लोकतन्त्र घोषणा गरेर पुरा हुँदैन दैनिक स्याहार्नु र बनाउनु पर्छ

अचेल सामाजिक संजालमा आउने तयारी सुचनाहरुका पछाडि दौडिन धेरैलाई सजिलो छ । सुचनाको सत्यता र सान्दर्भिकता जाँच्न अचेल आममानिसलाई झन् गाह्रो भएको छ । उत्तेजना फैलाएर पैसा र लोकप्रियता कमाउने एउटा खतरनाक वर्ग संजालमा सक्रिय देखिन्छ । यस प्रवृतीले जनताको सुचनाको हकमाथि ज्यादती गरिरहेको छ । 

नेपालमा अहिले राजनीतिक अस्थिरताका डरलाग्दा संकेतहरु देखा परिरहेका छन् । सबै भन्दा लज्जाजनक कुरा यो अस्थिरताको कारक गत चुनावमा शान्ति सम्वृद्धिकालागि मत मागेर लगभग दुईतिहाईको बहुमत साथ सरकार बनाउने अवसर पाएको हालको नेकपामा भएका गुटहरुको आन्तरिक संघर्ष हो । त्यही संघर्षका कारण संसद विघटन हुनपुगेको कुरा सबैले जानेको कुरा हो । यो विवादलाई अहिलेको पछिल्लो स्थितिबाट उभिएर हेर्नेहरुकालागि सबै दोष प्रधानमंत्री ओलीमाथि नै जाने देखिन्छ भने पार्टी एकताको समयतिरबाट क्रमश हेर्ने हो भने प्रचण्ड माधवहरु पनि कम दोषी देखिंदैनन् । कारण नभई घटना घट्दैन भन्ने कुरा शाश्वत सत्य हो । त्यसैले परिणाम र कारणको अवलोकन नगरी निकालिने निष्र्कष गलत हुन्छ भन्ने कुरा अकाट्य नै हो ।


सबैले हेक्का राख्नै पर्ने विषय के हो भने नेपाल धेरै पहिलेदेखि नै भूराजनीतिक रुपले निक्कै जोखिमको स्थितिमा रहँदै आएको देश हो । समय बित्दै जाँदा त्यसको प्रभाव र चरित्रमा गम्भिर फेरबदल हुँदै आएको छ ।  नेपाल र नेपालीका आवश्यकता र आकांक्षा भन्दा नेपालमा आफ्ना स्वार्थ अनुशार खेल्न खोज्ने बाहिरियाहरुले नै नेपाली चाहनालाई आफ्नो सेवामा दूरुपयोग गर्दै आएका छन् । नेपालमाथि सामरिक दबाव राख्ने प्रयास चिनियाहरु र  भारतमा रहेका उपनिवेशवादी अ्रग्रेजहरुले गरे । त्यसबेला नेपालले उनिहरुसंग यूद्ध समेत गर्नु परेको थियो । नेपाल उनिहरुलाई टक््कर दिन सक्ने देश थियो । कैयन यूद्धमा नेपालले उनिहरुलाई परास्त गरेको पनि थियो र हारेको पनि थियो । अहिले त्यो अबस्था भने छैन तर नेपालमाथि रणनीतिक रुपले आफ्नो प्रभाव कायम राख्ने चर्काे चलखेल भने जारी छ । गम्भिरतापूर्वक सोचिनु पर्ने यो जटीलतालाई नेपालका राजनीतिक शक्तिहरुले यथोचित ध्यान पुर्याउन खोजेको देखिंदैन ।  यो चलखेलमा केही राजनीतिक शक्तिहरु र तिनका केही नेताहरु नै चाहेर वा नचाहेर प्रयोग हुँदै आएका छन् । हरेक महत्वपूर्ण भनिएका आन्दोलन र परिवर्तानहरु नेपालका सडकमा उत्रिने गरेका जनताहरु निर्णायक नभएर नेपालमा हैकम चलाउन खोज्ने विदेशीहरु निर्णायक हुँदै आएको छर्लंग भैसकेको छ । त्यो चरीत्र फेरि सल्बलाउन थालेको अनुभव हुँदैछ । जसले विदेशी स्वार्थको सेवा त गर्छ नै र देशलाई फेरि रक्तपात र अशाान्तितिर धकेल्छ । देशको अस्तित्व नै खतरामा पारेर लोकतन्त्र संधीयता गणतन्त्र पाउने वा बचाउने आन्दोलनको कुनै औचित्य छैन ।                 

प्रधानमंत्रीले गरेको प्रतिनिधिसभा विघटनलाई सम्विधान र नयाँ उपलब्धिहरु विरुद्ध कु भएको भन्दै चरणबद्ध जनआन्दोलनको घोषणा भएको भनिदै छ । प्रधानमंत्रीले संविधानमा किटान नै नभएको बाटोबाट संसद विघटन गरेर कु गरे भन्ने गरिएको छ । नाजायज लागेका कुराहरुलाई लिएर आन्दोलन गरिनु स्वभाविक हो । सत्तालाई जिम्मेवार बनाउन गरिने लोकतान्त्रिक प्रावधान हो यो तर यसका पनि शालीनता र शिष्टता उत्तरदायित्व जस्ता सिमा हुन्छन् भनेर बुझ्न आवश्यक छ । कतिलाई लाग्दो हो उत्तेजित मानिसहरुको भीड जम्मा पारेर हत्या हिंसा तोडफोड गर्नु क्रान्ति हो । हो, क्रान्ति त्यस्तै चरित्रको पनि हुन्छ । त्यस्तो त नेपालमा भैसकेको हो । त्यसका बुई चढेर नेपाल र नेपालीको हित होईन विदेशीका स्वार्थहरु मात्र नेपाल आएका रहेछन् । त्यसैले गर्दा निराश नेपाली मनहरुलाई फेरि क्रान्तिका नाममा भड्काउने तैयारी भएको आभाष हुन थालेको छ ।          


चुनावको मिती तोकेर गरिएको विघटनले व्यवस्था नै फ्याल्न उद्यत भएको भन्ने कुरा शंका मात्रै हो कि अन्य कुनै किटानी पनि छ भन्ने छर्लंग हुन बाँकी नै छ । नेकपाभित्रका प्रतिस्पर्धी गुटहरु एकअर्कालाई सिद्धाउने प्रोपोगाण्डामा लीप्त छन् । आफुसंग विमति राख्नेमाथि सोचविचारै नगरी मन्परी आरोप लगाउने कम्युनिष्टको पुरानै रोग हो । त्यहि यतिबेला निर्वाह भैरहेको छ । पूँजीवादी लोकतन्त्रमा अभ्यास गरिरहेका नेपाली कम्युनिष्टहरु कमसेकम त्यसको मर्यादा समेत पालन गर्न असफल छन् ।  संविधानमा प्रधानमंत्रीले प्रतिनिधिसभा भंग गर्नसक्ने प्रावधानबारे उल्लेख नभएको भन्दै असन्तुष्टपक्ष अदालत पुगिसकेको हुनाले र अदालतमा त्यसबारे बहस चलिरहेको अवस्थामा सडकबाट आफ्नो पक्षमा फैसला नदिने हो भने न्यायधिशहरुलाई घिसारेर सडकमा ल्याईने र आफ्गानिस्तानमा तालिवानहरुले गरे झैं मारिदिने निकृष्ट चेतावनी दिने गरिएको छ । सैद्धान्तिक र नैतीक बन्धनबाट मुक्त भएका यिनीहरुसंग अब चरीत्र हत्या र आरोप प्रत्यारोप भन्दा स्वच्छ बहस गर्ने ल्याकत नै नभएको देखिंदै छ । दशवर्ष तालीवानी संस्कृतिको अभ्यास नेपालमा पनि भैसकेको र त्यसलाई उपचार गर्ने प्रयासमा जसोतसो अहिलेको संघीय गणतन्त्रात्मक व्यवस्था ल्याइएको धेरै भएको छैन । फेरि पनि हत्या हिंसाले सर्वत्र कब्जा गर्ने मनाशय प्रकट हुनु आफैमा झन् भयानक कु गर्ने मनाशय होईन भन्न सकिन्न । न्याय माग्दै अदालत पुगेकाहरुले  अनुशरण गर्न खोजेको तालिवानी संस्कारमा कहीं लोकतान्त्रिक संस्कार भेटिएला र ? आफुले बोलेका कुराहरुले कुन अर्थ दिन्छ भन्ने सोचेर बोल्दा राम्रो । विरोध पनि रचनात्मक र शिष्ट हुन्छ भन्ने कुरा हेक्का राखे मात्रै लोकतन्त्रको संवाहक बन्न सकिएला । लोकतन्त्र भनेको एकपटक ल्याएपछि केही गर्नै नपर्ने होईन यसलाई दिनदिनै स्याहार्ने र बनाउन आवश्यक छ । माईक मंच र मानिसहरुको उपस्थिति देखेपछि उन्मादमा मन्परी बोल्दैमा नेता भनेर मान्नु पर्ने वाध्यता कसैलाई छैन । आज नभए भोलि इतिहासले त्यसको समीक्षा गर्ने छ ।

    सडकमा जसोतसो धेरै मानिसहरु देशभरिबाट राजधानीमा जम्मा पारेर ठूलो जुलुस निकालेर आफुहरुलाई शक्तिशाली छौं र त्यही भीडबाट हामी जेसुकै गरेर देखाई दिन सक्छौं भनेर भद्रअभद्र अभिव्यक्ति दिईदैछ । यसले लोकतन्त्र र कथित क्रान्तिबाट आर्जेको भनिएको नयाँ व्यवस्थालाई जोगाउन बल मिल्ला भनेर कल्पना नगरौ । फेरि अर्को क्रान्ति र रक्तपात कसको सेवाकोलागि हो भनेर सबैले सोच्नै पर्ने भएको छ ।        


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष