अष्ट्रेलिया र नेपाली डायाेस्पाेरा
विश्वका अधिसंख्यक देशहरुबाट आएका विभिन्न सँस्कृतिका डायस्पोराहरुको रंगीबिरंगी देशका रुपमा अष्ट्रेलियाले पहिचान बनाऊदै गएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको व्यापारिक शहर ग्वाङजाउ ट्रान्जिट भएर अष्ट्रेलियाको सिड्नी पुग्ने चाईनासोदर्न एयरलाइन्सको हवाईजहाज छुट्ने समय रातीको १२।५ बजे थियो । जहाज छुट्ने समयभन्दा तीन चार घण्टा अगावैदेखि विमानस्थलमा उक्त विमानका यात्रुहरूको चहलपहल हुनु अस्वभाविक थिएन । आफ्ना छोराछोरी भेट्न त्यसतर्फ जानेहरुमा पोखराबाट गएका हामी दम्पती पनि त्यो दिन सामेल थियौं । त्यसदिन मात्र होईन अष्ट्रेलिया जाने यात्रुहरुको भीडभडाक त्रिभुवन विमानस्थलमा दिनहुँ देखिन थालेको पनि बर्षौं भैसकेको छ । आज देखिएका यात्रीहरु मध्येको ठुलो संख्या अष्ट्रेलिया पढ्न जाने नेपाली युवाहरु र त्यहाँ रहेका भाई छोराछोरी भेट्न केही समयकालागि जाने नेपाली आफन्तहरुको नै थियो । हामीलाई विदाई गर्न भाई रमानिधि चितवनबाट हतारमा विमानस्थल पुगेका थिए भने छोरा सिद्धार्थ पनि काठमाण्डौमा हाम्रो व्यवस्थापन गर्दै हामीसंगै थियो । काठमाण्डौमा बस्ने छोरी सजना र सम्झना पनि पुगेका थिए । विमानस्थलमा केही निश्चिन्त जस्ता देखिने नेपाली युवा यात्रुहरु पनि त्यहाँ देखिन्थे । बुझ्दा थाहा भयो, उनिहरु अष्ट्रेलिया आउने जाने गरिरहेकाहरु थिए जसलाई यात्रा र त्यहाँ पुगेर कहाँ जाने भन्ने बारे अन्योलता थिएन । त्यसबाहेक सरसामान लिन चीनसम्म जाने नेपाली व्यापारीहरु र केही नेपालबाट चीन फर्किने चिनियाँ पर्यटकहरु पनि विमानमा देखिन्थे । यसबिच विमानस्थलबाट अन्यत्रकालागि उड्ने विमानहरु आउने जाने भै नै रहेकोे थियो । ती विमानहरुमा जाने र आउने मानिसहरुको भीड पनि बाक्लै थियो ।
विमानस्थलमा अध्यायनकालागि विदेश जान हिंडेका युवाहरुका अनुहारमा स्वदेश र आफन्तहरुसंगको बिछोडको नमीठोपन एकातिर देखिन्थ्यो भने अर्कोतिर विरानो मुलुकमा दिनहरु कसरी बित्ने होलान् भन्ने अन्यौलता पनि उनिहरुमा उतिकै देखिन्थ्यो । पढ्ने , लाउने खाने र नेपालमा विदेश जाँदा लागेको ऋण तीर्न पुग्ने गरी उपार्जन गर्न सकिएला कि नसकिएला भन्ने चिन्ता पनि नहुने कुरा भएन । नेपालमा आफ्नो भविष्य नदेखे पनि अष्ट्रेलियामा जेनतेन जीवन यापन गर्न सजिलो होला भन्ने आशा भने उनिहरुमा कमजोर थिएन । उनिहरुलाई देखेर म विदेशिएका आफ्ना छोरा र छोरीहरुलाई बारम्बार सम्झिरहेको थिएँ ।
भारतीय प्रायद्वीप बाहिर जाने मेरोलागि यो पहिलो अवसर थियो । लामो समयदेखि मोवाईलको सानो पर्दाहरु भन्दा बाहिर नदेखिएका छोराछोरीहरु कसरी कस्तो अवस्थामा जीवन यापन गरिरहेका होलान् भन्ने व्यघ्रतापूर्ण पर्खाईको अन्त हुने अवस्था र यात्राबारे हामीमा अन्यौलता कौतुहलता दुवै थियो साथै अष्ट्रेलियाको इतिहास, सामाजिक स्थिति, नेपालीहरुको अवस्थाबारे जान्ने चाहनाले पनि मलाई घच्घच्याई रहेको थियो । प्रतिक्षापछि हामी नौलो अनुभव सँगाल्दै चीनको ग्वानजाओ ट्रांजिट पार गर्दैै साँझ छिप्पिदा सिड्नी विमानस्थलमा ओर्लिएका थियौं । विमानस्थलबाट बाहिर निस्किंदा ज्वाई रेजिन अर्याल हामीलाई लिन आईपुग्नुभएको थियो । केकसो हुने हो भन्ने भारी अन्यौलताबिच शुरुभएको हाम्रो हवाई यात्रा भने विना कुनै व्यावधान सम्पन्न भएको थियो ।
रोजीरोटीको खोजीमा ठुलो संख्यामा युवाहरुको देश छाडेर विदेश पलायन कुनै देशकालागि हितकर होईन भन्ने कुरा सत्य हो तर पनि यो कुरा नेपाली युवाहरुका सन्दर्भमा भने वाध्यात्मक जस्तै हो । देशमा बसेर भविष्य बनाउन सकिन्छ भन्ने आशा देशले आफ्ना युवाहरुमा जगाउन सकेको छैन । यसले नै अहिलेको अवस्था आएको हो ।
नेपालको राजनीतिक वृत्तमा युवाहरुको विदेश पलायनको विषयलाई लिएर अनेकन अतिरंजित भाष्य खडा गरिदै आएको छ । नेपालीहरुको विदेश जाने क्रम आज मात्र शुरु भएको भने होईन । यो विगत तीन दशकदेखि नै निरन्तर बढ्दो छ । अझ खोज्दै जाने हो भने यो क्रम परापूर्वकालदेखि चलेको तथ्य प्रमाण भेट्न सकिन्छ । भारतमा अंग्रेजहरु शुरु भएको लाहुरे सँस्कृतिबाट नेपाली समाज अपरिचित छैन । पुरानो कालखण्ड र पछिल्लो कालखण्डबिच यसका प्रवृत्तिहरुमा भने फरक देखिनु स्वभाविक छ । जेहोस देशले युवाहरुको यो पलायनलाई रोक्न सकिने अवस्थासम्म लैजान आजैबाट लाग्ने हो भने पनि कमसेकम दशवर्ष योजनाबद्ध ढंगले काम गर्न आवश्यक हुन्छ । तर, अहिले देश छोडेर हिडेका यस्ता युवाहरुलाई नेपालको राजनीतिक वृत्तमा अत्यास लाग्दो गरी चल्ने यस्ता बहसप्रति खास वास्ता पनि देखिंदैन ।
तीस पैंतीसलाख रुपैया लगानी गरेर देशबाट उच्चशिक्षा हासिल गर्ने जनशक्तिको विदेश पलायन हुने प्रवृत्तिप्रति गम्भीरतापूर्वक नसोच्ने हो भने आउँदा दिनहरुमा देशले गम्भीर समस्याको सामना गर्नुपर्ने तर्फ संकेत गर्दछ । नेपालमा खाडीतिर कामकालागि जाने युवाहरुलाई निम्नवर्गका मानिन्छ भने पश्चिमी देशतिर ठुलो लगानी गरेर शिक्षा आर्जन वा अन्य नाममा जानेलाई उच्चवर्गीय भनेर मान्ने गरिन्छ । यो बुझाई असत्य होईन तर पनि उनिहरु मध्ये अधिकांशले भविष्य सहज होस् भन्ने आशामा जुन जोखिमका साथ रकमको जोहो गरेका हुुन्छन् ती कथाहरु पनि कम पीडादायक हुँदैनन् ।
झण्डै तीन महिनाको हाम्रो अष्ट्रेलिया बसाई सिड्नी शहरको छेउछाउ, न्यूक्यासल, राजधानी केनबेरा, मेलबर्न र होबार्ट वरपर घुम्दै गर्दा देखेसुनेको आधारमा तयार पारिएको यो सामाग्रीले सम्पूर्ण विषयवस्तु भन्दा पनि व्यक्तिगत अनुभवका आधारमा तयार पारिएको छ । व्यक्तिगत अनुभव पनि यो एउटा सामाग्रीले पुरै समेट्न सकेको छैन । त्यस विषयलाई लिएर आगामि समयमा समेट्ने प्रयास गर्ने नै छु ।
अष्ट्रेलियाको क्षेत्रफल ७६ लाख ९२ हजार २४वर्गकिलोमिटर र कुल जनसंख्या २ करोड ६२ लाख ६८ हजार रहेको छ । अष्ट्रेलिया आकारका तुलनामा जनघनत्व निकै कम छ । केही सामुद्रिक किनार बाहेक अन्य भागहरुमा मानिसहरुको बसोबास निक्कै न्युन छ । धेरै हिस्सा जंगलले ढाकिएको र उत्तरी तथा मध्यभाग मरुभूमि रहेको छ । मानव उपयोगकालागि उपयुक्त जलको अष्ट्रेलियामा कमि छ तर पनि त्यसको असर उपभोक्ताहरुमा खासै परेको देखिएन । खनीज संसाधनमा भने यो देश धनी छ । यहाँ अल्म्युनियम, फलाम, लिथियम, सुन, सीसा, हिरा, युरेनियम, जिङ्क, इल्मेनाईट, जिरकोन र कोइलाको भण्डार रहेको छ ।
यो देशले आर्थिक रुपमा पनि तीव्र विकास गरिरहेको छ । सन् १९४२मा अष्ट्रेलियाले स्वायत्तता प्राप्त गर्यो भने सन् १९८६मा यो देशले संघीयस्तरमा बृटिस कानुनी प्रधिकरणका अवशेषहरुलाई खारेज गरेको थियो । त्यसपछि भने अहिले यो कमनवेल्थ राष्ट्र हो र बेलायतको राजतन्त्रलाई यहाँ मानार्थ सम्मान गरिन्छ तर अष्ट्रेलिया सार्वभौम देश हो । विश्व राजनीतिमा यो देश अमेरिकी नेतृत्वको पश्चिमी गठबन्धनसंग रणनीतिक साझेदारीमा रहँदै आएको छ । विकासकालागि प्रसस्तै संभावना रहेको यो देशमा विगतमा जस्तै आउदो समयमा पनि विश्वमा जनसंख्याको उच्चचाप, कम विकसित र द्वन्दग्रस्त क्षेत्रबाट आप्रवासन अझै बढ्ने देखिन्छ ।
पछिल्ला बर्षहरुमा युवाहरु सपनाहरुको भारी बोकेर नेपाल, भारत , चीन, पाकिस्तान लगायतका देशहरुबाट आउने विचित्रको जन्तु कङगारुको देश अष्ट्रेलिया कस्तो होला भन्ने जिज्ञासा हुनु स्वभाविक छ । सन् २०२३ मा मात्रै ५३ हजार १ सय ७० नेपाली विद्यार्थीहरुले उच्चशिक्षा अध्यन गर्न प्रवेश लिएको विभिन्न श्रोतबाट थाहा हुन्छ । विगतका केही वर्ष कोविड महामारीका कारण विद्यार्थी भर्ना यहाँ ठप्पप्राय: थियो । त्यसकारण पनि यसपटक विद्यार्थी भर्नामा वृद्धि भएको अनुमान गर्न सकिन्छ । पछिल्लो तथ्यांक हेर्दा चिनिया र भारतीय पछि यहाँ पढ्न आउनेमा नेपाली विद्यार्थीहरुको संख्या धेरै देखिन्छ । सन् २०११ जुनमा यहाँ नेपालीहरुको जनसंख्या २७८१० रहेकोमा सन् २०२१ जुनमा आईपुग्दा झण्डै पाँचगुणा बढेर १ लाख २९ हजार ८ सय ७० पुगेको देखिन्छ । तर, सामान्यतया यहाँ करीब ३ लाख नेपालीहरु रहेको अनुमान पनि गरिन्छ ।
अष्ट्रेलियामा नेपाली समुदाय एघारौं ठुलो मानिदो रहेछ । सरकारी नीति अनुशार शहरीक्षेत्रमा भन्दा ग्रामिण भेकतिर बसोबास गर्ने आप्रवासी विद्यार्थीहरुलाई चाँडो स्थाई बसोबासको अनुमति दिने सरकारको नीति अनुशार पछिल्लो समयमा नेपाली विद्यार्थीहरुमा पनि छिटो स्थाई बसोवासको मान्यता पाउन कम विकसित क्षेत्रतिर बस्ने प्रवृत्ति बढ्दो देखिन्छ । यस्ता अविकसित क्षेत्रमा शहरहरुमा झैं रोजगारीका अवसरहरुको कमि देखिन्छ । यसले गर्दा प्रवासी विद्यार्थिहरुले केही कठिनाई भएको गुनासो गरेको सुनिन्छ । अष्ट्रेलियाका सबैजसो शहरहरुमा अध्ययनमा संलग्न विद्यार्थीहरु, पढाई सकेर बसेका नेपाली युवाहरु र स्थाई बसोबासको अनुमति पाईसकेकाहरु कामका सिलसिलामा विभिन्न क्षेत्रका प्रतिष्ठानहरु, निर्माण कार्य र व्यापार व्यवसायमा नेपालीहरु संलग्न देखिन्छन् । आईटी, अस्पताल, बृद्धस्याहार केन्द्र लगायतका क्षेत्रमा नेपालीहरुको उपस्थिति उल्लेखनिय देखिन्छ । नेपालमा जस्तो खुकुलो परिवेशबाट आएका नेपाली युवाहरुकालागि यहाँको व्यस्तता सहज भने देखिंदैन तर पनि यससँग अभ्यस्त हुनु नै पर्ने उनिहरुको अर्को वाध्यता हो र यो वाध्यता सहजतामा बदलिंदै गएको देखिन्छ ।
बिहान बेलुकी अष्ट्रेलियाका पार्क र समुद्रका किनारहरुमा पनि नेपालबाट भिजिट भिसामा केही समयकालागि आफन्त भेट्न आएका प्रौढ नेपालीहरु आपसमा सामुहिक गफगाफ गरिरहेको दृश्य पनि देखिन्छ । यस्ता गफगाफमा आफ्ना छोरानातीले यहाँ आएर राम्रै प्रगति गरेको कुरा सुनाउनेहरु उल्लेखनीय संख्यामा देखिन्छन । शुरुमा सकारामक प्रतिकृया दिएपनि कुरा गर्दै जाँदा सन्तानले देश छोडेपछि नेपालमा आफुहरुको भविष्य अन्योलपूर्ण बन्न पुगेको बताउँछन् । यस्ताहरु मध्ये पुरुषहरु भन्दा महिलाहरुले आँखामा आँसु लिएर भावुक हुँदै मनको व्यथा पोख्ने गरेको देखिन्छ । त्यही बस्नेहरु भने अवस्था सहज नभएको , आफुहरुले कठिन संघर्ष गरेको अनुभव सुनाउने गर्दछन् । कमाईको दृष्टिले भने नेपालमा भन्दा उनिहरुको अवस्था राम्रै रहेको उनिहरु बताउँछन् ।
सबैजसो यहाँ आउने विद्यार्थीहरुमा शिक्षा आर्जन गरेर यतै स्थाई बसोबास गर्ने उद्देश्य रहेको देखिन्छ । शिक्षा आर्जन गरेर नेपाल फर्कने चाहना नहुनुमा सबैले देशमा रहेको राजनीतिक अस्थिरता र त्यसले ल्याएको आर्थिक दुरावस्थालाई दोष दिने गरेको पाइन्छ । यसरी अष्ट्रेलिया आउनुमा शिक्षा मात्र नभएर रोजगारी नै प्रमख लक्ष्य रहेको मान्न गाह्रो छैन । पढाईको निरन्तरता पीआर भनिने स्थाई बसोवासको अनुमति प्राप्तिसम्म मात्र अधिकाँशहरुको रहने गर्दछ । केही सक्रिय जीवनको उत्तरार्धमा केही अर्थोपार्जन गरेर नेपाल फर्कने विचार राख्छन् । पहिलो पुस्तामा यस्तो चाहना भएपनि त्यो त्यति सफल भैहाल्ने देखिन्न । त्यही जन्मेका बालबालिकाहरुको लगाव नेपालप्रति पहिलो पुस्ताको जस्तो रहला भन्ने देखिंदैन । नवउदारवादले दुनियाका कमजोर देशमा पारेको नकारात्मक असरले ती देशहरुबाट युवाहरु पलायन भैरहेका छन् । नेपालमा अहिलेको युवापलायनको कारक पनि यहि नै हो ।
नेपाली युवाहरु नेपाल छोडेर विदेशिएको प्रसंगसंगै जोड्न मिल्ने अर्को प्रसंग पनि यहाँ उल्लेख गर्न सान्दर्भिक हुने देखिन्छ । नेपाली युवाहरुकालागि आजको अष्टेलिया जस्तै कुनै समयमा प्राकृतिक रुपले सुन्दर देश नेपाल पनि पश्चिमेली युवाहरुको गन्तव्यस्थल बन्न पुगेको थियो भन्ने कुरा धेरैलाई आश्चर्यजनक लाग्न सक्छ । तर, यो सत्य हो । पालमा साट्ठीको दशकतिर पश्चिमको युवा पुस्तामा देखिएको नैराश्यताबाट उत्पन्न हिप्पीवादको लहर काठमाडौसम्म आईपुगेको थियो । ती युवाहरुकालागि नेपालको प्राकृति शौन्दर्यता, शान्त वातावरण र नेपालमा पाईने गाँजा मुख्य आकर्षण थिए भन्ने गरिन्छ । ईटाली, टर्की ,अफगानिस्तान , पाकिस्तान भारत हुँदै स्थलमार्गबाट हिमालयको काखमा रहेको सानो देश नेपालमा युरोप र अमेरिकातिरका गोरोवर्णका युवाहरुको आगमन रोचक र रहस्यमय जस्तै थियोे । त्यसबेला विश्वपटलमा कमै चिनिएको नेपालसम्म आईपुगेको हिप्पीवादको झिल्को जीवनप्रति नयाँ पिढीको निराशाका रुपमा प्रकट भएको थियोे । केही विष्लेशकहरुले विश्वयुद्धको विभिषिकापछि युवा पुस्तामा उत्पन्न निराशाको अभिव्यक्ति भनेर यो लहरलाई परिभाषित गरेका थिए । त्यो लहर नेपालमा सन् १९७३ तिर सरकारले गाँजामाथि प्रतिबन्ध लागाएपछि हरायो । आफ्ना युवाहरुमा लागू पदार्थप्रति बढ्दो आकर्षण देखेर अमेरिका लगायतका देशहरुले नेपाललाई गाँजामाथि प्रतिबन्ध लगाउन दबाव दिएका थिए । समग्रमा भन्दा अहिले नेपाली युवाहरुको अष्ट्रेलियाप्रतिको आकर्षण पनि त्यस्तै देखिन्छ । तर, नेपाली युवाहरूको अष्ट्रेलियाप्रतिको आकर्षण हिप्पीहरुको जस्तो जीवनप्रति पूणनिराशावादी नभएर आशावादी र जीवनवादी रहेको छ । नेपालबाट ठुलो संख्यामा युवाहरु जीवनको खोजी गर्न अन्यत्रै पलायन हुने प्रवृत्तिले निकट भविष्यमा सामाजिक आर्थिक विचलन आउने खतरा भने देखिन्छ । यसको मुख्यकारण नेपालको साँघुरो आर्थिक स्थिति नै रहेको हो ।
महासागरले घेरिएको विशाल अष्ट्रेलिया विगत लामो समयसम्म बाँकी विश्वबाट अपरिचित थियो । सन् १६०६मा हलेण्डका विलियम जेन्सजुन र १६८८मा एकजना अंग्रेज नाविकले अष्ट्रेलिया पुगेको भन्ने देखिन्छ । यसपछि धेरै जनाले समुद्रतिरबाट त्यो देशको विभिन्न भागमा पाईलो टेकेका थिए । तर, क्याप्टेन जेम्स कुक १७७०मा अष्ट्रेलिया पुगेपछि २२ अगस्तमा बेलायतका राजा जर्ज तृतीयको अनुमतिले न्युसाउथ वेल्समा बेलायतको अधिपत्य घोषणा गरे । पोर्ट जक्सनमाथि सबै भन्दा पहिला अंग्रेजहरुको अधिपत्य कायम भयो त्यसपछि क्रमस पुरै अष्ट्रेलिया बेलायतको उपनिवेश बन्यो । भारतमा अंग्रेजहरु सन् १६०८मा व्यापार गर्न भारतको सुरत पुगेका थिए । सन् १६१५मा अंग्रेज कुटनीतिक सर टमस रो दिल्ली स्थित मुगल बादशाह जहाँगीरको दरबारमा पुगेपछि भारतमा अंग्रेजहरुले व्यापार गर्ने वैधानिकता पाएका थिए । यसरी भारतमा अंग्रेजहरु आएको झण्डै १६० वर्षपछि मात्र क्याप्टन कुकले अष्ट्रेलियामा बेलायती शासन शुरु गरेका थिए ।
अंग्रेजहरुको आगमनपूर्व २५० भन्दा बढी जंगल र समुद्रमा आश्रित आदिवासी भाषिक समुदायहरुको अष्ट्रेलियामा बसोवास थियो । कालोवर्णका उनिहरुका सँस्कृतिहरु संसारकै पुराना मानव सँस्कृतिक मध्ये मानिन्छन् । उनिहरु विगत सत्तरी हजार वर्षदेखि अष्ट्रेलियामा बस्दै आएको अनुसन्धानहरुले देखाएका छन् । कुनै समयमा हालको अष्ट्रेलिया अफ्रिकासंग जोडिएको र भौगर्भिक कारणलेपछि अलग हुन गएकोले ती बासिन्दाहरु पनि भूमिसंग यहाँ रहेको अनुमान पनि गरिन्छ । केहीले उनिहरु उत्तरी भागतिरबाट आएर बसेको हुनसक्ने पनि बताउँछन् । अंग्रेजहरुको अष्ट्रेलिया प्रवेशसंगै उनिहरुमाथि चर्को दमन शुरु भयो । विभिन्न स्थानहरूमा उनिहरुको कत्लेआम भयो । अंग्रेजहरु आएपछि बेलायततिर फैलिरहेका बिफर जस्ता अन्य धेरै डरलाग्दा रोगहरुको शिकार पनि आदिवासीहरु भए । अंग्रेजहरुले आदिवासी बालबालिकाहरुलाई तिनका आमाबाबुबाट खोसेको भन्ने उल्लेख पनि भेटिन्छ । यस्तो क्रुरता सुन्दा मन खिन्न भयो । एशियातिर आएर लाेकतन्त्र र मानवाधिकारकाे नाममा दवाबमुलक कुटनीति गर्दै आएकाहरुकाे यस्ताे कुरुप यथार्थ देखेर धिक्कार्न मन लाग्याे । १३ फरवरी २००८मा अष्ट्रेलियाका तत्कालिन प्रधानमंत्री केभिन रुडले विगतमा आदिबासीहरुमाथि भएको दुव्र्यवहारप्रति क्षमायाचना प्रस्ताव संसदमा राखे र त्यो पारित भयो । अहिले भने आदिवासीहरुप्रति राज्यबाट सहानुभूति राख्न थालिएको छ । अहिले ती आदिवासीहरुको संख्या कुल जनसंख्याको लगभग ३ प्रतिशत मात्रै छ । उनिहरुलाई राज्यको पहिलो नागरिक भन्न थालिएको छ ।
अंग्रेजहरुले बेलायतमा विभिन्न कसुर गरेका कैदीहरुलाई श्रम गराउन अष्ट्रेलिया पठाउन थालेका थिए । तास्मानिया राज्यको होबार्ट शहर भन्दा झन्डै ९० किमि दूरिमा पर्ने पोर्ट अर्थरमा सन् १८३० तिर संचालित परियोजनाहरुमा प्रयोग हुने काठ जंगलबाट संकलन गर्ने केन्द्रका रुपमा स्थापना गरिएको थियो । सन् १९३३ देखि यो केन्द्रलाई व्यवस्थित कारागारका रुपमा पनि प्रयोग गर्न थालियो । सन् १८४० सम्म आईपुग्दा त्यहाँ कैदी, सिपाही र कर्मचारी सहित २००० जना रहेको अभिलेख देखिन्छ । अहिले अष्ट्रेलिया भरि रहेका त्यसबेलाका यस्ता ३००० सानाठूला कारागारहरु रहेको बताईन्छ । ती मध्ये ११ लाई हाल विश्वसम्पदा सूचीमा समावेश गरिएको छ । जसमा , 1.The Port Auther Historic Site 2. Coal Mine Historic Site ( Tasman Peninsula), 3. Woolmere Estate and Brickendon (Longford), 4. Cascades Female Factory Historic Site ( South Hobart) 5. Darlington Probation Station(Maria Island) 6. Premantle Prision (Swan river Western Australia) 7.Old Great North Road 8.Old Government House and Domain 9.Kingston Arthur's Vale Historic Area 10.Cokatoo Island Convict Site 11.Hyde Park Barracks (New South Wales) बेलायतको पोर्टस् माउथबाट सन् १७८७ को १३ मईमा पहिलो खेप कैदीहरुलाई लिएर हिंडेकाे पानीजहाज ब्राजिलकाे रियो द जेनेरियो र अफ्रिकाकाे केपटाउन भएर २० जनवरी १७८८ मा अष्ट्रेलियाको बोटनी बे पुगेपछि शुरुभएको यो क्रम आठ दशक अनवरत चल्याे र सन् १८६८ जनवरी ९ मा बेलायतबाट २६९ जना कैदीहरु लिएर अष्ट्रेलियाकालागि पानीजहाज छुटेपछि बन्द गरियो । यसरी अष्ट्रेलियाको संरचनागत निर्माण र बेलायती उपनिवेशी शासनलाई मजबुत बनाउन यो प्रकृयाले निकै सहयोग गर्यो । यसरी लगिएका कैदीहरुका पनि कतिपय हृदयविदारक घटनाहरु पनि उल्लेखित छन् ।
अष्ट्रेलियाका आदिवासी , बेलायतबाट विभिन्न अपराध सजाय पाएका कैदीहरुलाई श्रमिकको रुपमा प्रयोग गर्न ल्याईएकाहरु र कर्मचारीका रुपमा आएका बेलायतीहरु नै अष्ट्रेलियाका प्रारम्भिक जनसंंख्याका प्रारुप थिए । तर, सन् १८५० तिर सुन खानी पत्ता लागेपछि भने अष्ट्रेलियामा झन् आप्रवासन बढ्यो । एशिया युराेप सबैतिरबाट मानिसहरुकाे लर्काे लाग्याे । मेलबर्न नजिककाे त्यसबेलाकाे सुनखानी रहेकाे बालाराटमा आज पनि हेर्दा चिनियाहरुकाे शिविरकाे अवशेष देखिन्छ । यसरी अष्ट्रेलिया मिश्रित जाति र संस्कृतिको देश बन्दै गयाे। यहाँ विभिन्न प्रकारका मानिसहरू भेटिन थाले ।
अहिले अष्ट्रेलियामा एशियालीहरुमा चिनियाँहरुको जनसंंख्या धेरै छ । त्यसपछि भारतीय, फिलिपिनो, भियतनामी, लेवनानी हरुको संख्या देखिन्छ । भुटानी र तिब्बती शरणार्थी , अफगानीहरु पनि देख्न सकिन्छ । नेपालीहरुको संंख्या पनि द्रुतगतिमा बढिरहेको छ । अहिले पनि अष्ट्रेलियामा आप्रवासन तीव्र गतिमा बढिरहेको छ । यसरी विश्वका अधिसंख्यक देशहरुबाट आएका विभिन्न सँस्कृतिका डायस्पोराहरुको रंगीबिरंगी देशका रुपमा अष्ट्रेलियाले पहिचान बनाऊदै गएको छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.