देशलाई बदल्न चुनावमा सचेत जनमतको विकल्प छैन

  

नेपाली राजनीति यतिबेला औसरवाद र अराजकतावाद जस्ता रोगहरुबाट नराम्रोसंग ग्रसित छ । त्यसै  गोलचक्करमा झण्डै दुई दशकदेखि नेपाली राजनीति निरन्तर घुमिरहेको छ । यसको पछिल्लो कडी बढी सकसपूर्ण देखिन्छ । यो धारावाहिक गोलचक्करको जरो नेपालको सिमाभित्र मात्र सिमित छैन । यसका मुख्यअड्डाहरु सिमा बाहिरै छन् , भित्र रहस्यमय नाटकहरु मंचन भैरहेका छन् । सुन्दा अप्रितिकर लागे पनि यथार्य यहि नै हो । विगतदेखि राजनीतिमा देखिएका अप्रिय घटनालाई क्रमैसंग सम्झने हो भने त्यो कुरा सहजै अनुभव गर्न सकिन्छ । यसले राजनीतिलाई धेरै पटक भूमरीहरुका फसाईसकेको छ  र सम्भवतः लामो समयसम्म फसाईरहने छ । यो कुरालाई बुझ्ने सचेत जनताले चुनावमा आफ्नो अभिमत जाहेर गर्ने छन् भन्ने कुरा लोकतन्त्रमा विश्वास गरिने कुरा हो ।

इतिहासलाई फर्केर हेर्न सक्ने र त्यसबाट सिक्दै सुखद भविष्यको यात्रा तय गर्नेहरुको नेपाली राजनीतिमा लगभग खडेरी परेको जस्तो देखिन्छ । जतिसुकै राजनीतिका नाममा क्रान्ति गरेको भने पनि देश छयालिस सालको अवस्था भन्दा एक पाईला अगाडि बढेको देखिंदैन बरु कतिपय मामिलामा अझै पछाडि धकेलिएको प्रतित हुन्छ ।

 देखाउनका लागि देशमा विकासै नभएको होईन तर त्यो विकासले नेपालको जग बलियो होईन कमजोर बनाएको छ । बितेका तीस वर्षमा देशको अर्थतन्त्र उत्पादनमुखि नभएर पुरै उपभोक्तामुखि भएको छ । आफु उत्पादन नगर्ने विदेशबाट किनेर ल्याउने र उपयोग गर्ने बजारमा परिणत भएको छ देश । विदेशबाट आयात गरिने समानमा लगाएको कर र युवाहरुले विदेशबाट कमाएर पठाएको रिमिटेन्सले विदेशबाट सामान किन्ने चक्रमा मात्रै सिमित छ नेपाली अर्थतन्त्र ।

 निरंकुश भनिएको समयमा मित्र राष्ट्रहरुले नेपाल उत्पादनको क्षेत्रमा अगाडि बढोस भनेर बनाईदिएका कलकारखानाहरु समेत् कौडीको मोलमा बेचेर देशलाई उत्पादनशील युगमा प्रवेश गर्नबाट रोकेर आर्थिक उन्नतितिर जान कसलाई खुशी पार्न रोकियो ?  आर्थिक रुपमा परनिर्भर हुन पुगेको नेपाल आर्थिक रुपमा अहिले पीद नभएको लोटा जस्तै छ र राजनीतिको अवस्था त झन् खस्किएको छ । यसरी नेपालले अहिले इतिहासमा नभोगेको जोखिम ब्यर्होदै छ । समग्रमा भन्ने हो भने अहिले नेपालको अस्तित्व नै खतरामा छ । देशै नरहने हो भने लोकतन्त्र र संविधान रक्षाको अर्थ नै के रहला ? यतातिर सोच्ने ल्याकत धेरैमा भए जस्तो लाग्दैन ।

चुनावमा नेपाली जनताले ती सबैलाई ठेगाना लगाई दिनेछन् भन्ने आशा लोकतन्त्रमा विश्वास गरिने कुरा हुन । तत्काललाई यो भन्दा अर्को विकल्प पनि छैन । सामाजिक संजालमा आउने अनर्गल सुचनाले प्रभावित मानसिकताले यत्रो गम्भिर विषयको उचित छिनोफानो गर्ला विवेक सम्मत अभिमत जाहेर गर्नबाट दिग्भ्रमित नपार्ला भन्न सकिंदैन । त्यसमाथि जनतामाथि आर्थिक प्रलोभन धाक धम्कीको प्रयोग गरेर प्रभावमा राख्ने अनौठो लोकतन्त्रले जनमतलाई उचित ढंगले प्रयोग हुन देला भन्ने कुरामा शंसय नै छ । आमरुपमा सकारात्मक कुरालाई वेवास्ता गर्ने,  नकारात्मक कुरालाई अझै कुरुप बनाएर प्रस्तुत गर्ने र हिजोलाई विर्सने आज र अहिलेलाई मात्र पच्छ्याउने मनोविज्ञानले एउटा तप्कालाई ग्रसित बनाएको देखिंदै छ । हरेक कुरालाई एकात्मक भन्दा खण्ड खण्ड पार्न रुचाउने अर्को डरलाग्दो प्रवृति पनि विगतदेखि नै संगसंगै देखिंदै आएको हो । यस्तो जटीलताभित्रबाट सचेत जनमत कसरी प्रकट हुने हो भन्न गाह्रो छ ।

 यो गम्भिर अवस्थाको चिन्ताले नजिकै आईरहेको चुनाव अगाडि त्यति स्थान पाएको  देखिंदैन । वैकल्पिक रुपमा उदाई रहेका शक्तिहरुमा पनि उत्तेजनात्मक र क्षुद्र आलोचना बाहेक सौम्यता, शिष्टता र सृजनशीलता कतै भेटिंदैन । नेपाल जस्ता देशहरुमा हुने हरेक जसो उथलपुथलहरुमा आन्तरिक भन्दा बाह्य कारणहरु निर्णयक हुने गर्दछन् । त्यसैले यस्ता देशहरुमा चुनाव जित्न सजिलो भए पनि नेता बन्न सजिलो छैन । बाहिरी शक्तिहरुलाई चतुर्याई पूर्वक संतुलनमा राख्दै देशलाई अगाडि बढाउने नेतृत्व नेपाल जस्ता देशहरुमा आवश्यक छ । अन्यथा बाहिरीयाहरु कै स्वार्थ समुहका सेवकका रुपमा राजनीतिक झुण्डहरु प्रयोग भैरहने दुखद अबस्था बन्दछ र उनिहरुबाट देशको कहिल्यै भलो हँुदैन । अहिले नेपालको अवस्था पनि त्यही नै हो । यस तथ्यलाई विचार गर्दै उचित जनमत अभिव्यक्त होस र देशले तुवाँलोको युगबाट मुक्ति पाओस् ।

              

     



टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष