सामााजिक उथलपुथलमा दक्षिण एशिया
दक्षिणएशियाको सबैभन्दा ठुलो प्रभावशाली देश भारत हिन्दु र मुसलमानबीचको धार्मीक टकरावबाट मात्र भारत पिडित छैन, जाति क्षेत्रका हिसाबले प्रकट हुने असन्तोष पनि त्यहाँ भुसको आगो झैं सल्किरहेको देखिन्छ ।
दक्षिण एशिया विगत लामो समयदेखि सामाजिक विखण्डनको चपेटामा पर्दैआएको छ । कहिले यो विखण्डन, उग्रधार्मीक कहिले उग्रजातिवादी त कहिले पृथकतावादी भएर देखापर्दै आएको छ । यहाँ सामाजमा विभिन्नताका धेरै रेखाहरु कोरिएका देखिन्छन् । परिस्थिति अनुशार तिनीहरुले पनि टकरावको रुप लिने गर्दछन् । राज्यहरुको अकर्मण्यताका कारण यस्ता समुहगत टकरावहरु पछिल्ला वर्षहरुमा झन् जटील बन्दै आएको देखिन्छ । यो समस्या आन्तरिक मात्र नभएर यदाकदा देशहरुलाई अस्थिर बनाउन खोज्ने बाहिरियाहरुको रणनीतिक अस्त्रका रुपमा पनि प्रयोग हुँदै आएको छ । आन्तरिक रुपमा पनि राजनीतिक दलहरुले आफ्ना स्वार्थ अनुकुल यस्ता समस्याहरुलाई प्रयोग मात्र गर्ने दुष्प्रयास गरेको पनि देखिन्छ । जबकि यसको निदान राजनीतिबाट नै खोजिन पर्ने हो । फलस्वरुप सबैजसो दक्षिणएशियाली देशहरु यो समस्यासंग संघर्षरत छन् ।
यस्ता समुहगत मानसिकताहरुले अस्वस्थकर रुपलिंदा समाजमा नकारात्मक स्थिति उत्पन्न हुने गर्दछ जसले देशलाई नै अशान्तिको बाटोतिर लैजाने खतरा रहन्छ । समाजमा घटित हुने घटनाहरुलाई न्यायिक निरुपण भन्दा आफ्नो समुहको पक्षमा सोच्ने उग्रता हावि हुने हुँदा डरलाग्दो सामाजिक जटीलता उत्पन्न हुने गरेको देखिन्छ । यसले प्रकारान्तरसम्म देशहरुलाई नै नोक्सान पुर्याउँदै आएको देखिन्छ । दक्षिण एशियाका सबैजसो देशहरुमा देखिने सामाजिक समस्याको मुल कारण भनेको यहि नै हो । सामाजिक भिन्नतालाई समयमा नै सम्बोधन गर्न राज्यहरु असफल रहँदै आएको हुनाले नै यो जटील अवस्था उत्पन्न हुने अवस्था पनि अर्को प्रमुख कारण हो ।
यस क्षेत्रमा अंग्रेजी उपनिवेशवादको आगमनपूर्व राज्यविस्तारका क्रममा भएका हिंसालाई छोडेर हेर्दा, सामाजिक टकरावमा ठुलो संख्यामा सर्वसाधरणहरुले ज्यान गुमाऊँदै आएका छन् । दोस्रो विश्वयुद्धपछि यसक्षेत्रमा प्रायः स्थिर सिमानाहरु भएका आधुनिक राष्ट्रहरु देखा पर्न थालेका हुन् । यसक्रममा पुरानो नेपाल र पछिको अफगानिस्तान जस्ता देशले भने आफ्ना सिमानाहरुको फैलाव र संकुचनका बावजुद पनि अस्तित्व बचाउन आज पर्यन्त भएका छन् । तथ्य भन्दा भावावेगमा प्रकट हुने यस्ता अन्तर संघर्षहरुले कुनै दीर्घकालीन समाधान भेटाउन सकेका भने देखिंदैनन् । विश्वयुद्ध यताका राष्ट्रहरुमा बेलायती संसदीय लोकतन्त्रको अनुकरण गर्न थालिएपछि यस्ता अन्तरसंघर्षहरुलाई भोटबैंकका रुपमा प्रयोग गर्ने राजनीतिक स्वार्थहरुले दीर्घकालीन समाधान भन्दा क्षणिक रुपमा उपयोग गर्दैआएका हुनाले समस्या समाधान हुन नसकेको धेरै जासो विज्ञहरुको बुझाई रहँदै आएको छ । सामाजिक भेदभाव, पछौटेपन, गरीबी र कुशासनले गर्दा सहज बन्न नसकेको जनजीवनले गर्दा उत्पन्न नैराश्यताले पनि यस्तो समस्या उत्पन्न भएको पनि भन्ने गरिन्छ ।
दक्षिण एशिया भन्नाले वर्तमानमा हिमालयभन्दा दक्षिणतिरको भुभागलाई बुझिन्छ । हाल यो भूखण्डमा भारत, नेपाल, पाकिस्तान,भुटान, बांग्लादेश,श्रीलंका, अफगानिस्तान र मालदीव जस्ता देशहरु रहेका छन् । संयुक्त राष्ट्रसंघको अनुमान अनुशार सन् २०२३, जुनसम्ममा दक्षिण एशियाको जनसंख्या साढेदुई खरबभन्दा बढी छ । विश्वको कुल जनसंख्याको करीब २४.८९ प्रतिशत हिस्सा दक्षिण एशियाको छ । यसरी हेर्दा यो क्षेत्र मानव श्रमका दृष्टिले सम्पन्न देखिन्छ । श्रमयोग्य उमेर समुह भएका मानिसहरुको संख्या यहाँ अन्यत्र भन्दा धेरै छ । त्यसैले विश्वका सबैजसो क्षेत्रमा यहाँका मानिसहरु रोजगारीकालागि पुगेका छन् । श्रमलाई स्वदेशमा खपत गर्ने अवस्था नभएकोले पनि बेरोजगारी यहाँको समस्या रहँदै आएको छ । त्यसैले श्रम पलायन यहाँको समस्या रहँदै आएको छ ।
परापूर्वकालदेखि नै प्राकृतिक श्रोत र साधनमा सम्पन्न यो क्षेत्रमा विभिन्न समयमा भिन्न समुहका मानिसहरुको आगमन भएको देखिन्छ । समय बित्दै जाँदा हालसम्म ती मध्ये कतिपय साना र कमजोर समुहहरु ठुला समुहहरुमा स्वैच्छिक वा वाध्यात्मक रुपमा समाहित भैसकेका छन् । यो प्रकृया हजारौं वर्ष पहिलादेखि नै चलिरहेको छ ।
उपनिवेशकाल वा त्यो भन्दापूर्व शक्तिका भरमा राज्यहरुका सिमानाहरु फैलिने र संकुचित हुने प्रकृया चलिरहन्थ्यो । यो प्रकृयामा कतिपय कमजोर राज्यहरु लोप हुने, नयाँ बन्ने र शक्तिशाली राज्यले आफ्नो अस्तित्व कायम राख्ने पनि हुन्थ्यो । यस्तै अन्तरसंघर्षहरुले कालन्तरमा यस क्षेत्रमा एउटा साझा संस्कृति र संस्कारको विकास हँुदै आएको देखिन्छ । सम्मिलनको यो प्रकृयाका बावजुद पनि भिन्नताका निशानीहरु आज पनि टकरावका रुपमा प्रकट हुने गरेको देखिन्छ । जेसुकै भएपनि यसै सँस्कृतिलाई विविधतायुक्त समाज भनेर गौरवका साथ चित्रित गर्ने काम पनि हुँदैआएको छ ।
भारत यो क्षेत्रको सबैभन्दा ठुलो र शक्तिशाली देश पनि हो । बेलायतबाट आएका अंग्रेजहरुले सन् १७५७देखि भारत भूमिमा झण्डै २०० वर्ष प्रत्यक्ष शासन गरे । वर्तमान भारतको आकार उनिहरुले नै बनाएका हुन् । उपस्थितिका हिसाबले अंग्रेजहरु झण्ैड चारसय वर्ष यो भूमिमा रहे । अहिलेको भारत पाकिस्तान बाँग्लादेश श्रीलंका अंग्रेजहरुबाट मुक्त भएपछि बनेका देशहरु हुन् । यी देशहरुमा अहिले साम्प्रदायिक समस्याले उग्ररुप लिदै आएको देखिन्छ । भारत यो समस्याबाट बढी पिडित छ । हिन्दु र मुसलमानबीचको धार्मीक टकरावबाट मात्र भारत पिडित छैन, जाति क्षेत्रका हिसाबले प्रकट हुने असन्तोष पनि त्यहाँ भुसको आगो झैं सल्किरहेको देखिन्छ ।
भारतबाट अंग्रेजहरु फर्किन लाग्दा त्यहाँ हिन्दु र मुसलमानबीच डरलाग्दो टकराव भयो । अंग्रेजी शासन विरुद्ध सँगै संघर्ष गरेका यी दुवै समुदायबीच त्यसबेला ठुलै दंंगा भड्कियो । अन्तत धर्मका आधारमा हिन्दुकालागि भारत र मुसलमानकालागि पाकिस्तान नामक दुई अगल देश बनाईयो । त्यसबेला पाकिस्तानबाट हिन्दुहरु भारत आउँदा र भारतबाट मुसलमानहरु पाकिस्तान जाने क्रममा हजारौं मानिसहरुको हत्या भयो । भनिन्छ रेलगाडिबाट आफुले चाहेका देशतिर हिंडेका मानिसहरुको बिचबाटैमा हत्या भयो र ती लासहरु बोकेर रेलगाडी दिल्ली र कराँची पुगेका थिए । यो विभाजन देशको मात्र थिएन मनहरुको पीडादायक विभाजन पनि थियो । त्यसपछिका दिनहरुमा यो घटनाको पीडाले दुई देशको सम्बन्धलाई कहिल्यै सामान्य बन्न दिएन । पाकिस्तान कट्टर इश्लामिक देश बन्यो भने भारतले धर्मनिरपेक्ष भएर बाँकी रहेका मुसलमानहरुलाई पनि भारतमा नै रहन आश्वस्त पार्न खोज्यो ।
धर्मनिरपेक्षताका कारण भारतको एउटा वर्गमा दमित भएर रहेको हिन्दुत्वको भावना हिन्दु महासभा, राष्टिय स्वयंसेवक संघ, जनसंघ हुँदै सन् १९८०मा राजनीतिमा भारतीय जनता पार्टीका रुपमा देखा पर्यो । स्थापना भएको झण्डै साढे तीन दशकपछि सन् २०१४मा उक्त पार्टी सत्तामा आएपछि भने हिन्दु मुसलमानको धार्मीक टकराव भिन्न रुपमा देखा परेको छ । यसको अर्थ यसअघि काँग्रेसको लामो शासनकालमा यस्ता दंगाहरु भएका थिएनन् भन्ने होईन । फरक यति मात्रै हो त्यसबेला मुसलमानहरुले राज्यका तर्फबाट सहानुभूति पाऊँदै आएका थिए भने अहिले त्यो अवस्था छैन । भारत अहिले पनि धर्मनिरपेक्ष हो तर पनि विभाजनकालमा भारतमा आश्वस्त भएर रहन मुसलमानहरुलाई दिईएको सुविधामाथि प्रहार भैरहेको देखिन्छ । यस्तो हुनुमा ईश्लामिक कट्टरता र मुसलमानहरुकालागि भनिएको पाकिस्तानमा अल्पसंख्यकका रुपमा रहेका हिन्दुहरुमाथि हुँदै आएको चर्को भेदभाव र साँस्कृतिक दमनले भूमिका खेलेको देखिन्छ । यो अशान्तिले पाकिस्तानमा मात्र होईन भारतमा पनि आन्तरिक रुपमा सामाजिक अस्थिरतामा पर्ने खतरा बढ्दै गएको छ भने इश्लामिक विश्व र मानवाधिकारको पक्षपोषक मानिएको पश्चिमी देशहरुसंगको भारतको कुटनीतिक सम्बन्धमा समेत बेलाबखत अप्ठ्यारोपन देखिंदै आएको छ ।
भारतको कुल जनसंख्यामा मुसलमानहरुको संख्या झण्डै १५ प्रतिशत रहेको छ । भारत विश्वका धेरै मुश्लिम जनसंख्या भएका देशहरु मध्ये तेश्रोमा पर्दछ । मुसलमानहरुको जनसंख्या वृद्धिदर हिन्दुहरुको भन्दा उच्च रहेको हँुदा यसलाई भारतको एउटा वर्ग भविष्यमा भारत मुश्लिम बाहुल्य देश बन्ने त्रासमा छ ।
सन् २०१४ पछि भारतको इतिहासलाई पनि पुनरभाष्य गर्न थालिएको छ । अंग्रेजहरु भन्दा अगाडि आठसय वर्ष भारतमा मुसलमानहरुको शासनलाई पनि जोडेर एक हजार वर्ष मुसलमान र अंग्रेजहरुले भारतलाई गुलाम बनाएको भन्न थालिएको छ । मुश्लिम शासनकालमा भएका दमन र साँस्कृतिक धरोहरमाथिको अतिक्रमणलाई स्मरण गर्न थालिएको छ । अंग्रेजी उपनिवेशवाद विरुद्ध मुसलमानहरुले पनि भारतमा ठुलै योगदान गरेका भएपनि त्यसलाई नकार्न थालिएको छ । गान्धी, नेहरु भन्दा ओझेलमा परेका नाथुराम गोडसे, सावरकर, माधव सदाशिवराव गोलवालकरहरुको महीमामण्डन गर्न थालिएको छ । सन् २००१, सेप्टेम्बर ११मा अलकायदाले अमेरिकामा डरलाग्दो हमला गरेपछि भने इश्लिामिक आतंवकवादका नाममा विश्वमा घृणाको बाढी नै आयो । त्यसपछि भारतमा पनि यो लहरले काम गरेको देखिन्छ ।
ईश्लाम र हिन्दुबीचको खाडल भारतमा बढीरहेको छ । अर्कोतिर भारतमा उच्चवर्ण हिन्दु र दलीतहरुबीचको खाडल पनि कम फराकिलो छैन । भारतमा अंग्रेजहरु आएपछि नै इसाई धर्मको प्रचार हुनथालेको हो । उनिहरुले भारतभूमिमा रहेका जनजातीहरुबीच ईसाइ मिशनरीहरु खोलेर धर्मप्रचार गरे । अहिले पूर्वोत्तरभारतका नागालैण्ड, मेघालय, मिजोरम ईसाई बहुल राज्य भएका छन् । अन्यत्र पनि इसाईहरुको बढ्दो उपस्थिति छ । हिन्दु र इसाईहरुबीच पनि बेलाबखत तनाव हुने गरेको छ । भारतको कुल जनसंख्यामा लगभग ३ प्रतिशत संख्या ईसाइहरुको छ । तरपनि भाजपाको सरकार सत्तामा आएपछि यस्तो टकराव ईसाईहरुप्रति अपेक्षकृत कम रहेको देखिन्छ । यस्तो हुनुमा भाजपाको पश्चिमी देशहरुसंगको बढ्दो निकटतालाई मान्ने गरिन्छ ।
भारत यो क्षेत्रको ठुलो र शक्तिशाली देश भएको हुनाले त्यहाँ भएका सामाजिक उथलपुथलले अन्य देशहरुलाई पनि प्रभावित गर्दै आएको छ । भारतमा भएका सामाजिक विभाजनको स्वरुप ती देशहरुमा केही भिन्नता सहित झण्डै एकै खालको देखिन्छ तर टकरावको अवस्थामा भने केही फरक छ ।
ईश्लामिक देश भएर पनि पाकिस्तानको सामाजिक स्वरुप धर्मले एकताको सुत्रमा बाँध्न सकेको देखिदैन । यसभित्रका सम्प्रदायहरुबीच नै चर्को अन्तरद्वन्द देखिन्छ । यो अन्तरद्वन्दमा बाहिरियाहरुले निकै चलखेल गर्दै आएका छन् । इश्लाममा रहेको कट्टरतालाई विगतमा हातहतियार दिएर हिंस्रक बनाउने काम बाहिरियाहरुबाट नै भएको छ । यसले गर्दा पाकिस्तान आतंकवादको नर्सरी जस्तो बन्न पुगेको छ । यसरी यो देश स्वयम् अशान्त बन्दै आएको देखिन्छ । शिया, शुन्नी, देवबन्धी, अहमदी, बरेल्वी, हिन्दु, शिख, ईसाई जस्ता समुदायबिच अन्तरद्वन्दको आगो बलिरहेको देखिन्छ । कुनै समयमा बौद्ध धर्मावलम्बिहरुको उल्लेखनिय उपस्थिति रहेको यो भूमिमा अहिले सिन्ध र पंजाब प्रान्तमा सानो संख्यामा रहेको देखिन्छ । पाकिस्तानमा अल्पसंख्यकहरु ठुलो दबावमा रहँदै आएका छन् । जातीय हिसावले पाकिस्तानमा पंजाबी, पश्तुन, सिन्धीको संख्या ठुलो छ भने सराईकी, मुहाजिर, र बलुचहरुको संख्या अपेक्षकृत कम रहेको छ । इश्लामिक देश भएकोले धर्मका नाममा अल्पसंख्यकहरुमाथि चर्कों दमन त्यहाँ पनि देखिन्छ । भारत र पाकिस्तानबिच एकअर्कामाथि यस्तो अन्तरविरोध चर्काउने प्रोपोगाण्डा चलाउने प्रयास हुँदै आएको छ । भारतको प्रयासमा पाकिस्तानबाट विभाजित भएर बनेको देश बांगलादेशमा पनि ईश्लाम बाहेकका लगभग २६ अल्पसंख्यकहरुको बसोबास रहेको देखिन्छ । यो पनि इश्लामिक देश नै हो । यहाँ ९१ प्रतिशत मुशलमानहरुको बसोबास छ । सुन्नी संप्रदायका मुसलमानहरुको संख्या यहाँ बढी देखिन्छ ।
हिमालयको काखमा रहेको नेपाल पनि धेरै जातजाती, धर्म र सँस्कृतिहरुले सम्पन्न देश हो । धार्मिक हिसाबले यो देश हिन्दुबहुल देश भएर पनि बौद्ध, मुश्लिम, ईसाइ किरातहरुको पनि बसोबास यहाँ छ । सानो भैकन पनि नेपाली समाजभित्र जाति धर्म क्षेत्र भाषाका धेरै गतिशील कित्ताहरु छन् । अपेक्षाकृत रुपमा शान्त रहेको यो देश यस्तै अन्तरिक अन्तरद्वन्दले दलविहीन शासन पद्धति र शदियौंदेखि चलिआएको राजतन्त्रको पतन भएको छ । अहिले नेपाल संघीय गणतन्त्रात्मक र धर्म निरपेक्ष देश बन्न पुगेको छ । यो अन्तरद्वन्दभित्र विदेशी स्वार्थको चलखेलले गर्दा नेपाल सामाजिक र राजनीतिक रुपले अस्थिर रहँदै आएको भन्ने धेरैको बुझाई रहेको देखिन्छ ।
पछिल्ला केही दशकमा हिंसाको चपेटामा पर्दैआएको अर्को कट्टर इश्लामिक देश अफगानिस्तान पनि हो । आन्तरिक खिचातानीले विदेशी हस्तक्षेपको मार अफगानिस्तान झेल्दै आएको छ । यहाँको समाजिक संघर्ष अन्य देशहरुको भन्दा केही पृथक देखिन्छ । असलमा भन्ने हो भने यहाँको सामाजिक अन्तरसंघर्षले विदेशी हस्तक्षेपका कारण कहिल्यै ठोस स्वरुप लिन पाएन । स्वस्थ्य रुपमा उठ्ने सामाजिक अन्तरसंघर्षले राज्यलाई उचित दिशातिर लैजान मद्दत पनि गर्दछ तर अफगानिस्तानमा त्यस्तो हुन पनि सकेन । यहाँको भूराजनीतिक अवस्थितिले आन्तरिक कित्ताहरुलाई विदेशी स्वार्थको बन्दूक बोक्ने प्यादाको रुपमा उपयोग गर्दै आएको देखिन्छ । इश्लामिक कट्ट्रताले यो देश मध्ययुगिन बर्बरताबाट कहिल्यै मुक्त हुन दिएको छैन ।
यस्तै सामाजिक विखण्डनको पीडा भोग्दै आएको अर्को देश श्रीलंका पनि हो । त्यहाँ थेरवादी बौद्धा धर्माबलम्बी सिंहला जातिको बाहुल्यता रहेको देश हो । यो देश सन् १९४८मा अंग्रेजी उपनिवेशबाट स्वतन्त्र भएको देश हो । उत्तरी भागमा तमील भाषा बोल्ने हिन्दुहरुको बसोवास रहेको छ । यसबाहेक मुर भनिने मुसलमानहरुको र ईसाईहरुको पनि बसोवास रहेको छ । विगतमा यो देशले तमील पृथकतावादको डरलाग्लो पीडा झलेको छ । ंिसहला र इश्लामको टकरावले पनि यो देश पीडित छ । कुनै समयको सम्पन्नशाली यो देश यस्तै सामाजिक टकरावबाट कमजोर बन्न पुगेको छ ।
समाज सँधै गतिशील हुने हुनाले त्यसमा द्वन्द अन्तरनिहीत हुनुस्वभाविक हो । त्यसलाई स्वस्थ्य ढंगले प्रबन्धन गर्ने हो भने देशकालागि हितकर हुने हो । यसलाई अन्तहीन टकरावतिर लैजाने हो भने यसले देशमा अशान्तितिर लैजाने हुन्छ । समग्रमा दक्षिण एशियाले सामाजिक अस्थिरता हुँदै खण्डिकरणको जोखिमसंग संघर्ष गरिरहेको देखिन्छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.