नेटो कमजोर भएको मान्नेहरुको तर्क सत्य सावित नहुन पनि सक्ने
अफगानिस्तानबाट अमेरिकी नेतृत्वको नाटोे सेना दुई दशकपछि थकित भएर फर्किंदा कतिपय कुटनीतिक विष्लेशकहरुले विश्वको सबैभन्दा शक्तिशाली सैन्य गठबन्धन नाटो अब कमजोर हुँदै जाने हो कि भन्ने अनुमान लगाउन शुरु गरेका थिए । अप्रत्यशित आर्थिक वृद्धि तथा त्यसको आडमा चीनको विश्वमा फैलिने महत्वकाँक्षी चरित्र र कोविद महामारीले विश्व अर्थतन्त्रमा पारेको नकारात्मक असरलाई मध्यनजर गर्दै यस्तो आँकलन शुरु भएको थियो । पछिल्लो समय रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि नेटोका सदस्य देशहरुका धाकधम्की र विवशता भरिएका कतिपय परस्पर बाझिने अभिव्यक्तिहरुले पनि नेटो साँच्चै कमजोर भएको हो कि जस्तो देखिंदै पनि छ । तर, अहिले नै यो निष्कर्शमा पुगिहाल्नु हतारो हुन सक्ने संभावना भने उतिकै छ ।
नेटो अर्थात् उत्तर अटलान्टिक सन्धि संगठन अमेरिकाको सुरक्षा रणनीतिमा संलग्न देशहरुको साझ सैनिक गठबन्धन हो । यसको स्थापना शीतयुद्धकालमा अर्को महाशक्ति सोवियतसंघको सैनिक प्रतिकारका लागि समानान्तर रुपमा भएको थियो । यसको स्थापना सन् १९४९ अप्रैल ४मा अमेरिकाको वाशिङटनमा भएको थियो । यसको मुख्यालय बेल्जियमको ब्रसेल्समा छ । हाल यसका महासचिव जेम्स स्टोलनवर्ग छन् । यसको समानातरमा सन् १९५५मा सोवियतसंघ नेतृत्वको वर्सा प्याक्ट पनि अस्तित्वमा आयो ।
सन् १९५०देखि ५३ सम्म चलेको कोरियाली युद्धपछि भने नेटोले पूर्ण सैनिक गठबन्धनको आकार लिन पुग्यो । यसका संस्थापक सदस्यहरुमा अमेरिका, बेलायत, नेदरल्याण्ड, फ्राँस, नर्वे, ईटाली, नर्बे, क्यानडा, डेन्मार्क, बेल्जियम, पोर्चुगल, आईसलैण्ड र लक्जेम्वर्ग थिए । सन् १९५२ ग्रीस र टर्की यसमा जोडिए । हाल यसमा ३० सदस्य राष्ट्रहरु छन् । फ्राँस १९६६मा नेटोको सैन्य कमाण्डबाट बाहिरिएको थियो भने सन् २००९मा फेरि संलग्न भयो क। पचिम जर्मनी सन् १९५५मा नेटोको सदस्य बनेको थियो भने स्पेन सन् १९८२ मा सदस्य बनेको थियो । माथि उल्लेख गरिएका बाहेकका नेटोका नयाँ सदस्यमा सोवियतसंघको पतनपछि र वर्सा प्याक्ट भनिने सोवियतसंघको सैन्य तथा अर्थिक गठबन्धनमा रहेका देशहरु र सन् १९९१मा सोवियतसंघ खण्डित भएर अस्तित्वमा आएका देशहरु रहेका देशहरु छन् । नेटो सन्धिको पाँचौं बुँदामा युरोप र उत्तर अमेरिकाका कुनै पनि एक वा एक भन्दा बढी सदस्य देशहरुमा आक्रमण भएमा त्यसलाई सबैमाथि भएको आक्रमण मानिने छ र नेटो मार्फत संयुक्त प्रतिकार गरिने उल्लेख छ ।
सोवियतसंघको पतनपछिको एक ध्रुर्वीय विश्वको महाशक्ति अमेरिका बन्न पुग्यो जसमा नेटोको महत्वपूर्ण भूमिका रहँदै आएको छ । शीतयुद्ध कालमा सैन्य अभ्यास बाहेक नेटोको कुनै उल्लेखनिय सैन्य कार्यवाही भएको देखिंदैन । यस्तो हुनुमा समानान्तर महाशक्ति सोवियतसंघको अस्तित्वले उत्पन्न गरेको शक्ति संतुलन मुख्य कारक थियो । सन् १९९२ देखि २००४ सम्म वोस्निया हर्जगोविनामा को सैन्य कारवाही नै नेटोको पहिलो मान्न सकिन्छ । त्यसपछि सुरक्षा आतंकवाद प्रजातन्त्रका नाममा अमेरिकी नीति अनुरुप नै नेटो गठबन्धन क्रियाशील रहँदै आएको छ । यो गठबन्धनले सदस्यहरु मध्ये सबैभन्दा बलशाली विश्वको एकमात्र महाशक्ति अमेरिकाको विदेश नीतिलाई सामरिक हिसाबले सघाऊँदै आएको देखिन्छ ।
यहि मार्च २४ मा युक्रेनमाथि रुसले गरेको सैन्य आक्रमणसंगै युक्रेनको पक्षधरतालाई लिएर नेटो एक पटक फेरि चर्चामा छ । चीनको आर्थिक सफलता र सोवियतसंघको विरासतमा देखिएको सामरिक रुपमा अमेरिकापछिको दोस्रो शक्ति रुसबीच बढ्दो निकटताले अमेरिकालाई तनाव हुनु स्वभाविक देखिन्छ । युक्रेनमा पनि यो तनावले काम गरिरहेको छ । युक्रेनमा आफ्नो प्रभाव विस्तार गर्दै रुसलाई कमजोर पार्ने अमेरिकी रणनीति विफल पार्न रुसले अन्य विकल्पहरु छोडेर गरेको बर्बर आक्रमण झनै निन्दनीय छ । शीतयुद्धकालमा अर्थिक सम्बन्धहरु पनि पक्षधरताका आधारमा हुने गरेकोले ठुलो समस्या थिएन तर त्यसपछि भने आर्थिक सम्बन्धले पक्षधरताको पर्खाललाई नाघेको छ । युक्रेन रुस युद्धमा यसको प्रभाव देखिएको छ ।
अमेरिकाले रुसमाथि नेटो गठबन्धनलाई विभाजित गर्न षड्यन्त्र गरिरहेको आरोप लगाऊँदै आएको छ । नेटोका सदस्य जर्मनी र फ्राँस अमेरिका र बेलायत झैं रुस विरुद्ध कडा रवैयामा देखिएका छैनन् बरु मस्कोसंग युक्रेनको समस्यलाई लिएर सकेसम्म युद्ध विराम गराउने प्रयासमा नै छन् । अमेरिकाले भने झैं तत्काल रुस विरुद्ध पूर्ण व्यापारिक प्रतिबन्ध लगाउने पक्षमा उनिहरु देखिंदैनन् । यसको मुख्य कारण उनिहरुको रुससंगको खनिज ईन्धनमा निर्भरता नै हो । जर्मनीले रुससंग ईन्धन आयत बन्द गर्ने हो भने देशको अर्थतन्त्र बरबाद हुने र गरिबी बढ्ने बताईरहेको छ । युक्रेनका राष्ट्रपति जिलेनेस्कीले जर्मनीको इतिहास स्मरण गराऊँदै उसको भावपूर्ण आलोचना गरेका छन् । अर्को नेटो सदस्य टर्कीले पनि अमेरिकाको अनुसरण गरेको देखिंदैन । टर्कीले पनि रुस र युक्रेनबीच मध्यस्तता गर्ने प्रयास गर्दै आएको छ । उसले रुसी र युक्रेनी विदेशमंत्रीहरुको अनौपचारिक भएपनि आफ्नो देशमा उच्चस्तरको वार्ता गराईसकेको छ ।
नेटोका नाईकेहरुले युक्रेनलाई हरहालतमा सहयोग गर्ने विश्वास जगाएर कठिन अवस्थामा ल्याएर छोड्ने कार्य गरेका छन् । युक्रेनलाई हातहतियारले सहयोग अमेरिका जर्मनी र टर्कीले गरे तर युद्ध झन् चर्किने भयले युक्रेनले विश्वास लिए अनुसार नेटो मोर्चामा रुस विरुद्ध लड्न आएन । पोल्याण्ड, चेक गणराज्य र स्लोभानियाका प्रधानमंत्रीहरु रेलमार्गबाट युक्रेन पुगेर जिलेनेस्कीलाई भेटेका छन् । नेटोले पूर्वी युरोपमा आफ्ना १० हजार सेना तयारी हालतमा राखेको छ । यसको अर्थ रुसले सदस्यराष्ट्रहरुमा आक्रमण गरे प्रत्याक्रमण गर्ने योजना हो ।
समग्रमा हेर्दा युक्रेन समस्यामा युद्ध लम्बिदै जाँदा कसको भूमिका कस्तो हुने हो भन्न सकिन्न । जे भए पनि अफगानिस्तान र युक्रेनमा हालसम्म देखिएका घटनाहरुले नेटो कमजोर भएको मान्नेहरुको तर्कलाई तत्काल बल पुर्याएको देखिन्छ तर यो नै सत्य सावित नहुन सक्ने संभावनाका ढोकाहरु खुलै छन् ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.