक्ष एक स्थानमा गएर एउटा कुरो गर्छन् र अर्को, अर्को स्थानबाट अर्को कुरा बोलेर चारैतिर दुविधा छर्ने गर्छन् ।


 एउटा पार्टीका दुई मुख्य थुतुनाहरुका स्वरमा अरु दुई थुतुनाहरु पनि बेलाबखत थपथाप गर्ने गरेका देखिन्छन् । वरपरकाहरु यी सर्वोच्च बुढाहरुलाई सोकेशमा सजिएर बस, नत्र ... भनेर औला ठड्याउने औकात राख्दैनन् बरु ढोकामा धुप बालेर भित्रबाट आउने खबरकालागि रुन वा हाँस्न तयारी साथ बसेका देखिन्छन् । कठै कम्यूनिष्ट पार्टी । नेताहरु जमिन्दार जस्ता कार्यकर्ता कमाराहरु जस्ता । नेकपाको अहिलेको झगडा जमिन्दारहरु बीचको कित्ता कित्ताकालागि हकदावीको जस्तो ।

 
विवादको समय चयन अझ आश्चर्य लाग्दो छ । चारैतिर कोरोना महामारीको हाहाकार छ । यसलाई व्यवस्थापन गर्न धेरै चुनौती, समस्या र कमीहरुको सामना देशले गरिरहेको छ ।   चार महिना भन्दा लामो समयदेखि चलेको बन्दाबन्दीले मुलुकको अर्थतन्त्र धराशायी भै सकेको अवस्था छ । भारतले नेपालको सिमाना मिच्ने, कब्जा गर्ने गर्दै आएकोमा अहिले नक्शा सार्वजनिक गरेर भएपनि पहिलो पटक नेपालका तर्फबाट औपचारिक दावी गरिएको छ । भारतले यस मामिलामा वार्तामा बस्नको सट्टा नेकपाको अहिलेको सरकारलाई नै ढाल्न कसरतमा लागेको देखिंदै छ । यस्तो समयमा नेकपाका महान नेताहरुको झगडाले आममानिसहरुलाई के संदेश गएको छ, बुझ्न सकिन्छ ।
          

जुट्नै नसक्ने अथवा जुट्ने नजान्ने चरीत्र भएका धुन्धुकारीहरुलाई धुपबत्ती गरेर वा सुपर ग्लु लगाएर जोड्ने दुष्प्रयास किन भै रहेको छ ? निष्ठाले जोड्न नसक्नेलाई अरु केहीले धेरै बेर जोडेर राख्न सक्दैन । नेकपाभित्रको विवाद पनि अनौठो छ । यसले समय, नियम, नैतिकता, दायित्व, लज्जा केही ख्याल गर्दैन । यो पार्टीको सरकार पनि केही सकारात्मक काम गरेको देखिए पनि मुलतः सफल रहेको देखिंदैन । पार्टीभित्रको स्थिति त झनै लथालिङ्ग देखिन्छ ।

 
 रक्तपातपूर्ण संघर्षको विरासतबाट आएको र अलिक लामो समयदेखि शान्तिपूर्ण सङ्क्रमणको अभ्यास गर्दै रहेको दुई पार्टीबीच सहज होईन अप्रत्यशित एकता भएको पनि दुई वर्ष भन्दा बढी भएको छ । त्यतातिर पार्टीको जिम्मा बोक्नेहरुले सिन्कोसम्म नभाँचेको देखिएको छ । सरकार र पार्टी हेर्दा लाग्छ उनिहरु एक अर्काका घोर प्रतिपक्षी हुन् । कुकुरले पुच्छार हल्लाएको हो कि पुच्छरले कुकुर, कसैेले भेऊ पाउन सकेका छैनन् । एकता हुँदा अत्यावश्यकिय कामहरुलाई वेवास्ता गरेको हुँदा यस्तो समस्या उत्पन्न भएको मान्ने धेरै छन् तर त्यो समय अब गुज्रिसकेको छ ।

 
कुनै सैद्धांतिक रंग विनाको अहिलेको विवाद केही पदहरुको बाँडफाँडपछि साम्य हुने अड्कल पनि काटिंदै छ । तर त्यसले चुहिने भाँडो कहिलेसम्म टालिने हो थाहा छैन ।  पार्टीको एकता महाधिवेशन नभई विवादको ज्वाला सानो वा ठूलो होला तर साम्य हुने छैन । दुई वर्ष पहिला गरिएको एकता पनि कुनै गम्भिर सोच विचार नगरी केवल कुनै अहंकारजन्य लाभकालागि मात्र भएको रहेछ भन्ने प्रमाणित भएको शंका गरिएको थियो र त्यो नै सत्य सावित भै रहेको देखिन आएको छ । कदाचित अहिले किचलो टरे पनि केही महिनामा त्यो फेरि नबल्झिने कुनै सुनिश्चितता देखिंदैन । यस्तो दीर्घरोगी एकतालाई जोगाउन भन्दा बेलैमा विघटन गर्नु नै श्रेयस्कर हुने होईन र ?

    
सत्तारुढ दलभित्रका गुटहरुबीचको स्वार्थ संघर्षमा देशभित्रका भन्दा पनि बाहिरकाहरु  झर्ला र खाऊँला भन्ने चर्को दौडमा लागेको देखियो । दलभित्रको गन्दे झगडाले देशको सर्वोच्च संस्थालाई पनि चोखो रहन दिएन । पूर्वका दुई दलका दुई अध्यक्ष्यहरुले आफुहरुले गरेको निर्णय नै एकता महाधिवेशन नहोउन्जेल निर्णायक हुने जस्तो दम्भकारी, कुनै लोकतान्त्रिक भनिने दलकालागि अशोभनिय शर्त सार्वजनिक गर्दा समेत पार्टीभित्र कतै कुनै आवाज किन उठेन भन्ने कुरा सोचनीय छ यतिबेला । यो निर्णयले तदर्थवादमा पुगेका एकिकृत पार्टीका निकायलाई दुई अध्यक्ष्यहरुका आभूषण मात्रको हैसियत पुर्याउँदा पनि कसैले केही बोल्ने हिम्मत किन गरेन ? के दुई अध्यक्ष्यप्रतिको त्यो साँचै अगाध विश्वास र श्रद्धा थियो त्यो ? एकताको समयमा “नेपाली कम्युनिष्ट आन्दोलनको महान पुनरोत्थान” “देशको राजनीतिलाई स्थाईत्वका निम्ति महान एकता” जस्ता प्रतिबद्धता पटकपटक देहोर्याउने दुई अध्यक्ष्यहरुसंग कुनै उत्तर किन छैन यतिबेला ? फर्किनलाई चाहिने पुलहरु भत्काएर एकठाउँ आएको बताउने यी दुईजना व्यक्ति यतिबेला कुन चोर बाटोबाट पछाडि फर्कने दाउमा छन् भन्ने कुरा सोध्ने ताकत नेकपामा कसैसंग किन छैन अहिले ?             

स्थाई गुटहरु त्यसमाथि व्यबाहारिक रुपले दुई विपरीत चरीत्रका पार्टीहरुबीच हुने एकताको महाधिवेशनले पनि पार्टी एक भएर जाने संम्भावना ज्यादै न्यून छ भन्ने कुरा अहिलेको विवादले नै देखाईरहेको छ । किनभने त्यहाँको नेतृत्वमा स्वस्थ्य प्रतिस्पर्धा, मान, मर्यादा जस्ता सामान्य कुराहरुप्रति कसैलाई परवाह छैन । भोलीका दिनमा जेनतेन त्यहाँको अधिवेशनले वैधानिकता पाए तापनि त्यसले विग्रहको संभावना टार्न सक्ने अवस्था कमजोर  जस्तो देखिंदै छ ।

महाधिवेशनमा सिद्धांन्तका नाममा पनि झगडा हुने छ । बहुलवाद, आवधिक चुनावी प्रतिस्पर्धा, बहुमतको सत्ता र अल्पमतको प्रतिपक्ष जस्ता आधारभूत संसदीय मान्यताहरुमा कुनै विवाद व्यवहारमा नरहे पनि त्यसका नाममा त्यहाँ पनि लडाई हुने छ । यसरी महाधिवेशन गुटहरुको स्वार्थ, अमर्यादाहीन अराजकताको  महाभारत त हुने नै छ । जसलाई अहिलेको संरचना थेग्न सक्ने देखिन्न ।                      



टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष