गोर्खा भर्ती र त्यससंग गाँसिएको प्रश्न
भारतले १४जुन २०२२मा सेना भर्तीमा अग्निपथ योजना शुरु गर्ने घोषणा गरेपछि भारतमा त्यसका विरुद्ध ठुलै असंतोष देखियो । अग्निपथ योजना अनुशार शुरुमा युवाहरुलाई सेनामा चारवर्षकालागि भर्ती गरिने र चारवर्ष सेवापछि ती मध्ये २५ प्रतिशतलाई मात्र स्थाई सेनामा छनौट गरिने तथा अरुलाई झण्डै १२ लाख रुपैया एकमुष्ट र प्रमाणपत्र दिएर विदा गरिने छ । यसरी अवकाश पाउनेहरुले पेन्सन पाउने छैनन् । शुरुमा तीव्र विरोधका बावजुद पनि सरकारले योजनालाई लागु गरेको छ । भारतमा यसलाई कतिपयले सोच विचार नगरिकन ल्याईएको र यसले समग्र सैन्य व्यवस्थामा नकारात्मक असर पार्ने भन्दै आलोचना पनि गरेका छन् ।
सरकारका तर्फबाट यो योजना अपेक्षाकृत सानो संख्याको आधुनिक प्रविधि सज्जित अझ शक्तिशाली सेना बनाउने उद्देश्यले ल्याईएको बताईएको छ । भारत चीनपछि विश्वको दोस्रो ठुलो सैनिक संख्या रहेको देश हो । अग्निपथ योजनाबाट १३ लाख सैनिकहरु रहेको भारतीय सेनालाई आगामि १० वर्षमा ११लाख भन्दा तल झार्ने लक्ष्य भारत सरकारले राखेको छ । यसले वर्षेनी पेन्सनमा भैरहेको ठुलो खर्चमा केही कटौती हुने आशा राखिएको छ ।
हाल भारतको गोर्खा सेनामा ३५ देखि ४० हजारको संख्यामा नेपाली युवाहरु कार्यरत छन् । भारतले गोर्खा भर्तीमा पनि यो योजना लागु हुने जनाएको छ । अहिलेसम्म नियमित रुपमा नेपालबाट युवाहरुलाई भर्ती गरेर भारतीय र बृटिस सेनामा लैजाने प्रचलन रहिआएको छ । यो योजनाको एकपक्षीय घोषणाले नेपालबाट भारतको गोर्खा भर्तीमा जानेहरुमा कस्तो पर्ने हो भन्ने नेपालमा असमन्जस्यता कायम छ । झण्डै साढे दुईसय वर्ष अघिदेखि भारतमा तत्कालिन ईष्ट ईण्डिया कम्पनीले सेनामा नेपाली युवकहरुलाई सैनिकको रुपमा भर्ती गर्न शुरु गरेको इतिहास छ । नेपालमा भारतीय गोर्खा सेनाकालागि हुने भर्ती बारे नेपाल सरकारले कुनै ठोस प्रतिकृया नदिएपछि यो वर्ष भर्ती प्रकृया स्थगित गरिएको छ । वर्तमान सरकारले यसको निर्णय आगामि चुनावपछि आउने नयाँ सरकारले गर्ने जनाएको छ । भारतीय सेना प्रमुखले नेपालले समयमा निर्णय नलिएमा नेपालको कोटा यो वर्षकालागि अन्यत्र थपिने भन्दै दबावमुलक वक्तव्य दिएका छन् ।
नेपाली युवाहरु भारतको सेनामा भर्ती गरिने परम्परामा भारतले नेपालसंग परार्मश नगरिकन गरेको नयाँ व्यवस्थाले नेपालमा तरंग उत्पन्न गर्नु अस्वभाविक थिएन । सन् १८१६को सुगौली सन्धीको सेरोफेरोमा नेपालीहरुलाई भारतको सेनामा भर्ती गर्ने प्रचलन अंग्रेजहरुले शुरु गरेका थिए । भारत स्वतन्त्र भएको तीन महिनापछि अर्थात् ९ नोभेम्वर १९४७मा भारत बेलायत र नेपालबीच गोर्खा भर्तीबारे त्रिपक्षीय सम्झौता भएको थियो । अंग्रेजहरुले भारत छोडेर जाँदा आफुसंग गोर्खाली सेना पनि लैजान चाहेका थिए । भारतले पनि गोर्खा सेनाको आवश्यकता महसुस गरेको थियो ।
अंग्रेजहरुले शुरु गरेको सेनामा गोर्खा भर्तीले भारत स्वतन्त्र हुने भएपछि निरन्तरता पाउने कि नपाउने वा कसरी व्यवस्थापन गर्ने भन्ने मोडमा आईपुगेको थियो । अन्ततः बृटेन र भारत दुवै देशले निरन्तरता दिनुपर्ने महशुस गरेपछि नेपालसंग सन्धीकालागि परामर्श थालेका थिए । नेपालले आफ्ना युवाहरु भाडाका सैनिकका रुपमा प्रयोग हुनसक्ने गभिर चिन्ता जाहेर गरेको थियो । बृटेन र भारतले त्यसो नहुने र आफ्ना सेनाहरु सरह नै सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेपछि केही शर्तहरु सहित संन्धि भएको थियो । यस सम्बन्धमा भारतमा अंग्रेज शासनको अन्त हुनुभन्दा केही महिना अगावै नेपालसंग परामर्श थालिएको थियो । अहिले भने भारतले गोर्खा सेनाका सम्बन्धमा प्रभाव पर्ने कदम उठाउँदा नेपालसंग आवश्यक सहमती खोजेको देखिंदैन । अहिलेसम्म बृटीस वा भारतीय सेनामा नेपाली युवाहरुको औपचाारिक वैधता सन् १९४७ को त्रिपक्षीय संधीबाट नै निर्देशित छ । अंग्रेजहरुले भारत छोड्दा दश गोर्खा रेजिमेन्टहरु मध्ये दोस्रो, छैटौं, सातौं र दशौं आफुसंगै लगेका थिए भने पहिलो,तेस्रो, चौथो, पाँचौं, आठौं र नवौं रेजिमेन्टहरु भारतमा नै रहे ।
भारत र बेलायतलाई गोर्खा लडाकाहरुको सन् १९४७ पछि पनि आवश्यक थियो । भारत भर्खरै विभाजित भएको थियो । भारतमा अझै केही साना राज्यहरुको अस्तित्व रहने हुनाले र साम्प्रदायिक तनावको सम्भावना कायम रहेको हुनाले बलियो र विश्वासनीय मानिएको गोर्खा सेना आवश्यक थियो । बेलायतलाई बचेका आफ्ना उपनिवेश र प्रभावमा भएका देशहरुलार्ई पकडमा राख्न गोर्खा सेना चाहिएको थियो ।
त्रिपक्षीय सन्धिको पालनाका सन्दर्भहरु पनि निर्विवाद छैनन् । गोर्खा सेनालाई हिन्दु र निशस्त्रहरु विरुद्ध प्रयोग गर्न नपाईने उल्लेख भएपनि श्रीलंकामा हिन्दु तमील विदो्रही विरुद्ध भारतले गोर्खा सैनिकहरुको प्रयोग गरेको थियो । जुलाई २, १९८९मा नेपालको राष्ट्रिय पन्चायतमा सदस्यहरुले यो कुरा उठाएका थिए । भारत सरकारले ७ जुलाईमा वक्तव्य दिएर गोर्खा सेना तमीलहरुलाई बचाउन शान्ति वहाल गर्ने प्रयासमा गएको बताएको थियो यो प्रकरणलाई कुनै पनि साम्प्रदायिक दृष्टिबाट नहेर्न नेपाललाई आग्रह गरेको थियो । शुरुमा श्रीलंकामा शान्ति सेनाका रुपमा भारतीय सेनालाई लगिएको भएपनि दोस्रो चरणमा तमीलहरुको सम्बन्ध पाकिस्तानका उग्रवादीहरुसंग रहेको सुचना पाएपछि तमील विरुद्ध भारतीय सेनाको भिडन्त शुरु भएको थियो । त्यो भिडन्तमा गोर्खाहरुलाई पनि प्रयोग गरिएको थियो । जुलाई ९मा नेपालका तत्कालीन प्रधानमंत्री मरीचमान सिंहले समस्याहरुलाई वार्ताबाट सुल्झाउनुपर्ने भन्दै भारतीय सेना श्रीलंकाबाट फर्किन पर्ने भन्दै वक्तव्य निकालेका थिए ।
नेपालको छिमेकका पाकिस्तान र चीनसंग नेपालको मित्रतापूर्ण सम्बन्ध छ । ती छिमेकीहरु विरुद्ध नेपाली युवाहरु भारतका तर्फबाट युद्धको अघिल्लो मोर्चामा कैयौं पटक लडेका छन् । यो नेपालको परराष्ट्र नीतिसंग मेल नखाने देखिन्छ । नेपालले आफ्नो परराष्ट्र नीतिमा दाहोेर्याउँदै आएको आफ्नो भूमि छिमेकीहरुका विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता धरापमा पर्दै आएको देखिन्छ । आफ्नो जनशक्ति नै अर्को छिमेकी विरुद्ध प्रयोग गर्ने प्रावधान कायम राख्ने कुरा मिल्दो देखिंदैन ।
बेलायतले पनि सन् १९८२ मा अर्जेन्टिना विरुद्ध आफ्ना गोर्खा सैनिकहरुको प्रयोग गरेर फोकल्याण्डमाथि विजय प्राप्त गर्यो । ४७ दिनसम्म चलेको त्यो युद्धमा उसले गोर्खालीहरुलाई शत्रुलाई मारेर तिनको मासु खाने नरभक्षी हुन् भनेर भ्रामक दुष्प्रचार गर्यो । कठै बरा ! शान्तिप्रिय सोझा नेपालीहरुमाथि आरोपित यो अमानवीय आक्षेपको निन्दा मात्र गरेर पुग्दैन । मलायाका जंगलहरुमा त्यहाँका छापामारहरु विरुद्ध गोर्खा सैनिकहरुको प्रयोग गर्यो । त्यहाँका विद्रोहीहरुले माईकबाट “तिमीहरुसंग हाम्रो कुनै शत्रुता छैन, तिमी हामी शोषित छौं” भन्दै परबाट आह्वान गर्थे । भारतमा नागा विद्रोहलाई दमन गर्न जाँदा नागाहरुले माईकबाट गोर्खा जवानहरुलाई यस्तै आह्वान गरेको सेना छोडेर राजनीति गर्न थालेका गोर्खाल्याण्डका नेता स्व. सुवास घीसिङले उल्लेख गरेका थिए । बेलायती सेनामा रहेका गोर्खाहरुप्रति ४७को सन्धि पश्चात पनि लामो समयसम्म वेतन पेन्सन जस्ता आधारभूत विषयहरुमा विभेद भैरह्यो । त्यसकालागि पूर्व सैनिकहरुले लामो संघर्ष गर्नु पर्यो । पहिलो र दोस्रो विश्वयुद्धमा लगिएका नेपाली युवाहरुको बहादुरीको गाथा अंग्रेजहरुले गाए पनि लडाईको मैदानमा नेपालीहरुले पाएको दुःख, ती मध्ये बेपत्ता भएका नेपाल आमाका सन्तानको बारेमा अझै भयानक कथाहरु अनुद्घाटित नै छन् । त्यसैले गोर्खा भर्तीलाई राष्ट्रिय आवश्यकता भन्दा राष्ट्रिय कलंक भन्ने गरिएको पनि छ ।
नेपालका वामपंथीहरुले शुरुदेखि नै गोर्खा भर्तीलाई राष्ट्रिय कलंकका रुपमा विरोध गर्दै आएका थिए । पंचायतको पतनपछि भने उनिहरुले यसका विरोधमा कडा विरोध गर्न छोडेको देखिन्छ । हरेक दृष्टिले आत्मनिर्भर हुन नसकेको नेपालले आफ्ना युवाहरुलाई देशभित्रै उचित व्यवस्था गर्न नसकेका कारणले पनि गोर्खाभर्तीले निरन्तरता पाऊँदै गयो । एमालेको ओली नेतृत्वका पालामा सन् १९४७को त्रिपक्षीय सन्धी असान्दर्भिक भएको भन्दै बृटेन समक्ष कुरा राखिएको थियो तर बृटेनले बेवास्ता गर्यो ।
नेपाल जस्तो रोजगारीका यथोचित अवसरहरु सृजना गर्न नसकेको देशमा भर्तीकेन्द्रबाट रोजगारी सृजना भएको मान्नेहरुको संख्या पनि नेपालमा छ । सतहबाट हेर्दा यो ठिकै जस्तो लागे पनि गोर्खाभर्तीको इतिहास नेपालको अस्मिता र स्वभिमानलाई ठेस लाग्ने खालको छ । अंग्रेजहरुले भारतमा आफ्नो उपनिवेश टिकाउन र विश्वयुद्धहरुमा आफ्नो साम्राज्यलाई विजयी बनाउन गोरखा सैनिकका रुपमा नेपाली युवाहरुको प्रयोग गरे र गरिरहेका छन् । यो क्रम कहिलेसम्म चल्ने हो र नेपालीले कलंकको भारी बोकिरहन पर्ने हो थाहा छैन ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.