अग्रगमनकारी गठबन्धनको धोकाधडीपूर्ण अवसान !



काँग्रेसले आफ्नो माग मान्न आनाकानी गरेपछि काँग्रेस नेतृत्वको अग्रगमनकालागि गरिएको भनिएको झण्डै डेढवर्षदेखि चल्दै आएको गठबन्धनप्रति निराश भएर प्रचण्ड बालकोटको शरणमा पुगे । प्रचण्ड र बालकोटबीच पछिल्ला दुई वर्षमा देखिएको घातप्रतिघात र आगोपानी बाराबारबीच प्रचण्डको बालकोट पुग्नु प्रचण्डकालागि उनका प्रवृतिका हिसाबले अस्वभाविक नभए पनि देख्ने सुन्नेकालागि भने तत्काल अच्चम्म लाग्दो थियो ।

   बालकोटले उनलाई प्रधानमंत्रीमा तथास्तु गरिदिएपछि राजनीतिमा कोही स्थाई शत्रु र मित्र हँुदैन भन्ने तर्क सबैतिर सुनिन थालेको छ । यो झम्के तर्कले आगामि दिनमा विगतका कमजोरीहरुप्रति आत्मालोचना गर्दै सुधारिएर जाने बाटोलाई बन्द गर्दै तुच्छ स्वार्थका आधारमा जहिले जे पनि गर्दा हुने कुरालाई अनुमोदन गर्ने प्रयास गरेको देखिन्छ । यस्तो तर्कले विगतका दुष्कार्यहरुप्रति पश्चाताप नगर्ने प्रवृतिले देशको राजनीतिक भविष्यलाई झनै भयावह बनाउने  संभावनालाई जिवितै छोडेको छ । 

मंसीर ८ गतेकोे चुनावको नतीजा आईसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको नयाँ सरकार बनाउन दावी पेश गर्ने अन्तिम समय पौष १० गते देखिएको राजनीतिक सरगर्मीले नेपालको राजनीतिमा फेरि अर्को पटक आकस्मिक परिणाम दिएको छ । आईतवार मध्यान्हसम्म बालुवाटारमा विगतको एमालेको ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न बनेको गठबन्धनका घटकहरुबीच नयाँ सरकार कसको नेतृत्वमा बनाउने पदहरु कसरी वितरण गर्ने  भन्ने कसरत घनीभूत रुपमा चलिरहेको थियो । नेपाली काँग्रेस संसदमा ठुलो दल भएको हुनाले पहिलो आधा कार्यकाल आफ्नो नेतृत्वमा हुनुपर्ने र महत्वपूर्ण पदहरु पनि आफुले पाउनु पर्ने अडानमा थियो । ओली सरकार ढाल्न महत्वपूर्ण भूमिका खेलेर सरकारको नेतृत्व देउवाले गर्ने वातावरण बनाउन आफुहरुले काँग्रेसलाई गुन लगाईसकेकोेले अबको पहिलो आधा कार्यकाल गठबन्धनको तर्फबाट आफु प्रधानमंत्री बन्न पाउनु पर्ने अडान प्रचण्डको थियो । उक्त अभियानमा एमाले विभाजन गराएर सहयोग पुर्याएको माधव नेपालको नेतृत्वमा बनेको नेकपा एस चुनावमा राष्ट्रिय पार्टी बन्न नसकेको भएपनि प्रचण्ड र देउवाको खचपचबीच प्रधानमंत्री पदमा माधव नेपालको सहमती बन्ला कि भन्ने आशमा थियो । त्यसो हुन नसके पनि राष्ट्रपति पद नेकपा एसका माधव वा झलनाथ मध्ये एकको भागमा पर्ने कुरामा उनिहरु ढुक्क थिए ।    

पद बाँडफाँडमा कुरामा अल्झिरहेको बेला सोही दिन अपरान्हपछि त्यो सकसलाई निस्तेज पार्ने गरी अप्रत्यशित रुपमा बालुवाटार बाहिर खमलटारदेखि बालकोटसम्म हवाको अर्को लहर चल्न थाल्यो । काँग्रेसका नेताहरुका पछिल्ला अभिव्यक्ति सुन्दा बालुवाटार बाहिर चल्न थालेको हवाको नयाँ चालको काँग्रेसले सुईकोसम्म पाएन वा थाहा पाएर पनि यसलाई प्रचण्डको एमालेलाई देखाएर सत्ता मोलतोल गर्ने थोत्रो हथकण्डाका रुपमा लियो भन्ने देखिन्छ । स्थानीय र संसदीय चुनावमा गठबन्धनबाट मिलेर गएका काँग्रेसका अन्य सहयात्रीहरुले आशा गरेभन्दा निराशाजनक नतिजा हात पारेकोले पनि काँग्रेस अन्ततः उनिहरुलाई आफ्नै अडानमा ल्याउन सकिने विश्वासमा थियो । उनिहरुको दबावलाई कमजोर पार्न काँग्रेसले एमाले बाहेकका शक्तिहरुसंग भेटघाट तीव्र पारेर आफ्नो नेतृत्वमा वामपंथी विहिन सरकार बनाउने छनक पहिल्यै दिएको थियो । काँग्रेसको यो प्रयासले प्रचण्ड र माधवलाई झस्काएको थियो । काँग्रेसको आशय ताजा चुनावले दिएको जनादेशका आधारमा पद बाँडफाँड गरेर गठबन्धन कायम राख्ने थियो । जुन कुरा खास गरी माओवादी र नेकपा एसलाई मान्य थिएन । 

