नेकपाको मशानले एमालेमा पनि लखेटिरहेको छ माधव नेपाललाई !
आजको मितिसम्म नेकपा एमालेका माधव र ओली दुवैखेमा आफ्ना गुटगत अहंकारबाट पछाडि हट्न तैयार देखिंदैनन् । यद्यपि, ओली र निलम्बनमा परेका नेता माधवबिचको मेरिट होटेलको भेटले संवादहीनता टुटेको छ । यो श्रृंखला दुईदिन चालेको भएपनि निकास दिन सफल नभएको, नेताहरुले पछि दिएका अभिव्यक्तिबाट थाहा पाईन्छ । यो भेटघाट हथकण्डाको अंश अथवा एकअर्काको हठलाई नाप्न गरिएको प्रयास मात्र थियो भन्ने देखिएको छ । अआफ्ना बटमलाईन अगाडि सारेर गरिएको भेटघाटले परिणाम दिन नसक्ने स्पष्ट छ । वार्तामा ओलीले विगतप्रति पश्चाताप गर्दै पार्टीमा फर्किन आह्वान गरे तर माधवले फाल्गुण २८ देखि ओलीले पार्टीको बैठकका नाममा गरेका सबै निर्णयहरु खारेज गर्न पर्ने अडान राखे । माधवको यो अडानले उनले निर्णय प्रकृयामा आफुहरुको सहभागिता मात्र खोजेनन् , उक्त बैठकमा प्रचण्डलाई छोडेर ओलीलाई साथ दिंदैआएका माओवादी केन्द्रका केही नेताहरुको एमाले प्रवेश र जिम्मेवारी दिने कार्यलाई निषेध गर्दै ती नेताहरुलाई माओवादी केन्द्र छोडेकोमा एमालेमा पनि सम्मानजनक स्थान दिन नहुने आशय माधवको रहेको होे जस्तो देखिन्छ । साँचो कुरा के हो भने राम्रो नराम्रो जे भएपनि इतिहास भैसकेको कुरालाई इरेजर लगाएर मेट्न सकिंदैन यसलाई हेर्न अवलोकन गर्न र शिक्षा लिन सकिन्छ । त्यसैका आधारमा वर्तमान र भविष्यको बाटो तय गर्न सकिन्छ । ओली र माधवले आफुले विगत एकवर्षमा गरेका कुकृत्यको आत्मालोचना गर्दैनन् तबसम्म एकताको ढोका बन्द नै रहने निश्चित छ । कदाचित, प्रविधिक रुपले ढोका खुलेको खण्डमा पनि त्यो आगामि अर्को ठुलो अराजक गुटगत द्वन्दको तयारी हुनेछ । दुवैपक्ष आफु एकता विरोधीको अपयशबाट जोगिने प्रयासमा झन् विग्रह चर्काउने काम मात्र गरिरहेका छन् । माधवले वाम एकताको नाममा एमाले विभाजन गरी माओवादीसंग एकता गर्ने प्रयास गर्नु निरर्थक छ । अहंकार बोकेर हिंड्ने नेतृत्व असल नेतृत्व हुनै सक्दैन र पार्टीको समग्र हितको वेवास्ता गर्ने त्यसको सदस्य हुँन सक्दैन । गल्ति दुवै खेमाबाट भएका छन् कुरा मात्रात्मक रुपले थोरै धेरैको हो । मात्राकै कुरा गर्ने हो भने माधव समुहले नेकपा विघटनअघि र पछि ओलीलाई हटाउन गर्दैआएका अतिवादी कार्यको फेहरिस्त लामो देखिन्छ । त्यो अतिले माधव नेपालहरुलाई एमालेमा भित्रिए पनि लामो समयसम्म लखेटिरहने छ । जसरी वामदेव पुराना नेता भएर पनि अहिलेसम्म पनि स्थिर बन्न सकेका छैनन् । उनि एमालेबाट फुटेर एकतामा फर्किएको दशकौं बितिसक्दा पनि पार्टीमा हैसियतकालागि जस्केला खोज्दै हिंड्नु पर्ने अवस्थामा नै छन् । यसपटकको झगडाको पछिल्लो चरणमा पनि उनले आफुलाई समन्वयकारी भूमिकामा प्रस्तुत गर्न खोजे तर कसैले पत्याएनन् ।
माधव ओलीबिच विश्वासको खाडल यति धेरै फराकिलो भैसकेको छ कि थोरै मात्र पछाडि हट्दा पनि ठुलो नैतिक धक्का लाग्ने अवस्था छ भने अगाडि बढ्ने सहज स्थान झन् देखिंदैन । अहंकार नत्यागिकन त्यो सकसबाट मुक्ति पाउन संभव छैन । एकअर्कालाई राजनीतिबाटै सिद्धाउने हदसम्म पुगेको हुनाले विश्वासलाई पुन आर्जन गर्न कठिन छ तर असंभव भने छैन । सत्तालाई ताकमा राखेर वा व्यक्तिगत पूर्वाग्रह राखेर गरिएको आरोप प्रत्यारोप र घातप्रतिधातले न कम्युनिष्ट आन्दोलनलाई फाईदा छ न पार्टीलाई । सत्ता न जहिलेसुकै ओलीसंग रहने छ न माधव वा उनिसंग लव परेकाहरुसंग । संसदको तरल गणितिय आधारमा टिकेको ओली सरकार जतिसुकै बेला ढल्ने अवस्थामा छ । आरोप जेसुकै लगाईए पनि, यो सरकार ढल्यो भने पनि यो भन्दा उत्कृष्ट सरकार आउने संभावना निक्कै कम देखिन्छ । यस्तो काँचो खेल, लामो समयसम्म पार्टीको नेतृत्वमा रहेका वरिष्टतम नेता माधवले किन खेलिरहेका छन् भन्ने झन् रहस्यमय छ । हुनत उनको नेतृत्वकालमा एमालेले आफ्नो आकार स्थापित गर्न सकेको भएपनि ठुलै धक्का बेहोरेको पनि थियो । तर, ओलीको नेतृत्वमा एमालेले सम्पूर्णतातिरको यात्रा शुरु गरेको झंै देखिन थालेको थियो । नेपालको समग्र राजनीतिलाई त्यसले सकारात्मक प्रभाव पार्ने विश्वास गर्न थालिएको थियो । तर यो पद र पूर्वाग्रहको झगडाले सबै ओझेलमा पारिदिएको छ ।
माधवले आफुलाई एमाले बलियो पार्ने, कम्युनिष्ट एकता गर्ने नाममा जुन हर्कतहरु गरिरहेका छन् ती सबै सोच विचारले भन्दा आवेगबाट निर्देशित देखिन्छ । उत्तेजना र आवेगले मात्र राजनीति कदापि गर्न सकिंदैन । राजनीतिकालागि सोच र दूरदृष्टि आवश्यक हुन्छ । यस मामिलामा माधव नेपाल पुराना नेता भएर पनि ओलीका सामु निक्कै कमजोर देखिएका छन् । नेकपा एमालेभित्रको झगडा बिसाउने थलो माधवकालागि पेरिसडाँडाँ कदापि हुन सक्दैन । त्यो भनेको माधवकालागि आत्मघाती गोल बराबर हँुनेछ र हँुदैआएको छ । यो क्षणमा उनले न आफुलाई न एमाले सिद्ध गर्न सकिरहेका छन् न त्यसबाट अलग पहिचान कायम राख्न सक्ने अवस्थामा छन् । उता ओली विघटित नेकपामा आफुमाथि गरिएको कारवाहीको त्रासबाट मुक्त हुनसकेका छैनन् । त्यसमाथि माधव नेपालहरुका पछिल्ला गतिविधिहरु पनि थप कारक बनेका छन् । दुवै पक्षले एकअर्कालाई आश्वस्त पार्ने प्रयास गरेको कतै देखिंदैन । त्यसैले विवाद एकअर्कालाई हराउने पछार्ने ज्यानमारा अनिष्टकारी अभियानको रुपमा चलिरहेको छ । अहिले चलिरहेको विवाद पार्टीभित्रको वैचारिक संघर्षका रुपमा चलिरहेको छैन । यो सत्रौं अठारौं शताब्दितिर भारत कब्जा गर्न आएका मुसलमान आक्रमणकारीहरु जस्तो देखिन्छ । तिनीहरु भारतीय अनुहारमा आएका थिएनन् तर माघवहरु एमालेको आवरणमा एमाले कब्जा गर्न आएको जस्तो देखिंदै छ । यो कठोर परिदृश्यलाई विश्वासको रंगीबिरंगी बगैंचामा परिणत गर्न ओली र माधवले एकदुई भेटघाटबाट सक्लान भन्न गाह्रो छ । यसको अर्थ यो होईन कि ओलीले माधवप्रति कठोर बनेर दिग्विजय गर्ने छन् । यो प्रतिशोधी कदमले माधवलाई जस्तै ओलीलाई पनि प्रकारान्तमा घाटा नै ब्यहोर्नु पर्नेछ ।
एमालेको झगडा चर्किनुले उता प्रचण्डलाई भने उत्साहित बनाएको छ । उनि बेला बखत माधव नेपालको पक्ष लिएर ओलीलाई बिच्काउने खालका अभिव्यक्ति दिईरहेका हुन्छन् । यो उनको रणनीतिकै पाटो हो भन्ने बुझिन्छ । उनका भनाईले माधव समूह उनकै निर्देशनमा चल्ने एउटा झुण्ड मात्रै हो भन्ने देखाउँछ । उनका व्यक्त विचारहरु बारे माधव पक्षबाट स्वीकार गरिएकै देखिनु पनि आश्चर्य लाग्दो छ । सकेसम्म माधवले ओलीलाई एमालेबाट विस्थापित गरुन्, कसै नभए आफ्नो समूह नै भएपनि लिएर एकता गर्न आउन् भन्ने प्रचण्डको ईच्छा देखिन्छ । प्रचण्डलाई आफ्नो संगठनको भरमा आफ्नो भावि राजनीति चम्केला भन्ने विश्वास छैन । त्यसैले ओलीरहित एमाले वा माधव नेपाल समूहसंग जोडिएर ठुलो पार्टीको वरियता प्राप्त गर्ने चाहना देखिन्छ । प्रचण्ड ओलीलाई सानोतिनो रणनीतिले ओलीलाई तह लगाउन नसकिने निष्कर्शमा पुगेका छन् । त्यसैले उनि पार्टी, मोर्चा जे भएपनि ओलीविनाको बनाएर त्यसको नेता हुन चाहिरहेका छन् ।
नेकपामा माघव प्रचण्डले ओलीमाथि जे जस्तो कार्यवाही गरेका थिए ठिक त्यही कार्य ओलीले माधवमाथि यतिखेर दोहोर्याउने प्रयास गरिरहेका छन् । ओली निकट एक सूत्रका अनुशार, बालुवाटार प्रचण्डको योजनामा एमालेको समानान्तर गतिविधि गर्दै आएकाहरुलाई माफी दिएर भित्र्याए पनि त्यो एमालेकालागि झन् घातक हुने बुझाईमा छ । उनिहरु एमालेमा आएर संभव भएसम्म ओलीलाई अल्पमतमा पार्नै नभए आधिकारिकता सहित अलग भएर माओवादी केन्द्रसंग वाम एकताका नाममा एक हुने दाऊमा रहेका छन् भन्ने थप बुझाई पनि बालुवाटारको छ । कर्णार्लीको फ्लोरक्रसले यो शंकालाई झन् पुष्टि गरिदिएको छ । माधवको निर्देशनमा भएको यो घटनाले उनिहरुलाई नै रक्षात्मक अवस्थामा पुर्याई दिएको छ । एमालेमा रहेर भिन्न मत राख्न नपाईने भन्ने माधव खेमाबाट प्रश्न उठाईएको देखिन्छ । अर्को दलको नेताको योजनालाई पार्टीको एउटा समुहले दलभित्र समानान्तर रुपमा लागु गर्ने, संसदमा फ्लोरक्रस गर्ने भिन्न मत राख्न पाउने नपाउने कुरा बिल्कुल असम्बन्धित कुरा हो । यस्तो हर्कत गर्न पाउने तर्क गरेर कस्तो पार्टी र राजनीतिको कल्पना गरिरहेका छन् ? भन्न गाह्रो छ । राजनीति गर्नेहरुले भोली आफ्नै दलमा हुने यस्तै व्यवहारलाई कसरी लिन सकिएला भनेर सोच्न जरुरी छ । माधव नेपाल आफ्ना यस्तै उत्ताउला प्रचारबाजीको फन्दामा नराम्ररी फँस्दै गएको देखिंदैछन् ।
प्रधानमंत्री ओलीले विघटन गरेको प्रतिनिधिसभाको अदालतबाट पुनरस्थापनको पैmसला आऊँदा माधव प्रचण्ड खुब नाचे, उफ्रे, लड्डु खाए । उनिहरु नेकपामा रहेको ओली विरुद्धको बहुमतको आडमा ओलीलाई उठ्नै नसक्नेगरी परास्त गर्न सकिनेमा ढुक्क बने । अधिल्लो दिनसम्म आफु अनुकुल फैसला नगरे न्यायाधिशहरुलाई सडकमा घिसारिने धम्की दिंदै आएका उनिहरुले अदालतको जयजयकार समेत् गरे । प्रतिनिधिसभाको पुनरस्थापनपछि ओलीले नैतिकताको आधारमा राजिनामा दिनेछन् भन्ने कल्पनामा प्रचण्ड प्रधानमंत्री र झलनाथ राष्ट्रपति बन्ने स्वप्न साकार हुनेमा झण्डै ढुक्क भए । नैतिकताको आधारमा राजिनामा दिएमा आफ्नो राजनीति नै सकिने बुझेका ओलीले राजिनामा नदिने बरु सामना गर्ने बाटो समाते । ऋषि कट्टेलको नेकपा नामको पार्टी निर्वाचन आयोगमा दर्ता हँुदाहुँदै सोही नाममा पछि दर्ता भएको ओली प्रचण्डको नेकपालाई अदालतको दोस्त्रो फैसलाले खारेज गरिदिएपछि भने माधव प्रचण्डले खडा गरेको आशाको महल अप्रत्याशित रुपले गल्र्याम्मै ढल्यो । माधवहरुले निवेदकको मागै नभएको विषयमा प्रवेश गरेको, जन्मिसकेको शिशुलाई वेवास्ता गरेको, सेटिङमा चलेको भन्दै अदालतको सत्तोसराप गरे । कट्टेलको वैधानिक नेकपालाई अविच्छिन्न रहने अधिकारबाट बंचित गर्नु पर्ने लाजमर्दो तर्क मात्रै गरेनन्, नेकपालाई मात्र जन्मिसकेको शिशु मानिरहेका उनिहरुले किशोरवयको कट्टेलको नेकपाको अस्तित्व नै बिर्सिए । अदालतले बच्चाको अस्तित्वलाई रक्षा गर्ने हो भने फेरि न्वारान गरेर १५ दिनभित्र निर्वाचन आयोग जान त्यसका अविभावकहरुलाई सुझाएको पनि थियो । तर, उनिहरुले त्यो बाटो समातेनन् । प्रचण्डले फेरि फैसलाको पुनरावलोकनको निवेदन लिएर अदालत समेत पुगे । यस्तो खेल अचेलका केटाकेटी समेत खेल्दैनन् तर , ओलीलाई धराशायी पार्ने लहडमा प्रचण्डले खेल्दै आईरहेका छन् । उनका यस्तै कमजोरीमा टेकेर ओली एमालेको अध्यक्ष मात्र होईन आज पर्यन्त प्रधानमंत्री पनि कायम छन् । अब माधव नेपालसंग बाहिरबाट प्रचण्डको बलियो साथ त छ तर उनको अभियानलाई आधार दिएको नेकपा भने अस्तित्वमा छैन । महाभारतको समरमा आफ्ना सबै अस्त्र विद्या भूलेर अल्झिएको रथमा प्रतियोद्धा अर्जुनका सामु उभिएको कर्ण झैं देखिन्छन् माधव यतिखेर ।
नेकपाका दुई मध्ये एक अध्यक्ष तथा प्रधानमंत्री केपी ओलीलाई र राष्ट्रपति विरुद्ध अविश्वास र महाभियोग लगाएर सत्ताबाट हटाउने र प्रचण्डलाई प्रधानमंत्री र झलनाथलाई राष्ट्रपति बनाउने योजना बनाईयो । ओलीलाई अध्यक्ष पद र साधारण सदस्यताबाट हटाऊँदै माधव नेपाललाई अध्यक्ष घोषणा गरेर विनास्पष्टिकरण निकाला गरी माधव प्रचण्डले जुन अति गरेका थिए त्यसको घानमा यतिबेला माधव नेपाल परेका छन् । ओली बहुमतले बैठकमा बोलाऊँदा पनि नआएको हँुदा र स्वेच्छाचारी भएको हुँदा उनलाई कार्यवाही गरिएको बताउने गरिएको थियो । कम्युनिष्ट पार्टीमा बहुमतको निर्णय मान्दिन भन्न पाइदैन भन्ने जिकिर पनि थियो । सबैले जानेको कुरा हा,े माओवादी केन्द्र र एमालेको एकिकरण हुँदा आगामी एकिकृत महाधिवेशनसम्मकालागि आन्तरिम विधान बनाईएको थियो । जसमा बहुमत र अल्पमतको कल्पना नभएर सहमतिको अवधारण थियो । त्यसले एमाले भन्दा संख्यामा कमजोर रहेको माओवादी केन्द्रलाई सम्रक्षण गर्न खोजिएको थियो । कुुनै पनि कम्युनिष्ट पार्टीमा दुई अध्यक्ष भएको इतिहास संसारभर छैन बरु अध्यक्षमंडलको अभ्यास भएको देखिन्छ । उक्त विधानमा दुई अध्यक्षले संयुक्त रुपमा प्रस्ताव तयार गर्ने र महासचिवले त्यसलाई बरिष्ट नेताहरु रहेको सचिवालयमा छलफलकालागि प्रस्तुत गर्ने विधि तय गरिएको थियो । तर, पछि प्रस्ताव दुई अध्यक्षले नभएर खुमलटारतिर ओली बाहेकका नेताहरु बसेर सोझै सचिवालयमा आन्तरिम विधानको विधि र प्रकृया बाहिरबाट राख्ने कामहरु भए । आन्तरिम विधानले बनाएको एउटा अध्यक्ष प्रचण्डलाई बोकेर हिंड्ने तर त्यहि विधानले उल्लेख गरेको दुई अध्यक्षको साझा सहमतिमा प्रस्ताव बनाउने कुरा नमान्ने भन्ने विरोधाभाष देखिन्थ्यो । त्यसबेला प्रचण्ड माधव होइन वामदेव समेत ओली हटाउने अभियानमा सक्रिय थिए । ओली विरुद्ध सचिवालयमा बहुमत भएपछि भने आन्तरिम विधानको अवमूल्यन गरियो । त्यसपछि ओली बैठकमा जान छोडे । सचिवालयमा जुटेको यो बहुमतलाई ओली विरोधीहरुले गतिलो अस्त्रका रुपमा लिए तर प्रकारान्तमा त्यो काम लागेन र त्यसले जटिलतालाई झन् थप्ने काम गर्यो । ओलीलाई माधव प्रचण्डले अध्यक्ष र संसदीय दलको नेताबाट मात्र हटाएको घोषणा गरेनन् माघ १२ गते पार्टीको साधारण सदस्यताबाटै हटाए ।
गतवर्ष चुच्चे नक्शालाई संसदबाट अनुमोदन गरिएपछि नेकपाभित्र विस्तारै चल्दैआएको विवादको आगो सतहमा नै देखिन थाल्यो । प्रधानमंत्री ओलीले भारतले आफ्नो सरकार ढाल्ने प्रयास गरेको र त्यसमा आफ्नै पार्टीका नेताहरु गोटी बनेको आरोप लगाए । नेपालमा भारत विरोधमा राजनीति गर्न सजिलो छ । किनभने भारतले विगतमा नेपालमा गर्दैआएका कृयाकलपले नेपाली जनमानसको ठूलो हिस्साले भारतप्रति अविश्वास गर्दै आएको छ । ओेलीको अधिल्लो प्रधानमंत्रीत्वकालमा भारतले लगाएको नाकाबन्दीलाई उचित ढंगले सामना गरेर ओलीले महाकली संधीताका भारत परस्त भनेर आफुमाथि लगाउने गरिएको कलंक मात्र मेटेनन् आवश्यक पर्दा भारतसंग नझुक्ने नेताको नेताको छवि बनाएर लोकप्रियता कमाएका । तर, उनलाई त्यसबेला आफ्नै सरकारमा रहेको माओवादी केन्द्रले समर्थन फिर्ता लिएर २०७३ सालमा राजिनामा दिन वाध्य बनायो । जुन भारतको प्रयासमा भएको प्रष्टै देखिन्थ्यो । यसले गर्दा जनमानसमा ओलीप्रतिको सहानुभूति झन् बढेर गयो । यो विगतले पनि पर्दा पछाडि ओली हटाउन दिल्ली सक्रिय छ भन्ने शंका मौलाउन नसक्ने थिएन । यद्यपि विगतमा जस्तो सरकार हटाउन भारतीय हस्तक्षेप सतहमा देखिएन । तर, नेपालसंगको संबन्धलाई राजनीतिक तहमा भन्दा खुफिया एजेन्सी मार्फत व्यवस्थापन गर्ने रुची देखाउःँदै आएको भारतका कारण शंका कायमै रहेको देखिन्छ । अहिले पनि नक्शा प्रकरणले भारत नेपालप्रति क्रुद्ध नै थियो । बाहिरबाट हेर्दा पनि नेकपाभित्रको झगडा यसैबेला चर्किनुलाई शंकाको घेराभित्र राख्न नसकिने अवस्था थिएन । ओलीको यो आरोपको तोड प्रचण्ड माधवले ओलीलाई नक्शा सार्वजनिक गर्न आफुहरुले दवाव दिएपछि मात्र संभव भएको र यसै मुद्दामा लामो समयसम्म भारत संवादमा आउन नचाहेको अवस्थामा रअका प्रमुख शामन्त गोयलको काठमाण्डौमा भएको भेटलालाई ओली भारत परस्त भएको प्रचार गर्ने अस्त्रको रुपमा लिए । भर्खरै केही मिडियामा गोयल र ओलीबिच भएको सम्झौता भन्दै दुवैको हस्ताक्षर सहितको पत्र सार्वजनिक भएको थियो । जसमा ओलीलाई भारतले सघाउने, लिपुलेक लिम्पियाधुरा विवाद उच्चस्तरमा छलफल नभएसम्म थप केही नगर्ने सहितका अन्य दुई बुँदा समावेश थिए । तर,उक्त सम्झौता प्रकाशित गर्ने मिडियाले नै भूल भएको भन्दै माफीनामा प्रकाशित गर्दै आफ्नो साईटबाट हटाएका थिए ।
महाकाली संधीलाई पर्टीभित्र ठूलो विरोधका बावजूद एमालेको तर्फबाट पारित गर्न कम्मर कस्ने नेता माधव नेपाल नै थिए । यस मामिलामा उनका मुख्य सहयोगी केपी ओली थिए । यो प्रकरणले एमालेको विभाजन समेत भयो । यो विभाजनले नेपालको कम्युनिष्ट आन्दोलनलाई नै ठुलो क्षती भएको थियो । माधवको नेतृत्व छँदा महाकाली सन्धी गराउन, माओवादीको हत्या हिंसा र जातिवादी विताण्डा रोक्ने जस्ता मुख्य मुद्दाहरुमा ओलीले भरपुर सहयोग गरेको देखिन्थ्यो तर माधव ओलीको नेतृत्व मान्न किन तैयार छैनन् भन्ने कुरा बाहिरका भन्दा उनिहरुका निकटस्थहरुलाई नै थाहा होला । दुवै नेताहरुका हठ र पूर्वाग्रहले पारेका गम्भिर घाउहरुले बलियो र अनुशासित मानिएको एमाले पिडित र कमजोर बन्न पुगेको छ । माधव नेपाल ओलीको एमालेले आफुहरुमाथि गरेको कार्रवाहीको प्रतिवादमा फेरि अदालतमा स्थगन आदेशको माग गर्दै पुगेका छन । त्यसमाथि तत्कालकालागि स्थगन आदेश दिन अदालतले अस्वीकार गरिदिएको छ । अदालतले के गर्ने हो हेर्न बाँकी नै छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.