अष्ट्रेलिया र साँस्कृतिक रंगमा रंगिदै नेपालीहरु


अष्ट्रेलियामा बढ्दो आप्रवासनले यो देश बहुसाँस्कृतिक र बहुधार्मीक स्वरुपमा परिवर्तित भैसकेको छ । कम जनसंख्या र ठुलो अर्थतन्त्रका कारण आप्रवासन अहिले अष्ट्रेलियाकोलागि अपरिहार्य बनेको रहेछ । अन्तरराष्ट्रिय विद्यार्थीहरुबाट आय र श्रमको परिपूर्ति गर्ने नीति सरकारले लिएको देखिन्छ । 

   
  
अष्ट्रेलिया पुगेका विभिन्न आप्रवासी समुदायमा आफ्नो सँस्कृतिक पहिचानलाई जोगाउने प्रयास ठाँउठाऊमा भैरहेको देखिन्छ । आफ्नो वैश्विक सरोकारका विषयमा पनि भेला प्रदर्शन गर्ने विषयलाई पनि सबैले सकारेको देखिन्छ । हामीकहाँ भिन्न विचार राख्ने समुहले गरेका प्रयासहरु बिथोल्ने, ढुंगामुढा गर्ने प्रवृति पनि देखिन्छ । तर, त्यहाँ यस्तो प्रवृत्ति कमै देखिन्छ । हामी त्यहाँ रहँदा त्यहाँका प्यालेष्टाईनी समुदाय र तीनका स्थानिय समर्थकहरुले सिड्नी शहरमा विरोध प्रदशर्न गरेका थिए । क्यानाडामा भारतको पृथकतावादी आन्दोलनका खालिस्तानपंथी शिख नेताको हत्यालाई लिएर पनि संकेतिक प्रदर्शन भएको सुनिन्थ्यो । सरकारले नरुचाएपनि ती प्रदर्शनहरु सम्पन्न भए । यो आफैमा एउटा लोकतान्त्रिक प्रचलन हो ।

विभिन्न समुदायका संघसंस्थाहरुले अआफ्नो गीत संगीतक्षेत्रमा मुलधारसंग सम्बन्ध कायम राख्ने प्रयास पनि गरेको देखिन्छ । पश्चिम नेपालमा गएको भुकम्पका समयमा नेपालबाट सुगम पोखरेल लगाएका नेपाली गायकहरुको टोलीले सांगितिक कार्यक्रमहरु गरेको थियो । भारतबाट पनि यस्ता टोलीहरुको बेलाबखत आगमन भैरहेका देखिन्छ । यो देशमा साँस्कृतिक विविधतालाई सरकारले पनि प्रोत्साहन गरेको देखिन्छ । विभिन्न इतिहास र सँस्कृतिका हामी अष्ट्रेलियावासी भन्ने आशयका बोर्डहरु सरकारी तवरमा लगाएको पनि देखियो । यसले सरकार सम्प्रदयिक हिंसा नहोस भनेर सतर्क रहेको भान हुन्छ । समुदायका हिसाबले धर्मका आधारमा एकखालको सामाजिक विभाजन छ भने भाषाका आधारमा अर्को खालको विभाजन रहेको छ । त्यसैगरी पश्चिममा रहेको रंगका आधारमा पनि विभाजन छ । तर पनि वैमनस्यता भने पछिल्ला दिनहरुमा सतहमा कमै देखिन्छ ।

                             


इतिहास हेर्दा युरोपियनहरु र चिनिया मजदुरहरुबिच सुनखानी वरपर त्यबेलाको लाम्बिङफ्याटमा लामो समयसम्म तनाव रहेको उल्लेख पाईन्छ । त्यहाँ सन् १८६१मा २००० युरोपियनहरुले चिनियाहरुमाथि आक्रमण गरेका थिए । सन् २००५मा क्रोनुला समुद्र किनारमा लेबनानी समुदायका मानिसहरु र सुरक्षागार्डबीच भएको विवाद हातापाईमा पुगेको थियो । यो घटनाले साम्प्रदायिक रुप लिएको थियो र धेरै ठाँऊँमा फैलिन पुगेको थियो । यसै वर्ष पनि चारवटा हिन्दु मन्दिरहरुमा तोडफोड भएको खबरहरु सार्वजनिक भएका थिए । अष्ट्रेलियन टुडेका अनुशार ती घटनाहरुमा खालिस्तानपंथीहरुको संलग्नता थियो । समग्रतामा पछिल्लावर्षहरुमा अष्ट्रेलिया शान्त नै देखिन्छ ।

        
   
अष्ट्रलियामा आदिवासीहरुलाई छोडेर हेर्ने हो भने  यो देशको इतिहास लामो देखंदैन । सन् १७७०मा बेलायतीहरु यहाँ आएपछि मात्र यहाँको पछिल्लो इतिहास शुरु भएको भन्न सकिन्छ । त्यसबेलासम्म अष्टेलिया बाँकी विश्वसंग औपचारिक रुपले परिचित थिएन । यहाँका आदीवासीहरुको सँस्कृति संसारकै पुराना सस्कृतिहरु मध्ये मानिन्छ । अंग्रेजहरु यहाँ आएपछि आदिवासीहरुको भाषा सँस्कृति,  सबै ओझेलमा पर्यो । अहिले उनिहरुलाई पहिलो दर्जाका नागरीक मान्न थालिएको छ । यो सम्मानले उनिहरुले विगतमा गुमाएको कुराको क्षतीपूर्ति हुने कुरा भएन । यो सहानुति मात्र हो भन्न सकिन्छ । अहिले उनिहरुको जनसंख्या निकै थोरै छ । । यही अक्टोबर १४मा आदीवासी र टोरेस स्ट्रेट आईलैण्ड निवासीहरुकालागि विशेष अधिकार थप गर्ने नगर्ने भन्नेबारे जनमतसंग्रह गरिएको थियो तर त्यो पारित हुन सकेन ।
                     
हिन्दुहरुले विषेश गरी दशैं तिहार तीज जस्ता ठुला चाडहरुलाई महत्व दिएको देखिन्छ ।  गएको तीजपर्वको बेला त्यहाँको सबैभन्दा ठुलो शहर सिड्नी नजिकैको हामी बस्ने गरेको सेन्ट्रलकोष्टमा पर्ने गसपर्ट बजारको वाटरफ्रन्टमा वरपरका नेपाली महिलाहरुलाई त्यहाँको नेपाली स्वयमसेवी संस्थाले भेला गराएर नाचगान गराएको थियो । त्यहाँ बस्ने नेपालीहरुका अनुशार यो ठाँऊमा एकवर्ष पहिलासम्म नेपालीहरुको बसोबास निकै कम थियो तर यो अवधिमा यो संख्यामा उल्लेखनीय वृद्धि भएको छ । तीजको त्यो रमाईलो हेर्न अन्य समुदायका मानिसहरु पनि उत्सुक भएको देखिन्थ्यो । रातो नेपाली पहिरनमा सहभागी भएका नेपाली महिलाहरुको यो सक्रियताले नेपालको झल्को दिईरहेको थियो । नेपालीहरुको राम्रै बसोवास भएका  सिड्नी, मेलबर्न, एडिलेड, बृसवेन जस्ता शहरमा तीजको ठुलै जमघटहरु हुने गरेका रहेछन् । आफ्नो वासस्थानको वरपर सानै समुहमा भएपनि भेला भएर नेपाली दीदीबहिनीहरु तीज सबैजसो ठाँउँमा भएको देखिन्थ्यो ।

दशैंमा नेपालीहरुमा जमरा राख्ने, मान्यजनहरुबाट टीका ग्रहण गर्ने परिपाटी पनि कायम राख्ने प्रयास भएको देखिन्छ । तिहार पनि यसरी नै भाईटीका लगाएर र नेपालीहरुको आवादी भएका क्षेत्रमा देउसी भैलो खेलेर मनाउने चलन रहेछ । आप्रवासीहरुको दैनिकीमा देखिने समयको चाप हेर्दा यसरी चाडबाड मनाउने फुर्सद मिल्ला जस्तो लाग्दैन तर यस्तो भैरहेको देखिन्छ । मेरो रुची बाहिरबाट आएकाहरुमा सँस्कृतिक लगाव कस्तो होला भन्नेमा पनि थियो । किनभने सँस्कृतिले समुदाय र सामुहिकतालाई जिवन्त राख्छ । सँस्कृति हराएर पहिचान नै हराएका दृष्टान्तहरु दुनियामा धेरै छन् । बजार भन्दा बहिरतिर सडकमा मानिसहरु पैदल हिंड्ने चलन निकै कम छ । सबै अआफ्ना सवारी साधनमा हिंड्ने गरेको देखिन्छ । एशियामा झैं सडकमा यस्ता साँस्कृतिक उत्सवहरुको छनक कमै देखिने गर्दछ । घर वा निश्चित स्थानहरुमा भेला भएर यस्ता कार्यक्रम गरिने प्रचलन छ ।
 
हिन्दुधर्माबलम्वीहरुमा त्यहाँ मुख्यतः भारतीय र नेपालीहरु नै पर्दछन् । अष्ट्रेलियामा सबैभन्दा पहिला हिन्दुधर्मको प्रवेश भारतीयहरुबाट नै भएको रहेछ । उन्नाइसौं शताब्दिमा अंग्रेजहरुले भारतीयहरुलाई उखु र कपास खेती गर्न अष्ट्रेलिया लगेसंगै हिन्दुधर्मले प्रवेश पाएको थियो । अष्ट्रेलियामा हिन्दुधर्म मान्ने मोरिसस, श्रीलंका, बाली, फिजी, सिंगापुर, भुटानबाट आएका मानिसहरु पनि छन् । नेपालको शरणार्थी शिविरबाट पुनरवासकालागि लगिएका नेपाली भाषी भूटानीहरुसंग मैले तास्मानियामा केही दिन रहँदा होबार्ट शहरकोे एउटा पार्कमा भेट्ने मौका पाएको थिएँ ।  भारतबाट पनि नेपालीभाषी यहाँ पुगेका छन् । अहिले यहाँ नेपाली समुदाय भारतीयहरुपछि हिन्दुधर्म मान्ने दोस्रो ठुलो समुदाय हो । हिन्दुधर्म अष्ट्रेलियामा द्रुतगतिमा फैलिएको धर्म हो । आदीवासी र टोरेस स्ट्रेट आईलैण्डका केही मानिसहरु पनि हिन्दुभएको उल्लेख विकिपिडियामा पाईन्छ । यस धर्मप्रति गौरवर्णीय स्थानियहरुको आकर्षण पनि बढ्दो देखिन्छ । हिन्दुधर्मका चाडबाड एउटै भएपनि मनाउने तौरतरीकामा भने मुलथलो अनुशार भिन्नता पाईन्छ ।

छोटो बसाईमा मैले सिड्नीको मिन्टोमा रहेको शिवम्मुक्ति गुप्तेश्वर मंदिर, हण्टरभ्यालीमा रहेको इस्कोनद्वारा संचालित गोलोकधाम आश्रम, मेलबर्नको बाउण्ड्री रोडमा रहेको शिवविष्णुमन्दिर, आलोक बौद्ध स्तुपा, उत्तरी भिक्टोरियामा रहेको श्रीलंकाली प्रयासमा बनेको धम्म निकेतनाय नामक गुम्बा पुगेको थिएँ । समग्र अष्ट्रलियामा दर्जनौं हिन्दु मन्दिरहरु रहेको उल्लेख पाईयो । यस्ता मन्दिरहरुमा भक्तजनहरुको उल्लेखनीय उपस्थिति देखिन्छ । ती सबै भारतीयहरुको तत्वबधानमा बनेको देखिन्छ । नेपालीहरुले सिड्नी, मेलबर्न, बृसबेनमा मन्दिरहरु बनाउने तयारी गरिरहेका छन् । त्यसमा सरकारका तर्फबाट पनि सहयोगको प्रतिबद्धता आएको जनाईएको छ । त्यसैगरी बौद्ध मन्दिरहरुको संख्या पनि प्रसस्तै भेटिन्छन् । नेपालमा झैं बौद्ध मन्दिरहरुमा पनि नेपालीहरुको उपस्थिति देखिन्छ ।  विभिन्न सम्प्रदायका मुसलमानहरुका मश्जिदहरु पनि ठुलो संख्यामा देखिन्छन् । सन् २०२१को गणना अनुशार अष्ट्रेलियामा इसाईहरुको जनसंख्या ४३ प्रतिशत छ भने कुनै पनि धर्मको अनुशरण नगर्नेहरुको संख्या पनि झण्डै ३८ प्रतिशत रहेको छ ।                                                      
 












































 





टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष