भारतको सामरीक सेवामा तिब्बती शरणार्थीहरुको सुरक्षा पल्टन
भारत चीनबीच सिमामा झडपको स्थितिले भारत पनि अमेरिकाले झैं तिब्बतलाई औपचारिक रुपमा स्वतन्त्र मान्ने रणनीतिमा लागेको हो कि भन्ने संकेतहरु देखिएका छन् । संभवतः भारत धेरै पहिलेदेखि तिब्बती शरणार्थीहरुको गोप्य सुरक्षा दस्ता बनाएर यसको अनौपचारिक तयारी गर्दै थियो जुन अहिले सार्र्वजनिक भएको छ ।
भारतले तिब्बती शरणार्थीहरुलाई आफ्नो सुरक्षा निकायमा भर्ना गरेर उत्तरी सिमानामा खटाउने गरेको सुनिंदै आएको भएपनि यसपटकको भारत चीन सीमा तनावको बेला एसएफएफका एकजना तिब्बती शरणार्थी जवानको सन् १९६२को युद्ध ताका बिछ्याईएकोे पुरानो बारुदी सुरुङको विस्फोटमा परेर मृत्यु भएपछि भने यो सार्वजनिक नै भएको छ । यसबाट तिब्बती शरणार्थीहरुलाई प्रयोग गरेर चीनमा गृहयुद्ध मच्चाउने योजनामा पहिल्यैदेखि भारतले काम गरिरहेको देखिएको छ । विभिन्न छिमेकी देशमा रहेका अल्पसंख्यकहरुलाई प्रयोग गरी त्यहाँको सत्तालाई दबाव दिएर आफ्नो पक्षमा घुँडा टेकाउने नीति भारतले विगतदेखि नै लिंदै आएको छ । सिक्कीमको गैरभूटियाहरु, श्रीलंकाको तमील, पूर्वी पाकिस्तानका बंगलाभाषी समूदायमाथि यो नीति प्रयोग भैसकेको छ भने अब पाकिस्तानको बलुच समूदाय बारे भारतका प्रधानमंत्रीले औपचारिक मंचबाट केही वर्ष अघि नै वक्तव्य दिइसकेका छन् भने भारतीय सेनामा तिब्बती शरणार्थीहरुको विषेश दस्ता रहेको घटनाले चीनको तिब्बती समूदायमा पनि यो प्रयोग भैरहेको आशंका उत्पन्न भएको छ ।
भारत र चीन बीच सीमा विवादलाई लिएर विगत केही महिनादेखि सम्बन्ध तनावपूर्ण अवस्थामा पुगेको छ । लद्दाख क्षेत्रमा भएको भीडन्तमा दुवै तर्फका सैनिकहरुको ज्यान समेत गएको छ । यद्यपि पछिल्ला दिनहरुमा दुवै देशहरुमाझ अब अरु थप सैनिकहरु तैनात नगर्ने बारे छलफल चलिरहेको छ । दुई देशबीच सीमानामा यस्तो झडपको अवस्था झण्डै चार दशकपछि मात्रै आएको हो ।
१० मार्च १९४९मा चीनिया सेना तिब्बतमा पस्यो । सन् १९५१मा भएको १७ बुँदे सम्झौतापछि चीनले तिब्बतलाई आफ्नो अधिनमा लियो । तिब्बतमाथि चीनिया सेनाले क्रमशः कब्जा गर्दै लगेपछि तिब्बती शासक तथा धार्मिक नेता दलाई लामाले भारतमा आफ्ना केही अनुयायीहरु सहित शरण लिएका थिए । तिब्बतमा खाम लगायतका केही क्षेत्रहरुमा चीनको हस्तक्षेपका विरुद्ध विद्रोह चलिरहेको थियो । जसलाई सन् १९६२ मा चिनिया सेनाले दमन गर्यो ।
तिब्बतमा नै रहँदा दलाई लामाले माओ लगायतका चिनिया नेताहरुसंग भेट पनि गरेका थिए तर चीन उनका शर्तहरु मान्न तयार भएन । चीनले सहजै तिब्बतले बेईजिङको अधिनता नस्वीकार्ने बुझेपछि तिब्बतमाथि आक्रमण गर्न पीएलएलाई आदेश दिएको थियो ।
त्यसपछि चौधौं दलाईलामा (तेनजिङ ग्यात्सो) ३० मार्च १९४९मा हालको अरुणाचल प्रदेश हुँदै १८ अप्रैलमा आसामको तेजपुरमा भारतमा शरण लिने उद्देश्यले आईपुगेका थिए । भारतले उनलाई हिमालचल प्रदेशको शिमलामा शरण दिएको थियो र अहिले पनि त्यहीं रहँदै आएका छन् । अमेरीका लागायतका देशहरुको सहयोगमा दलाईलामाले तिब्बतीहरुको निर्वासित सरकार चलाई रहेका छन् । भारतले दलाई लामालाई केवल शरण मात्र दिएको चीनलाई बताए पनि बेईजिङको असंन्तुष्टि बुझ्न कठिन छैन । भारत चीनबीच अविश्वासको शुरुआतको प्रमुख कारण यही नै बन्यो ।
साम्यवादी क्रान्तिपछि चीनलाई सबै भन्दा पहिला मान्यता दिने गैर कम्युनिष्ट देश पाकिस्तान थियो भने भारत ४ जनवरी १९५०मा मान्यता दिने भारत दोस्रो देश थियो । चीनलाई संयुक्त राष्ट्रसंघमा प्रवेश गराउने प्रकृयामा पनि भारतले सघाएको पनि थियो । यस्तो विश्वास नेहरुमा उनको समाजवादी चिन्तनका कारण पनि उत्पन्न भएको थियो । चीनको अधिनमा गएपछि पनि संभवतः तिब्बततिरबाट भारतको सुरक्षामा कुनै आँच नआउने, चीनले तिब्बतलाई विषेश स्वायत्तता दिने छ र भारत र तिब्बतबीचको पुरानो सम्बन्धलाई निरन्तरता दिनेछ भन्ने कुरामा भारत विश्वस्त थियो । पंचशीलका सिद्धांतहरु र सन् १९५४मा दुई देशबीच भएका सन्धिहरुले यही कुरालाई प्रष्ट पार्दछ । तर भारतले चाहे जस्तो अवस्था त्यहाँ भएन ।
तिब्बतप्रति अमेरीकाको चासो र दलाईलामालाई भारतले आश्रय दिने जस्ता कारणले सशंकित बनेको चीन र भारतबीच युद्धको अवस्था सृजना भयो । भारतले चीनमाथि गुनको बदलामा विश्वासघात गरेको आरोप लगाऊँदै आएकोे लगाऊँदै आएको छ ।
तिब्बतसंगको सम्बन्धलाई परापूर्वकालदेखि चल्दैआएको साँस्कृतिक आर्थिक अवस्थामा रहोस भन्ने चाहना परिवर्तित सन्दर्भमा यथावत रहने अवस्था नभएपछि भारतकालागि बाँकी चीन सरह तिब्बत विरानो भयो । भारतले आफ्ना अन्य कमजोर छिमेकीहरुसंग भने मैत्री सन्धीका नाममा उपनिवेशकालिन प्रभूत्वलाई निरन्तरता दिने काम गर्यो । यो क्षेत्रका प्रायः सबैजसो सीमानाहरु अंग्रेजी उपनिवेश कालमा तय गरिएका हुन् । त्यसैले सिमानामा विवादहरु पनि रहँदै आएका छन् । चीनसंग यस्तै विवादका कारण दुई देशबीच असमझदारी बढ्दै गयो र सन् १९६२मा युद्ध समेत भयो ।
के हो SFF
दलाइ लामाको समर्थनमा चीन विरुद्ध तिब्बतमा विद्रोह गरिरहेका तिब्बतीहरु शक्तिशाली पीएलए बाट तिब्बत छोड्न वाध्य भए पछि केही दलाई लामासंग भारत पसे । अमिताभ सन्यालले १४ नभेम्वर २००९मा हिन्दूस्तान टाईम्समा एकजना तिब्बती शरणार्थी सैनिकलाई उदृत गर्दै उल्लेख गरे अनुशार उनि लगायत १२००० तिब्बती विद्रोही शरणार्थीहरुलाई सन् १९६३ अर्थात भारत चीन सीमा युद्धपछि हालको उत्तराखण्डको देहरादूनदेखि झण्डै १०० कि. मी. परको चक्राता भन्ने स्थानमा रहेको सैनिक शिविरमा भारतीय उच्च दक्षता भएका सैनिकहरुबाट कमाण्डो तालीम दिईएको थियो । संभवतः यो नै तिब्बती शरणार्थीहरुलाई ठूलो संख्यामा सैनिकिकरण गरिएको शुरुआती घटना थियो । चक्रातामा पछि भारतले श्रीलंकाका तमिल लडाकाहरु र नेपालका तत्कालिन माओवादी विद्रोहीहरुलाई पनि सैन्य तालीम दिने गरेको थियो ।
उत्तरी सिमानामा तिब्बती शरणार्थीहरुको Spacial Frontier
Force का नामबाट गोप्यरुपमा दशकौंदेखि क्रियाशील देखिएको छ । अमिताभका अनुशार यस्तो दस्ता गठनको सोच सन् १९६२को भारत चीन युद्ध अगावै सन् १९५७ देखि ६१ सम्म भारतीय सेना प्रमुख रहेका कोडेन्द्र सुबैया थिमैयाको समयमा आएको थियो । यो विचारलाई व्यवहारिक रुप दिन त्यस समयको Intelligence Beuroue (IB)
(जसलाईपछि इन्दिरा गाँन्धीको समयमा रामेश्वरनाथ कावको नेतृत्वमा Search & Analysis
Wing ( RAWको नाम दिईएको थियो) का निर्देशक भोलनाथ मल्लिक, अमेरीकाको Central Intelligence Of
America (CIA)का अधिकारीहरु र भारतका उच्चस्तरका सरकारका केही नेताहरुको पहलमा तिब्बती शरणार्थीहरुलाई गोप्य सुरक्षा दस्ताका रुपमा भर्ना गर्ने निर्णय भएको थियो । यसको संचालन भारतीय सेना अन्तरगत नभएर IB र भारत सरकारको उच्च तहबाट गरिने संरचना तयार गरिएको थियो जुन अहिले पनि कायमै छ । यस दस्ताको निमार्णको अर्थ यो दस्तालाई भारत चीन सीमानामा निगरानी गर्न तथा कठिन पहाडी भागमा सूचना संकलन गर्न, सैनिक साजोसामान पुर्याउन, युद्ध गर्न र अनुकुल समयमा तिब्बतभित्रै चीनका विरुद्ध विद्रोह गर्न उपयोग गर्ने लक्ष्य राखिएको थियोे । शुरुकाहरुमा यो दस्तालाई Establishment 22 का नामले एउटा निश्चित वृतमा चिन्ने गरिन्थ्यो । त्यसलाईपछि Mountain Regiment पनि भन्न थालियो ।
यो दस्ताले सन् १९७१मा पूर्वी पाकिस्तान ( हालको बंगलादेश) को चटगाँवको पहाडी भेगमा भारतीय सेनाद्वारा चलाईएको अपरेशन इगलमा पाकिस्तान विरुद्ध भारतका तर्फबाट सक्रिया र महत्वपूर्ण सहभागिता जनाएको थियो जहाँ यस दस्ताका ४६ जवानहरुले ज्यान गुमाएका थिए । सन् १९९९मा कारगिलमा पाकिस्तान विरुद्ध चलाईएको अपरेशन विजय, सन् १९८४मा शियाचीनमा चलाईएको मेघदूत अपरेशन र आन्तरिक रुपमा सन् १९८४मा शिख पृथकतावादीहरु विरुद्ध स्वर्ण मन्दिरमा चलाईएको ब्लु स्टार अपरेशन पनि SFF का जवानहरुलाई प्रयोग गरिएको थियो । हालै लद्दाख क्षेत्रमा भएका भएको सीमा तनावका बेला पनि उनिहरुले सक्रिय सहभागिता जनाएको समाचारहरुमा जनाईएको छ । SFF का जवानहरु गोर्खा जवानहरु जस्तै जस्तोसुकै कठिन परिस्थिति जुध्न सक्ने भनेर भारतीय सैन्य क्षेत्रमा उनिहरुको गणना गरिन्छ ।
नयाँ परिवेशको संकेत
हालै लद्दाख क्षेत्रमा भएको भारत चीन सीमा विवादपछि भारतले तिब्बतप्रतिको आफ्नो नीतिमा नयाँ संकेत देखाएको छ । एशिया प्रशान्त क्षेत्रका जापान, भारत र अष्ट्रेलिया र अमेरीकाको चीनलाई यस क्षेत्रमा अगाडि बढ्नबाट रोक्न बनाईएको समूह Quadrilateral Security
Dialogue (QUAD) लाई थप सक्रिय बनाउने प्रयास भैरहेको छ । यहि अक्टोबर ५ तारिखका दिन यो समूहका विदेशमंत्रीहरुको जापानमा बैठक सम्पन्न भएको छ । त्यसको मुख्य विषय नै चीनलाई कसरी रोक्ने भन्ने नै रहेको थियो । त्यस बैठकपछि अमरीकी विदेश सचिव माईक पोम्पियोले चीनिया कम्युनिष्ट पार्टी शोषक भ्रष्ट भएको आरोप लगाउनुले पनि यो कुराको पुष्टि गर्दछ । दोस्रो विश्वयुद्धपछि सामरिक रुपमा कमजोर पारिएको जापानमा सिन्जो आबेपछि हालसालै प्रधानमंत्री बनेका योसिहिदे सुगाले पनि आबेको नीतिलाई नै निरन्तरता दिने बताएका छन् । जापानलाई अब सामरीक शक्तिका रुपमा अगाडि बढाएर भारत जस्तै सामरिक रुपमा बलियो पारेर चीनलाई टक्कर दिन सजिलो हुने विश्वास अमेरिकाको छ । अमेरीकाले QUAD लाई आर्थिक व्यापारिक मात्र नभएर सामरिक व रणनीतिक रुप पनि दिन खोजेको छ । यो सक्रियताले तिब्बत, ताईवान, हङकङ मामिलामा चीनलाई घेरने नीति घोषित अघोषित रुपमा तय गरिने संभावनाको आँकलन गरिएको छ । यसै परिप्रेक्षमा भारतले अमेरिकाले जस्तै स्वतन्त्र तिब्बतको मुद्दालाई अगाडि ल्याउने संभावना देखिंदै छ र शरणार्थी सेनालाई चीन विरुद्ध तिब्बतभित्रै परिचालित गरिने हो कि भन्ने अड्कल काट्न थालिएको छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.