खानापाडाको अविस्मरणीय एउटा दशैं
खानापाडामा गाई पाल्ने नेपालीहरुको बसोबास लगभग अंग्रेजको समयदेखि नै भएको होला भन्ने अनुमान गर्न सकिन्छ । गुवाहाटी शहरलाई प्राचीन समयमा प्रगज्योतिषपुर भनिन्थ्यो । पौराणिककालदेखि नै कामरुपसंग नेपालीहरुको सम्बन्ध देखिएको भएपनि असमबाट बर्मेली मानहरुबाट असमलाई मुक्त गर्न अंग्रेजहरुले १८२४देखि प्रत्याक्रमण शुरु गरेका थिए । यो युद्ध दुई वर्षसम्म चल्यो र १८२६मा याण्डाबुमा मानहरु परास्त भए र सन्धी गरे ।
खानापाडा अर्थात्
असमको गुवाहाटी शहरदेखि झण्डै ११ कि.मी. दुरिमा अवस्थित पूर्वको स्कटल्याण्ड भनेर
चिनिने मेघालय राज्यको राजधानी शिलङ शहर जाने राजमार्गसंग जोडिएको र नेपाली
गौपालकहरुको आबादी रहेको मेघालय राज्यमा पर्ने गाऊँ । मानचित्रमा यो गाऊँ मेघालय
राज्यमा पर्ने भएपनि गुवाहाटी शहरबाट पूर्व २७ नं राष्ट्रीय राजमार्गको दाहिनेतिर
अवस्थित छ । गाऊँ पसेपछि नेपालका गाँउको झल्को मेटाउने खानापाडाको प्रकृतिक बनोट
पनि सुन्दर छ । त्यस क्षेत्रमा नेपाली भाषा संस्कृतिको जगेर्ना गर्न पनि यो गाऊँ
सक्रिय रहँदै आएको छ । गाऊँमा नेपाली माध्यमको एउटा स्कुल पनि छ जसले नेपालीपनलाई
अझै प्रगाढ बनाएको छ ।
सन् १९८१मा भारतमा
अखिल भारत प्रवासी नेपाली संघको स्थापना भएपछि त्यसको प्रवाह गुवाहाटी शिलाङ हुँदै
पहिलो चरणमा नै यो गाऊँमा प्रवेश गर्यो । त्यसबेला असममा विदेशी भगाउने आन्दोलन
उत्कर्षमा थियो । नेपालीहरुमाथि पनि आन्दोलनको त्रास र चर्को प्रशासनिक दमन थियो ।
त्यसका बावजूद पनि खानापाडा आफ्नोपनको संवद्र्धनमा व्यस्त थियो ।
खानापाडामा
नेपालीहरुको बसोबास कहिलेबाट शुरु भयो भन्ने किटानी साथ भन्न गाह्रो छ तर सन् १९६६तिर
दूधको कारोवार गर्ने मेरा सहोदर मामा सदानन्द शर्मा खानापाडामा बस्ने गरेको मैले
थाहा पाएको छु । उहाँको वासस्थानमा गएको सुक्ष्म सम्झना मलाई छ । उहाँले त्यसै समय
वरपर “मनको प्रकाश” नामको
कविता संग्रह प्रकाशित गर्नु भएको थियो । त्यसबेला पनि खानापाडामा गाई
पाल्ने नेपालीहरुको बसोवास थियो । त्यो भन्दा पहिल्यैदेखि खानापाडामा गाई पाल्ने
नेपालीहरुको बसोबास लगभग अंग्रेजको समयदेखि नै भएको होला भन्ने अनुमान गर्न सकिन्छ
। गुवाहाटी शहरलाई प्राचीन समयमा प्रगज्योतिषपुर भनिन्थ्यो । पौराणिककालदेखि नै
कामरुपसंग नेपालीहरुको सम्बन्ध देखिएको भएपनि असमबाट बर्मेली मानहरुबाट असमलाई
मुक्त गर्न अंग्रेजहरुले १८२४देखि प्रत्याक्रमण शुरु गरेका थिए । यो युद्ध दुई
वर्षसम्म चल्यो र १८२६मा याण्डाबुमा मानहरु परास्त भए र सन्धी गरे । अंग्रजी
सेनामा रहेका गोर्खा सैनिकहरु यही क्षेत्रमा बसोबास गरे भन्ने धेरै ग्रन्थहरुमा
उल्लेख भएको पाईन्छ । उतिबेलाको गौहाटी शहर आज जस्तो विस्तारित थिएन । छ माईलदेखि
नै गाई पाल्ने नेपालीहरुका गोठहरु रहेको जान्ने मानिसहरु आज पनि भेटिन्छन् । अहिले
भने खानापाडा यता गाई पालन गरेको प्रायः भेटिंदैन । गौपालन गर्न घाँसपातका लागि वन
जंगलको आवश्यक पर्ने भएकोले अब खानापाडा उता मात्रै यो संभावना धकेलिंदै गएको छ ।
यसैले खानापाडसंग अंग्रेजकालदेखि नै नेपालीहरु परिचित थिए भनेर किटान गर्न नसकिने
कुरा भएन । गुवाहाटी शहर प्राचीनकालदेखि अहिलेसम्म पूर्वोत्तर क्षेत्रको सबै भन्दा
ठुलो शहरका रुपमा रहेको छ । नेपालीहरुले यो क्षेत्रमा बसोबास थालेदेखि गौपालन
व्यवसाय नै गर्दै आएका छन् । शहरको नजिक रहेको र गौपालनका लागि घाँसपातको उपलब्धता
रहेको हुनाले पनि खानापाडा गौपालक नेपालीहरुकोनिम्ति रोजाईमा परेको बुझ्न गाह्रो
छैन । यो स्मरणत्मक लेखमा खानापाडामा नेपालीहरुको बसोवास कहिलेदेखि भयो भन्ने खोजी
भन्दा पनि सन् १९८४मा म यो गाऊँको पूर्वी भेकमा पर्ने जोराबाटबाट आएर त्यहाँ
बसोवास गरेका झण्डै दशवर्ष मध्येको अन्तिमतिरको वर्षमा नेपालीहरुको महान चाड
कसरी मनाईयो भन्ने सन्दर्भ उल्लेख गर्दैछु ।
गाई पाल्ने र दूध
बेच्ने पेशा छोडेर जोराबाटबाट खानापाडा झरेपछि मैले स्कूलमा पढाउने काम गर्न थालें
। पढाउने काम म जोराबाट छँदै ११माईलको स्कुलमा गर्न थालेको थिएँ । मेरो साथमा
रहनुभएका बुवा नेपाल फर्किनुभएपछि एक्लो म खानापाडा झरेको थिएँ । खानापाडाका
साथीहरु संगको सम्पर्क पहिलेदेखि नै रहेको हँुदा अपनत्वले परिपूर्ण यो गाँऊले मलाई
आकर्षित गरेको थियो । खानापाडाको बसाईले मेरो जीवनमा ठुलो परिवर्तन ल्याउन मद्दत
गर्यो । त्यहाँ आएपछि मैले जीवन र त्यसको समाज र त्यसका दार्शनिक आयामहरुसंगको
अन्योन्यश्रितता बारे केही मात्रामा भएपनि बुझ्ने मौका पाएँ ।
त्यहाँ रहँदाका अन्य वर्षहरु नेपालीहरुको महान
चाड दशैं क्रमशः आउँदै जाँदै भईरहन्थ्यो तर त्यसको प्रभाव मेरो व्यक्तिगत जीवनमा
खासै पर्दैनथ्यो कारण मेरो परिवारका सबै सदस्यहरु नेपालमा नै थिए । मेरो खानापाडा
बसाईको अन्त्यतिरको त्यो दशैं पनि आयो । टीकाको दिन दश बजेतिर शिक्षक मित्र सम्शेर
हाम्रो निवासमा आऊनुभयो । म, साथीहरु दीपेश
क्षेत्री, प्रकाश शर्मा र हरि दत्तसंग बसेर गफगाफ गरिरहेका
थियौ । सम्शेर विगत केही वर्षहरुदेखि खानापाडामा बस्दै आउनुभएको थियो । उहाँलाई
हामीले संम्शेर थापाका नामले चिने पनि उहाँ नेपालको वामपंथी आन्दोलनका एक प्रखर
योद्धा हुनुहुन्थ्यो । असलमा उहाँको नाम वाशु शाक्य थियो र उहाँको घर नेपालको
संखुवासभाको चैनपुर थियो । हामी परिवारका साथमा नभएको हुँदा यसअघिका दशैंमा खाने
पिउने भएपनि टीका लगाउने काम हुने गरेको थिएन । तीहारमा भने टीका नलगाए पनि देउसी
भैलो खुबै खेलिन्थ्यो । मित्र संशेर आएपछि भने उहाँले अर्कै प्रसंग निकाल्नु भयो ।
दशैंमा बुढापाकाको हातबाट टीका लगाउने र आशीष लिने उहाँको कुरा निधार रित्तै हुने
हामीहरुकालागि मनासीब नै लाग्यो ।
गाँउमा सबैभन्दा
जेष्ट उमेरको मानिस को छ भनेर धेरैबेर कुरा खेलाउँदै गाऊका धेरै अनुहार सम्झिदै
धनबहादुर मास्टरसम्ममा पुग्यौं हामी । जे जस्तो भएपनि सामाजिक चेतना भएका
धनबहादुर तत्कालीन खानापाडाका पुराना बासिन्दा हुनुहुन्थ्यो । खानापाडाको नेपाली
सहयोगी एम ई स्कुलका उहाँ अध्यक्ष समेत रहिसक्नु भएको थियो । त्यसबेलाको जनता
साँस्कृतिक कलामण्डलीको कार्यालय स्थापना गर्न पनि उहाँको महत्वपूर्ण योगदान थियो
। उहाँले त्यसको लागि जमीन नदिनुएको हुन्थ्यो भने संभवतः त्यो कार्यालय स्थापना
गर्न सकिने थिएन । त्यो जमीनमा हामी सबै साथीभाईहरुले खनी खोस्री एउटा सामान्य घर
बनाउन सफल भएका थियौं ।
धनबहादुरलाई टीका
ग्रहण गरेर आशिर्वाद लिन उपयुक्त पात्र ठहर गरिए पनि एउटा समस्या भने अझै बाँकी
थियो । त्यो के भने उहाँ हिन्दूवर्णाश्रम अनुशार शुद्र जातिको मानिने सूचिकार
समुदायको हुनुहुन्थ्यो । हामी मध्ये दुईजना ब्राम्हण समुदाय र एकजना नेवार तथा
क्षेत्री समुदायका थियौं । हरि सर प्रसंगको शुरुआततिरै घरतिर हिंडिसक्नुभएको थियो
। जन्मजात शुद्र भएर पनि धनबहादुर ब्राम्हणले झैं नित्यकर्म गर्ने र तिलक लगाएर
हिंड्ने गरेको हामीले देख्दै आएका थियौं । यो नीचोडपछि हामी उहाँको घरतिर लाग्यौं
।
धनबहादूरको घर पुगेर
टीका लगाई दिन आग्रह गर्दा उहाँको परिवार आश्चर्यमा पर्यो । उहाँ स्वयम्लाई पनि यो
अपराध नगरौं कि भन्ने लाग्यो । उहाँ असमन्जस्यमा परेको सबैले महसुस गर्यौं । मित्र
संशेरले सम्झाएपछि उहाँले टीका लगाई दिनुभयो । केहीबेर बसेर हामी विदा भयौं ।
यहाँसम्म सबै कुरा सामान्य र व्यक्तिगत जस्तै नै थियो ।
दशैंको भोलिपल्ट
बिहानै जब दुध लिएर सडकमा व्यापारीलाई बेच्न आएका गाउँलेहरुको व्यबहार देखेर हामी
अचम्भित भयौं । केहीले हामीलाई भेटेर यस बारे कुरा बुझ्न खोजे । हामीलाई सँधै आदर
गर्ने केही मानिसहरुले हामीलाई नदेखे झैं गर्दै परपर तर्किएर हिंडे । अठार घंटा
बित्दा नबित्दै धनबहादुरबाट हामीले दशैंको टीका थापेको खबर गाँऊँमा आगोसरी फैलिएछ
। त्यसपछिका दिनहरुमा गाऊँलेलाई बुझाउन हामीले धेरै मेहनत गर्नु पर्यो । हाम्रो
प्रयास हामी कति सफल भयौं भन्ने कुनै मापन गर्न नसकिए पनि पछिल्ला दिनहरुमा
गाँऊलेहरुको आक्रोश मत्थर हुँदै गयो । टीकाको यो घटनालाई हामीले त्यसछिका
वर्षहरुमा निरन्तरता दिन सकेनौं । अर्को वर्षको दशैंमा हामी चारैजना संयोगवश
खानापाडामा थिएनौं । शम्सेरसर र म नेपाल फर्कियौं भने प्रकाशजी जयन्तिया पहाडतिर
लाग्नु भयो ।
उचो र नीचो जात
भन्ने जन्मका आधारमा भन्दा व्यक्तिद्वारा गरिने कर्मका आधारमा हुने हो । हिन्दु
शास्त्रहरुमा यो कुरा धेरै पटक उल्लेख भएको पाईन्छ । समाज विकास क्रममा
श्रमविभाजनको रुपमा शुरु भएको जातपातले पछि विकृत रुप लिएको देखिंन्छ । वैदिककालमा
जातपात र छुवाछुतको प्रचलन थिएन भन्ने कुरा वेदबाट थाहा हुन्छ । तर, हाम्रो यो सोचसंग कसैको असहमती भए पनि त्यसलाई
सम्मान गर्दै हामीलाई पनि आफ्नो सोचमा अडिग रहन पाउने हक नभएको होईन ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.