नेपालको लीपुलेकमा भारत र चीनको दादागीरी
नेपालको लीपुलेकमा भारतीय सेना चीनलाई टक्कर दिन पठाईएको छ
भने चीनले त्यहाँ १००० सेना हालै तैनात गरेको छ । नेपाली भूमिमा कुत्सित
मनाशयकासाथ अशान्ति मच्चाउन उद्दत दुवैको नेपालले कडा प्रतिवाद जनाउनु
पर्दछ ।
भर्खरै त्रिदेशिय क्षेत्र लिम्पियाधुरा र लीपुलेक नजिकै आफ्नो क्षेत्रमा चीनले सैनिक संख्या बढाएको देखिएको छ । चीनको यो कदमले भारतलाई दबाव राख्ने नीतिलाई उसले तत्काल परिवर्तन नगर्ने संकेतका रुपमा पनि लिन सकिन्छ । तर, नेपाल र भारतबीच झगडा परिरहेको यो क्षेत्रमा चीनको बढ्दो सामरिक उपस्थितिले नेपालमाथि पनि दबाव बढ्ने देखिएको छ । यो दबावको अवस्था बारे भने नेपालमा अन्यौलता देखिन्छ । भारतले चालिस वर्षदेखि हड्पेको आफ्नो भूमिमाथि नेपालले आफ्नो सुषुप्त दावीलाई चर्को आवाजमा उठाउन थालेपछि भारतले नेपालले यो मुद्दा चीनको ईशारामा भारतलाई अप्ठ्यारोमा पार्न उठाएको आरोप लगाएको थियो । त्यसपछि नेपाल र भारतबीचको तिक्तता सन् २०१५को नाकाबन्दी ताका भन्दा पनि तनावपूर्ण अवस्थामा पुगेको छ ।

अघिल्लो महिना लद्दाखको गलवानमा चीनी र भारतीय सैनिकहरुबीच झडप भएको थियो जसमा २० भारतीय जवानहरुको मृत्यू भएको थियो भने चिनिया सेना तर्फको हताहतीको कुनै संख्या सार्वजनिक भएको थिएन । पछि दुईपक्षबीच दुवैपक्षका सेना मुठभेड क्षेत्रबाट पछाडि हट्ने समझदारी भएको थियो । भारतीय मिडियाहरुका अनुशार भारतीय सेना पछाडि हटे पनि चिनिया सेना पूर्वबत अवस्थामा नफर्केको आरोप लगाऊँदै आएका छन् । चीनले भारतलाई दबावमा राख्न भूटानसंगका दुई विवादित क्षेत्रको समाधानकालागि थिम्पूसंग प्याकेजमा सहमती गर्न चाहेको छ । यस बाहेक अरुणाचल प्रदेशमा पनि चीनले घुसपैठ गरिरहेको भारतीय मिडियाहरुले प्रचार गरिरहका छन् । यसै श्रृङखला अन्तरगत लीपुलेक नजिक चिनिया सेनाको बढ्दो उपस्थितिले भारत सनसनी मच्चिएको छ । पछिल्लो समाचारका अनुशार भारतले पनि त्यो क्षेत्रमा आफ्ना सैनिकहरु पठाएको बुझिएको छ ।
नेपाली भूमिमा भारत र चीनको दादागीरी
प्रमाणिक रुपमा नेपालले दावी गरेको अन्तिम सिमा विन्दु लिम्पियाधुरा भन्दा पूर्वतिर नेपाली भूमिमा रहेको लीपुलेक वरपर भारतीय र चिनिया सेनाको तनावपूर्ण उपस्थितिलाई लिएर नेपाल चनाखो रहनु पर्ने अवस्था सृजना भएको छ । नेपालको विरोधका बावजूद अहिले पनि भारतले लीपुलेक क्षेत्रमा सडक बनाउन नछोडेको समाचारहरुमा जनाईएको छ ।
चीनको अहिलेको उपस्थिति उसको आफ्नै भूमिभित्र रहेको बुझिएको छ तर भारतीय सेना भने नेपालको भूमिलाई नै आफ्नो दावी गर्दै चीनलाई निगरानी गर्न त्यहाँ जाने देखिएकोले नेपाल सजग हुनु पर्ने देखिएको छ ।
भारतले चीनसंग त्यहाँ टक्कर लिएर उक्त जामिनमाथि नेपालको दावीलाई कमजोर पर्ने प्रयास गर्ने देखिन्छ । किनभने चीन र भारतले नेपालको लीपूलेकलाई दुईपक्षिय नाकाका रुपमा नेपालको विरोधका बावजूद सन् २०१५मा सम्झौता गरेर नेपालमाथि नाङ्गो हस्तक्षेप गरेका छन् । चीनले पछि अनौपचारिक रुपमा नेपालका चिन्ताको सम्मान गर्ने बताए पनि औपचारिक रुपले केही बोलेको छैन । भारतले उक्त जमिन आफ्नै भएको भन्दै नेपालको पटकपटकको वार्ताको आह्वान समेत लत्याऊँदै आएको छ । भारतलाई सन् १९६२को युद्धमा चीनका विरुद्ध भारतलाई सहज होस् भनेर अनौपचारिक रुपमा उपयोग गर्न दिएको जमिनमाथि अहिले मेरै हो भनेर कब्जा गरेको यथार्थ विर्सन सकिने खालको छैन । गुनको बैगुनले तिर्न खोज्ने संस्कारसंग नेपाल ६ दशकदेखि पीडित रहँदै आएको छ ।
भारतको चर्को थिचोमिचोका कारण नेपालमा चीनप्रतिको आकर्षण उत्कर्षमा छ । त्यसैले चीनले नेपाललाई जति गुन लगाएको छ त्यो भन्दा धेरै बढी विश्वाास दिने गरिएको छ । भारतलाई पनि नेपालले विगत पाँच दशकदेखि गरेको अतिविश्वासको प्रतिफल भोगिरहेको छ । चीनसंग पनि त्यहि इतिहास नदोहोरिएला भन्न सकिने अवस्था बारे नेपालले सजग हुनै पर्ने देखिन्छ । हो नेपालले भारतसंग भोगेका आघातका तुलनामा अहिलेसम्म चीनसंग केही त्राण पाउने गरेको छ तर यतिले मात्र बदलिंदो चीनको नेपालका सन्दर्भमा परिक्षण हुन अझै बाँकी छ । त्यसैले लिपलेक क्षेत्रमा जुनसुकै अभिप्रायका लागि भएपनि भारत र चीनको सामरिक उपस्थितिको नेपालले कडा प्रतिवाद गर्नै पर्दछ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.