काँग्रेसभित्र चलिरहेको अन्तरसंघर्षलाई गगन थापाको देउवा विरुद्ध संसदीय दलको नेतामा परेको उम्मेदवारीले उत्कर्षमा पुर्याएको थियो । देउवाका नजिककाहरुले पनि संसदको ठुलो दलका हिसाबले पहिलो आधा कार्यकाल प्रधानमन्त्रीको पद नछोड्न उनलाई दबाव दिईरहेका थिए । त्यसैले पनि काँग्रेस आफ्नो अडान छोड्न तयार थिएन ।     

शक्तिका आधारमा निरन्तर खुम्चिंदै गएको माओवादी र भर्खरै बनेको र चुनावमा निराशा भोगेको नेकपा एस काँग्रेसको सहारा लिएर आफु शक्तिमा रहेको देखाउन चाहान्थे । यो उनिहरुको एकमात्र सजिलो विकल्प थियो ।        

 गठबन्धन प्रधानमंत्री पदको कारण नफुट्ने र एमालेले प्रधानमंत्री पद दिए पनि नजाने कामरेड प्रचण्डका भनाईहरु बाहिर सामाजिक संजाल र खबरहरुमा चलिराखेकै थिए । उता बालकोटले पनि गठबन्धन तोड्ने रणनीति अनुशार काँग्रेस समक्ष पहिले नै मिलेर जाने प्रस्ताव लगेको थियो । तर, काँग्रेस ओलीसंग सत्ता सहयात्रा भन्दा गठबन्धनलाई नै निरन्तरता दिंदा फाईदा हुने सोचमा पुगेको थियो ।

अपरान्हबाट बालकोटमा विभिन्न राजनीतिक दलका विभिन्न तहका नेता कार्यकर्ताहरुको चहलपहल बढ्यो । प्रचण्ड लगायतका नेताहरु करीब १.३०  बजे  त्यहाँ पुगिसकेका थिए । बालकोटले गठबन्धन भत्काउन पहिलो साढे दुईवर्ष प्रचण्डलाई प्रधानमंत्री पद दिने अर्को रणनीति अगाडि सार्यो । जसले प्रचण्डलाई  बालकोटप्रति आकर्षित हुन वाध्य पार्यो । प्रचण्ड बालकोट छिरेपछि उनलाई बालुवाटारबाट प्रधानमंत्री दिने प्रस्ताव फोनबाट गयो तर त्यति बेलासम्म समय घर्कीसकेको थियो । यसरी एमालेलाई धराशायी बनाउन चल्दै आएको कथित अग्रगमनकारी मिशनलाई विसर्जन गर्दै संसदको दोस्रो ठुलो दल एमालेको साथ र अन्य दलहरुको समर्थनमा १सय ६९ जना सांसदहरुको समर्थन देखाएर प्रचण्ड राष्ट्रपतिबाट प्रधानमंत्रीको सपथ लिन सफल भए । यो नयाँ घटनाक्रममा प्रचण्डले आफुलाई बलियो साथ दिंदै आएको नेकपा एसलाई भने साथ लिन उपयुक्त ठानेनन् ।

एक बजेसम्म काँग्रेससंग बालुवाटारमा मोलतोलमा रहेका प्रचण्ड एक दुई घण्टाभित्रै बालकोट पुग्नु र सबै दलहरु बालकोटमा एकजुट हुनुले यो नयाँ घटनाक्रमको वैकल्पिक योजनामा केही दिन पहिल्यैदेखि गृहकार्य भैरहेको देखिन्छ । यो गृहकार्यलाई बालकोटले संयोजन गरिरहेको देखिन्छ । 

पौष २६ गते प्रधानमंत्री प्रचण्ंडले संसदमा विश्वासको मत लिने समय नजिकिंदै जाँदा विभिन्न दलहरुका नेताहरुलाई भेट्ने क्रम तीव्र पारेका छन् । समर्थन दिएका दलहरुबीच साझा कार्ययोजना पनि तयार भैसकेको छ ।  तर पनि, उनि आफुलाई समर्थनको प्रतिबद्धता जनाएका दलहरुप्रति नै विश्वास गर्न सक्ने अवस्थामा नरहेको देखाऊँछ । नैतिकताको खडेरी परेको राजनीतिमा यस्तो तरलता देखिंदै आएको छ र विगतमा त्यस प्रवृतीको प्रमुख खेलाडी प्रचण्ड नै बन्दै आएका छन् ।

प्रचण्डलाई आफ्नो शिविरमा रोक्न नसकेर पश्चातापमा परेको काँग्रेस पनि पछिल्ला दिनहरुमा राप्रपालाई प्रधानमंत्री दिएर अरु केही दलहरुको समर्थन लिएर सत्ताको चावी आफ्नो हातमा लिने प्रयास गरिरहेको छ । बालकोटतिर लागेका दलसंग संवाद गरिरहेको छ । रंगीबिरंगी दलहरुलाई बालकोटले जुटाई दिएर प्रधानमंत्री बनेका प्रचण्डलाई विश्वासको मत हासिल गरे पनि सत्ता संचालन गर्न सजिलो भने छैन ।         

       

    


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष