एमालेमा विग्रह : नारा एकताको दिशा विखण्डनको


        तल्लो वर्गका शोषित जनताहरुलाई समानतामा आधारित साम्यवादमा अधारित शासन व्यवस्था स्थापना गर्ने सपनाका साथ शुरु भएको नेपाली कम्युनिष्ट आन्दोलन आजसम्म आईपुग्दा दलाल पूँजीवादी लोकतन्त्रमा पालन गरिने न्यूनतम राजनीतिक मूल्य मान्यताहरुबाट पनि च्यूत हुँदैगैरहेको देखिंदैछ । सम्यवादकालागि प्रतिकुल विश्व परिस्थितिमा मदन भण्डारीले अगाडि सारेको जनताको बहुदलीय जनवादबाट पूँजीवादी लोकतन्त्रमा छिरेको नेपाली साम्यवादी मुलधारले जसरी  आफुलाई पतनको संघारमा उभ्याएको छ त्यो डरलाग्दो छ । व्यापक जनसमर्थनका वावजुद पनि आज जून विन्दुमा त्यो आईपुगेको छ , त्यो उसैकालागि प्रतिकुल देखिन्छ । त्यहाँ न कुनै नीति र सिद्धान्त बाँकी छ न नैतिकता । त्यहाँ केवल गुटगत अहंकार, पदीय भागबण्डा र अनैतिक आर्थिक लेनदेन मात्र व्याप्त छ । यसको पतनोन्मुख अवस्थाले नेपाल जस्तो भूराजनीतिको चर्को दवाव भोगिरहेको कमजोर देशको राजनीति नै अस्थिर बन्नपुगेको छ । जसले विदेशी स्वार्थहरुलाई नेपालमा निर्बाध चलखेल गर्न सहजता प्रदान गरिरहेको छ ।             

कर्णाली प्रदेशमा एमालेका प्रदेशका चार सांसदहरुले माओवादी केन्द्रका मुख्यमंत्री महेन्द्र बहादुर शाहीको विरुद्ध ल्याईएको अविश्वासको मत विफल गराउन पार्टीको ह्वीप उल्लंघन गर्दै सरकारको पक्षमा मत दिएर सरकारलाई जोगाएका छन् । एमालेको विद्रोही समुह मानिदै आएको माधव नेपाल खेमाका सांसदहरुले यस्तो कदम चाल्नु आश्चर्य भएपनि अनपेक्षित भने थिएन । किनभने यो परिघटनाको परिणाम मात्र थियो र यसका कारणहरु धेरै पहिल्यैदेखि सक्रिय थिए । यसअघि  एमालेको निर्देशनमा प्रकाश ज्वाला र नन्द सिंह बुढाले मंत्री पदबाट राजीनामा दिएका थिए । यसरी ह्वीप उल्ंलघन गरेका नन्द बुढा, अमर थापा र कुर्मराज शाहीलाई एमार्लेबाट निष्काशन गरिसकिएको छ भने प्रकाश ज्वालालाई कार्यवाही गर्न केन्द्रलाई प्रदेश एमालेले सिफारिस गरेको छ । यसरी निष्काशनमा परेकाहरुले एमालेलाई अब धुलो चटाउने पनि बताएका छन् ।

                               पार्टीहरुभित्र भएका प्रत्येक नेता मध्यकालिन सामन्तहरु जस्तै 

                               गुट चलाउँ छन् । तिनका मीनी हेडक्वाटरहरु अर्को गुटलाई

                               सिद्ध्याउने षड्यन्त्र रच्ने प्रयोगशालामा परिणत भएका छन् ।

                               यसरी पार्टी नेतृत्व वर्ग आपराधिक अनैतीक लडाकाहरुको

                              संख्यामा रमाउन थालेको देखिन्छ । त्यहाँ नीति र सिद्धान्त 

                               नैतीकताको प्रश्नलाई कुनै स्थान दिएको देखिंदैन ।

संसदीय लोकतन्त्रमा ह्वीप उल्लंघनलाई तल्लोस्तरको हरकत मानिन्छ । पाटी अनुशासनलाई नमान्ने र आफुखुशी गर्नेलाई संबन्धित पार्टीले कार्यवाही त गर्ने नै भयो त्यसमाथि यस्तो गर्ने सदस्यलाई दलीय प्रणालीमा राजनीतिक रुपले विश्वास गर्न योग्य मानिंदैन । असहमत र असंतुष्ट सदस्यले राजिनामा दिन वा मतदानमा अनुपस्थित रहन श्रेयस्कर मानेको देखिन्छ । तर, ह्वीप उल्लंघन हुनै नसक्ने भने होईन । त्यसबाट आईपर्ने सम्पूर्ण परिणामलाई भोग्न तैयार भई व्यक्तिगत स्वतन्त्रताको आधारमा पनि ह्वीप उल्लंघन हुनसक्छ । कर्णाली प्रकरण भने यी सबै कारण भन्दा फरक रणनीतिक उद्देश्य हासिल गर्न एउटा समूहले आफ्ना सदस्यहरुलाई प्रयोग गरी  संस्थापनमाथि गरेको प्रहार थियो यो । उल्लंघन कर्ताले आफुले यस्तो कार्य केन्द्रिय नेतृत्वको आदेशमा गरेको भनेर माधव नेपाल तर्फ नै ईगित गरेका छन् ।           

यो कदमलाई नेकपामा माधव नेपाल–प्रचण्ड समुहको ओलीलाई साधारण सदस्यबाट समेत गरेको निष्काशनपछि अहिलेसम्मको ठुलो धक्काका रुपमा व्याख्या गरिएको छ । कर्णालीको यो रोग अब संघीय संसद र प्रदेशहरुमा पनि दोहोेरिने संकेत देखापरेको छ । आफुहरु एमाले मै रहेको भन्दै असन्तुष्टि स्वरुप संस्थापन विरुद्ध समानान्तर गतिविधि चलाऊँदै आएको सो समुहले अब ओली नेतृत्वमा एमालेभित्र रहन नसक्ने व्यवहारतः स्वीकार गरेको छ । अब उसले एमालेको नाम, सूर्य अंकित चुनावी चिन्ह दावी नगर्ने अवस्थामा पुगेको देखिंदैछ । समुहभित्र नयाँ नाम र चिन्ह आउन सक्ने भएकोले मानसिकरुपले तयार रहन नेताहरुबाट कार्यकर्ताहरुलाई सल्लाह दिन थालिएको छ । तर, यो घटनापछि पनि आफुलाई असली एमाले दावी गर्न निर्वाचन आयोग धाउन भने छोडेको छैन ।  धेरै संभव छ, विद्रोही एमालेको अब बन्ने नयाँ पार्टी र माओवादी केन्द्रबीच ओलीलाई सत्ताबाट मात्र होईन राजनीतिबाट एक्ल्याउन  गठबन्धन गरिने छ र त्यो उपयुक्त समयमा एकिकरणमा परिणत  हुने संभावना छ । अर्कोतिर एमालेमा संघीय संसद र प्रदेशहरुमा विद्रोहीहरुबाट कर्णालीमा झैं आवश्यक समयमा घात हुने देखेर सतर्कता अपनाउन थालिएको छ । यो स्थितिमा, केही दिनभित्र कार्यवाहीको प्रकृया तीव्र हुने संभावना छ । यसले कसलाई कति फाईदा वा घाटा होला भन्नुभन्दा पनि राजनीतिक तुवाँलो भने अलिकति भएपनि हट्ने छ । केन्द्रमा ओलीलाई सरकारबाट हटाउन सोचिए जस्तो सजिलो नभएर असमन्जस्यतामा रुमल्लिएका पूर्वनेकपाको ओली इतर समूह भने कर्णाली घटनालाई आफ्नो सफलता ठानेको छ र केन्द्रमा पनि यस्तै हथकण्डा अपनाएर ओलीलाई विस्थापित गर्ने रणनीतिमा लागेको छ ।                     


नेपालमा आफुलाई अग्रगमनकारी प्रगतिशील भनेर फलाक्ने कम्यूनिष्टहरुको आन्तरिक विग्रहको आँधीमा कम्युनिष्ट नैतीकताका सबै सिमानाहरु भत्काईएका छन् । उनिहरुले पूँजीवादी लोकतन्त्रका न्यूनतम नैतिकतालाई समेत पनि बेवास्ता गरिरहेका छन् । अचेल उनिहरुमा एउटा उक्ति प्रचलित छ–– राजनीतिमा असंभव भन्ने केही हुँदैन । यसले उनिहरु शक्ति  स्वार्थकालागि सवै नैतिक मूल्यहरु उल्लंघन गर्न सकिन्छ भन्ने भ्रष्ट र अराजक मान्यतालाई स्थापित गर्न लागि परेका छन् । वाम एकताको गीत गाऊँदै उनिहरु यतिबेला नेपाली वाम आन्दोलनको सबै भन्दा भयानक विखण्डनको अवस्थामा प्रवेश गरिरहेका छन् । नेपाली जनतामा वाम आन्दोलनप्रति लगाव रहँदै आएको देखिन्छ तर त्यसको सदुपयोग भन्दा उनिहरुलाई मात लागेको देखिंन्छ । उनको यो कृयाकलापले उनिहरु वास्तवमा कम्युनिष्ट नै  होईनन् भन्ने देखिन थालेको छ । बितेको एकवर्षमा जनताबाट दुईतिहाईको बहुमत पाएर पनि सत्ताको आपसी बाँडफाँडमा जुन स्तरको लुछाचुँडी गरे त्यो लाजलाग्दो छ ।

वि.सं. २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी विभिन्न फुट र जुटका मोडहरु पार गदै आजसम्म आईपुगेको हो । यसमा हज्जारौ मानिसहरुले आफ्नो ज्यान अर्पेका छन् , कैयौंको उठिवास लागेको छ । त्यसको आजका कसैलाई पनि परवाह छैन । पार्टीहरुभित्र भएका प्रत्येक नेता मध्यकालिन सामन्तहरु जस्तै गुट चलाउँ छन् । तिनका मीनी हेडक्वाटरहरु अर्को गुटलाई सिद्ध्याउने षड्यन्त्र रच्ने प्रयोगशालामा परिणत भएका छन् । यसरी पार्टी नेतृत्व वर्ग आपराधिक अनैतीक लडाकाहरुको संख्यामा रमाउन थालेको देखिन्छ । त्यहाँ नीति र सिद्धान्त नैतीकताको प्रश्नलाई कुनै स्थान दिएको देखिंदैन । 

सबैभन्दा आश्चर्य के छ भने यी पार्टीहरुमा दोस्रो र तेश्रो पीढीका कार्यकर्ताहरुमा रचनात्मकता र न्यायप्रियता र सैद्धान्तिक निष्ठता कतै देखिंदैन । उनिहरु आफु  भन्दा धेरै बढी पदमा रहिरहेर पिठ्यूँ खिईएका वृद्ध गुटसरदारका हजूरिया र भरियाहरु देखिन्छन् । पदीय झगडाको यत्रो विताण्डा हुँदा पनि सयजनाको झुण्डले “तिमीहरुको स्वार्थमा हामी सती जान्नौ” भनेर नेताहरुलाई चुनौति दिन निस्केनन् । यस्तो लण्ठ पुस्ताले बुढाहरु ढलेपछि केही गर्ला भनेर आश नगरे पनि हुने देखियो ।

                  


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष